फित्काैली डटकमडा.लक्ष्मणप्रसाद गौतमको निबन्धकृति ‘समवेत’ लोकार्पित
वरिष्ठ साहित्यकार पवन आलोक, समालोचक प्रा.डा.ज्ञानु पाण्डे, वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र प्रा.डा. गौतम लगायतले उक्त कृतिको लोकार्पण गरे ।

काठमाडौं, २०८२ असाेज २४ । वरिष्ठ समालोचक तथा निबन्धकार प्रा.डा. लक्ष्मणप्रसाद गौतमको निबन्धकृति ‘समवेत’को लोकार्पण भएको छ ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक, समालोचक प्रा.डा.ज्ञानु पाण्डे, वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र प्रा.डा. गौतम लगायतले उक्त कृतिको लोकार्पण गरे ।
कृतिबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्दै प्रधानले २१ वटा निबन्धहरुमा कवित्व चेत प्रखर बनेर आएको बताए । उनले पुस्तकप्रेमलाई मान्छेसँग तुलना गरी जीवनलाई गहिरिएर अध्ययनद्वारा निबन्ध लेखनी भएको बताए ।
उनले भने- ‘गौतमका निबन्धहरु पाठक र लेखकबीचको सम्बन्धलाई निकट बनाउने गरी लेखिएको छ । निबन्धहरुमा सम्बोधन शैलीको प्रयोग भएको छ ।’
अर्की समीक्षक प्रा.डा.पाण्डेले समवेत धेरै थरी रंगको विचारको एकिकृत आवाज भएको बताइन्। उनले भनिन्– ‘मान्छे धेरै पत्र बाँचेको प्राणी हो भन्ने कुरालाई निबन्धहरुले बताउँछन् । समाजको आँखामा राम्रो देखिन मान्छे आफैंलाई ढाँट्छ भन्ने मानवीय प्रवृत्तिलाई प्रायः निबन्धले जोडेका छन् ।’
‘मान्छेलाई इमान्दार बन्न सुझाएका गौतमका निबन्धहरु विषयगत विविधतामा आएका छन् । निबन्धमा प्रकृतिसँग सम्बाद गरिएको छ।असल मान्छेको खोजी गरिएको छ।’ प्रा.डा.पाण्डेले बताइन् । विचारप्रधान निबन्धहरु सरस रहेकोमा उनको जोड थियो ।
समवेतका स्रष्टा प्रा.डा.गौतमले निबन्धमा आफैंलाई लेखेको बताए । आफूलाई समालोचना गर्न भीडमा पनि सजिलो हुने तर निबन्ध सृजना गर्न गाह्रो हुने बताए ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले निबन्धकार हुनु गाह्रो कार्य भएको बताउँदै आत्मपरक निबन्धमा गौतमको गौरव गर्न लायक कृति आएको बताए ।
नेपाल स्रष्टा समाज, केन्द्रीय समितिको आयोजनामा भएको उक्त लोकार्पण कार्यक्रममा वरिष्ठ साहित्यकार एवं समाजका संरक्षक पवन आलोकले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन सदस्य मधु पाठकले गरेका थिए भने स्वागत सचिव प्रकाश घायलले गरेका थिए ।
०००
प्रदीप सापकाेटाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































