साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी यस्तैमा छौँ साथीहरू !

रुले निहुँ खोज्ने हिसाबले कुनै बोलीबचन र व्यवहार नगर्नोस्, सहनु पर्छ, अब सबथोक ! किन कि अब तपाईँ कमभन्दा कम दुख पाएर बाँचुञ्जेल स्वआनन्दमा बाँच्नैपर्छ । मर्नुभन्दा अघि पलपल मर्ने र मरेपछि के होला भन्ने चिन्ता नलिनु राम्रो ।

Nepal Telecom ad

डा. मुकेशकुमार चालिसे :

उमेर बढी भएकाले शारीरिक क्षमतामा ह्रास आउन सक्छ, अझ रोगव्याधले गाँज्न सक्छ । यो जीवित प्राणी सबैको स्वभाविक प्राकृतिक प्रकृया हो । यस्तोमा हामी मानिसले दुःख, बिलौना र निराश हुनुहुँदैन । पाको उमेर भइसकेपछि तपाईँप्रति गरिने व्यवहार समाज र घरपरिवारमा फरक पर्दै जान्छ । मानिसको स्वभाव बर्गस्रोत, हुर्काई, सामाजिक बनावट तथा सिकाईमा निर्भर गर्छ । त्यसै अनुसार पारिवारिक सदस्यहरूको चरित्र निर्माण हुन्छ । राम्रो परिवार भनिने हरेक घर एकाईमा बर्गस्रोत मिलेको होला वा विभिन्न कारणले छोटो अवधिमा बर्ग परिवर्तन भएको नहोला वा सामाजिक उथुलपुथुलबाट जोगिएको परिवार होला वा निर्देशित पारिवारिक अनुशासन होला ! समाजिक मानविय चरित्रमा विकशित समाज व्यवस्था भएको ठाउँमा तपाईं पाका महिलापुरुष मानिसहरूको उपस्थिति संरक्षक, आदरणीय, अनुकुल र सह्य हुन्छ । त्यस्तो परिस्थितिमा पाका मानिसहरूको समय र अवस्था बहुत ईज्जत र आरामले व्यतित हुँदोरहेछ । सप्ठेरोमा कायम राख्न सिपालु हुनुपर्छ र बिब्ल्याँटो पर्दा भने त झ्‌न बढि होस् पुर्‍याउनु पर्छ ।

तनावको त्यो बेला
तपाईंले पहिला कति व्यहोर्नु भयो होला, सम्झेर ल्याउँदा छक्क लाग्छ । स्कूले केटाकेटी हुँदा गृहकार्यको टण्टा, अक्षर राम्रो भएन भन्ने पीर, शिक्षकशिक्षिकाकाे खटनपटन, गृहकार्य राम्रो नराम्रो, उस्तैपर्दा दण्ड, साथीभाइ बिचमा लुगाफाटाे, सुबिधा र पढाई स्तरकोे प्रतिस्पर्धा, पासफेलको चिन्ता, के के थियो ? हिजो घरभित्रका मान्यजन र बेलामौकामा आउने पाहुनालाई अभिवादन समयमा नै नगरे कति दनक पाइन्थ्यो, सम्झाैँ। घरबाट निस्केदेखि मान्यजन र आफूभन्दा ज्येष्ठलाई ढोग, प्रणाम, नमस्कार, जेजस्तो चलेको थियो त्यहिअनुसार गर्दागर्दा हात र मुन्टो गलेर विद्यालय पुग्यो त्यहाँ भेटेजति शिक्षकशिक्षिकालाई फेरि त्यही प्रक्रिया गर्दा कति हैरान लाग्थ्यो ? परीक्षा त कालजस्तै हुने, पास भए सबै विषयमा उस्तै वा माथिल्लो अङ्क आयो आएन, नआए किन आएन आए पहिलो भइयो कि भइएन ? विद्यालयमा मात्र होइन घर र नातागोतामा समेत स्पष्टीकरण दिँदादिँदा एक त्रैमासिक नै जान्थ्यो ।

विद्यालय सक्यो अनि कुन विषय र कुन क्याम्पस् पढ्ने भन्ने चिन्ता, राम्रो क्याम्पस्‌ले भर्ना नगरिदिएला भन्ने पीर । भर्ना हुन पनि भनसुन गर्नुपर्ने हो कि ? भर्नाशुल्क जति भए पनि बढि लाग्ने, कसैलाई भनेर घटाउन सकिएला कि ? विद्यालयभन्दा फरक खालका विषय र फरकफरकले पढाउने भएर कुनै आफू बुझ्‌ने कुनै भेउ नपाउने, अब के गर्ने ? फेरि ट्युसनको चटारो । घरले मान्ने वा सक्ने नसक्ने अतिरिक्त शुल्क ब्यहोर्न ? उफ, कतिथरीको तनाव ? विज्ञानमा भए छात्रवुत्तिमा डाक्टर, इन्जीनियर हुने प्राप्ताङ्क आयो आएन ? कि आफ्‌नै खर्चमा पढनुपर्ने भयो ? फेरि घरले धान्न सक्छ सक्दैन ? व्यवस्थापन र मानविकीतिर भए जसोतसो पास भएपछि लोकसेवा लड्न वा कतै भनसुन गरेर यसो झुण्डिने ठाउँ मिल्छ कि ? कति चिन्ता र पिर ? यसैमा चौथाई जीवन सखाप । जागिर खायो, घरी हाकिमको नसिहत, घरी तनखा आयो होला भनि साथीभाइको खाईद्यौ पार्टीको माग, अनि संगत उस्तै परे सप्ताहान्तको रमाइलोमा हारेर ढाड सेक्ने ।

यसैबिच उमेर पुगेपछि कि आफैँ रोजेर कि घरको आदेशमा जोडा भित्र्याउनु वा लाग्न जानु । जोडिन आउनेलाई नयाँ घरको रहनसहन बुझ्‌दैको फजिती, तलमाथि पर्दा पहिलाको घरको समेत इज्जत जाने डर । रहँदाबस्दा समयमा सन्तान नभए अर्को खालको गनगन घरपरिवार र नातागोताको । त्यसका लागि दौडधुप, भएपछि फेरि हुर्काउने, पढाउने र आफूले नसकेको गरोस् भन्ने फोस्रो आकाङ्क्षाको तनाव । सन्तान वयश्क हुँदै गर्छन्,भएको रेखोपाखो बेच्न लाएर अथवा बाबुआमाले ऋण लिएर भए पनि उछिट्टिन खोज्नेहरू स्वर्गदेशतिर हान्निइसकेका होलान् । हेर्नोस् त फोस्रो तनावले नछाडेको ?आफू उमेर पाक्दै, जसोतसो पदोन्नति हुँदै आधा उमेर पुग्दा निवृत्तिभरण पाएर वा उपदानमा लुब्रेकान लाएर अवकाश पाउने ।

सप्ठ्यारो हुँदा
अब त् तपाईँहरूको त्यस्ता तनाव हुने उमेर रहेन । जोडा पनि वर्गस्रोत अनुसार मिलेर उस्तै संस्कार अनुसार भएको थियो । पाको उमेरमा झन् बढि माया र आफ्‌नोपन हुने । स्वभाव र बोलीचालीले त दाजुबहिनी जस्तो, झण्डै परेवा र ढुकुरको जोडीजस्तो, बचेराहरूले छोडे पनि जोईपोइ पिरती । एकअर्कामा कस्तो एकज्यानको प्रेम उम्लिने, देख्नेले पनि ईर्श्या गर्ने । त्यतिन्जेल कि केटाकेटी कोही उन्नति गर्न भनि परदेश वा कोही घरबाटै केहि गर्दै होलान् । घरी ‘तेल भिसामा विदेश’को रमइलो नभए यतै हल्लेर खानबस्न पाएकै छौँ । जे छ, जति गरियो, त्यसैमा आनन्द, परेको गर्ने भरपर्दा छँदैछन् । पाका मानिसलाई केहि पर्दो रहेनछ थप गर्न । बाहिर निस्कन मनलागे बिस्तारो यताउति हेर्दै हिँँड्यो, पहिला अरुलाई अभिवादन गर्दा थाक्ने हात अब फर्काउँदाको हैरान् । अब त तपाईँको उमेर र शारीरिक मापनबाट अरुको भाष्यमा गजब परिवर्तन आइसकेको पाउनुहुन्छ, ‘दाइ कतासम्म ? खुट्टा तन्काउनु पनि पर्छ, राम्रै हो’ अथवा ‘बा टाढै लाग्नुभयो, कहाँसम्म ? अचेल हजुरलाई नदेख्या धेरै भयो, आरामै हुनुहुन्छ ?’ अहा ! कति आदरकासाथ खोजिनीति । पसलतिर गए पनि अभिवादनसहित ‘के टक्र्याउँ बा ? धेरै पो भयो त आउनै छाड्नुभयो, सन्चोसुबिस्तै हुनुहुन्छ नि ।’ किनमेल गर्दा पनि केहि रकम पुगेन भने पनि, ‘सामान लगिराख्नोस् अर्कोचोटी आउँदा दिनुहोला बा’ भन्छन्, कत्रो बिश्वास् ? उस्तै उमेरसमुह भेट हुँदा कुशलक्षेम, सुबिस्ता बाहेक कमाईधमाई, दौडधुपको कुरै नहुने । कतै बाटोतिर पर्खनु परे वा टहल्दा नचिने पनि गफ हुने । शारीरिक अवस्था अनुरुप कतिको भइयो भनि सोध्न र भन्न अप्ठ्यारो नलाग्ने । नचिने पनि एकछिन सँगै परियो भने त सबै परिचय मज्जाले खुल्ने । कस्तो प्रेमपूर्ण मानवीय समय रहेछ पाको उमेर, गर्नेले ईर्ष्या नै गर्छन् होला !

पहिला बाआमा वा सासूससुराले धानेको निम्तानाम्ती मान्न जाने काम अब अली बढि पर्नसक्छ । अन्तिम छिनोफानो र घर प्रतिनिधित्व आफ्‌नै जिम्मा, टोल छिमेकमा वरिष्ठहरूको जमघटमा भ्याईनभ्याई । घरमा होस् कि समाजको सामुहिक निर्णयमा उपस्थित हुनैपर्ने । कसैको पिरपिराउ, अप्ठ्यारोमा अर्तिउपदेश र ढाडस् दिन छुट्न नहुने । कस्तो जिम्बेवारीपूर्ण आदर सबैतिर ! जिम्बेवारी पनि थपियो, अब सम्झेकाे ठाउँमा नगए चर्चा हुन्छ र अर्को पटक भेट्दा प्रष्टिकरण नभई को मान्छ र ? हरेक मालसामानको ठिक मूल्य निर्धारण गर्न र किन्न पाको उमेर नै चाहिने । मज्जाले मोलमोलाई गर्न न अप्ठ्यारो न किशोर बेला जस्तो फाेस्रो लाज, उल्टो आदरपूर्वक ईतिबृत्ति थाहा पाइने । अचेल महँगा सामान किन्न घरकाले त ‘आफ्‌नो मिल्ने समय सोधेको वा सँगै दुख गरिदिनोस् न’ भनेको, क्या आनन्द लाग्छ । सानातिना त सल्लाहले चल्छ, ठूलो काम आँटे त ‘तपाई नगई कसरी आँटनु’ भन्छन् आफू नगई हुन्न, उनीहरू साह्रै भर गर्छन् । आफ्‌नो पाकोपनको कदर भएकोमा ‘आफू अझै महत्व राख्छु’ भनि मख्ख परिएन त !

बाटोघाटो हिँड्दा महिला वा पुरुष जोसँग पनि निर्धक्क कुरा गर्न कुनै बारबन्देज छैन्, पहिला त बिपरित लिङ्गीसँग नजिक पर्न पनि शरम लाग्थ्यो । झट्ट नजिक परे अनुहारनै रातो हुन्थ्यो, अहिले त बसमा सँगै कोचिँदा पनि केहि हुन्न । शरीरले पनि कति अनुकुलन गरेको ? आफूलाई केही फरक लाग्दैन । एकछिनमा नै गफिन सुरु गर्दा त्यस दृश्यमा कम उमेरका छक्क परेर करेपेर हेर्छन्, आफूलाई अचेल त उदेकलाग्छ ती केटाकेटीका चाला देखेर । फर्केर आयो घरमा मान्नुपर्ने कोही छैन, उल्टो ‘ओहो ! धेरैबेर भयो त, केही खाजापानी चाहिन्छ कि, के बनाउँ ?’ भनेर अनुरोध पो गर्छन् । केहि खाएको भए ‘भैगो, केही लिएँ साथीले भनेर‘ भन्यो, नत्र ‘यसो छिटोछरितो बनाउ न त‘ भन्दा उनीहरू ठूलै अवसर पाएझैँ’ कार्यान्वयनमा जुट्ने । यो भन्दा आनन्द के होला ? हो, शारीरिक अवस्था र रोगका कारण माया गरेर सुविधायुक्त् ज्येष्ठनागरिक केन्द्र पुर्‍याउन सक्छन् । यसमा चित्त कम दुखाए हुन्छ, सुविधै हुन्छ ।

बिब्ल्याँटो हुँदा
बिब्ल्याँटो सामाजिक र पारिवारिक अवस्थामा तपाईँ निश्चितरुपले तेतव्य (तेस्रो तहको व्यक्तित्व) नै हो । विभिन्न कामको शिलसिलामा एउटा हुरीमा आएर जोडा बाँधिन्छ, उमेर छउन्जेल आआफ्‌नो कामको चटारोले दोहोरो कुरा र वादविवाद नै हुन पाएको हुन्न । अब घरमा नै डल्लिने समय क्रममा आफ्‌ना मौलिक वर्गचरित्र, हुकाई र सिकाई सबै उदाङ्गिन्छन् । अनि बातैपिच्छे क्वारक्वारको दन्तबजान ! एउटाको कुरो अर्कोले सुन्नै मन नलाग्ने । तपाईँको सकारात्मक र मौन उपस्थिति ग्राह्य भए पनि प्रश्नबाचक वा नकारात्मक हस्तक्षेप बोझ मानिन्छ । तपाईँ आफ्‌नो हुर्मत भएको महशुस गरी निराशा वा ग्लानी अनुभव गर्न सक्नुहुन्छ । तपाईँको बाँकि जीवनको लागि यो शुभ होइन । बरु त्यसमा अभ्यस्त हुनुपर्छ र ‘अति भएको’ लाग्छ भने त्यस्तो परिस्थिति हुने ठाउँमा अनुपस्थित हुनु आफैँलाई फाइदा पुर्‍याउनु हो । बरु एक्लै आफ्‌नो लम्पसार कक्षमा रहनु राम्रो, सके शिप अनुसार केही गर्दैबस्ने वा विगतका सुखमय र उत्पादनशील काम सम्झँदै ओच्छ्यानसाथीको प्यारो हुने । यस्तोमा बाहिर निस्कन मिले आफ्‌नो कुरा मिल्ने दौँतरी वा चिनजानका मानिसहरू साथी बनाई समय काट्नु उत्साहजनक हुन्छ । ‘भेडा भेडासँग, बाख्रा बाख्रासँग’ भन्ने उखान नबिर्सनु राम्रो हुन्छ है र कार्यान्वयन गर्न पछि नपर्नोस् ।

बलियाबाङ्गा विभिन्न बहानामा परदेश लागिहाले कहिले पिण्ड छुटाउँ बुढाबुढीको भनेर, बचेका कोही भए होस् गर्नोस् । आफूले धेरै मिहेनत गरेको र अहिलेको पारिवारिक सामाजिक स्थिति बनेको कुरा मनमा राख्नु बेश होला । बजारको हावाले परिवारका अरु सदस्यहरू र नातागोतालाई नराम्ररी गाँजेको हुनसक्छ ! तपाईँले धेरै समय लगाएर दुखजिलो गरी ईँट काठ सिमेण्टले बनाएको सुन्दर गृहधाम अहिले त्यस्तो प्रभाव भएकाहरूलाई खण्डहर हुनसक्छ ! तपाईँले ‘आफ्‌ना साना दुखले अघि बढेको होइन त्‌’ भनि कुरा गरिरहनु भयो भने ‘हाम्रा करले बनाएको होइन त, यस्तो छन्द न बन्दको घर, फलानाको कस्तो राम्रो’भनि बाँणहनाई किन खानुहुन्छ ?ऋण गरेरै भए पनि किनेको सवारीसाधन वा परिवारलाई सुख दिन जोडेका बस्तुभाउ अब थोत्रा र काम न काजका हुनसक्छन् । निर्दयतापूर्वक रद्दीको भाउमा फौबञ्जारलाई हुत्याउँदा पनि सहनुबाहेक केही नभन्नु राम्रो, नत्र ‘सँगै लैजाने मन छ र !’ भनि छेडहान्दा कस्तो होला ? हृदय कलुषित नै भएका परे त् बृध्दाश्रम र सदाबर्ते मन्दिरमा पुग्न के बेर ?

के गर्ने ?
अनुकुल परिस्थिति छ भने कायम गर्न आफ्‌नो तर्फबाट सहयोग तथा सकारात्मक कोशिस निरन्तर गरिरहनु होस् । हिजो आफ्‌नै ईच्छा आवश्यक्ता र अभिभावकप्रतिको कर्तव्यस्वरुप विभिन्न प्रकारले मिहनत गर्दै निर्माण गरेको घरगृहस्थी अझै सुखमय बनाउन आफ्‌नोतर्फबाट सकेको योगदान थप्नुहोस् । जिम्वेवारी क्रमैसँग हस्तान्तरण न्यायसङ्गत र पक्षपातरहित गरि हलुका हुँदै जानुहोस् । परिवारका सदस्यहरू बिच तथा मिल्ने साथीहरू बिच असमान र चित्त दुख्ने व्यवहार वा आशय कहिल्यै प्रकट नगर्नुहोस् । सकेको सहयोग नै गर्नुहोस्, सकिन्छ भने ‘आँखामा हाले पनि नबिझाउने’ वा ‘नौनी भन्दा नरम’ व्यवहार कायम राख्नुहोस् । पहिलेजस्तै वा त्यसभन्दा बढि तपाईँको भद्रता र अनुभवसिध्द ज्ञानको प्रशंसा बढदै जावस् । कम्तिमा हरेक समस्यामा गाँठो फुकाउन तपाईँका सल्लाह रामबाँण बनुन् र अन्तिम अवस्थासम्म हाईहाई भइरहोस् ।

प्रतिकुल र बिव्ल्याँटो अवस्था आइसक्यो भने तपाईँका सरसल्लाह अथवा निर्णय बिस्तारै बेवास्ता भएको पाउनु हुन्छ । उस्तैपर्दा प्रतिकार हुने स्थिति छ भने अब तपाईँको हैसियत पहिलेजस्तो छैन र सत्ता पल्टिसक्यो भनि बुझ्‌नुहोस् । अझै ती आफन्त वा साथीभाइले उस्तै गर्लान् भनि आश कम गर्नु राम्रो हुन्छ । हिजो तिनैका लागि मरिमेटेर गर्नुभयो, नितान्त आफ्‌ना ईच्छाहरू र आवस्यक्ता बलिदान गरेर उनीहरूलाई खुसी पार्नु भयोहोला । त्यस्ता कुरा गम्ने हो भन्ने वा घुर्किलगाउने होइन्, बुझ्‌नोस् तपाईँको परिस्थितिले थप बलिदान मागिरहेछ । अब गरिने बलिदान हुन; अहम, आदेश, स्वअधिकार, मान पाउने आशा र म पनि केही हुँ भन्ने बुझाई । निराशा र चित्त दुखाईको जड नै अरुको आश गर्नु र बढि भरपर्नु हो । अहिलेका खानपान, लवाईखवाई, हिँडाईबोलाई, कामधाम आदिबारे सुन्न ईच्छा गरेमात्र आफूलाई लागेको भन्नुहोस् नत्र चुपलाग्नु राम्रो हुन्छ । घरभित्र पनि खानपानमा तपाँईँको अनुकुल नभए कम लिनुहोस्, यदि विकल्प बन्दैन भने, स्वईच्छा मनमै राख्नुहोस् । बरु सके मनपर्ने हलुका खानेकुराको जोहो औषधिजस्तै आफैँ गरिरहनु होस्, भोकै सुत्न र औषध अभावले गाह्राे होला । यो उमेरमा निन्द्रा नपर्नु र रोगको औषध नपाउनु चाँडै काल निम्त्याउनु हुन्छ ।

नियमित प्रयोग गर्ने लुगाफाटा र लवाईमा आफ्‌नो अनुकुलका सफा पारेर जोगाएर उपयोग गर्नुहोस् । होला, तपाईँको सक्रिय जीवन हुँदा अझ् विशेषगरी आयआर्जन गरिरहँदा तिनै मानिसहरू तपाईँको ईच्छा अनुसार नगरे पनि सुनिदिन्थे होलान् । कम्तीमा आफ्‌नै स्वार्थका लागि पनि उनीहरू प्रतिकारमा उत्रने थिएनन् । अब, तपाईँको अप्ठ्यारो अवस्थामा उनीहरूबाट मुखछाड्ने वा भौतिक अपमानमा उत्रने घटना नआवोस् भनि हेक्का गर्नुहोस्, अवस्था दोहोरो भिड्न्त हुनसक्ने दुर्घटनालाई ननिम्त्याउनु होस् वा न्युन गर्न कोशिस गर्नुहोस् ।

बिसाउनीमा
अनुकुल हुँदा त्यस्तो सम्बन्ध कायम राख्न आफू पनि अरुलाई बाधा नपुर्‍याई लागिपर्नुहोस् । शारीरिक क्षमताले भ्याएसम्म बाहिरफेर घरायसी श्रम गर्न उत्सुक हुनुहोस् । प्रतिकुल हुँदा र कमजोर अवस्थामा पहिला तपाईँको ज्ञान, अनुभव र शिप जे थियो त्यसलाई ब्युँताउनु होस् । आफनो समय पलपल त्यस्को उपयोग गर्न, प्रयोग गर्न, उपयुक्त ठाउँमा प्रचार गर्न र मिल्नेहरूका बिच भलाकुसारी गर्नतिर लगाउनु होस् । आफ्‌ना अनुभवका आधारमा यसो भएन उसो भएन भनि पहिलेका कुरासँग दाँजेर कसैको हुर्मत हुने र तपाईँका म्याद गुज्रिएको ठानिने बिचार बदल्नु राम्रो हुन्छ । सकेसम्म उल्टो परिस्थितिमा बचनका बाण थेग्न गाह्रो हुने गरेर आफू प्रस्तुत नहुँदा शान्ति होला । अरुले निहुँ खोज्ने हिसाबले कुनै बोलीबचन र व्यवहार नगर्नोस्, सहनु पर्छ, अब सबथोक ! किन कि अब तपाईँ कमभन्दा कम दुख पाएर बाँचुञ्जेल स्वआनन्दमा बाँच्नैपर्छ । मर्नुभन्दा अघि पलपल मर्ने र मरेपछि के होला भन्ने चिन्ता नलिनु राम्रो, तपाईंले त्यसो गरेमा आफैँलाई पीडामात्र थपिने हो। अब, यस्तैमा रमाउँ है !

०००
ल.पु. चालिसेडाँडा
पाका मानिसका कुरा (२०७९)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
जीवनाथ अधिकारी
जीवनाथ अधिकारी
1 year ago

रमाइलो लाग्यो लेख । यथार्थपरक पनि छ । मननीय छ ।

Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
1
0
Would love your thoughts, please comment.x
()
x