साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामीलाई एकै नापो काम लाग्दैन है !

सकेसम्म क्रियाशील हुनसक्ने पाका मानिसलाई क्रियाशील पारौँ र स्वावलम्बी बनाऔँ । गर्न सक्नेले थप काम गर्न र थप आय आर्जनगर्न प्रोत्साहित गरौँ ।

Nepal Telecom ad

डा. मुकेशकुमार चालिसे :

पाका मानिसहरूलाई प्राय एकै मेसो ‘ज्येष्ठ नागरिक’ भनिदियो टण्टैसाफ भनेजस्तो गर्छन् । नियमानुसार उमेर पुगेका सबै महिलापुरुषलाई एकै समुहमा राख्नु र एकै व्यवहार गर्नु अवैज्ञानिक हुन्छ । उनीहरूलाई उमेरको मापदण्डले भने पनि सारीरिक क्षमता, मानसिक अवस्था, शैक्षिक ज्ञान र पारिवारिक आर्थिक स्तर अनुसार व्यवहार गरिनु पर्छ । अझ, कुनै सेवा व्यवसायमा लागेर निवृत्तिभरण पाउने र नपाउने तथा आजीवन घरकाजमा नै रहेका बिचमा पनि वर्गीकरण गर्नु राम्रो हुन्छ । नेपालमा त विभिन्न सेवा व्यवसायमा अवकास दिइने फरक फरक उमेर छ । त्यस्तै, निवृत्तिभरण पाउने नपाउने पनि संस्था हेरेर सेवा अवधि जोडेर फरकफरक छ । सरकारको अहिलेसम्मको उर्दी चैँ ६० वर्षदेखि ज्येष्ठ नागरिकको पगरी पाइने तर ज्येष्ठनागरिक भत्ताको व्यवस्था भने ७० वर्षदेखि रहेको छ । यो भत्ता पाए पनि ज्येष्ठनागरिकको आंसिक आवस्यक्ता मात्र पुरा हुने देखिन्छ । परम्परागत रुपमा भूत मन्साउन गरिने एक चिम्टी पहेँला अक्षेता जस्तो त्यस्तो भत्ता पाउन त केहीले कति धामा गर्नुपर्छ अन्य सुविधाको कुरै नगरौँ र पाउँदै नपाउनेको के कुरा ?

१. श्रम गर्न सक्नेः
क) शारीरिक र मानसिक अवस्था सामान्य रहेका र उमेर पुगेका महिला र पुरुष त सरकारी गैरसरकारी सेवाबाट निवृत्त भए पनि अन्य ठाउँमा काम गरिरहेका प्रसस्त पाइन्छन् । सेना प्रहरीका थुप्रै मानिस अहिले अवकासपछि विभिन्न सरकारी गैरसरकारी सेवाका सुरक्षाकर्मी भएर रहेका भेटिन्छन् । विदेशी मुलुकहरूमा पनि कमाई र ईज्जत आर्जन गरेकै छन् । प्राविधिक समुहका पनि विभिन्न परामर्शदात्री संस्थामा योग्यता र अनुभवका आधारमा विज्ञ वा सेवाप्रदायक भई काम गरेका पाइन्छन् । आर्थिक प्रशासन र बैकिङ्ग तिरका विभिन्न अर्थ कारोवार, व्यापारिक संस्थान वा सहकारी संस्थामा योग्यताका आधारमा काममा लागेकै छन् । कतिपय शरीरिक सक्षमहरू आफ्‌नै बचत कमाईलाई सदुपयोग गरेर तथा ऋणसापटी लिएर बन्दव्यापार वा कारोवारमा लागेका छन् । सामान्य हेर्दा शारीरिक तन्दुरुस्ती भए चार बिससम्म मज्जाले काम गरिरहेका वा शेषपछिकालाई सघाइरहेका पाइन्छन् ।

अहिलेको नेपालमा पुरुषहरू बढि घरबाहिर भ्याइरहेछन् भने महिलाहरू अलि अगाडिको उमेरमा नै घर भित्रको काममा व्यस्त हुन थाल्छन् । राजनीति र समाजसेवामा चासो भएका भने महिला र पुरुष दुबै उस्तैउस्तै बाहिर पनि सक्रृय पाइन्छन् । यसरी काममा लागेका पाका मानिसहरूको आयआर्जनको स्थिति बृध्दभत्ता भनिने अक्षताभन्दा कम भए तोकिएको भत्ता पाउनै पर्छ । अहिलेको आयआर्जनबाट नै बृध्दभत्ता भन्दा बढि आम्दानी हुन्छ भने अन्य आय भएसम्म त्यो भत्ता नलिने घोषणा पाका मानिसले जानकारी दिनुपर्छ । त्यसो गर्दा पाका मानिसको स्वावलम्बी हुनेआत्मबल बढद्छ भने अरु नितान्त न्यूनआर्थिक अवस्थामा रहेकालाई थप रकम उपलव्ध गराउन सरकारले योजना बनाउन सकिन्छ । ईमान्दारिताको त्यो हद सेवाप्रदायक र सेवाग्राही दुबैमा हुनु चाहिँ पर्दछ है ।

विज्ञान प्रविधि क्षेत्रका नियमानुसार अवकास प्राप्त पाका मानिसहरूलाई सम्बन्धित शैक्षिक प्रविधिक संस्थाहरूमा ज्ञान र सिपको पुस्तान्तरण गर्न आगन्तुक निरिक्षक वा निर्देशक पद दिएर सेवा लिन सकिन्छ । पाका मानिसको स्वास्थ्य स्थिति र संस्थाको आवस्यक्ता अनुसार नियमित र आवधिक सेवा लिएमा सेवाप्रदायक र सेवाग्राही दुर्बलाई फाइदा हुन्छ । आर्थिक प्रशासनिक क्षेत्रमा पनि यस्तो व्यवस्थाले हाम्रो आर्थिक र प्रशासनिक सेवा चुस्तदुरुस्त भई अपचलन रहित भई जनहितकारी नै बन्छ । कृषि र बन क्षेत्रमा पाका स्थानिय मानिसलाई पनि संयोजन गरेर हाम्रो परम्परागत कृषि क्षेत्रमा उन्नत रैथाने तरिका विकास गर्न मद्दत पुग्छ । बनको रैथाने प्रजातिको ज्ञानलाई उन्नत ढङ्गबाट बृहत उत्पादकत्वमा परिमार्जनगरी विकास गरे वातावरणमात्र होइन राष्ट्रिय आयमा समेत थप योगदान हुन्छ । हाम्रो समाजका विभिन्न विधाका पाका मानिसको ज्ञान सिपलाई उपयोग गर्ने राष्ट्रिय योजनाको स्वेतपत्र सरकारले जारी गर्नुपर्छ र कार्यान्वयनमा अघि बढेको देखाउनु आजको माग हो ।

ख) पहिला नियमित सेवामा नरहेका र कुनै प्रकारको लाभका काममा नलागी घरकाजमा रहेका महिला र पुरुषलाई अर्को श्रेणीमा राख्नु पर्दछ । अझै श्रम गर्दै रहेका भए पनि असङ्गठित यस्ता पाका मानिसलाई जेजस्तो सिप वा अनुभव छ त्यही आधारमा मिलन केन्द्र बनाई लगत राखिनु पर्छ । त्यसै आधारमा स्थानिय तहमा गरिने विकास र निर्माण प्रक्रियामा आयमूलक काममा आवधिक लगाइनु पर्छ ।अहिले यस बर्गका मानिस छिटपुट आयआर्जनमा संलग्न रहे पनि घरकाजमा समय बित्ने पाका मानिसलाई थोरै भएपनि मासिक नगद सहयोग हुनुपर्छ । औषधिमूलो र सामाजिक अड्कोपड्कोमा पाका मानिसले त्यस्तो रकम उपभोग गर्न पाउँदा धेरै भरथेग हुन्छ । उनीहरूलाई सकेसम्म त्यस्ता भत्ता घरघरमा गएर व्यक्तिलाई नै पुर्‍याउने व्यवस्था भए व्यवहारिक हुन्छ । कहिँ कतै निरक्षरी पाका मानिसको पाउने भत्ता एकमुष्ठ लिन जाँदा कमसल स्वभाव भएका आफन्तले नै जिप्ट्याई दिएको घटना रोक्न समेत यस्तो व्यवस्थाले काम गर्न सक्छ । रकम बोकी जाने सेवाप्रदायक पनि ईमान्दरी बहन गर्ने हुनुपर्छ भने उसले रकम लिएर दिन जाँदा पाका मानिसबारे सम्पूर्ण जानकारी सरकारलाई अद्यावधिक गर्ने मौका पनि मिल्दछ ।

२. श्रम गर्न कम सक्नेः
क) पहिला आयमूलक सेवामा रहँदानै वा सेवानिवृत्त भएपछि अङ्गभङ्ग भएकालाई यस श्रेणीमा राख्न सकिन्छ । यस्तो समुहमा मुख्यगरी सारिरीक श्रम गर्ने पाका नागरिकलाई राख्नु पर्छ । बीमा संस्थाहरूले अख्तियार गरेको प्रकारजस्तै अङ्गभङ्गको अवस्था अनुसार पाका मानिसको पनि श्रेणी विभाजन गरेर काम गर्नुपर्छ । भत्ताको निर्धारण गर्दा अमुक परिवारको समग्र आर्थिक अवस्था हेरेर यस्ता श्रेणीकालाई दिइने भत्ता फरकफरक हुनुपर्छ । हो, कसैले स्वईच्छाले भएको अवस्था स्विकार गर्दै स्वावलम्बी भएर र पारिवारिक सक्षमताले त्यस्तो भत्ता नलिने पनि हुनसक्छ । शरीरको कुनै एक भाग अङ्गभङ्ग भएर आफ्‌नो वा अरु संस्थामा संलग्न भई थुप्रैले जीविकोपार्जन गरेका पाइन्छन् । आफूलाई अपाङ्गको हिनताबोध नगरी काम गरिरहेका र अपाङ्ग भत्तासमेत नलिने कैयौँ श्रमजीवी पाका मानिस भेटिन्छन् । हामीले त्यस्ताको बिचार र व्यवहारलाई प्रचार गरी स्वावलम्बनको गुणगान गर्न चुक्न हुन्न । तर सिप र विज्ञताको आधारमा सामान्य भरथेगले सेवा लिन उपयुक्त पात्रलाई भने सङ्घसंस्थाले लिनुपर्ने सरकारी योजना हुनैपर्छ । विभिन्न कारणले भत्ता दिन आवस्यकलाई भने जानकारी सङ्कलन यथोचित गर्न पनि सरकारी भत्ता घरघरमा गएर दिइनै पर्छ ।

ख) शारीरिक हिसाबले हातगोडामा समस्या भएर धेरै हिँडडुल गर्न नसक्ने र आँखा कानका समस्या भएका बौध्दिक श्रमजीवीहरूलाई पनि विविध वर्गीकरण गर्न सकिन्छ । उनीहरूको बौध्दिक क्षमता र ज्ञानअनुसार ईच्छुकहरूलाई विद्यालय, शैक्षिक संस्था, प्राज्ञिक संस्थान, तालिमकेन्द्र, विदेश कामदार पठाउने संस्था र अन्य सिकाई सिकाउने संस्थानहरूमा ल्याइपुर्‍याईको व्यवस्था गरेर काममा लगाउन सकिन्छ । यसरी व्यक्तिको ज्ञानको कदर हुने र निजको आयआर्जन भएर समाजमा अझै उत्पादनशील भएकोले पाका मानिसलाई ढाडस मिल्ने हुन्छ । बेरोजगारी समस्या हल भएर पाका मानिसहरू स्वाबलम्बी हुन्छन् र परिवारको आर्थिक स्रोतको अभिन्न अङ्गकोरुपमा रहन्छन् । विशेष योग्यता भएकाहरूलाई त यस्तो व्यवस्था गर्नैपर्छ । त्यो विशेष ज्ञानको उपयोग समाजले निरन्तर गर्न पाउँछ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अवसर पनि मिल्छ । निवृत्तिभरण पाउनेहरूले निशुल्क वा सशुल्क सेवा गर्ने व्यवस्था गरिनुपर्छ भने नपाउनेलाई सशुल्क सेवा गराउनुपर्छ । त्यस्तो काममा लागेकालाई सामाजिक ईज्जत प्रदान गर्ने कार्यक्रम पनि आयोजना गर्नु सरोकारवालाको दायित्व हुनुपर्छ ।

३. श्रम गर्न नसक्नेः
मानसिक वा शारीरिक श्रम गर्न नसक्ने पाका मानिसहरूलाई पनि दुई श्रेणीमा राख्न सकिन्छ ।
क) कुनै प्रतिकृया देखाउन सक्ने पाका मानिसलाई उस्को क्षमता अनुसार सरल र सहज काममा उपयोगी बनाउन सकिन्छ । कतिपय ठाउँमा मानिसको उपस्थितिले नै काम गर्छ, त्यस्तो ठाउँमा हिँडडुल गर्न नसक्ने, धेरै क्षमता नभएको मानिस काम लाग्छ । कुर्ने, सामान्य जानकारी दिने र सरल कामगर्न वा छुट्टयाउन सक्ने भएमा त्यस्तै सरल कामको रेखदेख वा अनुगमन गर्ने काममा राखिनुपर्छ । त्यसबाट हुने आम्दानीले उनीहरूका आवस्यक्ता पूर्ति हुन सक्छ । उनिहरूलाई परिवार र समाजको बोझ होइन अभिन्न व्यक्तित्वको रुपमा स्थापित गराउन मद्दत पुग्छ । यस्तो हुनसकेमा त्यस्ता पाका मानिसको बाँकि जीवन आत्मविश्वासपूर्ण र परनिर्भर नभई सुखमय बन्छ । यस सन्दर्भमा मानिसले विभिन्न मनोरञ्जन, काम र खेलका लागि बन्यजन्तुलाई तालिम दिएको उदाहरण नै मनग्य छ । अमुक प्राणीले अर्थ नबुझे पनि सिकाएको गर्छ, आफ्‌नो अर्को चिन्छ र अनुकुल प्रतिकुल छुट्टयाउँछ । सामान्य प्रतिकृया देखाउन सक्ने पाका मानिसले त्यस्तो गर्न अवस्य सक्छ । यसरी विभिन्न क्रियाकलापमा पाका मानिसलाई संलग्न गराएर उनीहरूको आत्मबल समाजले बढाउनै पर्छ ।

ख) कुनै पनि प्रकारको प्रतिक्रिया नै देखाउन नसक्ने नसा र मष्तिस्कको समस्या भएका अथवा सामान्य शरीरको क्रियाकलाप गर्न समेत गाह्रो हुने पाका मानिसहरू मात्र पूर्णरुपले अरुको रेखदेख र सरकारी सुविधाका पात्र हुन्छन् । जन्मजात वा पछि आएर त्यस्तो अवस्थामा पुगेका पाका मानिसहरूको सम्पूर्ण जिम्मा परिवारले लिनैपर्छ । पारिवारिक आर्थिक अवस्था न्युन छ वा हकवाला नभएका पाका मानिसलाई भने सुखपूर्वक बाँच्न पाउने मानिसको अधिकारको सम्पूर्ण प्रत्याभूति सरकारले गर्नै पर्छ । मानव समाजमा मानव प्रजातिकै अभिन्न अङ्ग पाका मानिसलाई बाँचुन्जेल सुख र आनन्दले बाँच्न कसैले अप्ठ्यारो पार्नु वा रोक्नु हुँदैहुन्न ।

नेपालमा बेलाबेला प्रजातन्त्रको नाममा चुनावको हावाहुरी मण्डारी रहेको हुन्छ । उम्मेदवार र प्रचारकको हल्लाले सबैलाई विविध प्रभाव पारेको हुन्छ । सन २०१९ को प्रक्षेपण अनुसार नेपालमा १,७७,३३,७२३ उमेर पुगेका मतदाता रहेका छन् । त्यसमध्ये सरकारी अकर्मण्यता र आधारभूत आवस्यक्ताका उद्योग व्यवशायको निर्माण नगरिदिएका कारण आफ्‌नो जीविकोपार्जन र परिवारको भरणपोषणका लागि ६० लाखभन्दा बढि वयस्कहरू बाहिरी देशमा श्रम बेच्न गएका छन् । त्यसरी जाने पक्कै पाका मानिस होइनन् भने बाँकी १,१७,३३,७२७ उमेर पुगेका मानिस नेपालमा छन् । अहिले पनि ६० वर्ष माथिका करिब २५,२१,००० रहेको तथ्याङ्क मान्दा २१.४९ प्रतिशत पाका मानिस रहेको प्रमाणित हुन्छ ।

कूल जनसङ्ख्याको ५ भागको एक भाग भनेको ठूलो मात्रा हो कुनै पनि देशका लागि । हाम्रा तालुकवाला के गर्छन् त ती पाका मानिसको हितमा ? जाबो सामान्य स्थानिय चुनावमा पाका मानिस भनि आफैँले भनेकाहरूका लागि भोटहाल्न प्राथमिकतामा राखि अलग लाइन वा सहज वातावरण त बनाएनन् । कति ठाउँमा उत्साहित भएर आफन्तसँग सहयोग लिएर मतदान केन्द्रमा गएका पाका मानिसलाई आफन्तकै सहयोगमा ईच्छा गरेको चिन्हमा मतमा छाप लगाएर खसाल्न त दिएनन् । मतदाताको त्यत्रो भागलाई त्यस किसिमको व्यवहार गर्न मिल्छ भन्या ? कैयौँ मतदाताको दृष्टि कमजोर होला, कतिको हात स्थिर नहोला, कति मतदान केन्द्रको अड्बाङ्गे व्यवस्थापनमा कता जाने र के गर्ने भन्ने भेउ पाउन्नन् । अनि कम्तीमा आफन्तको सहयोग लिनु परेन ? कि निर्वाचन व्यवस्थापनले पाका मानिसलाई चुनाव बहिष्कार गर्न हौस्याएको हो ? आजका पाका मानिस बढी सङ्ख्याका सिप, ज्ञान, अनुभवयुक्त र आदरणीय हुन् । उनीहरूबारे व्यवहारिक जिम्बेवारी बहन गर्न परेन भन्या ? देखाउने र सुनाउने होइन, गरिने हितका काम अघि बढाउन परेन ? नत्र रैथाने पिँढीसाँढेका दिन ओरालो लागेको बुझे हुन्छ, अब धेरै दिन छैन, समयले त्यस्ता सबैलाई चैते हुरीले उखेलिएको रुख बनाउला, बुध्दि नपुर्‍याई बुर्कुसी मार्न खोजे ।

पाका मानिसले आफूले सक्रृय भई काम गर्दा बढी उमेरमा र अशक्त हुँदा काम लाग्छ भनि बचत गरेर राखेका नगद जिन्सीको आम्दानीमा बैँकिङ्ग कारोवार वा आउने व्याजमा आयकर नलगाऔँ । त्यस्ता बचत रकम कुनै अर्थोपार्जन वा सरकारी परियोजनामा लगानी गर्न चाहेमा पाका मानिसलाई सहुलियत र सहज पारियोस् । त्यस्ताबाट हुने आयमा पनि सकेसम्म कर नलिईयोस् र लिनैपरे अति सामान्यमात्र लागु गरियोस् । कुनै कुनै परियोजना वा व्यापार व्यवसाय त पाका मानिसका संयोजनमा खोल्न र चलाउनसमेत सरकारले सहयोग गर्नु उत्साहजनक हुन्छ । सकेसम्म क्रियाशील हुनसक्ने पाका मानिसलाई क्रियाशील पारौँ र स्वावलम्बी बनाऔँ । गर्नसक्नेले थप काम गर्न र थप आय आर्जनगर्न प्रोत्साहित गरौँ । सरकारले हरेक आर्थिक कारोबार र आम्दानीमा करकट्टा गरेर जनता आक्रान्त छन् । पाका मानिसको क्रियाशिलतामा हुने आयआर्जनमा चैँ विवेकीभएर सरकारले कर पुराछुट वा अतिन्यून गरी प्रोत्साहित गर्नैपर्छ ।

अन्त्यमा,
यसरी बहुसङ्ख्यक पाका मानिस निस्कृय नबसेर आफ्‌नो मात्र होइन परिवार र समाजकै सहयोगी भएर बाँच्न सक्छन । अनि आफ्‌ना अग्रज, मायालाग्दा र आदरणीय मान्यजनलाई बाटोमा छोड्ने दुष्कर्म र पैसाको तुजुकमा ‘आधुनिक पाटी’ बृध्दाश्रममा फ्याँक्ने हिम्मत कुनै परिवारले नगर्लान् । सरकारले सामाजिक सुरक्षा भनेर दिनुपर्ने आवस्यक भत्ता पाउनुपर्नेलाई घरघरमा भेटेर भुक्तानी गर्ने चाँजो मिलाऔँ । अचेल हरेक पालिकामा भएका वडावडामा रहेका कार्यालयको एक कर्मचारीले अद्यावधिक जानकारी आवस्यक्ता अनुसार आवधिक सङ्कलन सहित मासिक रकम भूक्तान गरीयोस् । त्यस प्रक्रियाबाट पाका मानिसहरूको स्वास्थ्य अवस्था, पारिवारिक अवस्था, पछिल्लो जानकारीसमेत जम्मा भई सरकारलाई देशव्यापी जनगणनाको श्रम, खर्च र समय पनि बचत हुन्छ । सत्यतथ्य जम्मा हुने त्यस्ता कार्यले पाका मानिसको ज्ञान र श्रमको सदुपयोग हुन्छ भने सहयोग प्राप्त गर्दा हुनसक्ने बेइमानी र अपचलन पनि रोकिन्छ ।

०००
ल.पु. चालिसेडाँडा
पाका मानिसका कुरा, २०७९ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
हामी यस्तैमा छौँ साथीहरू !

हामी यस्तैमा छौँ साथीहरू...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x