साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी हेपिने मान्छे हो र ?

कर्कलो खान कर्कलो नै रोप्नु पर्‍यो बाँको होइन । उमेर पुगेकाले सोच्नु पर्‍यो, पाका उमेर भएकाको उमेरजन्य हित गर्नुपर्‍यो, नगर्ने मूढबुध्दिमा दरिन खोजे कसकाे के लाग्छ र ?

Nepal Telecom ad

डा. मुकेशकुमार चालिसे :

पहिला–पहिला काल्पनिक, धार्मिक कथा, पुराण र सामाजिक मान्यता अनुसार अरुलाई दुःख दिए पाप लाग्छ भन्थे । यो जुनीको कामले चौरासी जुनीसम्म राम्रो नराम्रो फल भोग्न बाध्य होइन्छ भन्ने डरले सबै उमेरसमुहका मानिसबिच सदभाव कायम हुन्थ्यो । रुढिवादी ती कुरा भनी विश्वासमा कमी भए पनि एकथरी मानिसहरू सामाजिक समानता र शुध्द प्रजातान्त्रिक भातृत्वको दर्शनबाट प्रभावित भएर सबैलाई उत्तिकै मान–मर्यादा गर्दथे । पछिल्लो कालखण्डमा अन्यत्र के भयो त्यति चाल नपाए पनि नेपालमा चैँ गज्जबको भाँडभैलो तन्त्र भोग्न सबै खालका मानिस अभ्यस्त हुँदैछन् । यतिखेर बजारबाद बलियो भएर सतहमा देखापरेको छ र उपभोक्तावादी संस्कृति अजिङ्गरले मुख बाएझैँ गरिरहेछ । हरेक कुरामा पैसा खर्च हुने वा कमाइ हुने हिसाब–किताब खुब हुन्छ । पाको उमेरमा निवृत्तिभरण पाउनेको शारीरिक अवस्था ठिकै रहे थोरबहुत सुबिधा होला । कुनै आयआर्जन गर्न नसक्ने र शारीरिक रुपले कम सक्षम पाका मानिसको अवस्था त जीवनका उत्तरार्धमा भरपर्ने आफन्तकै तजविजमा चल्ने भयो । अब, भर गरिएका आफन्त वा नजिकका मानिस आफू अनुकुल गुणग्राही नभए पाका मानिसका अवस्था र मनोदशा कति भुटभुटिएला ?

पाका मानिसहरू हाम्रो समाजमा धेरै अघिदेखि आफ्‌नो परिवार र सन्तान–दरसन्तानसँगै  बस्थे । सकुञ्जेल काम सघाउँथे र अशक्त हुँदा परिवारका वयस्कले नै हेरबिचार गर्थे । सामाजिक परिवर्तनसँगै वयस्कहरूका मूल्य र मान्यतामा केही फरक देखिँदै आयो । अहिले त्यही ‘केही’का आचरण र सोचाई नै सर्वसाधारणका ‘मानक’ बन्ने होड सार्वजनिक हुनथाल्यो । यस परिस्थितिले पाका मानिसहरूलाई सबैभन्दा बढि मर्का परिरहेछ । आधुनिकताको नाममा एकलकाँटे प्रवृत्तिले परिवारमा ‘उमेरजन्य अनादर र सम्मानरहित’ सम्बन्ध विकसित भइरहेछ । त्यसैले ‘घर’ घरजस्ता रहेनन् र नाता फोस्रो आडम्बर र विभिन्न निहुँमा झगडाको मेसो भएका छन् । पाका मानिसहरू कमाउन्जेल र नकमाउने हुँदा ‘मुखमा छउञ्जेल र्‍याल र थुकेपछि थुक खकार’ जस्तो भएका छन् ।

यस्तो सामाजिक बेढङ्गको अवस्थालाई कसरी व्यवस्था भन्ने होला ? त्यस्तो व्यवस्था भएअनुसार तिनकै प्रतिनिधित्वको गर्ने सामाजिक र राजनीतिक दल कस्ता होलान् ? तिनका मान्यता जेजस्तो छ, तिनका बोली, व्यवहार र काम त्यस्तै हुन्छ । त्यसैअनुरुप पहुँचवाल हुन्छन् र नीतिनियम बन्छन् । त्यस परिस्थितिमा कसो गर्दा र भन्दा नितान्त आफूलाई फाइदा हुन्छ, ध्यान त त्यतै हुन्छ । सोचौँ त, अहिलेको सामाजिक प्रचलन र संस्कार कुन समुह, समुदाय र वर्गका पक्षमा छन् ? हाम्रो देशमा अगुवा भनिनेहरूकस्तो भविष्य बनाउन लागिपर्दै छन् ? निर्जीव त बिग्रँदै जान्छ, जीवित बस्तु त एक कालखण्डपछि मर्ने त निश्चित छ । मरिसकेपछि चलअचल कुनै सम्पति, नातागोता र साथिभाइ कोही सँगै हुन्नन् । अन्त्यमा एक्लै सिध्दिने हो, जीवित पृथ्वीबाट । यस वास्तविकता विपरित केको फुरफुर होला ‘मै हुँ’ भन्नेको ? कि अजम्बरी छु भन्ठान्छन् हाम्रो समाजमा समाजसेवा नभई नगद कमाउने पेशा– राजनीति गर्नेहरू ।

हाम्रो परिवेशः
नेपाली समाज आदिम युगबाट परिवर्तन हुँदै भुरेटाकुरे, जाहाँनियाँ र एकतन्त्रीय शासनबाट निर्दिष्ट भयो । पछिल्लो खेप बहुदल र संसदीय हुँदै फेरि गणतन्त्रतिर अघि बढेको छ । हरेक परिवर्तनसँगै नयाँ–नयाँ नारा चैँ आएका छन्, तर आधारभूत जनस्तरमा केके भिन्नता आयो त ? के भूइँमान्छे र सर्वसाधारणका जीवनमा सुखका दिन आए ? के ‘रैती’ बाट हामी ‘जनता’ मा रुपान्तरण भयौँ त ? पीडा र अपमानले आक्रान्त पाका मानिसहरूका दैनिकीमा भिन्नता भयो त ? पहिला बाहिर–बाहिर कराउने माझमा पुगेपछि भान्छा र धन्सार नै हातमा पारेपछि आफ्‌ना हितमा के मात्रै गरेनन् त ? सबैले देख्यौँ । के नारा उराल्नेका जति नै सुख–सुबिधा सर्वसाधारणले पाए त ? कि जसले उराल्यो र माझमा बसी डाडुपन्यौ हातपार्‍याे, उसले मात्र मोज गरेको छ ? त्यही संरचनाले नै समाजको वातावरण र स्वभाव निर्क्यौल गर्ने रहेछ । यस्तोमा आफ्‌ना पालामा सकेको गरिसकेका पाका मानिसहरूको हालत हुनसम्म बिग्रँदो अवस्थामा जाँदै छ । सप्रिने र आदरयुक्त समाज निर्माण त ‘आकासको फल’ होला जस्तो पो भयो ।

हिजोआज चुनाव हुने दिनसम्ममा देशनै आमुल परिवर्तन गरिदिने कोकोहोलोले कान नै पाक्छ । मतदानको दिन आफूलाई जिताउन डोकोमा बोकाएर लगेर पनि पाका मानिसहरूलाई भाेट हाल्न लगाउँछन् । बिचरा सोझा पाका मानिसहरू पनि लुरुक्क भई भनिएको भष्मासुरलाई जिताउन इमानसाथ सघाउँछन् । काला मनका उम्मेदवार मत हालेपछि त्यहीँबाट फर्कन पनि सघाउन्नन् । चुनाव जितेर नीतिनियम बनाउँने ठाउँमा पुग्दा भने पाका मानिसलाई जितुवाहरू बिर्सन्छन् । होइन, आफैँ पाको उमेर पुगिसकेका ती स्वाँठले अरु पाका मानिसलाई कसरी बिर्सेका होलान् ? हेर्नोस् त, धेरैजसो सांसद र मन्त्री हुने सबैजसो पाको उमेरकै छन्, प्रधान हुने त् झन ‘काशीबास हिँड्ने’ उमेरकै छन् । अझ चेत नआएको किन होला ? आफ्‌नो उमेरसमुहको हितमा काम गर्नु पर्दैन त ? मूलथलो र ढुकुटीको साँचो सधैं आफ्‌नै हातमा रहला त ? के बुध्दि होला तिनकाे ?

मान्छे फकाउन र बादलपारिको स्वर्ग देखाउने भ्रम छर्न भने कति सिपालु छन् । बालबालिका, युवा, प्रौढ भनेर उमेरलक्षित कार्यक्रम बनाउँछन् । कसैले आफ्‌ना बालबालिकाको अहितमा काम नगरे पनि यिनीहरू बालबालिकाको अधिकारका कुरा गर्छन् र आफ्‌नै अभिभावकसँग मज्जाले हुर्किएका बालबालिकाका लागि पोषण कार्यक्रम रे । विद्यालयको गृहकार्यबाट मुण्टो उठाउन नमिल्नेगरी जोत्तिने पाठ्यक्रम बनाउने उनीहरू अनि बालबालिकालाई उराल्न उनीहरू बालउद्यान बनाउन पछि पर्दैनन् । त्यतिमात्र कहाँ र, बाल पत्रिका, बाल अस्पताल, बाल विकास, युवा मन्त्रालय, महिला शिक्षा, विकास, महिला अधिकार, पशु विकास, पशु अस्पताल, पशु अधिकार आदि संसारभरी सुनेका कुरा गर्न भ्याउँछन ती पहुँचवाल । उमेरमा लाटो पनि घोर्ले हुन्छ भनिन्छ, उमेरदार मानिसले आफ्‌नो अनुकुल गर्न जान्दछन् । तर यी पहुँचवालहरू युवा प्रोत्साहन र स्वरोजगार कार्यक्रम चलाउन पछि पर्दैनन् । आफ्‌नो माउ सङ्गठनको भजन गाउन र जल–प्रसाद खान भनेर पनि युवा सङ्गठन बनाउँछन् । उनीहरू आफ्‌नो स्वार्थमा बल पुर्‍याउन, विभिन्न जातजाति र समुहका हित गर्ने भनि चिन्हाउन पछि पर्दैनन् । तर पाका मानिसका अधिकार, अस्पताल, पाकोमैत्री उद्यान, किनमेल पसल, सहज चिजविजको उपलव्धता र तिनको सरल संयोजन गर्न वास्ता गर्दैनन् । खोई, अझै त यस्ता कुरा आएजस्तो लाग्दैन त यिनीहरूका बकम्फुसे गफ र दलबिचका दन्तबजानमा ?

भोग्ने कुराः
हामी अहिलेका पाका मानिसले आफ्‌नो पालामा मनग्य काम गरे पनि अहिले अलि कम सकृय हुँदा किन हेपेको ? के हामीले काम नगरेको भए समाज यति अगाडि बढ्थ्यो त ? अहिलेकाले हामीले मौज्दात गरेको मुद्दतीको ब्याज खाएको होइन र भन्या ? आधारभूत संरचना निर्माण र प्रगतिको झुल्के घाम त हामीले नै ल्याई अहिलेकालाई सुम्पेको त हो । अहिलेको अवस्था आफैँ चमत्कार भएर लुसुक्क आएको त होइन । यो समाजको भौतिक र नैतिक सुबिधा बढाउन हामीले हाड घोटेको त इतिहास छ है, एक छिमलमा त भन्न नि भ्याइन्न । यसलाई मनन् गर्ने, यसैको जगमा अझ विकास र स्तर बृध्दि गर्ने बुध्दि पलाओस् भन्छौँ हामी त । उल्टो विभिन्न निहुँ खोज्ने तर्क राख्छन्, ‘बुढाबुढीका कुरा’ ‘उहिलेका कुरा खुइले’ ‘डिँगो बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ’ । कति झटारो हान्न तम्सेका भन्या ? ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाबुढीको’ ‘पाका मान्छेको भर हुन्छ’ भन्ने पनि छ नि, उखानै हाल्नु परे । हुन त्, जुन हाँगामा पाकेको फल हुन्छ त्यसैले झटारो खाने न हो, काँचोतिर कसकाे आँखा जान्छ र ? काँचो, कचिलो र कलिलो कसले रोज्छ र, छिप्पिएको रुख नै ढाल्छन् नि । आजका लौरा बोक्ने अगुवा गोठाला यस्तै श्रेणीका परे, के गर्नु ?

विभिन्न निहुँमा मनखुसी गर्न–गराउन भनि तहबिल चलाउनेले बालबालिका, युवाबारे करबल भन्ने गर्छन् । उमेरले हुने त्यसपछिको अवस्थाका पाका मानिसका कार्यक्रम बृहतरुपमा लैजान र भन्नमात्र भए पनि किन कञ्जुस्याइँ गरेको होला ? खुब गर्‍यौँ भनेर प्रचार गर्न ‘ज्येष्ठ नागरिक’ भनिदिने एउटा उमेर र मन्दिरमा अक्षेता छरेझैँ अलिकति भत्ता दिने अर्को उमेर किन गर्‍या होला ? त्यो त रहँदाखाँदाको उमेरलाई बुढ्यौली तोकीदिएर नौ नाडी गलाउन लगाएको जस्तो भएन त ? सुबिधा नास्ती त्यो पगरी हामीलाई किन ? हेप्न भनिएको हो कि ‘नबोली थन्किएर बस’ भन्न खोजेको हो ? हामीमध्ये अझै धेरै सकृय जीवन बिताउन सक्छौँ भन्ने हेक्का रहोस् सबै नियम भाँडाहरूलाई । के दर्ज्यानी पाउनेले तनखा पाउँदैनन् र, नामको मात्र दर्जा हुन्छ ? आफ्‌नाले मात्र हात पार्ने तक्मा मानपदवीको त इज्जत राख्न केही रकम पुरस्कार पाउँछन् भने हाम्रो दर्ज्यानी अनुसार सुविधा खोई ? बरु त्यस्ता थारो दर्ज्यानी हामीलाई चाहिएन भन्छौँ, हामी पाका मानिस त ।

हुँदा–हुँदा सञ्चार पनि उनकै सिको गरेर अरु कार्यक्रम चलाउँछन् तर घटना नघटेसम्म पाका मानिसका बारेमा मुख खोल्दैनन् । सञ्चारमा हालीमुहाली हुँदा महिला वा पुरुष सञ्चालक र कार्यक्रम प्रस्तोताले छापा वा विद्युतीय माध्यममा हाम्रा कुरा घनिभूत आएको प्रचार–प्रसार गरेको खोई ? अझ, बाध्य भई लिइने कुनै अन्तरवार्ताको सुरुवातमै हियाएर ‘सेवानिवृत्त बुढेसकालमा के गर्दै हुनुहुन्छ ? फुर्सदमा कसरी दिन बिताउनु हुन्छ ?’ पो भन्छन् । हामीलाई कहिले फुर्सद छ र भन्या अहिले पनि । हाम्रै दुःखले सँगालेकोबाट डाक्टर, इन्जिनियर, प्रशासक र सञ्चारकर्मी बन्छन् । खोई त हाम्रो स्वास्थ्य हेर्ने ज्येष्ठ नागरिकको डाक्टर ? खोई त हामीमैत्री भौतिक निर्माण गर्ने– बाटोघाटो, पुल र उद्यान बनाउने इन्जिनियर ? खोई त सरल, सुबिधायुक्त प्रशासन, किफायती किनमेल केन्द्र र सुखद सामाजिक जीवन बनाइदिने नियम–कानुन निर्माता प्रशासक ?

इन्जिनियर शव्दको ई नजान्ने बेलामा हामीले कति माथिबाट पानी तर्क्याएर ल्याई घट्ट चलाएको, गहिरी खेतमा पानी सिँचाई गरेको थियौँ । कुन रुख कुन महिनामा काटे कीरा लाग्दैन, धुल्याहा लाग्दैन भनेर जानेको भन्नेकुरा सोधेर प्रचार गरे के नोक्सान हुन्छ ? पाखनबेदले पथ्थरी झर्ने र हडचुरले भाँचिएको हाड जोड्ने कसरी थाहा पाएको भनि सोधे हुन्थ्यो नि । बगालमा उम्नाचो गर्ने बोकालाई जाईफल ख्वाएर भलादमी बनाउन कसरी जानेको, के अहिलेकालाई थाहा छ ? कुन माटोमा कुन जातको धान स्वादिलो हुन्छ अहिलेकालाई थाहा होला र ? हामीलाई थाह छ । कहाँ कुन खेती राम्रो, लौ भनुन् त अहिलेकाले । चाहिने कुरा प्रचार छैन् बिब्ल्याँटा कुरा असुध्द नेपालीमा सुनायो भुराभुरीको उच्चारण बिगार्‍यो । आफैँ निकट भविष्यमा होइने उमेरबारेमा कस्तो हेक्का नभएको भन्या ?

हाम्रो उमेरमैत्री नीति–नियम सरल–सहज बनाउने मन्त्री, प्रस्ताव गर्ने सांसद र प्रशासक खै भन्या ? झारा टार्ने नियम बनाएर हुन्छ र, महिनावारी तान्ने होइन कार्यान्वयन गराउने इमानी पो चाहियो । भौतिक निर्माणको जोहो नमिलाउने इन्जिनियर किन चाहियो ? हाम्रो उमेरजन्य रोगको औषधि नगर्ने डाक्टर, समाज व्यवस्था नमिलाउने सामाजिक कार्यकर्ता केकाम होला ? बिचार नबनाउने राजनीतिक दल, सम्मानयुक्त ज्ञान लिन नखोज्ने सञ्चारकर्मी कसकाे हितमा चैँ काम गर्छन् हँ ? तिनीहरू सबै त एक नम्बरका ‘उमेरद्रोही’ नै हुन् कि क्या हो ? के तिनलाई यस्तो उमेर आउँदैन भन्ने लाग्छ कि क्या हो ? के जगलाई बेवास्ता गरेर घरको कल्पना गर्न सकिन्छ र ? भूइँतला भत्काएर खाली पारेदेखि पहिलो, दोस्रो तलाको कल्पना गर्न सकिएला र ? मानव विकासको हरेक पुस्तालाई उचित सम्मान नगरिए मानव सभ्यताको इतिहास बन्ला र ?

अन्त्यमा,
आफैँ त्यो उमेर नपुगी नचेत्ने आजका किशोर र वयस्क उमेरसमुहले बेलैमा सोच्नु परेन ? कि परे पछि चेत्ने र बा–आमाले भन्थे भनि बिलौना गर्न पर्खने ? उमेर पुगेका र त्यहि दिशामा उन्मुखले सोच्नु पर्‍यो, गोलभेडा खान गोलभेडा नै रोप्नु पर्‍यो, कण्टकारी होइन । कर्कलो खान कर्कलो नै रोप्नु पर्‍यो बाँको होइन । उमेर पुगेकाले सोच्नु पर्‍यो, पाका उमेर भएकाको उमेरजन्य हित गर्नुपर्‍यो, नगर्ने मूढबुध्दिमा दरिन खोजे कसकाे के लाग्छ र ? त्यसै गरे त, अब यस्ता कृतघ्न, अविवेकी र मानव सभ्यताको जगढुङ्गा नगन्नेलाई अरु नसके पनि हामीले चिन्न ढिला नगरौँ कि ? कुनै समय हाम्रो कुरा सुन्ने, बुझ्‌ने र हाम्रा लागि सोची दिने काम गर्ने असल मान्छे आउँछन् नि । हामी त सबैको भलो चाहने समुदाय हाैँ, अरुको राम्रो कसरी हुन्छ त्यो पनि भन्छौँ । अहिलेका चोट्टा जस्तो आफ्‌नोमात्र दुनो सोझ्याउँदैनौ । त्यसैले सबैलाई हित हुने कुरा भन्न हामी किन छोड्नु ? बरु जति गरे पनि अहिलेका साइँदुवाले हामीलाई हेपेको हो कि भन्ने पो लाग्दै छ ।

०००
ल.पु. चालिसेडाँडा
पाका मानिसका कुरा (२०७९) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
हामी यस्तैमा छौँ साथीहरू !

हामी यस्तैमा छौँ साथीहरू...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x