डा. मुकेशकुमार चालिसेहामीलाई बेवास्ता गरे विकास हुन्छ र ?
वर्तमान आधुनिकतारुपी षडयन्त्र– खुलाबजार अवधारणाको नाममा सर्वसाधारण मात्र होइन पाका मानिससमेत बजारीकरणको मारमा परेका छन् । यस्ता कुव्यवस्था सल्ट्याउने मानिस र समुह एक दिन कसो नआउलान् ?
डा. मुकेशकुमार चालिसे :
पाका मानिसहरू बिना सँसारको कल्पना गर्न सकिन्न, आजका बालबालिका भोलि किशोर किशोरी र वयस्क अनि पर्सि ज्येष्ठ नागरिक अर्थात समाजका पाका मानिस । अहिले नै पनि ज्येष्ठनागरिक समुहमा नेपालको सन २०१९को जनसङ्ख्या आँकडा हेर्दा २५ लाख २१ हजार मानिस ६० वर्ष माथिका महिलापुरुष थिए । त्यो कुल जनसङ्ख्याको ८.७ प्रतिशत रहेको थियो । यसमा एकल ज्येष्ठनागरिक करिब ४ प्रतिशत देखिन्छन् ।
नेपालमा कुल वयस्कको सङ्ख्या १,७७,३३,७२३ भएको आँकडा छ । आफ्नो जीविकोपार्जन र परिवारको भरण–पोषणका लागि ६० लाखभन्दा बढी अरु बाहिरी देशमा श्रम बेच्न गएका छन् । यसरी वयस्क नेपालमा बाँकीरहेका १,१७,३३,७२७ मध्ये ६० वर्ष माथिका करिब २५ लाख २१ हजार रहेको तथ्याङ्क मान्दा २१.४९ प्रतिशत पाका मानिस रहेको प्रमाणित हुन्छ । २०१९ मा नै गरिएको प्रक्षेपणमा सन २०५० सम्म त्यो उमेरसमुहका ६५ लाख ६८ हजार पुग्नेछन् भने कुल जनसङ्ख्याकै १८.६ प्रतिशत हुनेछ । देशको राजनीतिक तथा सामाजिक स्थिति बिग्रहपूर्ण साथै अस्थिर रहिरहँदा विदेशीने वयस्कहरू झन बढने छन् भने पाका मानिसको प्रतिशत बढ्नु स्वभाविक हुनेछ । भविष्यको लागि तयारी स्वरुप अहिले नै कूल जनसङ्ख्याको ५ भागको एक भाग भन्दा बढी सङ्ख्यामा रहेका सिप, ज्ञान, अनुभवयुक्त, आदरणीय पाका मानिसहरूबारे व्यवहारीक जिम्बेवारी बहनगर्न सुरु गरिहाल्नु परेन भन्या ?
बिचार गरौँ, नेपालमा बालबालिकाको प्रतिशत २८.८१ छ र करिब ४० वर्षसम्मलाई युवा भनिन्छ जुन ४०.३ प्रतिशत छ । २५ वर्ष नपुगी उत्पादनमा नलाग्ने विदितै छ भने त्यस आँकडाबाट आधाभन्दा बढि नकमाउने वर्गमा नै पर्छन् । अर्कोतिर रोगव्याध नियमनमा लागि औषधिको विकास भएको छ भने सचेतनताको कारणले पनि अहिले नेपालमा ज्येष्ठनागरिक बहुसङ्ख्यक हुने दिशातिर अघि बढ्दैछन् । नेपालमा यस्तै कारणले बालबालिकाको मृत्युदरमा निकै कमि आएको छ । यसैको प्रतिफल हाम्रो नेपाली समाजको करिब आधा सङ्ख्या मात्र बढी क्रियाशील भएको देखिन्छ र परिवारको आधा सङ्ख्या निर्भरतामा नै छन् । तर हेक्का के रहोस् भने, शारीरिक अक्षम बाहेक पाका मानिसको बहुसङ्ख्या केही नकेही उत्पादनमूखी काम गरेर परिवारलाई सघाइरहेका छन् भने बालबालिका र किशोर–किशोरीहरू पुरा परिवारमुखी छन् ।
पाका मानिसहरू घरबाहिर काममा नगए पनि घरभित्रको काम सबैजसो गर्छन् । घरायसी बढार–कुढार, राखन–धरन र चाँजो –पाँजोमा मनग्य समय दिन्छन् । बाहिरियासँगको सम्पर्क र व्यवहारमा अनुभवजन्य दूरगामी निर्णय गरी सहयोग गर्छन् । ठूलै कारोबार वा लेनदेनमा मानिसहरूका स्वभावको परिक्षणजन्य अन्तिम कुशल निर्णय दिन सक्छन् । घरमा नयाँ बालबच्चा हुँदा हुर्काउने अनुभवसिध्द व्यवहार गर्छन् र आवस्यक्ता अनुसार रेखदेख तथा खेलाउने कामगरी उमेरदारलाई अरु काम गर्न सघाउन सक्छन् । नातागोता र इष्टमित्र आउँदा परिवारलाई यथोचित व्यवहारगर्न सिकाई सम्बन्ध सुमधुर बनाईराख्न मद्दत गर्छन् । हाम्रो समाजमा कैयौँ वयस्कहरू केटा–केटीमा हजुरबा–हजुरआमासँग हुर्केका अझै पनि प्रसस्त पाइन्छन् । कतिपय बेला वयस्कले तिनै पाका मानिसको सन्दर्भ र नाता जोरेर बाहिरी काम फत्ते गर्न सक्छन् । हो, यसैलाई ‘बाबुआमाको ईज्जतले काम गरेको’ भन्छन् ।
नेपालमा पछिल्लो खेप विकासको नाममा नैतिक, सामाजिक र साँस्कृतिक विकासको सट्टा भौतिक विकास– बाटोघाटो, सडक र ठूला सँरचना निर्माणको लहरनै चल्यो । निजी सम्पति हडपेर भए पनि र सम्भावित बाढी–पहिरो र मौसम परिवर्तनको समेत अध्ययन नगरी बिना मुवाब्जा उठिबास लगाएर बाटो चौडा बने र जता पनि चौतर्फी बने, जँगल फँडानी भए । नेपाल पहाडै–पहाड भएर करिब १७ प्रतिशत समतल भू–भाग भएको देश भनेर घोके पनि डाँडा–डाँडामा दृश्यावलोकन केन्द्र बनाई विकासको ‘मूर्ख नमुना’ पेश गरेकै छन् । तराई भू–भागमा केही काम लागे पनि डाँडामा के काम होला अग्ला सँरचनाको ? केबल सञ्चित राजश्व सिध्याउने र विकासको कुरुप व्याख्या जनतामा हुँडल्ने बाहेक । विजुलीको सुचारुपन नभएको देशमा वयस्कबाहेक कस्ले उक्लन सक्ला त्यस्ता सँरचनाको भर्याङ ? त्यस्तोमा खर्च गरिने राजश्वको सट्टा सर्वधारणलाई अधारभूत आवस्यक्ता– शिक्षा, स्वास्थ्य र दैनिक आपूर्तितर्फ मद्दत पुग्ने सँस्थान, उद्योग र कलकारखाना स्थापनामा ध्यान दिएको त देखिएन । त्यसो भएपो सर्वसाधारणले काम पाएर जीविकोपार्जनमा सहजता आउँथ्यो । एकातिर साँस्कृतिक बिचलन र अर्कोतर्फ पाका मानिस अमैत्री निर्माणले उमेर धेरैभएका मानिसले पाउनु सास्ती पाउन थालिसके ।
बाटो वा मार्गः
बाटो चौडा बनाउने र धेरैतिर बनाउने त ठूलो विकास भइहाल्यो अहिलेका मानिसलाई । यसै निहुँमा धनीका मोटर दौडाउन कतिका घर–जग्गा नोक्सान भए र कति घरबारबिहिन भए । खास समयमा ठिक–ठिकै उपयोग भए पनि बढेका बाटो त अरुबेला ठेकेदारका ट्रक, बस र मोटर थन्क्याउन पो प्रयोग भइरहेका छन् । ति बाटो बनाउँदा सर्वसाधारण पाका मानिसलाई सुरक्षित भएर हिँड्न दुबैतिर सजिला पदमार्ग र ठाउँ–ठाउँ विश्राम गर्ने छानासहितको बस्ने फलैँचा बनाइए त ? सार्वजनिक यातायात कुर्ने ठाउँमा एकछिन पर्खिउन्जेल थकाई मार्ने, पानी पिउने र दिसाशौच गर्ने कुनै सँरचना भए त ? भएका साना पदमार्गमा पनि बार–बन्देज नभएर उन्मत्त सवारीचालकले उछिट्टिएर आई दुर्घटना र ज्यानजोखिम पारेका धेरै घटना अचेल सुनिन्छन् । बाटो ठूलो बनाउने हो भने, त्यस्तोबाटो काट्न पाका मानिसलाई गाह्रो र धेरैसमय लाग्ने भएर चौबाटोमा के व्यवस्था गरियो त ?
के विकास देखाउन उक्लनै नसक्ने पुल निर्माण गर्नु बुध्दिमानी कि त्यस्ता चौबाटोमा सवारी साधनलाई पूलबाट वा सुरुङबाट पठाउनेगरी बनाउनु बुध्दिमानी ? त्यस्तो आकासे पुलमा हिँडन गाहारो हुने पाका मानिसमात्र होईन केटाकेटी पनि उक्लन गाहारो पर्ने पुल निर्माणले सरोकारवालाको अल्पबुध्दि र हेपाहा प्रवित्ती नै झल्काउँछ । त्यसबाहेक, असुरक्षित पुलबाट खसेर हुने दुर्घटनाले थप चिन्ता बढाएको छ । बाटोघाटोको दुबैतिर हावाहुरीले सजिलै नभाँच्ने रुख र खाली ठाउँमा आकर्षक रैथाने फुलबिरुवा लाउनु पर्नेमा विदेशीको त आचीनै प्यारो भएझै्ँ आयातित विरुवा किन लगाउने होला ? त्यहीपनि कमजोर काण्ड हुने जातका नेपाली हुरी–बतास थाम्नै नसक्ने सट्टा नेपाली रैथाने बोटबिरुवा लगाए हुँदैन भन्या ? किन विदेशी विरुवा चाहिने सडक छेउको बृक्षरोपणमा ? कि विदेशी प्रभूको दानको प्रचार गरेको हो, प्यादाहरूले ?
उद्यान वा पार्क :
सहरी विकासको नाममा धेरै मानिस खाली जमिन देख्यो कि हडप्नेतिर उन्मुख छन् । पहुँचवालको अभावमा हडप्न नसके धनीका यातायात राख्ने ठाउँ बनाउँछन्, नभए सार्वजनिक भवन भनेर सिमित व्यक्तिको स्वार्थमा प्रयोग गर्छन् । कसैलाई चाहिने नभए सशुल्क उद्यान बनाएर राजश्व सक्छन् । उद्यान बनाउँदा पाका मानिस बस्न, थकाइमार्न र व्यायाम गर्न कुनै व्यवस्था हुन्नन् । त्यही उद्यानलाई आयआर्जन गर्ने उत्पादन–उन्मूख रैथाने फलफुल उत्पादन थलो बनाउनु साटो बिदेशी फुलविरुवा देखाउने ठाउँ पो बनाउँछन्, कस्ता विदेशभक्त भन्या सरोकारवाला ? नेपाली हवापानीमा टिकाउ फुल, जडिबुटी र औषधिजन्य विरुवा लगाए हुन्न भन्या ?
बरु चराचरुङ्गी र साना स्तनधारीलाई मनपर्ने कालीकाठ, क्यामुना, रुद्राक्ष, बर्रो, बयर, अमला, तेजपात, दालचिनी, काफल, बकैनो, रातपाते, फलामे, पलाँस, बैँस, धुपी, गुराँस, श्रीखण्ड, रुद्राक्ष, जाई, जुही, सजिवन, सयपत्री, मखमली, लालुपाते, आदि जस्ता बहुउपयोगी नेपाली बिरुवा लगाए हुने नि । स्थानिय मालीलाई त रैथाने ज्ञान नै बढि होला ? कि बगैँचे पनि विदेशी भर्ना गर्ने ? अझ यस्तोमा पाका मानिस नेपालमा कामगर्न इच्छुक कति पाई हालिन्छ, काममा लगाउन के नियतले छेक्छ ? परम्परागत माली व्यवसाय गर्ने मात्र होइन, बहुसङ्ख्यक नेपाली कृषिसँग परिचित भएकाले बगैँचा निर्माण गर्न श्रमशक्तिको यहाँ खाँचो हुँदैन । भएका र निर्माण हुने बगैँचा वा उद्यान वा पार्क कम्तीमा पाका मानिस र केटाकेटी मैत्री बनाउने मगज सरोकारवालाको कहिले बन्ला खै ?
विद्यालय वा तालिम केन्द्रः
नेपालमा सबै शिक्षाका कुराहरू केटाकेटी र वयस्क केन्द्रीत छन् । बरु थोरबहुत महिला वा कन्या विद्यालय बनेका छन् । धेरै होइन अलिकति पढे–लेखेका किशोर–किशोरी र वयस्कहरू समेत विभिन्न बहानामा पलायन हुने तिब्रता छ नेपालमा । जनसङ्ख्याको बृहत मात्रा पाका मानिसको रहने स्थिति र अधिकांश निरक्षरी पाका नेपालीलाई साक्षर नै नबनाएर समाज कसरी अगाडी बढ्छ ? घरव्यवहारमा बढी संलग्न पाका महिला त बढी निरक्षरी भेटिन्छन्, एकल महिलाको साक्षर अवस्था त अझ एकदम न्यून छ । विभिन्न जातिलाई आरक्षण दिएर अवसर दिए देश विकास हुन्छ भन्न र गर्न जान्ने अहिलेका नेपालीले पाका मानिसको बहुसङ्ख्या निरक्षरी भएको चाहिँ प्राथमिकताकासाथ शैक्षिक कार्यक्रम चलाउन किन भन्न नचाहेका होलान् ? श्रम बजारको आधाभन्दा बढी सङ्ख्या ओगटेका पाका मानिस साक्षर भए घरबाहिर मात्र होइन घरभित्र पनि कति थप काम हुन्छ ?
संलग्न व्यवसाय र कारोबारमात्र होइन, साक्षर पाका मानिसबाट घरायसी लेख–पढको काम र बालबालिकाको पठनपाठनमा निकै मद्दत पुग्दछ । पाका मानिसहरूलाई पढ्न–लेख्न सिक्ने आधारभूत विद्यालय स्थापना तिर ध्यान किन नगएको होला ? उनीहरू साक्षर भए पारिवारिक काममा कार्यालयहरूमा जान, किनमेलको हिसाब गर्न सघाउनेमात्र होइन, उनिहरू आफैँ बैँक कारोबार गर्न, जँचाउन अस्पताल जान र देशविदेश भ्रमणमा जान साथी चाहिँदैन थियो । टाठाबाठाको कमाउने भाँडो चुनाव जस्तो प्रक्रियामा त्यसो भए मत बदर कम हुन्थ्यो होला ? आफूलाई फाइदा हुने काम गर्न नि नजान्ने, कस्ता नाइकेहरू भएको समाज भयो नेपालमा ?
बजारमा नयाँनयाँ प्रविधिबाट विकसीत भएका घरायसी प्रयोजनका सामान, रेडियो, टिभी, मोबाइल, कुकर, माइक्रोओभन आदि उपकरण आएका छन् । सक्नेले घरमा भित्र्याउन र आफुसँग पनि छ भनि देखाउन होड्बाजी नै छ । पाका मानिसलाई त्यस्ता सामग्री र उपकरणको सामान्य ज्ञान दिने अल्पकालिन कक्षा खोई ? ‘बुढाखाडालाई के थाह ? जान्दैनन्’ भनेर बस्दा घाटा त परिवार र समाजलाई नै पर्छ नि । काम नहुँदा पाका मानिसहरूले सञ्चारका साधनलाई प्रयोगगरेर समय बिताउन सक्छन्, उस्तै–उस्तैका बिच सम्बन्ध राख्न सक्छन र आफूलाई परेको सुखदुख साटफेर गरेर मन बुझाउन पाउँछन् । यसबाट उनीहरूमा नैराश्यता र गनगन पनि कम हुनथाल्छ, किन कि व्यस्त रहने उपाय भेटिन्छ । साधन भएमा उनिहरूले घरका मानिस बाहिर हुँदा आवस्यक्ता अनुसार खबर गर्न, जानकारी दिन र उचित सहयोग गर्न सक्छन् । घरायसी आधुनिक सामान प्रयोगगर्न पाका मानिसहरूले जानेमा घरका अरुलाई भातभान्छामा समेत सहयोग नै पुग्छ नि । त्यस्तो प्रविधिबारे जानकारी कक्षा चलाउने सरोकारवालाको चित्त कहिले फुर्ला हँ ?
अस्पताल वा स्वास्थ्यकर्मीः
कम्पनीकोे ऐजेण्टजस्तो औषधि बिकाउन व्यवहार गर्ने होस् वा साँच्चै रोगव्याधको निदानगर्न जान्ने चिकित्सक वा स्वास्थ्यकर्मी अचेल धेरै विषयका धेरै पाइन्छन् । महिला, सुत्केरी, बाल–बालिकाहरूका विज्ञ चिकित्सक पनि भए । अझ सरिरका अङ्ग–अङ्गका विज्ञ भन्ने पनि भेटिन्छन् । ठाउँ–ठाउँ सरकारी नाम टाँसेका, टुङ्गो व्यवहार नभएका र पहिलेकाले सुरुगरेका अस्पताल बाँकी छन् । कैयौँ त्यहाँका प्राविधिक हाम्रै करको पैसामा विज्ञ कहलाइएका र अनुकुलमा नीजि पसल पनि खोलेका पाइन्छन् । जनताले तिरेको कर खर्च गर्ने तर सेवा–सुविधा नास्ती भएर दिनभरी कर्मचारीहरू खण्डहरजस्ता स्वास्थ्य कार्यालयमा उडन्ते गफ चुटेर बस्ने अवस्था छ । त्यसैले गर्दा नै पैसा खर्च गर्न मन लागे मोटरमा ओसार्नेदेखि हेलिकप्टरमा लैजानेसम्म पनि नेपालमा नीजि अस्पताल टोल–टोलमा भइसके ।
रोग पत्ता नलागेर वा औषधी नभएर हो, अचेल योग अभ्यास केन्द्र, ध्यान केन्द्र र फिजियोथेरापी केन्द्रहरू फालाफाल भेटिन्छन् । नेपालको संघियतामा घरको माथ्लो तलाबाट बेसोमती भएर खकार थुक्दा ‘कुनै नकुनै स्तरको नेतोलाई पर्छ’ भन्दै बेग्रील्ती नेता सङ्ख्यालाई इङ्गित गरेको व्यङ्ग्य जस्तै हेर्दैल्याउँदा पैसा कमाउन बनेका अस्पताल र उपचार केन्द्र पनि कति–कति ? चिया र मदिरा बिक्रिपसल अनगिन्ती भएजस्तै छ है, अस्पतालको सङ्ख्या र वितरण । पृथ्विभरी धेरै भएर पनि माटो खान मिल्दैन भनेझैँ धेरै अस्पताल र विज्ञ स्वास्थ्यकर्मी भए पनि खोई त पाका मानिसका विज्ञ र पाका मानिसका लागि अस्पताल ? सरकारी र निजि कतै व्यवस्था छ त ? भए पुग्ने छ त ?
बलिया–बाङ्गा, वयस्कजस्तो होइन, उमेरिएका पाका मानिसलाई अस्पतालमा सहयोग गर्ने स्वयंसेवक लगायतको खाँचो पर्छ । धेरै उमेर र कमजोर स्वास्थ्य अवस्था रहेकाले उनीहरूका लागि नाम लेखाउने, जचाउने, औषधि लिने र सहज घरपुग्न बाटो देखाउने सहयोगी हुनुपर्छ । सबै पाका मानिसहरूमा चिकित्सकले भनेको कुरा बुझ्ने क्षमता स्तर र धर्य नहुन सक्छ । औषधिको मात्रा, सेवन विधि, पथपरहेज, आराम, व्यायाम र त्यसपछि फेरि किन सम्पर्क गर्ने आदि कुरा बुझाउने र सम्झाउने पनि अस्पतालमा हुनुपर्यो । त्यस्तो अस्पताल भनेको भवन र तलव खाने कर्मचारी मात्र होइन पाका मानिसको मनोविज्ञान र तिनका बिगत गम्भीरतापूर्वक बुझ–बुझारथ गरेरमात्र औषधी लेखिदिने धर्यवान चिकित्सक पनि हो ।
विज्ञको नाममा मूल पण्डितले सूत्रमात्र भनेझैँ विरामीसँग भेटेजस्तो मात्र गर्ने चिकित्सक के काम पाका मानिसको उपचारका लागि ? उस्तै र एकै खालका रोगमा पनि उमेरजन्य र भोगेको परिस्थितिको कारणले औषधिको मात्रा र सम्मिश्रण फरक–फरक असर पर्नसक्छ । औषधि कहाँ बनेको हुन्छ ? नेपालको हावापानीमा मिल्छ, मिल्दैन ? कति मात्रा मिल्छ ? कुन मानव समुह वा समुदायलाई मिल्छ ? यस्ता विषयमा अनुसन्धान गर्न उत्सुक वा गरिरहेका चिकित्सक भए पो लेखिदिएको औषधि ठ्याक्क लाग्छ । कम्तीमा पाका मानिसहरूबारे अध्ययनगरेका केहि स्वास्थ्यकर्मी भए त अलि–अलि आश गर्नु हुन्थ्यो, छैनन् त्यसैले चमत्कारी चिकित्सकको खोजीमा छन् सर्वसाधारण । त्यसैको फल होला समान अध्ययन भएका चिकित्सक भए पनि सबैजना ‘त्यो नराम्रो यो राम्रो, फलानो त भगवान नै जस्तो, फलानो त बगडेजस्तो’ भन्ने स्थितिमा छौँ । त्यस्तो परिस्थिति अहिलेको परिवर्तनसँग सँगै समृद्ध र परिमार्जित हुनु अति जरुरी भइसक्यो ।
बजार उत्पादनः
आधुनिकता र छरितोपनाको भ्रममा हिजोआज सबैकुरा मसिना, साना र छोटकरी भन्ने हावा चलेको छ । के यस्ता कुरा सबै मानवीय मैत्री छन् त ? बालबालिका, दृष्टिशक्ति कमजोरी भएका र पाका मानिस मैत्री छन् त ? किन केटाकेटीका विद्यालयमा ठूला–ठूला अभ्यास चित्र र भित्तेपत्रिका हुन्छन् होला ? पाका मानिस टाढाको भन्दा नजिकको कुरा बढि देख्दैनन्, दूरदृष्टि कायम भए पनि शुक्ष्मदृष्टि नभएका नै पाइन्छन् । त्यसैले त उमेरमा सियो–धागो र पोते दियोको उज्यालोमा उन्ने महिला पाका भएपछि, ‘लौन, काँडा बिझेको छ देख्दिन, झिकिदेओ न । नङ बढेर ठोस्सिन लाग्यो काटीदेओ न, सियोमा धागो हालिदिए फाटेको सिएर लाउँथे, लौन’ भन्दै सहयोग लिन आउँछन् । कयौँ वर्ष पठन–पाठनमा लागेका गुरु नजिक नदेखेर लेखपढ कम गर्छन् । यस्ता समस्यामा बजारमा आएका विविध चस्माले भरथेग गरेको छ । तर घरायसी सामान र उपकरण झन ख्याउटे हुँदैगएका र विवरण मसिना भएकाले तिक्ष्ण दृष्टिभएका वयस्कले मात्र प्रयोग गर्नुपर्ने स्थिति बनेको छ ।
बालबालिकालाई शैक्षिक कामका लागि, पाका मानिसलाई सम्पर्क गर्न, समय बिताउन र आधुनिकतासँग जानकार हुन त्यस्ता सामग्री त ठूला आकार र अक्षर भएका हुनुपर्ने हो । रोगव्याधको महामारी पछि पठन–पाठनमा मोबाइल र काखेकम्प्युटर प्रयोग गर्ने पूँजिपति शैक्षिक संस्थाहरू र सरकारको उर्दी पनि सकेसम्म अनलाइन भन्ने नै चौतर्फी भयो । नियमित यस्ता कामले बालबालिकाको दृष्टिशक्ति मात्र होइन सधैं घोसेमुण्टो लाएर साधन हेर्न बस्नेभएर स्नायु प्रणाली र मनोबिज्ञानमा कति नकारात्मक असर गरेको छ भन्ने लेखाजोखा त कसैले राखेन होला ? केटाकेटी र पाका मानिसमात्र होइन वयस्कहरू नै एकै कोठामा बसे पनि कुरा नसुन्ने हुनुमा आधुनिक पूँजिवादको बजारले हालीमुहाली गरेको हेक्का राख्नु पर्ला है । त्यस्तै, पाका मानिसको दृष्टि क्षमता बिचारगरी मोबाइल र अन्य उपकरणमा लेखिएका अक्षर ठूला भए पो प्रयोगमा सहजता आउँथ्यो । हुँदा–हुँदा औषधि भएको सिसी वा कागजमा नाम ठूलो देखिए पनि बनेको मिति, म्याद गुज्रने मिति, मूल्य, बनेको कम्पनी र औषधिको मिसावट अवयव यति साना अक्षरमा हुन्छन कि वयस्कलाई पनि हम्मेहम्मे पर्छ ।
पाका मानिसलाई ती व्यापारी र पूँजिपतिले स्वतन्त्रतापूर्वक आत्मनिर्णय गर्न र औषधि छान्न पनि बेवास्तै गरेका छन् । अनि उनीहरू सधैं अरुकै भरपर्नु पर्ने, भरगर्दा र सहयोगको लागि भन्दा ‘कति सोधिरहेको एउटै कुरा ? कति गनगन गरेको ? भनेँ त एक चोटी । आफ्नो बिर्सने बानी, हाम्लाई गनगन’ जस्ता बाणबाट मर्माहत हुनुपर्ने । सामान विक्रि गर्न बनाउने हुन र ? व्यापार त कमाउनाको लागि नै गर्ने हुन् । ठाउँमा बसेका सरकारी सरोकारवालाले हाम्रो बजारमा यस्ता बान्कीको सामान बेच्न पाइन्छ भनि उर्दि जारी गरे व्यापारीले त्यही अनुसार गरिहाल्थ्यो । अनुमति दिने पनि त जनपक्षिय र मानिसका उमेरमैत्री हुनुपर्यो नि । उ र उस्को डफ्फाले व्यापारीबाट मनग्य भित्रीरकम पाएपछि त बजारबादी भएर व्यापारीकै साक्षि बसेर उल्टो सर्बसाधारणलाई पो उल्याउन बडप्पन ठान्छन् बा !
अन्त्यमा,
विकासको भद्दा मृगतृष्णा देखाएर भौतिक विकासको मिहिन नसामा बानी बसालेर समाजका छट्टुहरू आधारभूत आवस्यक्ता भित्र पर्ने मानसिक तथा शारीरिक विकासको अवधारणा कलुषित पार्दैछन् । सर्वसाधारणलाई बाँच्नका लागि उपभोगका सामग्री सहज आपूर्ति गर्नु भन्दा आफ्नो र आफ्ना प्यादाहरूको लागि पृथ्वीमा नै छाडेर जानुपर्ने वैभव बटुल्न व्यस्त छन् । केही लाभका ठाउँ ओगटेका र तिनका मतियार बाहेक उनीहरूबाट सबैजसो बालबालिका, वयस्क र पाका मानिसहरू आक्रान्त छन् । बालबालिकालाई सकेको हेरबिचार गरिने अवस्था र वयस्क कसैगरी आफ्नो काम फत्ते गर्छन् भन्ने मान्दा नेपालमा होचो–अर्घेलोमा परेका त कूल वयस्क सङ्ख्याको पाँच भागमा एकभाग रहेका पाका मानिसनै पर्दछन् । वर्तमान आधुनिकतारुपी षडयन्त्र– खुलाबजार अवधारणाको नाममा सर्वसाधारण मात्र होइन पाका मानिससमेत बजारीकरणको मारमा परेका छन् । यस्ता कुव्यवस्था सल्ट्याउने मानिस र समुह एक दिन कसो नआउलान् ? हामीलाई बेवास्ता गरेर न विकास हुन्छ न समाज उँभो लाग्छ, साँचो–ताल्चा कब्जामा लिनेले बेलैमा चेते हुन्छ ।
०००
ल.पु. चालिसेडाँडा
लेखकको पुस्तकः पाका मानिसका कुरा, २०७९ बाट
Subscribe
Login
0 Comments
Oldest



































