साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसरी पाटी बन्दैछन् घरहरू… ?

भिरबाट बुढो बाउलाई गुण्ट्याउन डोकोमा बोकी हिँडेकोलाई उस्कै अबोध शिसुले ‘मैले तपाईँलाई फाल्न काम लाग्छ, डोको फिर्ता ल्याउनु है बा’ भनेको कथा सम्झिनु राम्रो होला ।

Nepal Telecom ad

डा. मुकेशकुमार चालिसे :

पाका मानिसहरू सिमित ठाउँमा नै धेरै रहन्छन् । आफ्‌नै क्रियाकलापले फुर्सद नभएका यी प्राणी कतिपय हिँड्डुल आवश्यकमात्र नै गर्छन् । भेटघाट मानिसका बिच प्रायः विभिन्न नाफा नोक्सानकै लागि हुनेगर्छ । जीवनका उतारचढाव र भोगाईले गर्दा कम नै ठगिने पाका मानिससँग जोपायो त्यही भेट्न आँउदैनन् । हो, कोही उस्तै उमेर समुह र शारीरिक अवस्था भएका मनका बह पोख्न पनि आउँन सक्छन् । कोही मभन्दा अनुकुल वा प्रतिकुल के अवस्थामा छ भनि बुझ्‌न पनि आउँन सक्छन् । कोही उमेरदार चैँ आफ्‌ना घरमा पनि पाका मानिस भेट्न आएका थिए, अब छैनन्, पालाको पैँचो, जाउँन त् भनि आउँन सक्छन् । कोही नातापाता, ईष्टमित्र र साथीभाइको लहैलहमा मुख पर्न आउँन सक्छन् । तर अब कुनै थप अनुदान वा काम लिन सकिन्न भन्ने लागेमा धेरै चिनजान वा पहिलेका मित्र भनिएका आउँन्नन् । त्यसैले प्राय पहिले कहिल्यै नभएको बढि समय घर र केही समय घरका मानिसहरूसँगनै बितेको हुन्छ ।

हिजोआज मानिसहरू तिनथरीका ठाउँमा बस्छन्‌ः घर, आवास र पाटी । तिनै ठाउँमा बस्नेहरूको आआफ्‌नै भोगाई र विशेषता हुन्छन् । तर के कुरा प्रमुख हो भने पाका मानिस आफू कहाँ बस्छन् त्यो चाहिँ निर्क्योल भए उनीहरूलाई बाँकी जीवन त्यहीँ सन्तोषमा बस्न निर्धक्क हुन्छ ।

एक्काईसौँ शताब्दीमा आइपुग्दा आँगनमै धारा छन्, अझ घरभित्र नै धारा छन् र कोठाकोठामा पुगेका छन् । पहिला घरबाट टाढा गरिने दिसासौच र नुहाईधुवाई अचेल कोठा जोडिएका वा त्यही तलामा भइहाल्छ । बरु पूजा गर्ने चलन भए भगवान चैँ आँगनतिर वा काम नलाग्ने सबैभन्दा माथि कुप्रेर पस्ने ठाउँमा बनाएर आधुनिक घर बनेको भेटिन्छ । अब खानपिन, मुखधुने र मलमुत्र त्याग सबै नजिकै वा कोठामा हुने भएपछि मानिस् पाइलै नसार्ने भएरर रोगव्याध पो निम्त्याइरहेछन् । पहिलापहिला गरीबगुरुवा र शारीरिक श्रम गर्नेले खाने भनिएका च्याँख्ला, आँटो पिठो, सिस्नो, झारपात धनीले खान लागेका छन् । त्यसैले, काम नगरी खान नपुग्नेलाई बिरामी हुँदा ‘औषधि नियमित खानेसाथै आराम गर्नुहोस्‌’ भन्ने चिकित्सकहरू अचेल हरेक धनी बिरामीलाई ‘यसो अलिअलि हिँड्ने र सके छ हजार पाइला कटाउनोस्‌’ भनि सल्लाह दिन्छन् । प्रष्टरुपले अहिले मानिसहरू खान नपाएर रोगी हुने र खाना बढी भएर रोगी हुने छुट्टिएका छन् । त्यसै अनुसार खान पाउनेकै पनि बसाई– घर, आवास र पाटीमा परिणत भएका छन् भने खानकै दुःख हुनेको त एकअर्कामा भावनात्मक सहिष्णुता बाहेक भौतिक सुबिधामा के घर के पाटी ?

घर
घरमा सामान्य प्राकृतिक अनुसाशन प्रष्ट भेटिन्छ– उमेर अनुसार आदर, माया र रेखदेख हुन्छ । सक्नेले काम गर्न र मिहेनत गर्न पछि पर्दैनन्, सामुहिक कर्तव्य सम्झेर गर्छन् । पाका मानिसको ज्ञान र सिपको कदर हुन्छ, उनीहरू कम्तीमा आदरणीय अभिभावक र बढिमा भगवानसरह व्यवहार पाउँछन् । उनीहरूका कुरा उमेरदारले आफ्‌ना जीवन अघि बढाउने निर्देशनका रुपमा लिन्छन् । बिहान उठेदेखि परिवारका हरेक सदस्यको दैनिक क्रियाकलापनै सामुहिक हितमा आआफ्‌ना क्षमता अनुसार मिहेनत गर्ने नै हुन्छ । कामको बाँडफाँड पाका मानिसबाट गरिएकाले उमेर, ज्ञान, शिप र क्षमता अनुसार नै सबै सक्रिय जीवन बिताउँछन् । अशक्त र केटाकेटीहरूको हेरबिचार, सुघ्‌घरसफाई र रोगव्याधमा व्यवस्था मिलाउन तथा सहज जीवन पार्न सबै वयस्कहरूको औधि आत्मियतापूर्ण ध्यान हुन्छ। महिला पुरुष सबै सद्भावकासाथ एकअर्काको सहयोगी र उपयोगी हुन प्रतिस्पर्धा गर्छन् । कहीँ रमणीय ठाउँ वा बिभिन्न उपलव्धिपूर्ण पर्यटनका लागि योजना बन्दा प्रायः सबैलाई पायक र सगोल फाइदा पुग्ने स्थल वा विषय रोजिन्छ । त्यस्तोमा पाका मानिस त् अभिभाकत्वको दर्जामा सँगै रेखदेखको व्यवस्थासहित अनिवार्य सहभागी गराइने वयस्कहरूको परम्परा नै हुन्छ ।

बिहान निन्द्रा खुलेदेखि राती नसुतेसम्म एकआपसको बोलीनै माधुर्यपूर्ण, सहयोगी र परिपुरक खालको पाइन्छ । घरभित्रका कुरा बाहिर गुनगुन पनि सुनिँदैन भने भाँडा बजेको सुन्न दुर्लभ हुन्छ । कसरी एकअर्कालाई सघाउने, आदर र स्नेह गर्ने भन्नेकुरामा सबै सचेत र सक्रिय हुन्छन् । आँगन, करेसा, मूलढोका, भित्रीभाग, दैनिक वा समयअनुसार प्रयोग हुने चिजविज आआफ्‌ना ठाउँमा सफा र व्यवस्थित रहेको पाइन्छ । पाका मानिसको सामान्य श्रमको पनि ठूलो आदरयुक्त प्रशँसा र केटाकेटीका सकारात्मक कामको प्रोत्साहन नै सँस्कार हुन्छ । न्यूनतम आवस्यक सबै चिजबिज सकेसम्म घरमा नै जोरजाम गरिन्छन्, दैनिक किनुवाको भर परिन्न ।

घरसदस्यले मात्र दैनिक कार्य सम्पन्न गर्न नभ्याइने भए कामको सहयोगी राखिन्छ र तत्‌सम्बन्धी जानकार साथलागि गरिन्छ । फारोतिनो गरेर हरेकका स्वास्थ्य अवस्था हेरेर माया आदरसाथ ख्वाउने छँदैछन् । खाना पनि सबैका चाहना र स्वाद अनुसार बनाउँदा आफ्‌नो सार्थक कर्तव्य ठान्ने भान्छा तयारगर्ने सदस्यहरू हुन्छन् । खानाखाँदा पनि सकेसम्म बेलुकीको भए पनि एकैसाथ वा आवयक्तानुसार डफ्‌फाडफ्‌फा रमाइलो मानेर खानपान भएको पाइन्छ । भएका चलअचल सम्पतिको उचित प्रयोगमा ध्यान दिने, शारीरिक र मानसिकरुपले सक्षमबाट थप आर्जन गर्न सामुहिक भलाकुसारी सरसल्लाहको विषय बनेको हुन्छ ।

घरको आवस्यक्तालाई बेमाख नपारेर बाहिरफेर पनि काम गरिन्छ तर अनावश्यक तुजुक, देखावा, घच्चा अथवा घुर्की देख्न–सुन्न पाईँदैन । अल्पकालिन फुर्सदका समय पारिवारीक मनोरञ्जन, थपअनुभव साटफेर, नयाँ जानकारी तथा अझबढी सामुहिकता बढाउने क्रियाकलाप गरिन्छन् । सबैलाई ‘कुनै कुराको अपुग नभइदिए हुन्थ्यो’ भन्ने सोचाईसाथ त्यस्तो आँउनै नपाउने गरी मिहेनत गर्ने र गरिरहेका असल मानिसहरूको जमघट– घर । परिवारजन बिचमा सुबिधा, सहयोग, आदर र स्नेहको समष्टीरुप र दुःखसुखका सहयात्री अभिन्न आफन्त बसेको वंशबृक्ष जस्तो नै घर हो ।

आवास
मानिसहरू बस्ने मात्र र जसोतसो गुजारा गर्न बस्ने ठाउँलाई अचेल घर नभनेर आवास पनि भन्छन् । त्यसको संरचना र त्यसभित्र बस्ने मानिसका चरित्र र व्यवहार हेर्दा घरभन्दा फरक पाइन्छ । सबै वयस्कका आआफ्‌नै तुजुक, फुर्सद भए पनि काममा व्यस्तताको ढर्रा बातैपिच्छे सुनिन्छ । दैनिक सरसल्लाह र वार्षिक योजना पाका मानिसहरूसँग गरिने भन्दा व्यक्तिव्यक्तिका बेफुर्सदी र योजना नै भोगिन्छ । परिवारमा कमाउनेको फूर्ति र घमण्ड अरुलाई सुन्दा नाकनै खुम्चिने हुन्छ । आफ्‌ना केटाकेटीको आत्मिक नभई बजारीया भौतिक सुबिधा हेर्ने अनि ‘खुब गरेको’ विज्ञापन नातेदारमा बिस्कुन लाइन्छ । शरीरिक मानसिकरुपले सक्षमबाट अरुको बेवास्ता गरिन्छ र फुर्सद नभएको ढोल पिटिन्छ ।

विशेषगरी अशक्त र पाका मानिसकलाई सहयोग र आदरभन्दा ‘म्यादगुज्रेका, कहिलेसम्म बाँच्नेलाई दुःखदिने र आफू पनि पाउने हुन्‌’ भनि चियोचर्चो र खिसिटिउरीका बाढी उराल्ने गरिन्छ । ईष्टमित्र भेट हुँदा ‘फुर्सद नभएर आफ्‌ना अभिभावकलाई हेर्ने मानिस राखेको वा डे केयर (सुबिधायुक्त बृध्दाश्रममा) व्यवस्था गरेको’ धाक (सफाई) दिइन्छ । अभिभावकलाई हेरबिचार गर्न नचाहेर ‘अवसरको खोजीमा नचाहँदा नचाहँदै आएको, आफ्‌नो काम गर्ने ठाउँ पायक पारेर आवासमा बसेको’भनि आँसुहिन रुवाई सुनाउने (गफदिने) पनि भेटिन्छन् ।

औचित्यहीन सञ्चार र सञ्जालका पट्टयारलाग्दा नाटकका श्रृङ्खला हेरेर समय काट्ने हुन कि नयाँ खानेकुरा खाएको विज्ञापन गर्नमा अनुहारीकामा घण्टौँ बिताउने हुन,‘फुर्सद नभएर काम गर्ने राखेको’ धाक जमघटमा छोड्नु आधुनिकता ठान्दछन् । त्यस्ता समुहका महिला पुरुष प्राय विवाह, पार्टी आदिमा भोजनसहित निम्तालु भए विशेष जलपान वा स्वादिष्ट भोजन वरपर खौलापरेका भैँसीले हरियो घाँस हाँप र झाँप गरी बुत्याएझैँ खान व्यस्त देखिन्छन् । त्यस्ताका केटाकेटी पनि पेयपदार्थ, पानीपुरी र बरफ बितरणका वरपर झुम्मिएका पाइन्छन् । त्यसपछि आवासलाग्दा बाटाभरी कि गरगहना र लुगाका कुरा कि कतिवटा कुन खानेकुरा खाएको बहादुरीका कुरा मात्र हुन्छन् । पाका मानिस सकेसम्म वयस्कका ‘ईज्जत जोगाइदिन’ त्यस्तोमा जान पाउँदैनन् । कथम कसैले नआएको सोधे ‘सञ्चो नभएर वा अन्त जानुपर्ने भएर आउनुभएन’ भन्ने कथाका पात्र भइहाल्छन् । वयस्कका दयामा जान पाए पनि एकातिर भनेको ठाउँमा थच्चिएर, ल्याएको खाइदिएर लैजानेले भनेको बेला फर्कन्छन् ।

उनीहरू त्यस्तो सभासमारोहका साक्षि बस्न सक्छन् तर सकृय कारीणी बन्दैनन् । कुनैबेला खाने बस्तु वा तरिका र आफ्‌नो मनसाय व्यक्त गरी हिम्मतिलो बन्नखोजे ‘तपाईँ बिर्सनुहुन्छ’ वा ‘कत्ति एउटै कुरा दोहोर्याइरहेको’भन्ने ब्रह्मास्त्रको मारमा पर्छन् । त्यतिभन्दा पनि चित्त नबुझि लैजानेलाई हदै ‘बेईज्जत भए’ अर्को चोटीदेखि घरकुरुवामा पर्छन् । ज्ञान र अनुभवले खारएिका पाका मानिसहरू त्यो अपमान बाँचुन्जेल नबिर्सने हुनाले बरु एक्लै वा दोक्लै खटाइदिएको सामल खाएर आवास कुर्दिन्छन् ।

अँ, शारीरिक रुपले कम सक्षम वा अशक्त भई भर पर्नेका खिया लागेका चरित्र भोग्न अभिसप्त यस्ता आवासका पाका मानिसहरू आवासरुपी सुनको पिञ्जडामा फलामे साङ्लाले बाँधिएका बाघ हुन । उनीहरू परिवारको लहडमा ङिच्च गर्दै मनका कुरा मनमै ताल्चा मारेर आगन्तुकका अगाडि भनेका बेला उपस्थिति जनाउन देखापर्नु त्यस्ता परिवारको संस्कार हो । यस्तो वातावरणमा हुर्केका बालबालिकाले विदेशिएनन् भने अहिलेका वयस्क पाको उमेरमा पुग्दा के गर्छन् होला ? पूनरावृत्तिको घनचक्करमा आफैँ पर्ने पनि होस् नराख्ने कस्ता वयस्क होलान्, ताज्जुब लाग्छ ।

पाटी
पहिला मठमन्दिर वरपर ओतलाग्ने पाटी बनाईएको हुन्थ्यो । प्रायः धार्मिक कार्यकालागि बनाइएका ती पाटी सत्तलमा अविवेकी सन्तानका हेलाँहोचोमा परेका पाका मानिसका आश्रयस्थल हुन्थे । पाटी विभिन्न कारण देखाई सक्नेले बनाइदिएको प्राय छाना र तिनतिर भित्ता भएका हुन्थ्यो । सामान्य वरपरको जमिनभन्दा अग्लो करिब भारी अड्याउन मिल्ने उचाईसम्म त् ढुङ्गाको गाह्राे हुन्थ्यो । त्यसको भूइँमा मिलाएर ढुङ्गा नै ओच्छ्याइएको हुन्थ्यो भने कतिपय ठाउँमा पाका इँट थपेर वा मसिना ढुङ्गाचाङ लाउँँदै बलो राख्ने ठाउँसम्म पुर्‍याइन्थ्यो । त्यसैमा डाँडाभाटा राखेर उठाई छानामा प्रायः पराल वा हुने ठाउँमा झिँगटी र कहिँ जस्तापाता पनि हुन्थ्यो ।

पाँचसात जना मज्जाले गुँडुल्किन मिल्ने त्यस्तो ठाउँमा कहीँ त त्यहीँ पकाउने ठाउँ पारिएको हुन्थ्यो । कहिँकहिँ बढी हुनेखानेले बनाई दिएको चैँ अलि लामै सत्तल जस्तो हुन्थ्यो र नाम नै लाम्पाटी भनिन्थे । जे होस्, रात, घामपानी र हुरीबाट बटुवा जोगिने एकराते बासस्थान बनेको नेपालमा ठाउँठाउँ भेटिन्थे । अँ, पाटीछेउ पानीको स्रोत चाहिँ प्राय मिठो पानी नै हुन्थ्यो र धारो पनि बनाएको हुन्थ्यो । खोलाको माथ्लो भागमा पनि यस्तो संरचना पाइन्थ्यो ।धार्मिक कार्यमा आयोजकले वरपरका कम आय भएकालाई बोलाई खुवाईपियाई गरिन्थ्यो । कहीँकहीँ त्यतै धार्मिक हण्डी भनेर नियमित खुवाईपियाई र बस्न दिने गरिन्थ्यो । पहिला घर आवासबाट लखेटिएका र बिरक्तिएका पाका मानिस त्यस्तै हण्डीको भरमा पाटीमा बस्न बाध्य हुन्थे । ठूल्ठूला देबालय र शिवालयमा प्रायः सदाबर्ते हण्डीको व्यवस्था ‘काल पर्खने’ का आश्रयस्थल हुन्थे ।

अँ, अहिले पनि अल्पकालिन वा एक छिमल बिताउनलाई त पाटी राम्रो आश्रय हुन्छ । ‘घर’ घर जस्तो नभएको ‘आवास’बस्न हुने जस्तो नभएर लोकलाज बचाउँन ‘आ बस’मात्र भएको ठाउँमा पाका मानिस कहाँ जाने ? सामाजिक सुरक्षा नदिने सरकार र अराजक भाँडभैलो गर्ने परिवार तयार पारिएको बर्तमान सामाजिक परिवेशमा देशका पाका मानिसहरूबारे चासो राख्ने को ? ज्ञान र अनुभवले पाका भएका, हिजोको समयलाई प्रत्यक्षदेखी ईतिहास बनाउने ती मानव समाजका बहुमूल्य प्राणी मठमन्दिर वरपर परम्परागत निशुल्क पाटी छ भने त्यता लाग्न बाध्य हुन्छन् । त्यता लाग्नु अघि कोही पाका मानिस आफ्‌नो सञ्चिती सक्दै वा गोप्यधन उपयोग गर्दै केही समय सशुल्क कतै बस्न सक्छन् । अति माया आफन्त भनाउँदालाई देखाई समयमा नै चलअचल हस्तारण गरेका वा बचत नगर्ने त जाने पाटी नै हो । अनि सँगैको साथी कि भूस्याहा कुकुर कि फरक कारण तर उस्तै अवस्था भोग्न बाध्य अर्को मनुवा । हो, त्यस्ता पाटीमा महिला र पुरुषको सामिप्यतामा लैङ्गिक विभेद हुन्न, बरु समान भोगाईका कथा एक हुन्छन् ।

अन्त्यमा,
तपाईँ हामी अहिले कहाँ बस्छौँ, कस्तो व्यवहार भोग्दै छौँ ? के राम्ररी हेक्का राख्नु भएको छ ? भोगेको र भइरहेको तपाइँलाई ठिक छ भने राम्रो नै भयो । ठिक छैन भनेर बसाई र सोचाई फरक परेको रहेछ भने पाका मानिसको बाँकी समय अन्यौल, चिन्ता, पीडा, अवसाद, एकोहोरोपन भएर जानसक्छ । पीडा र आत्मग्लानीबाट भको ज्यानमा रोग नथपी सपार्न केही गर्न सक्नुहुन्छ कि ? मनका कुरा सुनिदिने नभएर एकान्तमा बर्बराएर आफैँले सुनि ‘अरुले जवाफ नगरी सुनेको र मानेको’भनि आनन्द लिनुपर्ने दिन आउँन सक्छ । भइरहेको तपाइँले सहन नसक्ने हो भने, त्यो परिस्थितिमा तपाइँको बाँकी जीवन कसरी बिताउने सोच्नुभएको छ ?

याद गर्नोस् एक दशक अघिसम्म महिनाको २–३ जना बेवारिस पाका मानिसका लास भेटिने नेपालमा अचेल ३०–३५ भेटिएका खबर निकै आउँछन् । कि अन्त्यमा कुकुर साथी बनाउने भविष्यको तालिम लिँदै हुनुहुन्छ ? बेलैमा वयस्कहरूले मसक्कै सोचौँ र व्यवहारमा कार्यान्वयन गरेर पाका मानिसको ज्ञान, सिप, क्षमता र अनुभव आदरसाथ सार्वजनिक गर्दै सामाजिक प्राणीको दायित्व पुरा गरौँ । अन्यथा तपाईँ वयश्कहरूको भविश्य अहिले तपाईँका पाका मानिसहरूले व्यहोरेको भन्दा हृदयविदारक होला है । तपाईँ वयस्कहरूका हरेक क्रियाकलाप नियाली रहेका तपाईँकै शिसुहरूले पाका उमेरमा पुग्दा तपाईँलाई गर्ने व्यवहार पनि तपाईँकै सिको गर्नेछन् । भिरबाट बुढो बाउलाई गुण्ट्याउन डोकोमा बोकी हिँडेकोलाई उस्कै अबोध शिसुले ‘मैले तपाईँलाई फाल्न काम लाग्छ, डोको फिर्ता ल्याउनु है बा’ भनेको कथा सम्झिनु राम्रो होला ।

०००
ल.पु. चालिसेडाँडा
पाका मानिसका कुरा (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x