साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

अनि के ती पाका मानिस सरकारी सरदर उमेर माथि बाँच्न सक्छन् त ? नबाँचेकालाई दिने त पिण्ड नै होला ? सरकारी सरदर मर्ने उमेर नाघेपछि भत्तादिने भनेको ‘बाँचेदेखि पिण्ड खान बाँच’ भन्या हो ?

Nepal Telecom ad

डा. मुकेशकुमार चालिसे :

अहिले नेपालमा ज्येष्ठनागरिकमा नाम दराएका मानिसहरू बिक्रम सम्बतमा हिसाब गरे धेरैजसो यस शताब्दीको अघि १९९० सालको भूकम्प छेउछाउदेखि राणा शासनको अन्त्यसम्ममा यस भूगोलमा जन्मी हुर्किएका नै पर्छन् । अहिले नेपालमा ६० वर्ष नाघेका पाका मानिसहरू पञ्चायत व्यवस्था लाग्दा नलाग्दा जन्मिएका नै धेरै छन् । हुनत, ज्येष्ठ नागरिक भनि नाक फुलाउन वा होच्च्याउन ६० वर्ष माथिकालाई भने पनि सरकारको लोलोपोतो जस्तो पहेँला अक्षेता खान चैँ ७० नाघेपछि मात्र हुनेकुरा पाइएको छ ।

भोगेको कुराः
नेपालमा दैनिक आफ्‌नै घरकाज गरिरहेका र बिहान बेलुकाको माड व्यवस्थागर्न बाध्य भएका त कहिले कामबाट अवकास पाउलान् र ? सरकारी अर्धसरकारी र गैरसरकारी सँस्थामा काम गर्नेलाई किन हो फरकफरक उमेरहदमा अवकास हुनेगर्छ । सेनाको हकमा न्युनपदीय साधारण तर्फ ४६ देखि ५५ वर्षमा अनिवार्य अवकास हुने व्यवस्था देखिन्छ भने सरकारी कतिपय निकायमा संलग्न कर्मचारीलाई ५८ वर्षमा नै अवकास दिइन्छ । कति ठाउँमा जन्मोत्सवकै अघिल्लो दिन ‘भोलिदेखि आफ्‌नो गरिखानु’ भनि बिदाई दिइन्छ भने अरुमा त्यो वर्ष बिताउन पाइन्छ । शिक्षक प्राध्यापकलाई ६३ लाग्ने छ महिना अघिदेखि ‘तेरा दिन गए’ भनि सूचना गरिन्छ । न्याय सेवातिर त अझ ६५ वर्षसम्म गनगन नगरी बस्न दिइन्छ ।

किन होला पाको भएको र अमुक सँस्थामा काम गर्न सक्तैनस् भने जसरी फरकफरक उमेरमा बिदा दिने गरेको ? शारीरिक तन्दरुस्ती, बल, तुजुक र जोश प्रदर्शन हुने वा देखाउने ठाउँमा त् उमेरले काम गर्ला र स्वास्थ्य स्थिति जाँचेर कम सक्षम भए अवकाश दिए ठिकै होला । मगज खेलाउने ठाउँमा समेत उमेर हद किन होला ? झन पाको उमेर भएपछि बुध्दि पनि पाको हुदै जाने न हो अनुभवको आरनमा पाइन चढेर ! धेरै भोटो फटाएको मूल्य केहि हुन्न र भन्या ? एउटा उमेर पुगेपछि सङ्घ, सँस्था, कार्यालयहरूबाट उमेरहदले अवकाश भनिने पत्र थमाउँछन् । लाग्छ, अब अमुक महिला वा पुरुष कामगर्न अयोग्य छ अथवा काम गर्नै सक्दैन् । शारीरिक असक्षमतामा पनि मानिस बौध्दिक काम गर्न त अयोग्य सावित हुनु नपर्ने ! सकृय रहँदै कस्ले र किन चलायो होला कामदार मानिसलाई ग्लानी हुने नियम ? हुन त अरुलाई पालो दिन होला ! बरु काम नै बढाएर सकुन्जेल काम लगाए त पाका मानिस आयआर्जन साथ कर्तव्य नियमित भएकाले पनि खुसी हुन्थे । पाका मानिसको ज्ञानबाट सम्बन्धित सँस्थाले पनि फाईदा पाउने र नयाँ भर्तीले उनिहरूबाट काम सिकेर ज्ञान र शिपको पुस्तान्तरण पनि हुने ।

कताबाट सिकेछन् कुन्नी, नियम बनाउने अनौ समातेका मुढबुध्दिहरूले, सरकारी नियम भनेर ६० वर्षमा नै दर्ज्यानी चिन्ह झुण्ड्याई दिन्छन् ज्येष्ठनागरिकको । मातहतकै नियममा चल्ने एकातिर कुनै निकायमा कसैलाई त्यति वर्ष नपुगी गलहत्याउँछन् भने कसैलाई उमेरहद नपुगेको भन्दै कनिकनि काम थपेर भए पनि वा हाजिर गराएर भएपनि ६० माथीपनि जोत्छन् ! त्यसोभए ६० वर्षे ज्येष्ठनागरीकको दर्ज्यानी ती पाका मानिसलाई किन ? प्रौढ वा उत्तरार्धका प्रौढ भन्दा भईहाल्यो नि । फेरि त्यो दर्ज्यानीको महत्व, अधिकार र सुविधा नास्ती, मानी दिए सहचालकले सार्वजनिक बसमा भाडा अलिकति घटाइदेला, बस् । कल्की भिराइदिने सरकारले त सिन्को भाँच्दैन यस उमेर समुहका लागि, अरुको के कुरा ! फेरी नागरीकता लिएदेखि काम गर्न, घुमफिर गर्न र सरकारी जागिर खान हुने रे ! पढ्ने, सिक्ने, ज्ञान आर्जन गर्ने र परिवार जोड्ने उमेरमा जागिरतिर लहसिए कति बुध्दिभएकाले सरकारी गैरसरकारी सँस्थामा कत्तिको स्तरीय सेवा गर्ने होलान् ? देश कस्तो बन्ला ? अनि नीतिनियम कस्ता बन्लान ? त्यस्ताले बनाएका कानुन कस्ता होलान् ? बरु, जागिर गर्नलाई चाहिने न्युनतम उमेर बढाउन सकिन्छ । त्यस्तै, नेतो बन्न वा चुनावमा उठनलाई न्युनतम उमेर पनि ५० वर्ष पुग्नुपर्ने गरिए पाका वयस्कले अनुभव र योग्यतासहित राम्रो परिपाटी बसाउँथे कि ? त्यसोभए जेष्ठनागरिक दरिँदा सम्बन्धित कामबाट अवकास भन्ने पनि मिल्थ्यो र सबै तहका सेवाव्यवसायमा समानता हुन्थ्यो । सबैतिर असमानता र विभेद हुँदा कतामात्रै सच्च्याउनु ?

लौ, त्यसैले होला यो रेडियो भन्ने जीनिसले समाचार नपाएर के के फत्तुर मात्र ओकल्छ बा । समाचार त तातो न छारोको ‘देश बेच्ने र नबेच्नेको जुहारी पो रहेछ’, हाम्रा कर तिरेका पैसा खाएर सदरमुकाम र राजधानीतिर घर बनाउनेहरुको । शिक्षामा सरकारी विद्यालयको हुर्मत लिएर आफ्‌ना सन्तान विदेश पढन पठाउनेको वाक्कलाग्दो भाषण । पानी नै नभएको ठाउँमा पुलको उद्घाटन, भूकम्प र बाढीपहिरो पीडित मान्छेलाई सुको पैसाको सहयोग वास्ता छैन, वन्यजन्तुका बगाल बढाउन करोडौँ बजेट रे । अनि अरु चैँ, ‘हत्या, बलात्कार, ठगि, विदेशमा अलपत्र, विदेश गएका मृत, अमुक देश वा सँस्थासँग ऋण पाइयो भनेर हर्कबढाईँ ।’ धत, के सुन्नु, मन नै दिगमिग हुने समाचार ?

साँच्ची हाम्रा देशमा देशलाई मायागर्ने, नाम चलाउने, एकआपसमा सहयोग गरिएको, गरिबगुरुवाको प्रगतिमा काम भएको समाचार हुँदैन कि क्या हो ? उमेर र योग्यता अनुसार काम, मानमर्यादा, शिप विकास र प्रचारको समाचार नै बन्दैन ? पाका मानिसको ज्ञानको प्रचार, अनुभव आदानप्रदान र कमउमेरका बिच उनीहरूलाई भेटाएर कुराकानी गरेर पुस्तान्तरण गर्ने चलन नभएको हो कि, समाचार नबनेको हो ? म त छक्क पर्छु, अगुवा भनाउँदा समाजलाई कता घुस्मुट्याउँदै छन् ? आफ्‌ना र ज्यालामा ल्याएकाहरू बिच दिनदिनै कुखुरा र साँढे जुधाएको जस्ता भिडन्तका समाचार पो दिन्छन् बा । के भएको अहिले हाम्रो समाज ? आफ्‌नै हुकुम कायम गर्‍या छन् अनि आफ्‌नै लठुवालाई सरकारी शुरक्षाबलसँग भिडाउँछन् । आपसी सल्लाहका कुस्तीमा हामीले सकिनसकी तिरेको मालपोत, कर र नानाभाँती शुल्क जम्मा गरी भरिएको ढुकुटी मास्न कत्ति लाज नलागेको किन होला ? जनता सबैको यस्तो मन पोल्ने नि समाचार हुन्छ ? छ्या, गर्नेभन्दा नि देख्ने सुन्नेलाई लाज । बरु भस्मासुरहरूका दन्तबजानको कुरा सुन्दै नसुन्यो आनन्द । यस्ता पत्रुका नाटक हेर्न म घर बाहिरतिर जान्न, देशको प्रगति सुनौँ भन्या त्यो पनि दिएनन् । यो सब त्यही उमेर अनुसार ज्ञान, क्षमता अनुसार जिम्बेबारीसँगै खास कारण र उमेरमा कामबाट अवकास दिने चलन नबसालेर हो । त्यसैको फल लौरो टेकेर तिर्थबास जाने अगुवा भई टोपलेका र उर्जाशील बाटोमा भिडन्त गर्दै ठिक्क, अनि आदर, सत्कार, मान, मनितो र व्यवहारिक ईमानी नीतिनियम कसरी बसोस् ।

अहिलेको कुरा
नेपालको सन २०१९को जनसङ्ख्या आँकडा हेर्दा २५ लाख २१ हजार मानिस ६० वर्ष माथिका महिलापुरुष थिए र त्यो कुल जनसङ्ख्याको ८.७ प्रतिशत रहेको थियो । त्यसैवर्ष गरिएको प्रक्षेपणमा सन २०५० सम्म त्यो उमेरसमुहका ६५ लाख ६८ हजार पुग्नेछन् भने कुल जनसङ्ख्याको १८.६ प्रतिशत हुनेछ । यसमा एकल ज्येष्ठनागरिक करिब ४ प्रतिशत देखिन्छ । यसले देखाउँछ हाम्रो नेपाली समाज दिनदिनै ज्येष्ठनागरिक बहुसङ्ख्यक हुने दिशातिर अघि बढदैछ । बिसौँ शताव्दीलाई सबै युवा वयस्कहरूको जोश, जाँगर, शिप र ज्ञानमा आधारीतभई विकास भइरहेको जनाउन ‘युवाहरूको शताव्दी’ भनिन्थ्यो । एक्काईसौँ शताव्दीलाई संसारभरी औषधिको विकासले वयस्क तथा मातृशिसु अल्पआयुमै मृत्यू हुनेमा परिवर्तन भएको छ । अहिले त्यसैले नेपालीको सरदर आयु ७० वर्ष मानिन्छ भने शिसु मृत्यूदर निकै कम छ । त्यसैकारण, ठूलो सङ्ख्यामा ज्येष्ठनागरिक हुने यस शताप्दीलाई ‘ज्येष्ठनागरिकहरूको शताव्दी’ भनिएको छ । हो, यस्तै विभिन्न कारणले नेपालमा पनि ज्येष्ठनागरिकका कुरा उठे, अझ विदेशीको करबल र सल्लाहमा । नेपालीको पहिला औशत उमेर ४२ वर्षबाट बढदै गएर ५०, ६० हुँदै अहिले ७० बर्ष सरदर आयु मानिन्छ । अब, डेढ दशक अघि ६० वर्ष सरदर आयु मानेको बेलामा ज्येष्ठनागरिक भनिएको उमेर र अरु कुरा सबै क्षेत्रमा लागु हुनु पर्‍यो । कि अवकास पाउने उमेर बढाउनु पर्‍यो कि सरसुविधा सबै ६० वर्षदेखि नै लागु हुनु पर्‍यो । नभएत यो दोधारे चरित्रले ज्येष्ठनागरिकलाई चिन्ता र अर्घेल्याईँ बाहेक केही अनुभव हुँदैन ।

उहिल्यै बनाएको सरकारी गैरसरकारी सेवामा अवकासको उमेर नेपालमा ४६ देखि ६५ वर्ष थियो । अब, सरदर आयु नै ७० वर्ष भएको अवस्थामा त्यस्ता नियम फेर्नु पर्‍यो । अवकास पाउँदा सबैले निबृत्तिभरण पाउँदैनन्, विभिन्न नियमको माखेसाङ्लोले कोही उपदान र कोही सेवाअवधि वर्ष गनेर त्यति मासिक बराबरमा जयनेपाल गर्छन् । नियममा जुको जस्तै टाँस्सिने हो भने पेशा अनुसार सेवाबाट अवकास हुने उमेरमा नै ज्येष्ठनागरिक घोषित हुनु पर्‍यो । शारीरिक श्रम गर्नु पर्ने पेशाबाहेक अरुमा त अझ निजले काम गर्न सकुन्जेल र ईच्छा गरुन्जेल काम गर्न पाउनु पर्‍यो । फेरी ज्येष्ठनागरिक भनेपछि सबै पाउनुपर्ने सेवासुविधा तत्काल पाउन सुरुहुनु पर्‍यो ।

बेलाबेला लहडी कारोबारीले गरेजस्तो जुवाजितौरी बाँडेको जस्तो पनि गर्नुभएन र कञ्जुस छोरोले तिलको लड्डु जत्रो पिण्ड सेलाएझै्‌ँ पनि गर्नुभएन नि जिम्बेवार भनाउँदाले । कल्की लाइदिने ६० वर्षमा, पहेँला अक्षेता छरेर भूत मन्साएझै्‌ँ अलिकति पैसो जीवनदान नै दिएझैँ हल्लागरी दिने ७० वर्ष भएपछि । फेरि सरदर आयु नै ७० वर्ष भनेपछि, अनि के ती पाका मानिस सरकारी सरदर उमेर माथि बाँच्न सक्छन् त ? नबाँचेकालाई दिने त पिण्ड नै होला ? सरकारी सरदर मर्ने उमेर नाघेपछि भत्तादिने भनेको ‘बाँचेदेखि पिण्ड खान बाँच’ भन्या हो ?

सरकारले विदेशीहरूको सिको गर्न र आफूले पनि जनहित गरेको देखाउन दिने बृध्दभत्ता नामको त्यो रकम पनि पायक पर्ने ठाउँमा पाउन गाह्रो छ । अशक्त बृध्दसमेत ससरीर जानुपर्ने, कतिठाउँ त्यो हण्डी बाँडने ठाउँ पाका मानिस बसेको ठाउँबाट दिनभरी हिँड्नु पर्ने छ । कतिपय पाका मानिस कि लेखपढमा कमजोर कि आँखाको समस्या भएका छन् । ती पाका मानिसले वयश्क हुँदा काम गर्दा तिरेका करबाट राजश्व जम्मा भई तनखा बुझ्‌ने कर्मचारीको रुखो र अव्यवहारिक क्रियाकलाप । अनि पाका मानिस त्यो सदावर्ते हण्डी सहज र सरल तरिकाले लिन नपाउने व्यवस्था ! त्यसैभएर नेपालमा केही बाहेक धेरै पाका मानिसहरू भत्ताको सुविधाबाट पनि बञ्चीत छन् । चुनावताका देखिने नाटकी उमेदवारको च्याँखे जितौरीजस्तो भाषण सुन्न मन गर्दैनन् । त्यही भत्ताको झटारो पनि नेता भनाउँदा आआफ्‌नो अनुकुल व्याख्या गर्छन् । बिचार गरौँ त पाका मानिसनै चुनावजस्तो हाहाहुहुका साञ्चिकै मतदाता हुन् । कतिपय ठाउँ र समुदायमा उनीहरू नै निर्णायक बिचारक हुन्छन् । किनकी ‘कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको’ भनि मान्ने मानिस अझै नेपालमा प्रसस्त छन् । पाका मानिसले नपत्याएका मानिसले चुनावमा जमानत जोगाउला त ? होस् गर्नु ।

अन्त्यमा,
के हामी दानपत्रमा बाँच्ने प्राणी हौँ र भन्या ? फेरि त्यो पाउने दानबाट आर्जित रकमले पाका मानिसले किनमेल गर्दा उल्टो कर तिर्छन् । उनीहरूले गर्ने किनमेलमा खोई ज्येष्ठनागरिक छुट ? नियमित कमाउनेकै जति कर तिर्न नकमाउने पनि बाध्य किन छन् ? उनीहरूलाई छुट भए त हाम्रो नेपालको रैथाने संयुक्त परिवारको अवधारणा पनि भत्कने थिएन । परिवार सदस्यले पाका मानिसले सुपथ मोलमा सामान किन्न पाउने भएमा त्यही लोभमा परिवारले नै उनीहरू सँगै राख्थे । बृध्दाश्रम घँच्याड्ने संभावना कम हुन्थ्यो र पारिवारिक सदभाव कायम राख्न मद्दत पुग्थ्यो । सरोकारबालाले हाम्रो सामाजिक योगदानको कदर गरोस्, भिक्षा थाप्ने मगन्ते नठानियोस् । खै, उमेर अनुसार फुर्सद नहुँदा नहुँदै यस्तो लाग्यो है त्यो भत्ताबारे, तपाइँलाई कस्तो लाग्छ ?

०००
ल.पु. चालिसेडाँडा
पाका मानिसका कुरा, (२०७९ बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x