डा. मुकेशकुमार चालिसेबृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?
अनि के ती पाका मानिस सरकारी सरदर उमेर माथि बाँच्न सक्छन् त ? नबाँचेकालाई दिने त पिण्ड नै होला ? सरकारी सरदर मर्ने उमेर नाघेपछि भत्तादिने भनेको ‘बाँचेदेखि पिण्ड खान बाँच’ भन्या हो ?
डा. मुकेशकुमार चालिसे :
अहिले नेपालमा ज्येष्ठनागरिकमा नाम दराएका मानिसहरू बिक्रम सम्बतमा हिसाब गरे धेरैजसो यस शताब्दीको अघि १९९० सालको भूकम्प छेउछाउदेखि राणा शासनको अन्त्यसम्ममा यस भूगोलमा जन्मी हुर्किएका नै पर्छन् । अहिले नेपालमा ६० वर्ष नाघेका पाका मानिसहरू पञ्चायत व्यवस्था लाग्दा नलाग्दा जन्मिएका नै धेरै छन् । हुनत, ज्येष्ठ नागरिक भनि नाक फुलाउन वा होच्च्याउन ६० वर्ष माथिकालाई भने पनि सरकारको लोलोपोतो जस्तो पहेँला अक्षेता खान चैँ ७० नाघेपछि मात्र हुनेकुरा पाइएको छ ।
भोगेको कुराः
नेपालमा दैनिक आफ्नै घरकाज गरिरहेका र बिहान बेलुकाको माड व्यवस्थागर्न बाध्य भएका त कहिले कामबाट अवकास पाउलान् र ? सरकारी अर्धसरकारी र गैरसरकारी सँस्थामा काम गर्नेलाई किन हो फरकफरक उमेरहदमा अवकास हुनेगर्छ । सेनाको हकमा न्युनपदीय साधारण तर्फ ४६ देखि ५५ वर्षमा अनिवार्य अवकास हुने व्यवस्था देखिन्छ भने सरकारी कतिपय निकायमा संलग्न कर्मचारीलाई ५८ वर्षमा नै अवकास दिइन्छ । कति ठाउँमा जन्मोत्सवकै अघिल्लो दिन ‘भोलिदेखि आफ्नो गरिखानु’ भनि बिदाई दिइन्छ भने अरुमा त्यो वर्ष बिताउन पाइन्छ । शिक्षक प्राध्यापकलाई ६३ लाग्ने छ महिना अघिदेखि ‘तेरा दिन गए’ भनि सूचना गरिन्छ । न्याय सेवातिर त अझ ६५ वर्षसम्म गनगन नगरी बस्न दिइन्छ ।
किन होला पाको भएको र अमुक सँस्थामा काम गर्न सक्तैनस् भने जसरी फरकफरक उमेरमा बिदा दिने गरेको ? शारीरिक तन्दरुस्ती, बल, तुजुक र जोश प्रदर्शन हुने वा देखाउने ठाउँमा त् उमेरले काम गर्ला र स्वास्थ्य स्थिति जाँचेर कम सक्षम भए अवकाश दिए ठिकै होला । मगज खेलाउने ठाउँमा समेत उमेर हद किन होला ? झन पाको उमेर भएपछि बुध्दि पनि पाको हुदै जाने न हो अनुभवको आरनमा पाइन चढेर ! धेरै भोटो फटाएको मूल्य केहि हुन्न र भन्या ? एउटा उमेर पुगेपछि सङ्घ, सँस्था, कार्यालयहरूबाट उमेरहदले अवकाश भनिने पत्र थमाउँछन् । लाग्छ, अब अमुक महिला वा पुरुष कामगर्न अयोग्य छ अथवा काम गर्नै सक्दैन् । शारीरिक असक्षमतामा पनि मानिस बौध्दिक काम गर्न त अयोग्य सावित हुनु नपर्ने ! सकृय रहँदै कस्ले र किन चलायो होला कामदार मानिसलाई ग्लानी हुने नियम ? हुन त अरुलाई पालो दिन होला ! बरु काम नै बढाएर सकुन्जेल काम लगाए त पाका मानिस आयआर्जन साथ कर्तव्य नियमित भएकाले पनि खुसी हुन्थे । पाका मानिसको ज्ञानबाट सम्बन्धित सँस्थाले पनि फाईदा पाउने र नयाँ भर्तीले उनिहरूबाट काम सिकेर ज्ञान र शिपको पुस्तान्तरण पनि हुने ।
कताबाट सिकेछन् कुन्नी, नियम बनाउने अनौ समातेका मुढबुध्दिहरूले, सरकारी नियम भनेर ६० वर्षमा नै दर्ज्यानी चिन्ह झुण्ड्याई दिन्छन् ज्येष्ठनागरिकको । मातहतकै नियममा चल्ने एकातिर कुनै निकायमा कसैलाई त्यति वर्ष नपुगी गलहत्याउँछन् भने कसैलाई उमेरहद नपुगेको भन्दै कनिकनि काम थपेर भए पनि वा हाजिर गराएर भएपनि ६० माथीपनि जोत्छन् ! त्यसोभए ६० वर्षे ज्येष्ठनागरीकको दर्ज्यानी ती पाका मानिसलाई किन ? प्रौढ वा उत्तरार्धका प्रौढ भन्दा भईहाल्यो नि । फेरि त्यो दर्ज्यानीको महत्व, अधिकार र सुविधा नास्ती, मानी दिए सहचालकले सार्वजनिक बसमा भाडा अलिकति घटाइदेला, बस् । कल्की भिराइदिने सरकारले त सिन्को भाँच्दैन यस उमेर समुहका लागि, अरुको के कुरा ! फेरी नागरीकता लिएदेखि काम गर्न, घुमफिर गर्न र सरकारी जागिर खान हुने रे ! पढ्ने, सिक्ने, ज्ञान आर्जन गर्ने र परिवार जोड्ने उमेरमा जागिरतिर लहसिए कति बुध्दिभएकाले सरकारी गैरसरकारी सँस्थामा कत्तिको स्तरीय सेवा गर्ने होलान् ? देश कस्तो बन्ला ? अनि नीतिनियम कस्ता बन्लान ? त्यस्ताले बनाएका कानुन कस्ता होलान् ? बरु, जागिर गर्नलाई चाहिने न्युनतम उमेर बढाउन सकिन्छ । त्यस्तै, नेतो बन्न वा चुनावमा उठनलाई न्युनतम उमेर पनि ५० वर्ष पुग्नुपर्ने गरिए पाका वयस्कले अनुभव र योग्यतासहित राम्रो परिपाटी बसाउँथे कि ? त्यसोभए जेष्ठनागरिक दरिँदा सम्बन्धित कामबाट अवकास भन्ने पनि मिल्थ्यो र सबै तहका सेवाव्यवसायमा समानता हुन्थ्यो । सबैतिर असमानता र विभेद हुँदा कतामात्रै सच्च्याउनु ?
लौ, त्यसैले होला यो रेडियो भन्ने जीनिसले समाचार नपाएर के के फत्तुर मात्र ओकल्छ बा । समाचार त तातो न छारोको ‘देश बेच्ने र नबेच्नेको जुहारी पो रहेछ’, हाम्रा कर तिरेका पैसा खाएर सदरमुकाम र राजधानीतिर घर बनाउनेहरुको । शिक्षामा सरकारी विद्यालयको हुर्मत लिएर आफ्ना सन्तान विदेश पढन पठाउनेको वाक्कलाग्दो भाषण । पानी नै नभएको ठाउँमा पुलको उद्घाटन, भूकम्प र बाढीपहिरो पीडित मान्छेलाई सुको पैसाको सहयोग वास्ता छैन, वन्यजन्तुका बगाल बढाउन करोडौँ बजेट रे । अनि अरु चैँ, ‘हत्या, बलात्कार, ठगि, विदेशमा अलपत्र, विदेश गएका मृत, अमुक देश वा सँस्थासँग ऋण पाइयो भनेर हर्कबढाईँ ।’ धत, के सुन्नु, मन नै दिगमिग हुने समाचार ?
साँच्ची हाम्रा देशमा देशलाई मायागर्ने, नाम चलाउने, एकआपसमा सहयोग गरिएको, गरिबगुरुवाको प्रगतिमा काम भएको समाचार हुँदैन कि क्या हो ? उमेर र योग्यता अनुसार काम, मानमर्यादा, शिप विकास र प्रचारको समाचार नै बन्दैन ? पाका मानिसको ज्ञानको प्रचार, अनुभव आदानप्रदान र कमउमेरका बिच उनीहरूलाई भेटाएर कुराकानी गरेर पुस्तान्तरण गर्ने चलन नभएको हो कि, समाचार नबनेको हो ? म त छक्क पर्छु, अगुवा भनाउँदा समाजलाई कता घुस्मुट्याउँदै छन् ? आफ्ना र ज्यालामा ल्याएकाहरू बिच दिनदिनै कुखुरा र साँढे जुधाएको जस्ता भिडन्तका समाचार पो दिन्छन् बा । के भएको अहिले हाम्रो समाज ? आफ्नै हुकुम कायम गर्या छन् अनि आफ्नै लठुवालाई सरकारी शुरक्षाबलसँग भिडाउँछन् । आपसी सल्लाहका कुस्तीमा हामीले सकिनसकी तिरेको मालपोत, कर र नानाभाँती शुल्क जम्मा गरी भरिएको ढुकुटी मास्न कत्ति लाज नलागेको किन होला ? जनता सबैको यस्तो मन पोल्ने नि समाचार हुन्छ ? छ्या, गर्नेभन्दा नि देख्ने सुन्नेलाई लाज । बरु भस्मासुरहरूका दन्तबजानको कुरा सुन्दै नसुन्यो आनन्द । यस्ता पत्रुका नाटक हेर्न म घर बाहिरतिर जान्न, देशको प्रगति सुनौँ भन्या त्यो पनि दिएनन् । यो सब त्यही उमेर अनुसार ज्ञान, क्षमता अनुसार जिम्बेबारीसँगै खास कारण र उमेरमा कामबाट अवकास दिने चलन नबसालेर हो । त्यसैको फल लौरो टेकेर तिर्थबास जाने अगुवा भई टोपलेका र उर्जाशील बाटोमा भिडन्त गर्दै ठिक्क, अनि आदर, सत्कार, मान, मनितो र व्यवहारिक ईमानी नीतिनियम कसरी बसोस् ।
अहिलेको कुरा
नेपालको सन २०१९को जनसङ्ख्या आँकडा हेर्दा २५ लाख २१ हजार मानिस ६० वर्ष माथिका महिलापुरुष थिए र त्यो कुल जनसङ्ख्याको ८.७ प्रतिशत रहेको थियो । त्यसैवर्ष गरिएको प्रक्षेपणमा सन २०५० सम्म त्यो उमेरसमुहका ६५ लाख ६८ हजार पुग्नेछन् भने कुल जनसङ्ख्याको १८.६ प्रतिशत हुनेछ । यसमा एकल ज्येष्ठनागरिक करिब ४ प्रतिशत देखिन्छ । यसले देखाउँछ हाम्रो नेपाली समाज दिनदिनै ज्येष्ठनागरिक बहुसङ्ख्यक हुने दिशातिर अघि बढदैछ । बिसौँ शताव्दीलाई सबै युवा वयस्कहरूको जोश, जाँगर, शिप र ज्ञानमा आधारीतभई विकास भइरहेको जनाउन ‘युवाहरूको शताव्दी’ भनिन्थ्यो । एक्काईसौँ शताव्दीलाई संसारभरी औषधिको विकासले वयस्क तथा मातृशिसु अल्पआयुमै मृत्यू हुनेमा परिवर्तन भएको छ । अहिले त्यसैले नेपालीको सरदर आयु ७० वर्ष मानिन्छ भने शिसु मृत्यूदर निकै कम छ । त्यसैकारण, ठूलो सङ्ख्यामा ज्येष्ठनागरिक हुने यस शताप्दीलाई ‘ज्येष्ठनागरिकहरूको शताव्दी’ भनिएको छ । हो, यस्तै विभिन्न कारणले नेपालमा पनि ज्येष्ठनागरिकका कुरा उठे, अझ विदेशीको करबल र सल्लाहमा । नेपालीको पहिला औशत उमेर ४२ वर्षबाट बढदै गएर ५०, ६० हुँदै अहिले ७० बर्ष सरदर आयु मानिन्छ । अब, डेढ दशक अघि ६० वर्ष सरदर आयु मानेको बेलामा ज्येष्ठनागरिक भनिएको उमेर र अरु कुरा सबै क्षेत्रमा लागु हुनु पर्यो । कि अवकास पाउने उमेर बढाउनु पर्यो कि सरसुविधा सबै ६० वर्षदेखि नै लागु हुनु पर्यो । नभएत यो दोधारे चरित्रले ज्येष्ठनागरिकलाई चिन्ता र अर्घेल्याईँ बाहेक केही अनुभव हुँदैन ।
उहिल्यै बनाएको सरकारी गैरसरकारी सेवामा अवकासको उमेर नेपालमा ४६ देखि ६५ वर्ष थियो । अब, सरदर आयु नै ७० वर्ष भएको अवस्थामा त्यस्ता नियम फेर्नु पर्यो । अवकास पाउँदा सबैले निबृत्तिभरण पाउँदैनन्, विभिन्न नियमको माखेसाङ्लोले कोही उपदान र कोही सेवाअवधि वर्ष गनेर त्यति मासिक बराबरमा जयनेपाल गर्छन् । नियममा जुको जस्तै टाँस्सिने हो भने पेशा अनुसार सेवाबाट अवकास हुने उमेरमा नै ज्येष्ठनागरिक घोषित हुनु पर्यो । शारीरिक श्रम गर्नु पर्ने पेशाबाहेक अरुमा त अझ निजले काम गर्न सकुन्जेल र ईच्छा गरुन्जेल काम गर्न पाउनु पर्यो । फेरी ज्येष्ठनागरिक भनेपछि सबै पाउनुपर्ने सेवासुविधा तत्काल पाउन सुरुहुनु पर्यो ।
बेलाबेला लहडी कारोबारीले गरेजस्तो जुवाजितौरी बाँडेको जस्तो पनि गर्नुभएन र कञ्जुस छोरोले तिलको लड्डु जत्रो पिण्ड सेलाएझै्ँ पनि गर्नुभएन नि जिम्बेवार भनाउँदाले । कल्की लाइदिने ६० वर्षमा, पहेँला अक्षेता छरेर भूत मन्साएझै्ँ अलिकति पैसो जीवनदान नै दिएझैँ हल्लागरी दिने ७० वर्ष भएपछि । फेरि सरदर आयु नै ७० वर्ष भनेपछि, अनि के ती पाका मानिस सरकारी सरदर उमेर माथि बाँच्न सक्छन् त ? नबाँचेकालाई दिने त पिण्ड नै होला ? सरकारी सरदर मर्ने उमेर नाघेपछि भत्तादिने भनेको ‘बाँचेदेखि पिण्ड खान बाँच’ भन्या हो ?
सरकारले विदेशीहरूको सिको गर्न र आफूले पनि जनहित गरेको देखाउन दिने बृध्दभत्ता नामको त्यो रकम पनि पायक पर्ने ठाउँमा पाउन गाह्रो छ । अशक्त बृध्दसमेत ससरीर जानुपर्ने, कतिठाउँ त्यो हण्डी बाँडने ठाउँ पाका मानिस बसेको ठाउँबाट दिनभरी हिँड्नु पर्ने छ । कतिपय पाका मानिस कि लेखपढमा कमजोर कि आँखाको समस्या भएका छन् । ती पाका मानिसले वयश्क हुँदा काम गर्दा तिरेका करबाट राजश्व जम्मा भई तनखा बुझ्ने कर्मचारीको रुखो र अव्यवहारिक क्रियाकलाप । अनि पाका मानिस त्यो सदावर्ते हण्डी सहज र सरल तरिकाले लिन नपाउने व्यवस्था ! त्यसैभएर नेपालमा केही बाहेक धेरै पाका मानिसहरू भत्ताको सुविधाबाट पनि बञ्चीत छन् । चुनावताका देखिने नाटकी उमेदवारको च्याँखे जितौरीजस्तो भाषण सुन्न मन गर्दैनन् । त्यही भत्ताको झटारो पनि नेता भनाउँदा आआफ्नो अनुकुल व्याख्या गर्छन् । बिचार गरौँ त पाका मानिसनै चुनावजस्तो हाहाहुहुका साञ्चिकै मतदाता हुन् । कतिपय ठाउँ र समुदायमा उनीहरू नै निर्णायक बिचारक हुन्छन् । किनकी ‘कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको’ भनि मान्ने मानिस अझै नेपालमा प्रसस्त छन् । पाका मानिसले नपत्याएका मानिसले चुनावमा जमानत जोगाउला त ? होस् गर्नु ।
अन्त्यमा,
के हामी दानपत्रमा बाँच्ने प्राणी हौँ र भन्या ? फेरि त्यो पाउने दानबाट आर्जित रकमले पाका मानिसले किनमेल गर्दा उल्टो कर तिर्छन् । उनीहरूले गर्ने किनमेलमा खोई ज्येष्ठनागरिक छुट ? नियमित कमाउनेकै जति कर तिर्न नकमाउने पनि बाध्य किन छन् ? उनीहरूलाई छुट भए त हाम्रो नेपालको रैथाने संयुक्त परिवारको अवधारणा पनि भत्कने थिएन । परिवार सदस्यले पाका मानिसले सुपथ मोलमा सामान किन्न पाउने भएमा त्यही लोभमा परिवारले नै उनीहरू सँगै राख्थे । बृध्दाश्रम घँच्याड्ने संभावना कम हुन्थ्यो र पारिवारिक सदभाव कायम राख्न मद्दत पुग्थ्यो । सरोकारबालाले हाम्रो सामाजिक योगदानको कदर गरोस्, भिक्षा थाप्ने मगन्ते नठानियोस् । खै, उमेर अनुसार फुर्सद नहुँदा नहुँदै यस्तो लाग्यो है त्यो भत्ताबारे, तपाइँलाई कस्तो लाग्छ ?
०००
ल.पु. चालिसेडाँडा
पाका मानिसका कुरा, (२०७९ बाट)
Subscribe
Login
0 Comments
Oldest

































