डा. मुकेशकुमार चालिसेहामी यस्तैमा छौँ साथीहरू !
रुले निहुँ खोज्ने हिसाबले कुनै बोलीबचन र व्यवहार नगर्नोस्, सहनु पर्छ, अब सबथोक ! किन कि अब तपाईँ कमभन्दा कम दुख पाएर बाँचुञ्जेल स्वआनन्दमा बाँच्नैपर्छ । मर्नुभन्दा अघि पलपल मर्ने र मरेपछि के होला भन्ने चिन्ता नलिनु राम्रो ।
डा. मुकेशकुमार चालिसे :
उमेर बढी भएकाले शारीरिक क्षमतामा ह्रास आउन सक्छ, अझ रोगव्याधले गाँज्न सक्छ । यो जीवित प्राणी सबैको स्वभाविक प्राकृतिक प्रकृया हो । यस्तोमा हामी मानिसले दुःख, बिलौना र निराश हुनुहुँदैन । पाको उमेर भइसकेपछि तपाईँप्रति गरिने व्यवहार समाज र घरपरिवारमा फरक पर्दै जान्छ । मानिसको स्वभाव बर्गस्रोत, हुर्काई, सामाजिक बनावट तथा सिकाईमा निर्भर गर्छ । त्यसै अनुसार पारिवारिक सदस्यहरूको चरित्र निर्माण हुन्छ । राम्रो परिवार भनिने हरेक घर एकाईमा बर्गस्रोत मिलेको होला वा विभिन्न कारणले छोटो अवधिमा बर्ग परिवर्तन भएको नहोला वा सामाजिक उथुलपुथुलबाट जोगिएको परिवार होला वा निर्देशित पारिवारिक अनुशासन होला ! समाजिक मानविय चरित्रमा विकशित समाज व्यवस्था भएको ठाउँमा तपाईं पाका महिलापुरुष मानिसहरूको उपस्थिति संरक्षक, आदरणीय, अनुकुल र सह्य हुन्छ । त्यस्तो परिस्थितिमा पाका मानिसहरूको समय र अवस्था बहुत ईज्जत र आरामले व्यतित हुँदोरहेछ । सप्ठेरोमा कायम राख्न सिपालु हुनुपर्छ र बिब्ल्याँटो पर्दा भने त झ्न बढि होस् पुर्याउनु पर्छ ।
तनावको त्यो बेला
तपाईंले पहिला कति व्यहोर्नु भयो होला, सम्झेर ल्याउँदा छक्क लाग्छ । स्कूले केटाकेटी हुँदा गृहकार्यको टण्टा, अक्षर राम्रो भएन भन्ने पीर, शिक्षकशिक्षिकाकाे खटनपटन, गृहकार्य राम्रो नराम्रो, उस्तैपर्दा दण्ड, साथीभाइ बिचमा लुगाफाटाे, सुबिधा र पढाई स्तरकोे प्रतिस्पर्धा, पासफेलको चिन्ता, के के थियो ? हिजो घरभित्रका मान्यजन र बेलामौकामा आउने पाहुनालाई अभिवादन समयमा नै नगरे कति दनक पाइन्थ्यो, सम्झाैँ। घरबाट निस्केदेखि मान्यजन र आफूभन्दा ज्येष्ठलाई ढोग, प्रणाम, नमस्कार, जेजस्तो चलेको थियो त्यहिअनुसार गर्दागर्दा हात र मुन्टो गलेर विद्यालय पुग्यो त्यहाँ भेटेजति शिक्षकशिक्षिकालाई फेरि त्यही प्रक्रिया गर्दा कति हैरान लाग्थ्यो ? परीक्षा त कालजस्तै हुने, पास भए सबै विषयमा उस्तै वा माथिल्लो अङ्क आयो आएन, नआए किन आएन आए पहिलो भइयो कि भइएन ? विद्यालयमा मात्र होइन घर र नातागोतामा समेत स्पष्टीकरण दिँदादिँदा एक त्रैमासिक नै जान्थ्यो ।
विद्यालय सक्यो अनि कुन विषय र कुन क्याम्पस् पढ्ने भन्ने चिन्ता, राम्रो क्याम्पस्ले भर्ना नगरिदिएला भन्ने पीर । भर्ना हुन पनि भनसुन गर्नुपर्ने हो कि ? भर्नाशुल्क जति भए पनि बढि लाग्ने, कसैलाई भनेर घटाउन सकिएला कि ? विद्यालयभन्दा फरक खालका विषय र फरकफरकले पढाउने भएर कुनै आफू बुझ्ने कुनै भेउ नपाउने, अब के गर्ने ? फेरि ट्युसनको चटारो । घरले मान्ने वा सक्ने नसक्ने अतिरिक्त शुल्क ब्यहोर्न ? उफ, कतिथरीको तनाव ? विज्ञानमा भए छात्रवुत्तिमा डाक्टर, इन्जीनियर हुने प्राप्ताङ्क आयो आएन ? कि आफ्नै खर्चमा पढनुपर्ने भयो ? फेरि घरले धान्न सक्छ सक्दैन ? व्यवस्थापन र मानविकीतिर भए जसोतसो पास भएपछि लोकसेवा लड्न वा कतै भनसुन गरेर यसो झुण्डिने ठाउँ मिल्छ कि ? कति चिन्ता र पिर ? यसैमा चौथाई जीवन सखाप । जागिर खायो, घरी हाकिमको नसिहत, घरी तनखा आयो होला भनि साथीभाइको खाईद्यौ पार्टीको माग, अनि संगत उस्तै परे सप्ताहान्तको रमाइलोमा हारेर ढाड सेक्ने ।
यसैबिच उमेर पुगेपछि कि आफैँ रोजेर कि घरको आदेशमा जोडा भित्र्याउनु वा लाग्न जानु । जोडिन आउनेलाई नयाँ घरको रहनसहन बुझ्दैको फजिती, तलमाथि पर्दा पहिलाको घरको समेत इज्जत जाने डर । रहँदाबस्दा समयमा सन्तान नभए अर्को खालको गनगन घरपरिवार र नातागोताको । त्यसका लागि दौडधुप, भएपछि फेरि हुर्काउने, पढाउने र आफूले नसकेको गरोस् भन्ने फोस्रो आकाङ्क्षाको तनाव । सन्तान वयश्क हुँदै गर्छन्,भएको रेखोपाखो बेच्न लाएर अथवा बाबुआमाले ऋण लिएर भए पनि उछिट्टिन खोज्नेहरू स्वर्गदेशतिर हान्निइसकेका होलान् । हेर्नोस् त फोस्रो तनावले नछाडेको ?आफू उमेर पाक्दै, जसोतसो पदोन्नति हुँदै आधा उमेर पुग्दा निवृत्तिभरण पाएर वा उपदानमा लुब्रेकान लाएर अवकाश पाउने ।
सप्ठ्यारो हुँदा
अब त् तपाईँहरूको त्यस्ता तनाव हुने उमेर रहेन । जोडा पनि वर्गस्रोत अनुसार मिलेर उस्तै संस्कार अनुसार भएको थियो । पाको उमेरमा झन् बढि माया र आफ्नोपन हुने । स्वभाव र बोलीचालीले त दाजुबहिनी जस्तो, झण्डै परेवा र ढुकुरको जोडीजस्तो, बचेराहरूले छोडे पनि जोईपोइ पिरती । एकअर्कामा कस्तो एकज्यानको प्रेम उम्लिने, देख्नेले पनि ईर्श्या गर्ने । त्यतिन्जेल कि केटाकेटी कोही उन्नति गर्न भनि परदेश वा कोही घरबाटै केहि गर्दै होलान् । घरी ‘तेल भिसामा विदेश’को रमइलो नभए यतै हल्लेर खानबस्न पाएकै छौँ । जे छ, जति गरियो, त्यसैमा आनन्द, परेको गर्ने भरपर्दा छँदैछन् । पाका मानिसलाई केहि पर्दो रहेनछ थप गर्न । बाहिर निस्कन मनलागे बिस्तारो यताउति हेर्दै हिँँड्यो, पहिला अरुलाई अभिवादन गर्दा थाक्ने हात अब फर्काउँदाको हैरान् । अब त तपाईँको उमेर र शारीरिक मापनबाट अरुको भाष्यमा गजब परिवर्तन आइसकेको पाउनुहुन्छ, ‘दाइ कतासम्म ? खुट्टा तन्काउनु पनि पर्छ, राम्रै हो’ अथवा ‘बा टाढै लाग्नुभयो, कहाँसम्म ? अचेल हजुरलाई नदेख्या धेरै भयो, आरामै हुनुहुन्छ ?’ अहा ! कति आदरकासाथ खोजिनीति । पसलतिर गए पनि अभिवादनसहित ‘के टक्र्याउँ बा ? धेरै पो भयो त आउनै छाड्नुभयो, सन्चोसुबिस्तै हुनुहुन्छ नि ।’ किनमेल गर्दा पनि केहि रकम पुगेन भने पनि, ‘सामान लगिराख्नोस् अर्कोचोटी आउँदा दिनुहोला बा’ भन्छन्, कत्रो बिश्वास् ? उस्तै उमेरसमुह भेट हुँदा कुशलक्षेम, सुबिस्ता बाहेक कमाईधमाई, दौडधुपको कुरै नहुने । कतै बाटोतिर पर्खनु परे वा टहल्दा नचिने पनि गफ हुने । शारीरिक अवस्था अनुरुप कतिको भइयो भनि सोध्न र भन्न अप्ठ्यारो नलाग्ने । नचिने पनि एकछिन सँगै परियो भने त सबै परिचय मज्जाले खुल्ने । कस्तो प्रेमपूर्ण मानवीय समय रहेछ पाको उमेर, गर्नेले ईर्ष्या नै गर्छन् होला !
पहिला बाआमा वा सासूससुराले धानेको निम्तानाम्ती मान्न जाने काम अब अली बढि पर्नसक्छ । अन्तिम छिनोफानो र घर प्रतिनिधित्व आफ्नै जिम्मा, टोल छिमेकमा वरिष्ठहरूको जमघटमा भ्याईनभ्याई । घरमा होस् कि समाजको सामुहिक निर्णयमा उपस्थित हुनैपर्ने । कसैको पिरपिराउ, अप्ठ्यारोमा अर्तिउपदेश र ढाडस् दिन छुट्न नहुने । कस्तो जिम्बेवारीपूर्ण आदर सबैतिर ! जिम्बेवारी पनि थपियो, अब सम्झेकाे ठाउँमा नगए चर्चा हुन्छ र अर्को पटक भेट्दा प्रष्टिकरण नभई को मान्छ र ? हरेक मालसामानको ठिक मूल्य निर्धारण गर्न र किन्न पाको उमेर नै चाहिने । मज्जाले मोलमोलाई गर्न न अप्ठ्यारो न किशोर बेला जस्तो फाेस्रो लाज, उल्टो आदरपूर्वक ईतिबृत्ति थाहा पाइने । अचेल महँगा सामान किन्न घरकाले त ‘आफ्नो मिल्ने समय सोधेको वा सँगै दुख गरिदिनोस् न’ भनेको, क्या आनन्द लाग्छ । सानातिना त सल्लाहले चल्छ, ठूलो काम आँटे त ‘तपाई नगई कसरी आँटनु’ भन्छन् आफू नगई हुन्न, उनीहरू साह्रै भर गर्छन् । आफ्नो पाकोपनको कदर भएकोमा ‘आफू अझै महत्व राख्छु’ भनि मख्ख परिएन त !
बाटोघाटो हिँड्दा महिला वा पुरुष जोसँग पनि निर्धक्क कुरा गर्न कुनै बारबन्देज छैन्, पहिला त बिपरित लिङ्गीसँग नजिक पर्न पनि शरम लाग्थ्यो । झट्ट नजिक परे अनुहारनै रातो हुन्थ्यो, अहिले त बसमा सँगै कोचिँदा पनि केहि हुन्न । शरीरले पनि कति अनुकुलन गरेको ? आफूलाई केही फरक लाग्दैन । एकछिनमा नै गफिन सुरु गर्दा त्यस दृश्यमा कम उमेरका छक्क परेर करेपेर हेर्छन्, आफूलाई अचेल त उदेकलाग्छ ती केटाकेटीका चाला देखेर । फर्केर आयो घरमा मान्नुपर्ने कोही छैन, उल्टो ‘ओहो ! धेरैबेर भयो त, केही खाजापानी चाहिन्छ कि, के बनाउँ ?’ भनेर अनुरोध पो गर्छन् । केहि खाएको भए ‘भैगो, केही लिएँ साथीले भनेर‘ भन्यो, नत्र ‘यसो छिटोछरितो बनाउ न त‘ भन्दा उनीहरू ठूलै अवसर पाएझैँ’ कार्यान्वयनमा जुट्ने । यो भन्दा आनन्द के होला ? हो, शारीरिक अवस्था र रोगका कारण माया गरेर सुविधायुक्त् ज्येष्ठनागरिक केन्द्र पुर्याउन सक्छन् । यसमा चित्त कम दुखाए हुन्छ, सुविधै हुन्छ ।
बिब्ल्याँटो हुँदा
बिब्ल्याँटो सामाजिक र पारिवारिक अवस्थामा तपाईँ निश्चितरुपले तेतव्य (तेस्रो तहको व्यक्तित्व) नै हो । विभिन्न कामको शिलसिलामा एउटा हुरीमा आएर जोडा बाँधिन्छ, उमेर छउन्जेल आआफ्नो कामको चटारोले दोहोरो कुरा र वादविवाद नै हुन पाएको हुन्न । अब घरमा नै डल्लिने समय क्रममा आफ्ना मौलिक वर्गचरित्र, हुकाई र सिकाई सबै उदाङ्गिन्छन् । अनि बातैपिच्छे क्वारक्वारको दन्तबजान ! एउटाको कुरो अर्कोले सुन्नै मन नलाग्ने । तपाईँको सकारात्मक र मौन उपस्थिति ग्राह्य भए पनि प्रश्नबाचक वा नकारात्मक हस्तक्षेप बोझ मानिन्छ । तपाईँ आफ्नो हुर्मत भएको महशुस गरी निराशा वा ग्लानी अनुभव गर्न सक्नुहुन्छ । तपाईँको बाँकि जीवनको लागि यो शुभ होइन । बरु त्यसमा अभ्यस्त हुनुपर्छ र ‘अति भएको’ लाग्छ भने त्यस्तो परिस्थिति हुने ठाउँमा अनुपस्थित हुनु आफैँलाई फाइदा पुर्याउनु हो । बरु एक्लै आफ्नो लम्पसार कक्षमा रहनु राम्रो, सके शिप अनुसार केही गर्दैबस्ने वा विगतका सुखमय र उत्पादनशील काम सम्झँदै ओच्छ्यानसाथीको प्यारो हुने । यस्तोमा बाहिर निस्कन मिले आफ्नो कुरा मिल्ने दौँतरी वा चिनजानका मानिसहरू साथी बनाई समय काट्नु उत्साहजनक हुन्छ । ‘भेडा भेडासँग, बाख्रा बाख्रासँग’ भन्ने उखान नबिर्सनु राम्रो हुन्छ है र कार्यान्वयन गर्न पछि नपर्नोस् ।
बलियाबाङ्गा विभिन्न बहानामा परदेश लागिहाले कहिले पिण्ड छुटाउँ बुढाबुढीको भनेर, बचेका कोही भए होस् गर्नोस् । आफूले धेरै मिहेनत गरेको र अहिलेको पारिवारिक सामाजिक स्थिति बनेको कुरा मनमा राख्नु बेश होला । बजारको हावाले परिवारका अरु सदस्यहरू र नातागोतालाई नराम्ररी गाँजेको हुनसक्छ ! तपाईँले धेरै समय लगाएर दुखजिलो गरी ईँट काठ सिमेण्टले बनाएको सुन्दर गृहधाम अहिले त्यस्तो प्रभाव भएकाहरूलाई खण्डहर हुनसक्छ ! तपाईँले ‘आफ्ना साना दुखले अघि बढेको होइन त्’ भनि कुरा गरिरहनु भयो भने ‘हाम्रा करले बनाएको होइन त, यस्तो छन्द न बन्दको घर, फलानाको कस्तो राम्रो’भनि बाँणहनाई किन खानुहुन्छ ?ऋण गरेरै भए पनि किनेको सवारीसाधन वा परिवारलाई सुख दिन जोडेका बस्तुभाउ अब थोत्रा र काम न काजका हुनसक्छन् । निर्दयतापूर्वक रद्दीको भाउमा फौबञ्जारलाई हुत्याउँदा पनि सहनुबाहेक केही नभन्नु राम्रो, नत्र ‘सँगै लैजाने मन छ र !’ भनि छेडहान्दा कस्तो होला ? हृदय कलुषित नै भएका परे त् बृध्दाश्रम र सदाबर्ते मन्दिरमा पुग्न के बेर ?
के गर्ने ?
अनुकुल परिस्थिति छ भने कायम गर्न आफ्नो तर्फबाट सहयोग तथा सकारात्मक कोशिस निरन्तर गरिरहनु होस् । हिजो आफ्नै ईच्छा आवश्यक्ता र अभिभावकप्रतिको कर्तव्यस्वरुप विभिन्न प्रकारले मिहनत गर्दै निर्माण गरेको घरगृहस्थी अझै सुखमय बनाउन आफ्नोतर्फबाट सकेको योगदान थप्नुहोस् । जिम्वेवारी क्रमैसँग हस्तान्तरण न्यायसङ्गत र पक्षपातरहित गरि हलुका हुँदै जानुहोस् । परिवारका सदस्यहरू बिच तथा मिल्ने साथीहरू बिच असमान र चित्त दुख्ने व्यवहार वा आशय कहिल्यै प्रकट नगर्नुहोस् । सकेको सहयोग नै गर्नुहोस्, सकिन्छ भने ‘आँखामा हाले पनि नबिझाउने’ वा ‘नौनी भन्दा नरम’ व्यवहार कायम राख्नुहोस् । पहिलेजस्तै वा त्यसभन्दा बढि तपाईँको भद्रता र अनुभवसिध्द ज्ञानको प्रशंसा बढदै जावस् । कम्तिमा हरेक समस्यामा गाँठो फुकाउन तपाईँका सल्लाह रामबाँण बनुन् र अन्तिम अवस्थासम्म हाईहाई भइरहोस् ।
प्रतिकुल र बिव्ल्याँटो अवस्था आइसक्यो भने तपाईँका सरसल्लाह अथवा निर्णय बिस्तारै बेवास्ता भएको पाउनु हुन्छ । उस्तैपर्दा प्रतिकार हुने स्थिति छ भने अब तपाईँको हैसियत पहिलेजस्तो छैन र सत्ता पल्टिसक्यो भनि बुझ्नुहोस् । अझै ती आफन्त वा साथीभाइले उस्तै गर्लान् भनि आश कम गर्नु राम्रो हुन्छ । हिजो तिनैका लागि मरिमेटेर गर्नुभयो, नितान्त आफ्ना ईच्छाहरू र आवस्यक्ता बलिदान गरेर उनीहरूलाई खुसी पार्नु भयोहोला । त्यस्ता कुरा गम्ने हो भन्ने वा घुर्किलगाउने होइन्, बुझ्नोस् तपाईँको परिस्थितिले थप बलिदान मागिरहेछ । अब गरिने बलिदान हुन; अहम, आदेश, स्वअधिकार, मान पाउने आशा र म पनि केही हुँ भन्ने बुझाई । निराशा र चित्त दुखाईको जड नै अरुको आश गर्नु र बढि भरपर्नु हो । अहिलेका खानपान, लवाईखवाई, हिँडाईबोलाई, कामधाम आदिबारे सुन्न ईच्छा गरेमात्र आफूलाई लागेको भन्नुहोस् नत्र चुपलाग्नु राम्रो हुन्छ । घरभित्र पनि खानपानमा तपाँईँको अनुकुल नभए कम लिनुहोस्, यदि विकल्प बन्दैन भने, स्वईच्छा मनमै राख्नुहोस् । बरु सके मनपर्ने हलुका खानेकुराको जोहो औषधिजस्तै आफैँ गरिरहनु होस्, भोकै सुत्न र औषध अभावले गाह्राे होला । यो उमेरमा निन्द्रा नपर्नु र रोगको औषध नपाउनु चाँडै काल निम्त्याउनु हुन्छ ।
नियमित प्रयोग गर्ने लुगाफाटा र लवाईमा आफ्नो अनुकुलका सफा पारेर जोगाएर उपयोग गर्नुहोस् । होला, तपाईँको सक्रिय जीवन हुँदा अझ् विशेषगरी आयआर्जन गरिरहँदा तिनै मानिसहरू तपाईँको ईच्छा अनुसार नगरे पनि सुनिदिन्थे होलान् । कम्तीमा आफ्नै स्वार्थका लागि पनि उनीहरू प्रतिकारमा उत्रने थिएनन् । अब, तपाईँको अप्ठ्यारो अवस्थामा उनीहरूबाट मुखछाड्ने वा भौतिक अपमानमा उत्रने घटना नआवोस् भनि हेक्का गर्नुहोस्, अवस्था दोहोरो भिड्न्त हुनसक्ने दुर्घटनालाई ननिम्त्याउनु होस् वा न्युन गर्न कोशिस गर्नुहोस् ।
बिसाउनीमा
अनुकुल हुँदा त्यस्तो सम्बन्ध कायम राख्न आफू पनि अरुलाई बाधा नपुर्याई लागिपर्नुहोस् । शारीरिक क्षमताले भ्याएसम्म बाहिरफेर घरायसी श्रम गर्न उत्सुक हुनुहोस् । प्रतिकुल हुँदा र कमजोर अवस्थामा पहिला तपाईँको ज्ञान, अनुभव र शिप जे थियो त्यसलाई ब्युँताउनु होस् । आफनो समय पलपल त्यस्को उपयोग गर्न, प्रयोग गर्न, उपयुक्त ठाउँमा प्रचार गर्न र मिल्नेहरूका बिच भलाकुसारी गर्नतिर लगाउनु होस् । आफ्ना अनुभवका आधारमा यसो भएन उसो भएन भनि पहिलेका कुरासँग दाँजेर कसैको हुर्मत हुने र तपाईँका म्याद गुज्रिएको ठानिने बिचार बदल्नु राम्रो हुन्छ । सकेसम्म उल्टो परिस्थितिमा बचनका बाण थेग्न गाह्रो हुने गरेर आफू प्रस्तुत नहुँदा शान्ति होला । अरुले निहुँ खोज्ने हिसाबले कुनै बोलीबचन र व्यवहार नगर्नोस्, सहनु पर्छ, अब सबथोक ! किन कि अब तपाईँ कमभन्दा कम दुख पाएर बाँचुञ्जेल स्वआनन्दमा बाँच्नैपर्छ । मर्नुभन्दा अघि पलपल मर्ने र मरेपछि के होला भन्ने चिन्ता नलिनु राम्रो, तपाईंले त्यसो गरेमा आफैँलाई पीडामात्र थपिने हो। अब, यस्तैमा रमाउँ है !
०००
ल.पु. चालिसेडाँडा
पाका मानिसका कुरा (२०७९)




































रमाइलो लाग्यो लेख । यथार्थपरक पनि छ । मननीय छ ।