साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेमा अलमल !

दैनिक जीवन सहज पार्ने प्रयास न हो उपचार भनेको त  अलमल र ग्लानिले लरबराउन छाडौँ । भनिन्छ, तपाईँ मानसिकता बलियो बनाउनु होस्, शरीर लरबराउन छाड्छ ।

Nepal Telecom ad

डा. मुकेशकुमार चालिसे 

पृथ्वीमा भएका सबै प्राणीमा उमेरअनुसार विभिन्न प्रजातिगत र कतिपयमा वंशाणुगत पनि चेतना विकास भएको हुनसक्छ । हरेक प्राणीमा स्नायु प्रणालीको अवस्था, तह अनुसार अनुभव सङ्कलन हुने र उमेर बढ्दै जाँदा त्यसै अनुसार पनि क्रियाकलाप गर्ने हुन्छ । जीवहरूमा मस्तिष्क क्षमता शारीरिक अवस्थाअनुरूप नै फरक फरक हुन्छ । मानिसहरूमा यस्तो क्षमता सबै प्राणीभन्दा बढी हुन्छ । त्यसैले विवेक र दया माया भन्ने भावनात्मक व्यवहार सबैभन्दा बढी र प्रकट रूपमा मानिसमा देखिन्छ । आफ्ना कुरामा सटिक र तथ्यपरक काम कुरो गर्ने वयस्क मानिसमा उमारिँदै जाँदा बिस्तारै हरेक घर व्यवहार र निर्णयमा पाका मानिस भने अलमलमा परिरहेको देखिन्छ । हरेक कुरामा पाका मान्छे द्रुतगतिमा निर्णय गर्न, हाजिरी जवाफी भई प्याच्च भनिहाल्न र अठोट गरेको काम गर्न थालिहाल्ने गर्दैनन् । सबै कुरा राम्ररी बुझ्ने, सुन्ने र के गर्नुपर्छ भनी आफ्ना अनुभवको जलपमा ठिक ठहर्‍याएमा मात्र केही बोल्ने र काममा अघि बढ्ने गर्दछन् । त्यस परिस्थितिमा कतिपय अरू उमेर समूहका मानिस पाका मानिस ‘हाजिर जवाफी नभएको, मनमा कुरा खेलाउने, ढिलो’ भनिन सक्छन् ।

एकाग्रतामा असर: 
वयस्क पछिको पाको उमेर लागेकाहरू किशोर किशोरीझैँ लगातार दौडन र अग्लो होचोमा उही आँटले फुङ हाल्न सक्दैनन् । त्यसो गर्नु पाका मान्छेमा ‘प्रलय नै भए सरह’ अनुभूति हुन्छ । उमेरिँदा सिक्ने स्फूर्तिको कमी, संस्मरणको उपयोग, समस्याको द्रुत समाधान जस्ता मस्तिष्कको निर्णय क्षमतामा सुस्तता आएर भएको हो । थाहा पाएकै कुरामा पनि लागि पर्न अप्ठ्यारो लाग्ने, एकै पटक दुई तीन वटा गतिविधिमा बिचार बिश्रृङ्खलित हुने, प्रस्ट जानकारीलाई पनि हो कि होइन भनी दुबिधा उत्पन्न भएको किंकर्तव्यविमूढ मानसिकतामा ट्वाल्ल पर्ने हुनसक्छ । आन्तरिक यिनै परिवर्तनले पाका मान्छेमा एकाग्रतामा ह्रास भएको अलमलले घर गरिरहेको हुन्छ । यस्तो मानसिकताले नै मान्छेलाई जवान बेलामाभन्दा पाको उमेरमा अरूसँग बिस्तारै बढी परपर पारिरहेको हुन्छ ।

एकाग्र क्षमतामा बिगार:
हार्वर्ड मेडिकल विभागका चिकित्सकका भनाइमा एकाग्रता र एकै अठोटको कुरामा ध्यानलाई बिश्रृङ्खलित गर्न मस्तिष्कमा घर गरेका विभिन्न चिन्तन र चिन्ताले असर गरेर हो । चार चौरास विविध अनुभव र पूर्वाग्रहले अहिले तपाईँले गर्न खोजेका काम कुरालाई विभिन्न तर्कनाले अल्झाउन खोज्छन् । कुनै काम कुराको उठान भएकै छैन तपाईँ परिणामतिर ध्यान केन्द्रित गर्न थाल्नुहुन्छ र ‘गर्न त गरूँ, के हुने हो ?’ भन्ने दोमनमा झुत्ती खेल्न लाग्नुहुन्छ । अनि कहाँबाट कामप्रति एकाग्रता आओस् ? त्यसैले त ‘हल डिँगो बिग्रन्छ एक मनले, मान्छे बिग्रन्छ दोमनले’ भन्ने उखानको उपमा बन्न पुग्नुहुन्छ ।

लर्‍याकलुरुक चालढाल र फटाफट काम गरिहाल्ने चुस्तता इन्द्रियहरूको कमजोरीले पनि हुनसक्छ । नाक, कान, आँखा, जिब्रो र बाहिरी छालालाई कम्तीमा स्वस्थ राख्नुहोस् । ती अङ्गमा आएका कुनै कमीले पनि भनेजस्तो फटाफट काम गर्न नसक्ने, सन्तुलन नभएका र एकसुरे जस्ता भएर अरूले हेर्दा अस्वस्थ जस्तै देखिन्छन् । सामान्य हेक्का राख्ने बानी कम गर्दा र बेलाबेला अनौठो किसिमले प्रश्न गर्ने बानी, ‘म कहाँ छु होला ? मैले के के सुनेँ ?’ भन्दै उदेक लाग्दा प्रतिक्रिया दिँदा पनि पाका मान्छे अरू उमेर समूहको हँस्यौलीका पात्र बन्छन् । नियमित त्यस्ता कुरा गर्ने बानी लागेमा पाका मान्छेले आफैँ होसियार हुनु र आफूलाई सतर्क पार्न कोसिस गर्नु ठिक हुन्छ । यदि त्यसो चाहँदा पनि आफैँ भई रहन खोज्छ भने आफन्तलाई भनेर उपचारतिर लाग्नु ठिक होला ।

बास्नाबारे अनभिज्ञ हुँदा चाहिँदो नचाहिँदो गन्धबारेमा प्रतिक्रिया दिन नसक्ने, अरूले बास्ना आएको कुरा गर्दा रमाएको जस्तो नगर्ने र दुर्गन्धमा नाक खुम्च्याउन नसक्दा उल्टापाल्टा हुनसक्छ । विभिन्न साधनबाट निस्कने ध्वनिबारेमा पनि कानको खराबीले अलमल हुनसक्छ । कानकै समस्याले मधुर ध्वनिमा मन नै आनन्दित हुने सङ्गीत सुन्दा पनि कर्कश आवाजमा सुनेर अरूलाई बेमोज हुनसक्छ भने जोसिला गीतहरू सुहाउँदो आवाजमा नसुनेर ब्याट्री सिद्धिएको रेडियोको आवाजमा सुनेर अरूलाई दिक्क लाग्न सक्छ । चिजबिज सापेक्ष रङ्ग र आकारमा नदेखेर अरू नै वर्णन गर्दा आँखाको कमजोरी भएकोमा स्वीकार नगरी जिद्दीले परिवार र आफन्तलाई हैरान हुनसक्छ । सुहाउँदो स्वादका परिकारमा उल्टापाल्टा वर्णनले शुभ चिन्तकहरूका जमघट नरमाइलो हुनसक्छ भने छालाको उचित स्याहारको अभावमा हेर्दै घिनलाग्दो भई मानिसहरू टाढिन सक्छन् । मूलतः यस्ता सबै असामान्य परिस्थितिले पाका मान्छेका स्वास्थ्य र गतिविधिलाई बिगारिरहेको हुन्छ र सर्वसाधारण परपर हुनसक्ने बनाउँछ ।

कारणहरू: 
वयस्क मानिस जीवनको उत्तरार्धमा शरीर अस्वस्थ भए पचास नाघेपछि र स्वस्थ नै रहे साठी वर्ष नाघेपछि पहिले कहिल्यै नदेखिएका लक्षणहरू देखा परेको अनुभूत गर्छन् । आफैँ हेक्का राख्न नसके पनि अरूले विभिन्न क्रियाकलापमा तुलनात्मक रूपले अघिल्लो र पछिल्लो उमेरमा देखिएको विविधताले औँल्याउन थाल्छन् । आफ्नै घरपरिवारमा आफ्नै जोडीले ‘पहिला जस्तो छैनौ वा अचेल त किन बाउँठा बाउँठा कुरा गर्न थालेको होला ?’ भन्ने भनाई यही उमेरको उपज हो । अनुभव र पूर्वाग्रहको चापले किचिएर हरेक कुराको निर्णय दुई पटक जाँचेर मात्र गर्ने लक्षण पनि पाको उमेरको द्योतक हो । त्यसैले त जोडी बनेका ताका ‘बाटै भत्काउँला जसरी, सबैलाई पेलेर घच्चापच्चा सहेर हिँड्ने’ स्वभाव र गतिविधि उमेर पुगे पछि बिस्तारै ‘बाटोका छेउ कुना र अरूसँग बचेर, अलि जोगिएर हिँड्ने’मा रूपान्तरण भएको हुन्छ । सवारी साधन पाए जसरी पनि यात्रा गर्न सक्ने ज्यान र स्वभावमा परिवर्तन आई सवारी साधन पाएपछि ‘अनुकूलको आसन पाइन्छ पाइन्न’ भन्नेमा पो मन केन्द्रित भएको हुन्छ ।

त्यस्ता नयाँ पलाएका र जीवन सुरक्षित रहोस् भनी गरिएका सतर्कता, अनुभवको लेपन, सोचाई र निर्णयमा विलम्बका समस्या मस्तिष्कमा हुनसक्ने असाध्य रोग अल्जाइमरको लक्षण नहुन सक्छ । अनुभवका थाकले थिचिएर नयाँ देखिएका र अगाडी आईपरेका समस्यामा समाधानका विविध उपायमध्ये ‘कुन चाहिँले तुरौँ ?’ भनी निरूपण गर्ने प्रक्रियाको गति धिमा भएको हुनसक्छ । नयाँ कुरा बारेमा अनभिज्ञ भए पनि आफ्नै बेलामा सङ्कलित तत्कालीन उत्तम ज्ञानको उज्यालोमा पाका मान्छे समस्याको निरूपण भने बलियो तर्क र क्षमताले गर्न सक्छन् । आफ्ना तर्क र भनाइमा अडिग रहनु नै पाका मान्छेका गुण हुन्, त्यस्ता लक्षण रोगका होइनन् भन्ने अरूले चाहिँ बुझ्नै पर्छ ।

कतिपय उमेरिँदा नागरिकका बानी ब्यहोरा सपार्न नसकिने हुँदैनन्, त्यस्ता अलमल्याउने चालढाल मस्त निद्राको अभावमा पनि हुने गर्छ । निद्रा नपुग्दा र पुरा शरीरले आराम अनुभूत हुने गरी नसुतेका रात भोलिपल्ट वयस्कलाई त खानाको बेस्वाददेखि हिँडाई मा धङधङी हुन्छ भने उमेरिएको र कमजोर ज्यानमा उल्टोपाल्टो हुनु अचम्म होइन । त्यसबाहेक उमारिँदै जाँदा संस्मरण र अनुभवलाई आवश्यक पर्दा चाहिँदो प्रक्रिया पुर्या‍ई मानिसलाई निर्णयमा ओराल्ने मस्तिष्कको मध्य भागमा रहेको अङ्ग हिप्पोक्याम्पसको अग्र भागमा बनावट, आकार र स्नायु–रसायनमासमेत परिवर्तन आई सकेको हुन्छ । यसै परिवर्तनको फलस्वरूप उमेरिँदा चलनचल्ती र आफुले पहिले राम्ररी गर्न सकेका कामबाहेक अलिकति फेरबदलको स्थितिमा अमुक काम वा जानकारी पाका मान्छेले बुझ्ने, सम्झने र लागू गर्ने प्रक्रियामा ढिलाइ हुन जान्छ ।

कतिपय अवस्थामा ज्ञानेन्द्रियका क्षमता र स्नायु प्रणालीका मसिना नसाहरूमा आएको ¥हासले हरेक गतिविधिमा ध्यान दृष्टि कमजोर हुन थाल्छ । यसैले गर्दा नै पाका मान्छेले पहिलो पटक सुन्दा वा सम्झाउँदा ‘अँ अँ, बुझेँ, यत्ति जाबो कुरा ! के केटाकेटीहरूलाई जस्तो पढाको’ भनेर तुरुन्तै बुझेजस्तो गरे पनि सोही अनुसार फत्ते गर्न अलमल भइरहेको हुन्छ । अर्को कारणमा त्यस्तो मानसिक परिवर्तन आएका पाका मान्छेले आफूभन्दा कम उमेरकाले सम्झाएकोमा लघुताभास अनुभूत गर्ने भएर ‘आफू कम छैन’ भन्ने देखाउन सिक्दा पनि राम्ररी सिकेका नहुन सक्छन् । अनि पछि भनेअनुसार गर्ने र गराउने काममा संस्मरण र बुझाईकन कमी देखिई हाल्छ । त्यसबाहेक काम फत्ते गर्ने तदारुकता र सक्रियपन पनि उमारिँदै जाँदा पाका मान्छेमा ‘अझै कति गर्नु हो ?’ भन्ने अनाकर्षणले अमुक कामको अवमूल्यन गर्ने हुँदा पनि गर्न जान्दैनन् र सक्दैनन् । त्यस अवस्थामा बाध्यकारी काम प¥यो र आफ्नै फाइदामा हो भने पनि पाका मान्छेलाई सामान्य काम र ठम्याई आफ्नो थाप्लामा आईपरेको बडेमानको बोझ बनेको देखिन्छ र सुनिन्छ ।

रोग व्याधमा औषधिबाहेक जति उमेर भए पनि व्यायाम र घरभित्र नै गरिने कसरत किन कति पटक गर्ने भन्ने चिकित्सक र योग साधना गर्नुपर्छ भन्नेले नभने पनि एउटा न्यूनतम सीमा त भन्छन् । चिकित्सकको परामर्शबाट भनेजस्तै पालना नगर्ने, घरभित्रै गरिने व्यायाम र अभ्यास पनि ‘खै जत्ति गरे पनि भएन’ भन्दै नियमित नगर्ने बानी पाको उमेरतिर पाइला बढाएका मानिसका लक्षण नै हुन् । तीन पटक सेवन गर्ने कुरा ‘दुई पटक गरे पनि होला नि, २० पटक उठबस गर्नु भनेकोमा १० पटक गरे पनि होला नि !’ भनी हेल्चेक्र्याइँ गर्ने, नीच मार्ने स्वभाव पनि विकसित हुनसक्छ । यसले उमेरिँदो निराशाले घर गर्न खोजेका र हरेक कुरामा सय प्रतिशत ठिकको चाहना राख्ने पाका मान्छेका अतिरञ्जित स्वभावको मनोवृत्ति देखाउँछ । भित्री वा बाहिरी कारणले शरीरको दुखाई र आफैँलाई अस्वस्थ अनुभूति हुने गरी मानसिक र शरीरको भौतिक संरचनामा आएको फरकपनले पनि हुनसक्छ । दुखाई कम गराउने भनिएका औषधिको नियमित सेवन अम्मल जस्तै भएर नकारात्मक प्रभाव उम्रिएर पनि पाका मान्छेहरू कुनै पनि विषयवस्तुमा एकाग्र र स्थिर हुन नसक्ने हुन सक्छन् ।

रोकथाम हुन्छ ? 
संसारमा असम्भव भन्ने कुरा पुरा मन लगाएर गरे र पृथ्वीमा भएका स्रोतले भ्याउने भए नहुने के होला र ? लर्‍याङलुरुङ किन हुन्छ ? पाका मान्छे आफैँ हेक्का राखौँ । रोग व्याध नै हो कि मनोविज्ञान मात्र हो ? आफ्नो पारिवारिक सत्ता अपदस्त भएको पिरलोले आत्मग्लानि भएर परिवारका बलिया बाङ्गा ढिम्कनासाथ लर्बरिने हो कि ? आफू समयअनुसार तथाकथित ‘आधुनिक’ नभएको र नवधनाढ्य चरित्रका अगाडी लघुताभास भएर कमजोर अनुभूत भएर हो कि ? सकेसम्म शारीरिक र मानसिक कुन कारण हो पत्ता लगाउन कोसिस गर्नोस्, समाधान निकाल्न सजिलो होला ।

प्रमुख कुरा हामीले शरीरलाई पनि एउटा असल, सुविधा दिने र जीवन चलाउन सहयोगी मेसिन जस्तै भन्ठान्नु राम्रो हुन्छ । मेसिन तथा कल पुर्जाको काम नियमित होस् भनी आवधिक रेखदेख र मर्मत सम्भारको आवश्यकता पर्छ । ‘काम छउञ्जेलको भाँडो, तत्काल काम नभए ठाँडो’ जस्तो गरेर जतन नगरी एकातिर असरल्ल छाडेमा धुल्याहा लाग्ने, खिया लाग्ने र फेरी काम लिन खोज्दा राम्ररी नगर्ने वा कामै नगर्ने हुनसक्छ । त्यसै गरी हाम्रा ज्ञानेन्द्रीयको राम्रो जतन गर्ने, विशेष गरी नियमित उपयुक्त चिकित्सकको परामर्श लिन आवधिक जाँच गराउनुपर्दछ । ‘ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ’ भन्ने उखान त्यसै चलेको होइन, उमेर बढेकाे शरीरलाई सामान्य रुघाखोकीले पनि साता दिन ओछ्यान पारिदिन सक्छ ।

दृष्टिले धेरै कुरा सन्तुलन बनाउन र यकिन गराउन सक्छ । आँखाको शक्ति टाढा नजिक हेर्न के कस्तो छ ? सामान्य दृष्टि अन्तरले सियो धागोको कुरा छाडौँ, आफ्नै भर्‍याङमा उत्तानो परिने डर हुन्छ । कानको समस्याले शरीरको सन्तुलनमा ठूलो भूमिका हुन्छ भने कान कम सुन्नु अर्को समस्या हुन्छ । कान कै श्रवण शक्तिको कारण आफन्तसँग कुराकानी र मनको बह पोख्ने अवसर गुम्छ भने गोप्य राख्न खस्याकखुसुक गर्न पनि नपाइने । अझ सार्वजनिक ठाउँमा कानका समस्या भन्ने कुरा भएन । अरूले आदर गर्दै ‘ऊ गर भनेकोमा सू गरियो भने’ आपत् भएन भन्या ? बास्ना र दुर्गन्ध छुट्ट्याउन गाह्रो परे त झन ‘बोली कुफत’ हुन के बेर ? एक जना भाषिक अन्तर नजान्ने पाको मान्छे, गाईको गोबर देखे ‘छ्या कस्तो फोहोर ?’ भन्नुहुन्थ्यो भने मान्छेको बिस्टा देखे ‘अहा ! गज्जबको आची रे छ’ भन्नुहुन्थ्यो । परेन त फसाद सुन्नेलाई ? स्वादमा पनि त्यस्तै समस्या हुन्छ, राम्ररी पहिल्याउन नसक्दा आफूलाई मान गरेर पस्किएको व्यञ्जनमा प्रशंसा नहोला, अनि आतिथ्य गर्नेको मन कति भाँच्चिएला ? छालाको रेखदेखको कमीले धुस्रो फुस्रो हुने र फुट्ने त छँदै छ, चाम्रिएर, दाम्रिएर मौसमअनुसारका लुगाफाटोको जोहो नगरी हिँड्दा, बाटो हिँड्नेले बौलाएको, खुस्केको, सड्केको, पात्तिएको भन्नुबाहेक के उपनाम देलान् र ? सबै इन्द्रीयको आवधिक जाँच पड्ताल गरी चुस्त दुरुस्त राख्न सकिन्छ, आफैँ सतर्क भएमा समस्या हुन्न, बेलैमा हेक्का राखौँ ।

कतिपय पाका मान्छेलाई आफूले अनुभव गरेका र राम्रा भनिएकाभन्दा फरक परिस्थिति र अरूका क्रियाकलापले मानसिक दुबिधा पारिरहेको हुन्छ । मूलभूत कुरामा निहुरन नपर्ने छ भने झिना मसिना कुरामा अरूका कुरा सुनिदिँदा राम्रै समन्वय हुन सक्छ । रौँ रौँमा खलबल गर्न किन तम्सिनु ? अब उमेरिएको अवस्थामा केही केही अरूका प्रस्तावमा स्विकार्ने बानी मात्र होइन कतिपय अक्षम्य हानी नहुने कुरामा सम्झौता गर्ने बानी बसाल्नु पनि ठिक हुन्छ । यसले दिमागलाई विक्षिप्त पारिरहने, ‘बर्कत नभएपछि, पाको उमेरमा भनेको मानेनन्’ भनी कोक्किई रहने मनोदशामा रहँदैन । ‘मस्तिष्कमा हुने बदली’ भनिने रोग प्राय मनको पिरलो बढी गर्ने पाका मान्छेलाई हुन्छ । सँधै चिन्तित, पिल्पिलाउँदो र मनमा कुराको द्वन्द्व भएका मान्छेमा पक्का अठोटको अभावमा चालढाल नै असन्तुलित भएको हुन्छ । कुनै कुरा र कामको प्राथमिकता मसक्कै गर्न नसकी बोलाई, लवाई, खवाई र हिँडाइसमेत बेढङ्गको देखिन्छ । शारीरिक कमजोरीसँगै मानसिक उद्वेगले बिग्रने जीवनको लयले व्यक्तित्वमा नै असर गर्दछ ।

भेटिएका आफन्त वा मित्रहरूका कुरा तपाईँलाई मन नपरे पनि राम्ररी सुन्नुहोस्, बोल्नै पर्ने भए आफ्नो बोल्ने पालो आएपछि धेरैमध्ये प्राथमिक आवश्यकताका बस्तुमा मधुर स्वरमा मत राख्ने गर्नुभयो भने कुरा लर्बरिँदैन । कुनै ठाउँमा जानु छ भने जाने निश्चित भएपछि सवारीसाधन र बाटोको राम्रो पहिचान गरी स्वस्थ मान्छेजस्तै ठमठम् हिँड्नु राम्रो हुन्छ । तपाईँ स्वस्थ नभए जाने आँट नै गर्नु हुन्थेन नि, किन दोमन गरेर हिँड्नु ? बाटोमा हिँड्दा आफू अस्वस्थ भएको विज्ञापन नगरी हिँड्नु ठिक हुन्छ । तपाईँको सोचाई म्याद गुज्रेको छैन, विभिन्न परिस्थितिको कारणले अनमेल देखिएको होला ? कुराको इज्जत हुँदैन भने नबोल्नोस् तर आफू निम्छरो भएको कल्पना नै नगर्नोस् । यस्तो मनोवृत्तिले तपाईँलाई जहिले पनि अलमलिएको र निर्णय गर्न नसक्ने बनाउँछ ।

हार्वर्ड मेडिकल स्कुलको एउटा विशेष रिपोर्टमा भनिएको छ, कुरा बिर्सनु अनुभवको कारणले हुनसक्छ । जीवनका हरेक उमेर समूहका प्राथमिकता फरक हुन सक्छन् भने पहिलेको उमेर समूहका चलनचल्तीका र मुखाग्र कुरा आवश्यक नभई, नदोहोरिने भएर बिर्सन सकिन्छ । यसो हुनु कुनै अनौठो होइन, ‘ज्या ! साथीको नामै बिर्सेँ, ठाउँको नामै बिर्सेँ, अचेल यस्तो भइरहन्छ मलाई’ भनी दोहोर्‍याई रहनु आवश्यक छैन, ग्लानि हुनु त पर्दै पर्दैन । नियमित काममा प्रयोग नभएका धेरै कुरा बिर्सनु भनेको मूलबाट कुलोमा पानी थपिँदा पुरानो पानी रही नरहनु जस्तै हो । नयाँ पानीले पुरानो पानीलाई घचेटेर टाढा पुर्‍याईसकेको हुन्छ, किन पुरानै खोजिरहनु ? पुरानै चाहिए बिस्तारै पानी पुगेको अन्तिम ठाउँसम्म जानुपर्छ भेटिन्छ । बिर्सेका कुरा सम्झने भए त्यस सन्दर्भका अरू कुरा सम्झँदै प्रयास गर्नोस्, पुस्तकालयमा किताबका चाङ र हारबाट वाञ्छित किताब भेटेजस्तै एक छिनको परिश्रमले पाइहालिन्छ । खासै रोग खुट्टिएको छैन भने बिर्सेको भजन गाउन चाहिँ छोडिहाल्नोस्, बरु प्रयास गर्नोस्, हरेक कुरा सम्झन धेरै मात्रामा सकिन्छ ।

अन्त्यमा, 
पाका मान्छेका अलमल प्राय लघुताभास र मानसिक पिडाले हुने गर्छ । शरीरमा अलमल्याउने शारीरिक रोग नभए आत्तिनुपर्ने केही पनि नहुन सक्छ । शरीरका सबै अङ्ग शिथिल हुँदा पनि क्रियाशील हुने र भइरहने मस्तिष्क नै हो । हामी धेरैजसो कम क्रियाशील शरीर हुँदा पनि मस्तिष्कको सहायताले हजारौँ घटना, कामकुरा जुक्ति उपायहरू कल्पना गर्न, सोच्न र लागु गरौँ कि भनी मन गर्न सक्छौँ । मानिसको यसै सोचाई अनुरूप शरीर नचल्दा ‘बुढो भयो सब रङ्ग गयौ, आँगन भयो परदेश’ भनी सुस्केरा काढ्छौँ । उमेर बढ्दै जाँदा बिस्तारै शरीर कम क्रियाशील हुने भएकाले शरीरका अलमललाई त्यागेर अठोटअनुसार गर्न मन अर्थात् मस्तिष्क स्फूर्ति कायम राखौँ । जबसम्म बाँचिन्छ आफ्नो मानसिक अडानमा देखिएका सबल पक्षमा लागेर नै बाँच्नु पर्छ, शारीरिक कमजोरी र रोग व्याध त औषधिमूलोले थम थमाउँदै गर्नुपर्छ । आखिर भई सकेका विभिन्न वंशाणुगत वा दीर्घ रोग निमिट्यान्न पार्न, मै हुँ भन्ने चिकित्सकले पनि सक्तैन नि ! दैनिक जीवन सहज पार्ने प्रयास न हो उपचार भनेको त  अलमल र ग्लानिले लरबराउन छाडौँ । भनिन्छ, तपाईँ मानसिकता बलियो बनाउनु होस्, शरीर लरबराउन छाड्छ । नबिर्सनुहोस्, मानिसको शरीर धेरै बलियो हुन्छ र ज्यान ज्यादै चाम्रो हुन्छ, हतपती यो हुरुक्क सिद्धिँदैन ।

०००
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
हामी यस्तैमा छौँ साथीहरू !

हामी यस्तैमा छौँ साथीहरू...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x