साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामीलाई एकै नापो काम लाग्दैन है !

सकेसम्म क्रियाशील हुनसक्ने पाका मानिसलाई क्रियाशील पारौँ र स्वावलम्बी बनाऔँ । गर्न सक्नेले थप काम गर्न र थप आय आर्जनगर्न प्रोत्साहित गरौँ ।

Nepal Telecom ad

डा. मुकेशकुमार चालिसे :

पाका मानिसहरूलाई प्राय एकै मेसो ‘ज्येष्ठ नागरिक’ भनिदियो टण्टैसाफ भनेजस्तो गर्छन् । नियमानुसार उमेर पुगेका सबै महिलापुरुषलाई एकै समुहमा राख्नु र एकै व्यवहार गर्नु अवैज्ञानिक हुन्छ । उनीहरूलाई उमेरको मापदण्डले भने पनि सारीरिक क्षमता, मानसिक अवस्था, शैक्षिक ज्ञान र पारिवारिक आर्थिक स्तर अनुसार व्यवहार गरिनु पर्छ । अझ, कुनै सेवा व्यवसायमा लागेर निवृत्तिभरण पाउने र नपाउने तथा आजीवन घरकाजमा नै रहेका बिचमा पनि वर्गीकरण गर्नु राम्रो हुन्छ । नेपालमा त विभिन्न सेवा व्यवसायमा अवकास दिइने फरक फरक उमेर छ । त्यस्तै, निवृत्तिभरण पाउने नपाउने पनि संस्था हेरेर सेवा अवधि जोडेर फरकफरक छ । सरकारको अहिलेसम्मको उर्दी चैँ ६० वर्षदेखि ज्येष्ठ नागरिकको पगरी पाइने तर ज्येष्ठनागरिक भत्ताको व्यवस्था भने ७० वर्षदेखि रहेको छ । यो भत्ता पाए पनि ज्येष्ठनागरिकको आंसिक आवस्यक्ता मात्र पुरा हुने देखिन्छ । परम्परागत रुपमा भूत मन्साउन गरिने एक चिम्टी पहेँला अक्षेता जस्तो त्यस्तो भत्ता पाउन त केहीले कति धामा गर्नुपर्छ अन्य सुविधाको कुरै नगरौँ र पाउँदै नपाउनेको के कुरा ?

१. श्रम गर्न सक्नेः
क) शारीरिक र मानसिक अवस्था सामान्य रहेका र उमेर पुगेका महिला र पुरुष त सरकारी गैरसरकारी सेवाबाट निवृत्त भए पनि अन्य ठाउँमा काम गरिरहेका प्रसस्त पाइन्छन् । सेना प्रहरीका थुप्रै मानिस अहिले अवकासपछि विभिन्न सरकारी गैरसरकारी सेवाका सुरक्षाकर्मी भएर रहेका भेटिन्छन् । विदेशी मुलुकहरूमा पनि कमाई र ईज्जत आर्जन गरेकै छन् । प्राविधिक समुहका पनि विभिन्न परामर्शदात्री संस्थामा योग्यता र अनुभवका आधारमा विज्ञ वा सेवाप्रदायक भई काम गरेका पाइन्छन् । आर्थिक प्रशासन र बैकिङ्ग तिरका विभिन्न अर्थ कारोवार, व्यापारिक संस्थान वा सहकारी संस्थामा योग्यताका आधारमा काममा लागेकै छन् । कतिपय शरीरिक सक्षमहरू आफ्‌नै बचत कमाईलाई सदुपयोग गरेर तथा ऋणसापटी लिएर बन्दव्यापार वा कारोवारमा लागेका छन् । सामान्य हेर्दा शारीरिक तन्दुरुस्ती भए चार बिससम्म मज्जाले काम गरिरहेका वा शेषपछिकालाई सघाइरहेका पाइन्छन् ।

अहिलेको नेपालमा पुरुषहरू बढि घरबाहिर भ्याइरहेछन् भने महिलाहरू अलि अगाडिको उमेरमा नै घर भित्रको काममा व्यस्त हुन थाल्छन् । राजनीति र समाजसेवामा चासो भएका भने महिला र पुरुष दुबै उस्तैउस्तै बाहिर पनि सक्रृय पाइन्छन् । यसरी काममा लागेका पाका मानिसहरूको आयआर्जनको स्थिति बृध्दभत्ता भनिने अक्षताभन्दा कम भए तोकिएको भत्ता पाउनै पर्छ । अहिलेको आयआर्जनबाट नै बृध्दभत्ता भन्दा बढि आम्दानी हुन्छ भने अन्य आय भएसम्म त्यो भत्ता नलिने घोषणा पाका मानिसले जानकारी दिनुपर्छ । त्यसो गर्दा पाका मानिसको स्वावलम्बी हुनेआत्मबल बढद्छ भने अरु नितान्त न्यूनआर्थिक अवस्थामा रहेकालाई थप रकम उपलव्ध गराउन सरकारले योजना बनाउन सकिन्छ । ईमान्दारिताको त्यो हद सेवाप्रदायक र सेवाग्राही दुबैमा हुनु चाहिँ पर्दछ है ।

विज्ञान प्रविधि क्षेत्रका नियमानुसार अवकास प्राप्त पाका मानिसहरूलाई सम्बन्धित शैक्षिक प्रविधिक संस्थाहरूमा ज्ञान र सिपको पुस्तान्तरण गर्न आगन्तुक निरिक्षक वा निर्देशक पद दिएर सेवा लिन सकिन्छ । पाका मानिसको स्वास्थ्य स्थिति र संस्थाको आवस्यक्ता अनुसार नियमित र आवधिक सेवा लिएमा सेवाप्रदायक र सेवाग्राही दुर्बलाई फाइदा हुन्छ । आर्थिक प्रशासनिक क्षेत्रमा पनि यस्तो व्यवस्थाले हाम्रो आर्थिक र प्रशासनिक सेवा चुस्तदुरुस्त भई अपचलन रहित भई जनहितकारी नै बन्छ । कृषि र बन क्षेत्रमा पाका स्थानिय मानिसलाई पनि संयोजन गरेर हाम्रो परम्परागत कृषि क्षेत्रमा उन्नत रैथाने तरिका विकास गर्न मद्दत पुग्छ । बनको रैथाने प्रजातिको ज्ञानलाई उन्नत ढङ्गबाट बृहत उत्पादकत्वमा परिमार्जनगरी विकास गरे वातावरणमात्र होइन राष्ट्रिय आयमा समेत थप योगदान हुन्छ । हाम्रो समाजका विभिन्न विधाका पाका मानिसको ज्ञान सिपलाई उपयोग गर्ने राष्ट्रिय योजनाको स्वेतपत्र सरकारले जारी गर्नुपर्छ र कार्यान्वयनमा अघि बढेको देखाउनु आजको माग हो ।

ख) पहिला नियमित सेवामा नरहेका र कुनै प्रकारको लाभका काममा नलागी घरकाजमा रहेका महिला र पुरुषलाई अर्को श्रेणीमा राख्नु पर्दछ । अझै श्रम गर्दै रहेका भए पनि असङ्गठित यस्ता पाका मानिसलाई जेजस्तो सिप वा अनुभव छ त्यही आधारमा मिलन केन्द्र बनाई लगत राखिनु पर्छ । त्यसै आधारमा स्थानिय तहमा गरिने विकास र निर्माण प्रक्रियामा आयमूलक काममा आवधिक लगाइनु पर्छ ।अहिले यस बर्गका मानिस छिटपुट आयआर्जनमा संलग्न रहे पनि घरकाजमा समय बित्ने पाका मानिसलाई थोरै भएपनि मासिक नगद सहयोग हुनुपर्छ । औषधिमूलो र सामाजिक अड्कोपड्कोमा पाका मानिसले त्यस्तो रकम उपभोग गर्न पाउँदा धेरै भरथेग हुन्छ । उनीहरूलाई सकेसम्म त्यस्ता भत्ता घरघरमा गएर व्यक्तिलाई नै पुर्‍याउने व्यवस्था भए व्यवहारिक हुन्छ । कहिँ कतै निरक्षरी पाका मानिसको पाउने भत्ता एकमुष्ठ लिन जाँदा कमसल स्वभाव भएका आफन्तले नै जिप्ट्याई दिएको घटना रोक्न समेत यस्तो व्यवस्थाले काम गर्न सक्छ । रकम बोकी जाने सेवाप्रदायक पनि ईमान्दरी बहन गर्ने हुनुपर्छ भने उसले रकम लिएर दिन जाँदा पाका मानिसबारे सम्पूर्ण जानकारी सरकारलाई अद्यावधिक गर्ने मौका पनि मिल्दछ ।

२. श्रम गर्न कम सक्नेः
क) पहिला आयमूलक सेवामा रहँदानै वा सेवानिवृत्त भएपछि अङ्गभङ्ग भएकालाई यस श्रेणीमा राख्न सकिन्छ । यस्तो समुहमा मुख्यगरी सारिरीक श्रम गर्ने पाका नागरिकलाई राख्नु पर्छ । बीमा संस्थाहरूले अख्तियार गरेको प्रकारजस्तै अङ्गभङ्गको अवस्था अनुसार पाका मानिसको पनि श्रेणी विभाजन गरेर काम गर्नुपर्छ । भत्ताको निर्धारण गर्दा अमुक परिवारको समग्र आर्थिक अवस्था हेरेर यस्ता श्रेणीकालाई दिइने भत्ता फरकफरक हुनुपर्छ । हो, कसैले स्वईच्छाले भएको अवस्था स्विकार गर्दै स्वावलम्बी भएर र पारिवारिक सक्षमताले त्यस्तो भत्ता नलिने पनि हुनसक्छ । शरीरको कुनै एक भाग अङ्गभङ्ग भएर आफ्‌नो वा अरु संस्थामा संलग्न भई थुप्रैले जीविकोपार्जन गरेका पाइन्छन् । आफूलाई अपाङ्गको हिनताबोध नगरी काम गरिरहेका र अपाङ्ग भत्तासमेत नलिने कैयौँ श्रमजीवी पाका मानिस भेटिन्छन् । हामीले त्यस्ताको बिचार र व्यवहारलाई प्रचार गरी स्वावलम्बनको गुणगान गर्न चुक्न हुन्न । तर सिप र विज्ञताको आधारमा सामान्य भरथेगले सेवा लिन उपयुक्त पात्रलाई भने सङ्घसंस्थाले लिनुपर्ने सरकारी योजना हुनैपर्छ । विभिन्न कारणले भत्ता दिन आवस्यकलाई भने जानकारी सङ्कलन यथोचित गर्न पनि सरकारी भत्ता घरघरमा गएर दिइनै पर्छ ।

ख) शारीरिक हिसाबले हातगोडामा समस्या भएर धेरै हिँडडुल गर्न नसक्ने र आँखा कानका समस्या भएका बौध्दिक श्रमजीवीहरूलाई पनि विविध वर्गीकरण गर्न सकिन्छ । उनीहरूको बौध्दिक क्षमता र ज्ञानअनुसार ईच्छुकहरूलाई विद्यालय, शैक्षिक संस्था, प्राज्ञिक संस्थान, तालिमकेन्द्र, विदेश कामदार पठाउने संस्था र अन्य सिकाई सिकाउने संस्थानहरूमा ल्याइपुर्‍याईको व्यवस्था गरेर काममा लगाउन सकिन्छ । यसरी व्यक्तिको ज्ञानको कदर हुने र निजको आयआर्जन भएर समाजमा अझै उत्पादनशील भएकोले पाका मानिसलाई ढाडस मिल्ने हुन्छ । बेरोजगारी समस्या हल भएर पाका मानिसहरू स्वाबलम्बी हुन्छन् र परिवारको आर्थिक स्रोतको अभिन्न अङ्गकोरुपमा रहन्छन् । विशेष योग्यता भएकाहरूलाई त यस्तो व्यवस्था गर्नैपर्छ । त्यो विशेष ज्ञानको उपयोग समाजले निरन्तर गर्न पाउँछ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अवसर पनि मिल्छ । निवृत्तिभरण पाउनेहरूले निशुल्क वा सशुल्क सेवा गर्ने व्यवस्था गरिनुपर्छ भने नपाउनेलाई सशुल्क सेवा गराउनुपर्छ । त्यस्तो काममा लागेकालाई सामाजिक ईज्जत प्रदान गर्ने कार्यक्रम पनि आयोजना गर्नु सरोकारवालाको दायित्व हुनुपर्छ ।

३. श्रम गर्न नसक्नेः
मानसिक वा शारीरिक श्रम गर्न नसक्ने पाका मानिसहरूलाई पनि दुई श्रेणीमा राख्न सकिन्छ ।
क) कुनै प्रतिकृया देखाउन सक्ने पाका मानिसलाई उस्को क्षमता अनुसार सरल र सहज काममा उपयोगी बनाउन सकिन्छ । कतिपय ठाउँमा मानिसको उपस्थितिले नै काम गर्छ, त्यस्तो ठाउँमा हिँडडुल गर्न नसक्ने, धेरै क्षमता नभएको मानिस काम लाग्छ । कुर्ने, सामान्य जानकारी दिने र सरल कामगर्न वा छुट्टयाउन सक्ने भएमा त्यस्तै सरल कामको रेखदेख वा अनुगमन गर्ने काममा राखिनुपर्छ । त्यसबाट हुने आम्दानीले उनीहरूका आवस्यक्ता पूर्ति हुन सक्छ । उनिहरूलाई परिवार र समाजको बोझ होइन अभिन्न व्यक्तित्वको रुपमा स्थापित गराउन मद्दत पुग्छ । यस्तो हुनसकेमा त्यस्ता पाका मानिसको बाँकि जीवन आत्मविश्वासपूर्ण र परनिर्भर नभई सुखमय बन्छ । यस सन्दर्भमा मानिसले विभिन्न मनोरञ्जन, काम र खेलका लागि बन्यजन्तुलाई तालिम दिएको उदाहरण नै मनग्य छ । अमुक प्राणीले अर्थ नबुझे पनि सिकाएको गर्छ, आफ्‌नो अर्को चिन्छ र अनुकुल प्रतिकुल छुट्टयाउँछ । सामान्य प्रतिकृया देखाउन सक्ने पाका मानिसले त्यस्तो गर्न अवस्य सक्छ । यसरी विभिन्न क्रियाकलापमा पाका मानिसलाई संलग्न गराएर उनीहरूको आत्मबल समाजले बढाउनै पर्छ ।

ख) कुनै पनि प्रकारको प्रतिक्रिया नै देखाउन नसक्ने नसा र मष्तिस्कको समस्या भएका अथवा सामान्य शरीरको क्रियाकलाप गर्न समेत गाह्रो हुने पाका मानिसहरू मात्र पूर्णरुपले अरुको रेखदेख र सरकारी सुविधाका पात्र हुन्छन् । जन्मजात वा पछि आएर त्यस्तो अवस्थामा पुगेका पाका मानिसहरूको सम्पूर्ण जिम्मा परिवारले लिनैपर्छ । पारिवारिक आर्थिक अवस्था न्युन छ वा हकवाला नभएका पाका मानिसलाई भने सुखपूर्वक बाँच्न पाउने मानिसको अधिकारको सम्पूर्ण प्रत्याभूति सरकारले गर्नै पर्छ । मानव समाजमा मानव प्रजातिकै अभिन्न अङ्ग पाका मानिसलाई बाँचुन्जेल सुख र आनन्दले बाँच्न कसैले अप्ठ्यारो पार्नु वा रोक्नु हुँदैहुन्न ।

नेपालमा बेलाबेला प्रजातन्त्रको नाममा चुनावको हावाहुरी मण्डारी रहेको हुन्छ । उम्मेदवार र प्रचारकको हल्लाले सबैलाई विविध प्रभाव पारेको हुन्छ । सन २०१९ को प्रक्षेपण अनुसार नेपालमा १,७७,३३,७२३ उमेर पुगेका मतदाता रहेका छन् । त्यसमध्ये सरकारी अकर्मण्यता र आधारभूत आवस्यक्ताका उद्योग व्यवशायको निर्माण नगरिदिएका कारण आफ्‌नो जीविकोपार्जन र परिवारको भरणपोषणका लागि ६० लाखभन्दा बढि वयस्कहरू बाहिरी देशमा श्रम बेच्न गएका छन् । त्यसरी जाने पक्कै पाका मानिस होइनन् भने बाँकी १,१७,३३,७२७ उमेर पुगेका मानिस नेपालमा छन् । अहिले पनि ६० वर्ष माथिका करिब २५,२१,००० रहेको तथ्याङ्क मान्दा २१.४९ प्रतिशत पाका मानिस रहेको प्रमाणित हुन्छ ।

कूल जनसङ्ख्याको ५ भागको एक भाग भनेको ठूलो मात्रा हो कुनै पनि देशका लागि । हाम्रा तालुकवाला के गर्छन् त ती पाका मानिसको हितमा ? जाबो सामान्य स्थानिय चुनावमा पाका मानिस भनि आफैँले भनेकाहरूका लागि भोटहाल्न प्राथमिकतामा राखि अलग लाइन वा सहज वातावरण त बनाएनन् । कति ठाउँमा उत्साहित भएर आफन्तसँग सहयोग लिएर मतदान केन्द्रमा गएका पाका मानिसलाई आफन्तकै सहयोगमा ईच्छा गरेको चिन्हमा मतमा छाप लगाएर खसाल्न त दिएनन् । मतदाताको त्यत्रो भागलाई त्यस किसिमको व्यवहार गर्न मिल्छ भन्या ? कैयौँ मतदाताको दृष्टि कमजोर होला, कतिको हात स्थिर नहोला, कति मतदान केन्द्रको अड्बाङ्गे व्यवस्थापनमा कता जाने र के गर्ने भन्ने भेउ पाउन्नन् । अनि कम्तीमा आफन्तको सहयोग लिनु परेन ? कि निर्वाचन व्यवस्थापनले पाका मानिसलाई चुनाव बहिष्कार गर्न हौस्याएको हो ? आजका पाका मानिस बढी सङ्ख्याका सिप, ज्ञान, अनुभवयुक्त र आदरणीय हुन् । उनीहरूबारे व्यवहारिक जिम्बेवारी बहन गर्न परेन भन्या ? देखाउने र सुनाउने होइन, गरिने हितका काम अघि बढाउन परेन ? नत्र रैथाने पिँढीसाँढेका दिन ओरालो लागेको बुझे हुन्छ, अब धेरै दिन छैन, समयले त्यस्ता सबैलाई चैते हुरीले उखेलिएको रुख बनाउला, बुध्दि नपुर्‍याई बुर्कुसी मार्न खोजे ।

पाका मानिसले आफूले सक्रृय भई काम गर्दा बढी उमेरमा र अशक्त हुँदा काम लाग्छ भनि बचत गरेर राखेका नगद जिन्सीको आम्दानीमा बैँकिङ्ग कारोवार वा आउने व्याजमा आयकर नलगाऔँ । त्यस्ता बचत रकम कुनै अर्थोपार्जन वा सरकारी परियोजनामा लगानी गर्न चाहेमा पाका मानिसलाई सहुलियत र सहज पारियोस् । त्यस्ताबाट हुने आयमा पनि सकेसम्म कर नलिईयोस् र लिनैपरे अति सामान्यमात्र लागु गरियोस् । कुनै कुनै परियोजना वा व्यापार व्यवसाय त पाका मानिसका संयोजनमा खोल्न र चलाउनसमेत सरकारले सहयोग गर्नु उत्साहजनक हुन्छ । सकेसम्म क्रियाशील हुनसक्ने पाका मानिसलाई क्रियाशील पारौँ र स्वावलम्बी बनाऔँ । गर्नसक्नेले थप काम गर्न र थप आय आर्जनगर्न प्रोत्साहित गरौँ । सरकारले हरेक आर्थिक कारोबार र आम्दानीमा करकट्टा गरेर जनता आक्रान्त छन् । पाका मानिसको क्रियाशिलतामा हुने आयआर्जनमा चैँ विवेकीभएर सरकारले कर पुराछुट वा अतिन्यून गरी प्रोत्साहित गर्नैपर्छ ।

अन्त्यमा,
यसरी बहुसङ्ख्यक पाका मानिस निस्कृय नबसेर आफ्‌नो मात्र होइन परिवार र समाजकै सहयोगी भएर बाँच्न सक्छन । अनि आफ्‌ना अग्रज, मायालाग्दा र आदरणीय मान्यजनलाई बाटोमा छोड्ने दुष्कर्म र पैसाको तुजुकमा ‘आधुनिक पाटी’ बृध्दाश्रममा फ्याँक्ने हिम्मत कुनै परिवारले नगर्लान् । सरकारले सामाजिक सुरक्षा भनेर दिनुपर्ने आवस्यक भत्ता पाउनुपर्नेलाई घरघरमा भेटेर भुक्तानी गर्ने चाँजो मिलाऔँ । अचेल हरेक पालिकामा भएका वडावडामा रहेका कार्यालयको एक कर्मचारीले अद्यावधिक जानकारी आवस्यक्ता अनुसार आवधिक सङ्कलन सहित मासिक रकम भूक्तान गरीयोस् । त्यस प्रक्रियाबाट पाका मानिसहरूको स्वास्थ्य अवस्था, पारिवारिक अवस्था, पछिल्लो जानकारीसमेत जम्मा भई सरकारलाई देशव्यापी जनगणनाको श्रम, खर्च र समय पनि बचत हुन्छ । सत्यतथ्य जम्मा हुने त्यस्ता कार्यले पाका मानिसको ज्ञान र श्रमको सदुपयोग हुन्छ भने सहयोग प्राप्त गर्दा हुनसक्ने बेइमानी र अपचलन पनि रोकिन्छ ।

०००
ल.पु. चालिसेडाँडा
पाका मानिसका कुरा, २०७९ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x