साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसरी पाटी बन्दैछन् घरहरू… ?

भिरबाट बुढो बाउलाई गुण्ट्याउन डोकोमा बोकी हिँडेकोलाई उस्कै अबोध शिसुले ‘मैले तपाईँलाई फाल्न काम लाग्छ, डोको फिर्ता ल्याउनु है बा’ भनेको कथा सम्झिनु राम्रो होला ।

Nepal Telecom ad

डा. मुकेशकुमार चालिसे :

पाका मानिसहरू सिमित ठाउँमा नै धेरै रहन्छन् । आफ्‌नै क्रियाकलापले फुर्सद नभएका यी प्राणी कतिपय हिँड्डुल आवश्यकमात्र नै गर्छन् । भेटघाट मानिसका बिच प्रायः विभिन्न नाफा नोक्सानकै लागि हुनेगर्छ । जीवनका उतारचढाव र भोगाईले गर्दा कम नै ठगिने पाका मानिससँग जोपायो त्यही भेट्न आँउदैनन् । हो, कोही उस्तै उमेर समुह र शारीरिक अवस्था भएका मनका बह पोख्न पनि आउँन सक्छन् । कोही मभन्दा अनुकुल वा प्रतिकुल के अवस्थामा छ भनि बुझ्‌न पनि आउँन सक्छन् । कोही उमेरदार चैँ आफ्‌ना घरमा पनि पाका मानिस भेट्न आएका थिए, अब छैनन्, पालाको पैँचो, जाउँन त् भनि आउँन सक्छन् । कोही नातापाता, ईष्टमित्र र साथीभाइको लहैलहमा मुख पर्न आउँन सक्छन् । तर अब कुनै थप अनुदान वा काम लिन सकिन्न भन्ने लागेमा धेरै चिनजान वा पहिलेका मित्र भनिएका आउँन्नन् । त्यसैले प्राय पहिले कहिल्यै नभएको बढि समय घर र केही समय घरका मानिसहरूसँगनै बितेको हुन्छ ।

हिजोआज मानिसहरू तिनथरीका ठाउँमा बस्छन्‌ः घर, आवास र पाटी । तिनै ठाउँमा बस्नेहरूको आआफ्‌नै भोगाई र विशेषता हुन्छन् । तर के कुरा प्रमुख हो भने पाका मानिस आफू कहाँ बस्छन् त्यो चाहिँ निर्क्योल भए उनीहरूलाई बाँकी जीवन त्यहीँ सन्तोषमा बस्न निर्धक्क हुन्छ ।

एक्काईसौँ शताब्दीमा आइपुग्दा आँगनमै धारा छन्, अझ घरभित्र नै धारा छन् र कोठाकोठामा पुगेका छन् । पहिला घरबाट टाढा गरिने दिसासौच र नुहाईधुवाई अचेल कोठा जोडिएका वा त्यही तलामा भइहाल्छ । बरु पूजा गर्ने चलन भए भगवान चैँ आँगनतिर वा काम नलाग्ने सबैभन्दा माथि कुप्रेर पस्ने ठाउँमा बनाएर आधुनिक घर बनेको भेटिन्छ । अब खानपिन, मुखधुने र मलमुत्र त्याग सबै नजिकै वा कोठामा हुने भएपछि मानिस् पाइलै नसार्ने भएरर रोगव्याध पो निम्त्याइरहेछन् । पहिलापहिला गरीबगुरुवा र शारीरिक श्रम गर्नेले खाने भनिएका च्याँख्ला, आँटो पिठो, सिस्नो, झारपात धनीले खान लागेका छन् । त्यसैले, काम नगरी खान नपुग्नेलाई बिरामी हुँदा ‘औषधि नियमित खानेसाथै आराम गर्नुहोस्‌’ भन्ने चिकित्सकहरू अचेल हरेक धनी बिरामीलाई ‘यसो अलिअलि हिँड्ने र सके छ हजार पाइला कटाउनोस्‌’ भनि सल्लाह दिन्छन् । प्रष्टरुपले अहिले मानिसहरू खान नपाएर रोगी हुने र खाना बढी भएर रोगी हुने छुट्टिएका छन् । त्यसै अनुसार खान पाउनेकै पनि बसाई– घर, आवास र पाटीमा परिणत भएका छन् भने खानकै दुःख हुनेको त एकअर्कामा भावनात्मक सहिष्णुता बाहेक भौतिक सुबिधामा के घर के पाटी ?

घर
घरमा सामान्य प्राकृतिक अनुसाशन प्रष्ट भेटिन्छ– उमेर अनुसार आदर, माया र रेखदेख हुन्छ । सक्नेले काम गर्न र मिहेनत गर्न पछि पर्दैनन्, सामुहिक कर्तव्य सम्झेर गर्छन् । पाका मानिसको ज्ञान र सिपको कदर हुन्छ, उनीहरू कम्तीमा आदरणीय अभिभावक र बढिमा भगवानसरह व्यवहार पाउँछन् । उनीहरूका कुरा उमेरदारले आफ्‌ना जीवन अघि बढाउने निर्देशनका रुपमा लिन्छन् । बिहान उठेदेखि परिवारका हरेक सदस्यको दैनिक क्रियाकलापनै सामुहिक हितमा आआफ्‌ना क्षमता अनुसार मिहेनत गर्ने नै हुन्छ । कामको बाँडफाँड पाका मानिसबाट गरिएकाले उमेर, ज्ञान, शिप र क्षमता अनुसार नै सबै सक्रिय जीवन बिताउँछन् । अशक्त र केटाकेटीहरूको हेरबिचार, सुघ्‌घरसफाई र रोगव्याधमा व्यवस्था मिलाउन तथा सहज जीवन पार्न सबै वयस्कहरूको औधि आत्मियतापूर्ण ध्यान हुन्छ। महिला पुरुष सबै सद्भावकासाथ एकअर्काको सहयोगी र उपयोगी हुन प्रतिस्पर्धा गर्छन् । कहीँ रमणीय ठाउँ वा बिभिन्न उपलव्धिपूर्ण पर्यटनका लागि योजना बन्दा प्रायः सबैलाई पायक र सगोल फाइदा पुग्ने स्थल वा विषय रोजिन्छ । त्यस्तोमा पाका मानिस त् अभिभाकत्वको दर्जामा सँगै रेखदेखको व्यवस्थासहित अनिवार्य सहभागी गराइने वयस्कहरूको परम्परा नै हुन्छ ।

बिहान निन्द्रा खुलेदेखि राती नसुतेसम्म एकआपसको बोलीनै माधुर्यपूर्ण, सहयोगी र परिपुरक खालको पाइन्छ । घरभित्रका कुरा बाहिर गुनगुन पनि सुनिँदैन भने भाँडा बजेको सुन्न दुर्लभ हुन्छ । कसरी एकअर्कालाई सघाउने, आदर र स्नेह गर्ने भन्नेकुरामा सबै सचेत र सक्रिय हुन्छन् । आँगन, करेसा, मूलढोका, भित्रीभाग, दैनिक वा समयअनुसार प्रयोग हुने चिजविज आआफ्‌ना ठाउँमा सफा र व्यवस्थित रहेको पाइन्छ । पाका मानिसको सामान्य श्रमको पनि ठूलो आदरयुक्त प्रशँसा र केटाकेटीका सकारात्मक कामको प्रोत्साहन नै सँस्कार हुन्छ । न्यूनतम आवस्यक सबै चिजबिज सकेसम्म घरमा नै जोरजाम गरिन्छन्, दैनिक किनुवाको भर परिन्न ।

घरसदस्यले मात्र दैनिक कार्य सम्पन्न गर्न नभ्याइने भए कामको सहयोगी राखिन्छ र तत्‌सम्बन्धी जानकार साथलागि गरिन्छ । फारोतिनो गरेर हरेकका स्वास्थ्य अवस्था हेरेर माया आदरसाथ ख्वाउने छँदैछन् । खाना पनि सबैका चाहना र स्वाद अनुसार बनाउँदा आफ्‌नो सार्थक कर्तव्य ठान्ने भान्छा तयारगर्ने सदस्यहरू हुन्छन् । खानाखाँदा पनि सकेसम्म बेलुकीको भए पनि एकैसाथ वा आवयक्तानुसार डफ्‌फाडफ्‌फा रमाइलो मानेर खानपान भएको पाइन्छ । भएका चलअचल सम्पतिको उचित प्रयोगमा ध्यान दिने, शारीरिक र मानसिकरुपले सक्षमबाट थप आर्जन गर्न सामुहिक भलाकुसारी सरसल्लाहको विषय बनेको हुन्छ ।

घरको आवस्यक्तालाई बेमाख नपारेर बाहिरफेर पनि काम गरिन्छ तर अनावश्यक तुजुक, देखावा, घच्चा अथवा घुर्की देख्न–सुन्न पाईँदैन । अल्पकालिन फुर्सदका समय पारिवारीक मनोरञ्जन, थपअनुभव साटफेर, नयाँ जानकारी तथा अझबढी सामुहिकता बढाउने क्रियाकलाप गरिन्छन् । सबैलाई ‘कुनै कुराको अपुग नभइदिए हुन्थ्यो’ भन्ने सोचाईसाथ त्यस्तो आँउनै नपाउने गरी मिहेनत गर्ने र गरिरहेका असल मानिसहरूको जमघट– घर । परिवारजन बिचमा सुबिधा, सहयोग, आदर र स्नेहको समष्टीरुप र दुःखसुखका सहयात्री अभिन्न आफन्त बसेको वंशबृक्ष जस्तो नै घर हो ।

आवास
मानिसहरू बस्ने मात्र र जसोतसो गुजारा गर्न बस्ने ठाउँलाई अचेल घर नभनेर आवास पनि भन्छन् । त्यसको संरचना र त्यसभित्र बस्ने मानिसका चरित्र र व्यवहार हेर्दा घरभन्दा फरक पाइन्छ । सबै वयस्कका आआफ्‌नै तुजुक, फुर्सद भए पनि काममा व्यस्तताको ढर्रा बातैपिच्छे सुनिन्छ । दैनिक सरसल्लाह र वार्षिक योजना पाका मानिसहरूसँग गरिने भन्दा व्यक्तिव्यक्तिका बेफुर्सदी र योजना नै भोगिन्छ । परिवारमा कमाउनेको फूर्ति र घमण्ड अरुलाई सुन्दा नाकनै खुम्चिने हुन्छ । आफ्‌ना केटाकेटीको आत्मिक नभई बजारीया भौतिक सुबिधा हेर्ने अनि ‘खुब गरेको’ विज्ञापन नातेदारमा बिस्कुन लाइन्छ । शरीरिक मानसिकरुपले सक्षमबाट अरुको बेवास्ता गरिन्छ र फुर्सद नभएको ढोल पिटिन्छ ।

विशेषगरी अशक्त र पाका मानिसकलाई सहयोग र आदरभन्दा ‘म्यादगुज्रेका, कहिलेसम्म बाँच्नेलाई दुःखदिने र आफू पनि पाउने हुन्‌’ भनि चियोचर्चो र खिसिटिउरीका बाढी उराल्ने गरिन्छ । ईष्टमित्र भेट हुँदा ‘फुर्सद नभएर आफ्‌ना अभिभावकलाई हेर्ने मानिस राखेको वा डे केयर (सुबिधायुक्त बृध्दाश्रममा) व्यवस्था गरेको’ धाक (सफाई) दिइन्छ । अभिभावकलाई हेरबिचार गर्न नचाहेर ‘अवसरको खोजीमा नचाहँदा नचाहँदै आएको, आफ्‌नो काम गर्ने ठाउँ पायक पारेर आवासमा बसेको’भनि आँसुहिन रुवाई सुनाउने (गफदिने) पनि भेटिन्छन् ।

औचित्यहीन सञ्चार र सञ्जालका पट्टयारलाग्दा नाटकका श्रृङ्खला हेरेर समय काट्ने हुन कि नयाँ खानेकुरा खाएको विज्ञापन गर्नमा अनुहारीकामा घण्टौँ बिताउने हुन,‘फुर्सद नभएर काम गर्ने राखेको’ धाक जमघटमा छोड्नु आधुनिकता ठान्दछन् । त्यस्ता समुहका महिला पुरुष प्राय विवाह, पार्टी आदिमा भोजनसहित निम्तालु भए विशेष जलपान वा स्वादिष्ट भोजन वरपर खौलापरेका भैँसीले हरियो घाँस हाँप र झाँप गरी बुत्याएझैँ खान व्यस्त देखिन्छन् । त्यस्ताका केटाकेटी पनि पेयपदार्थ, पानीपुरी र बरफ बितरणका वरपर झुम्मिएका पाइन्छन् । त्यसपछि आवासलाग्दा बाटाभरी कि गरगहना र लुगाका कुरा कि कतिवटा कुन खानेकुरा खाएको बहादुरीका कुरा मात्र हुन्छन् । पाका मानिस सकेसम्म वयस्कका ‘ईज्जत जोगाइदिन’ त्यस्तोमा जान पाउँदैनन् । कथम कसैले नआएको सोधे ‘सञ्चो नभएर वा अन्त जानुपर्ने भएर आउनुभएन’ भन्ने कथाका पात्र भइहाल्छन् । वयस्कका दयामा जान पाए पनि एकातिर भनेको ठाउँमा थच्चिएर, ल्याएको खाइदिएर लैजानेले भनेको बेला फर्कन्छन् ।

उनीहरू त्यस्तो सभासमारोहका साक्षि बस्न सक्छन् तर सकृय कारीणी बन्दैनन् । कुनैबेला खाने बस्तु वा तरिका र आफ्‌नो मनसाय व्यक्त गरी हिम्मतिलो बन्नखोजे ‘तपाईँ बिर्सनुहुन्छ’ वा ‘कत्ति एउटै कुरा दोहोर्याइरहेको’भन्ने ब्रह्मास्त्रको मारमा पर्छन् । त्यतिभन्दा पनि चित्त नबुझि लैजानेलाई हदै ‘बेईज्जत भए’ अर्को चोटीदेखि घरकुरुवामा पर्छन् । ज्ञान र अनुभवले खारएिका पाका मानिसहरू त्यो अपमान बाँचुन्जेल नबिर्सने हुनाले बरु एक्लै वा दोक्लै खटाइदिएको सामल खाएर आवास कुर्दिन्छन् ।

अँ, शारीरिक रुपले कम सक्षम वा अशक्त भई भर पर्नेका खिया लागेका चरित्र भोग्न अभिसप्त यस्ता आवासका पाका मानिसहरू आवासरुपी सुनको पिञ्जडामा फलामे साङ्लाले बाँधिएका बाघ हुन । उनीहरू परिवारको लहडमा ङिच्च गर्दै मनका कुरा मनमै ताल्चा मारेर आगन्तुकका अगाडि भनेका बेला उपस्थिति जनाउन देखापर्नु त्यस्ता परिवारको संस्कार हो । यस्तो वातावरणमा हुर्केका बालबालिकाले विदेशिएनन् भने अहिलेका वयस्क पाको उमेरमा पुग्दा के गर्छन् होला ? पूनरावृत्तिको घनचक्करमा आफैँ पर्ने पनि होस् नराख्ने कस्ता वयस्क होलान्, ताज्जुब लाग्छ ।

पाटी
पहिला मठमन्दिर वरपर ओतलाग्ने पाटी बनाईएको हुन्थ्यो । प्रायः धार्मिक कार्यकालागि बनाइएका ती पाटी सत्तलमा अविवेकी सन्तानका हेलाँहोचोमा परेका पाका मानिसका आश्रयस्थल हुन्थे । पाटी विभिन्न कारण देखाई सक्नेले बनाइदिएको प्राय छाना र तिनतिर भित्ता भएका हुन्थ्यो । सामान्य वरपरको जमिनभन्दा अग्लो करिब भारी अड्याउन मिल्ने उचाईसम्म त् ढुङ्गाको गाह्राे हुन्थ्यो । त्यसको भूइँमा मिलाएर ढुङ्गा नै ओच्छ्याइएको हुन्थ्यो भने कतिपय ठाउँमा पाका इँट थपेर वा मसिना ढुङ्गाचाङ लाउँँदै बलो राख्ने ठाउँसम्म पुर्‍याइन्थ्यो । त्यसैमा डाँडाभाटा राखेर उठाई छानामा प्रायः पराल वा हुने ठाउँमा झिँगटी र कहिँ जस्तापाता पनि हुन्थ्यो ।

पाँचसात जना मज्जाले गुँडुल्किन मिल्ने त्यस्तो ठाउँमा कहीँ त त्यहीँ पकाउने ठाउँ पारिएको हुन्थ्यो । कहिँकहिँ बढी हुनेखानेले बनाई दिएको चैँ अलि लामै सत्तल जस्तो हुन्थ्यो र नाम नै लाम्पाटी भनिन्थे । जे होस्, रात, घामपानी र हुरीबाट बटुवा जोगिने एकराते बासस्थान बनेको नेपालमा ठाउँठाउँ भेटिन्थे । अँ, पाटीछेउ पानीको स्रोत चाहिँ प्राय मिठो पानी नै हुन्थ्यो र धारो पनि बनाएको हुन्थ्यो । खोलाको माथ्लो भागमा पनि यस्तो संरचना पाइन्थ्यो ।धार्मिक कार्यमा आयोजकले वरपरका कम आय भएकालाई बोलाई खुवाईपियाई गरिन्थ्यो । कहीँकहीँ त्यतै धार्मिक हण्डी भनेर नियमित खुवाईपियाई र बस्न दिने गरिन्थ्यो । पहिला घर आवासबाट लखेटिएका र बिरक्तिएका पाका मानिस त्यस्तै हण्डीको भरमा पाटीमा बस्न बाध्य हुन्थे । ठूल्ठूला देबालय र शिवालयमा प्रायः सदाबर्ते हण्डीको व्यवस्था ‘काल पर्खने’ का आश्रयस्थल हुन्थे ।

अँ, अहिले पनि अल्पकालिन वा एक छिमल बिताउनलाई त पाटी राम्रो आश्रय हुन्छ । ‘घर’ घर जस्तो नभएको ‘आवास’बस्न हुने जस्तो नभएर लोकलाज बचाउँन ‘आ बस’मात्र भएको ठाउँमा पाका मानिस कहाँ जाने ? सामाजिक सुरक्षा नदिने सरकार र अराजक भाँडभैलो गर्ने परिवार तयार पारिएको बर्तमान सामाजिक परिवेशमा देशका पाका मानिसहरूबारे चासो राख्ने को ? ज्ञान र अनुभवले पाका भएका, हिजोको समयलाई प्रत्यक्षदेखी ईतिहास बनाउने ती मानव समाजका बहुमूल्य प्राणी मठमन्दिर वरपर परम्परागत निशुल्क पाटी छ भने त्यता लाग्न बाध्य हुन्छन् । त्यता लाग्नु अघि कोही पाका मानिस आफ्‌नो सञ्चिती सक्दै वा गोप्यधन उपयोग गर्दै केही समय सशुल्क कतै बस्न सक्छन् । अति माया आफन्त भनाउँदालाई देखाई समयमा नै चलअचल हस्तारण गरेका वा बचत नगर्ने त जाने पाटी नै हो । अनि सँगैको साथी कि भूस्याहा कुकुर कि फरक कारण तर उस्तै अवस्था भोग्न बाध्य अर्को मनुवा । हो, त्यस्ता पाटीमा महिला र पुरुषको सामिप्यतामा लैङ्गिक विभेद हुन्न, बरु समान भोगाईका कथा एक हुन्छन् ।

अन्त्यमा,
तपाईँ हामी अहिले कहाँ बस्छौँ, कस्तो व्यवहार भोग्दै छौँ ? के राम्ररी हेक्का राख्नु भएको छ ? भोगेको र भइरहेको तपाइँलाई ठिक छ भने राम्रो नै भयो । ठिक छैन भनेर बसाई र सोचाई फरक परेको रहेछ भने पाका मानिसको बाँकी समय अन्यौल, चिन्ता, पीडा, अवसाद, एकोहोरोपन भएर जानसक्छ । पीडा र आत्मग्लानीबाट भको ज्यानमा रोग नथपी सपार्न केही गर्न सक्नुहुन्छ कि ? मनका कुरा सुनिदिने नभएर एकान्तमा बर्बराएर आफैँले सुनि ‘अरुले जवाफ नगरी सुनेको र मानेको’भनि आनन्द लिनुपर्ने दिन आउँन सक्छ । भइरहेको तपाइँले सहन नसक्ने हो भने, त्यो परिस्थितिमा तपाइँको बाँकी जीवन कसरी बिताउने सोच्नुभएको छ ?

याद गर्नोस् एक दशक अघिसम्म महिनाको २–३ जना बेवारिस पाका मानिसका लास भेटिने नेपालमा अचेल ३०–३५ भेटिएका खबर निकै आउँछन् । कि अन्त्यमा कुकुर साथी बनाउने भविष्यको तालिम लिँदै हुनुहुन्छ ? बेलैमा वयस्कहरूले मसक्कै सोचौँ र व्यवहारमा कार्यान्वयन गरेर पाका मानिसको ज्ञान, सिप, क्षमता र अनुभव आदरसाथ सार्वजनिक गर्दै सामाजिक प्राणीको दायित्व पुरा गरौँ । अन्यथा तपाईँ वयश्कहरूको भविश्य अहिले तपाईँका पाका मानिसहरूले व्यहोरेको भन्दा हृदयविदारक होला है । तपाईँ वयस्कहरूका हरेक क्रियाकलाप नियाली रहेका तपाईँकै शिसुहरूले पाका उमेरमा पुग्दा तपाईँलाई गर्ने व्यवहार पनि तपाईँकै सिको गर्नेछन् । भिरबाट बुढो बाउलाई गुण्ट्याउन डोकोमा बोकी हिँडेकोलाई उस्कै अबोध शिसुले ‘मैले तपाईँलाई फाल्न काम लाग्छ, डोको फिर्ता ल्याउनु है बा’ भनेको कथा सम्झिनु राम्रो होला ।

०००
ल.पु. चालिसेडाँडा
पाका मानिसका कुरा (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
हामी यस्तैमा छौँ साथीहरू !

हामी यस्तैमा छौँ साथीहरू...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x