
चूडामणि वशिष्ठको हास्य-व्यङ्ग्य शैली
हँसाउनका लागि व्यङ्ग्य गर्नुभन्दा पनि वशिष्ठको व्यङ्ग्यले नै हँसाउँछ । अर्थात् सायास हास्य सृजना कम र व्यङ्ग्य सृजना गर्दा स्वतः हास्य प्रकट हुने पाराको शैली छ वशिष्ठको ।

२०३६ सालतिर ‘विवेचना’ साप्ताहिकमा दुई-चार मनोरञ्जनात्मक गफाडी चुट्किलाहरू प्रकाशित गराए पनि हास्य-व्यङ्ग्य सृजनामै चाहिँ ‘कक्टेल’ (जुही, २०३९) मार्फत देखा परेका चूडामणि वशिष्ठ (२०१४) हालका चर्चित झापाली हास्य-व्यङ्ग्यकारमा पर्दछन् । विशेषतः ‘तित्रा’ छद्म नामबाट चिनिने वशिष्ठले फाट्टफुट्ट रूपमा समालोचनाका क्षेत्रमा पनि कलम चलाउने गरेका भए पनि खास समातेको सृजनाको क्षेत्र भनेको हास्य-व्यङ्ग्य नै हो । एकाध कविता, कथा आदि सृजना गरेका भए पनि तिनले समातेको मूल काव्यधर्म भनेको हास्य-व्यङ्ग्य नै हो ।
झापाली भूमिमा रहेर हास्य-व्यङ्ग्य सृजना गरिरहेका चूडामणि रेग्मी, होम सुवेदी, नकुल काजी, कोमलप्रसाद पोखरेल, रोहिणीविलास लुइँटेल, डम्मर घिमिरे, कृष्ण धरावासी, डिकमान विरही, विरही अधिकारी, भक्त खपाङ्गी आदि थुप्रै भए पनि यसै ताँतीभित्र रहेर हास्य-व्यङ्ग्यलाई नै लेखनको एक मात्र क्षेत्र बनाएर लेख्ने हास्य-व्यङ्ग्य सर्जक त वशिष्ठ मात्रै पो हुन् कि ?
‘कक्टेल’पछि झण्डै एक दशक जति बिसाएर मात्र वशिष्ठको कलम पुनः सक्रिय हुन थालेको हो । प्रजातन्त्र प्राप्तिपछि प्रकाशन प्रारम्भ भएको ‘स्वाधीन संवाद’ साप्ताहिकमा केही समयसम्म निरन्तर रूपमा उनका हास्य-व्यङ्ग्य रचनाहरू प्रकाशित भएको देखिन्छ भने जुही, यथार्थ कुरा आदि साहित्यिक पत्रिकाहरूमा पनि फाटफुट रूपमा भए पनि थुप्रै हास्य-व्यङ्ग्य रचनाहरू प्रकाशित भएका छन् । खास गरी हास्य-व्यङ्ग्यकारको रूपमा उनको प्रसिद्धि भने ‘तित्रा’ छद्म नामबाट ‘विवेचना’ दैनिकमा ‘कुरा यिनै हुन्, कसो पो गर्ने र ?’ स्थायी स्तम्भ अन्तर्गत दैनिक रूपमा हास्य-व्यङ्ग्य प्रकाशित हुन थालेपछि भएको हो । वास्तवमा तित्राको प्रसिद्धिमा विवेचनाको महत्त्वपूणर् भूमिका छ भने विवेचनालाई थप समृद्धि र लोकप्रियता दिनमा पनि तित्रा र तित्राको स्तम्भको पनि निकै भूमिका रहेको छ नै । जे होस्, हास्य-व्यङ्ग्यकार वशिष्ठको सृजनात्मक समृद्धिका लागि ‘विवेचना’ एउटा कोशेढुङ्गा नै हो भनेमा बढी हुने छैन नै । हाल तित्राको कलम विभिन्न स्थानीय अखवारहरूमा नियमित व्यङ्ग्य-स्तम्भलेखनमा क्रियाशील रहेको छ ।
‘कुरा यिनै हुन्, कसो पो गर्ने र ?’ सङ्ग्रहभित्र संकलित दुई दर्जन जति रचनाहरू ‘विवेचना’ दैनिकमा “कुरा यिनै हुन् कसो पो गर्ने र ?” स्तम्भ अन्तर्गत प्रकाशित भइसकेका हुन् भने बाँकी रचनाहरू जुही, यथार्थ कुरा, प्रभात, नवरङ्ग आदि साहित्यिक पत्रिका र सामयिक संकलनहरूमा प्रकाशित छन् । यसरी एकपटक पाठकलाई आफ्नो ठट्यौलो र छेडालु अनुहार देखाइसकेका यी रचनाहरू एकमुष्ठ रूपमा सङ्कलित भई सङ्ग्रहको रूप लिएर पुनः देखापरेका हुन् ।
सङ्ग्रहभित्रका रचनाहरूको वस्तुसन्दर्भलाई कोट्याउँदा हास्य-व्यङ्ग्यकार चूडामणि वशिष्ठको हास्य-व्यङ्ग्यचेत समसामयिक युगजीवन, राष्ट्रिय-अन्तर्राष्ट्रिय र आफ्नै वरिपरिको परिवेश र परिस्थितिले सृजना गरेका असङ्गतिहरूले नै उब्जाएको देखिन्छ । निबन्धहरूका छिटफुट सन्दर्भहरूले समसामयिक राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि छोएका छन् भने बाँकी सम्पूणर् पक्षहरू राष्ट्रिय र स्थानीय सन्दर्भहरूसँगै जोडिएका छन् । राष्ट्रिय राजनीतिमा देखिएका सङ्कीणर्ता, दलगत एवम् व्यक्तिगत स्वार्थ, चरम अव्यवस्था आदि जस्ता असङ्गति र तिनकै नेतृत्वमा रहने समाजका शैक्षिक, आर्थिक, सामाजिक, नैतिक आदि विविध विसङ्गतिहरूमाथि वशिष्ठको क्षेप्यास्त्र लक्ष्यित छ । यस प्रकार राष्ट्रिय राजनीतिमा देखिएका चरम असङ्गतिहरूका साथै राष्ट्रका अन्य आर्थिक, सामाजिक, शैक्षिक, साहित्यिक, नैतिक एवम् मानवस्वभावजन्य अर्घेल्याइँहरू देखेर नै हास्य-व्यङ्ग्यकार वशिष्ठको कलम यस फाँटतिर लम्किएको देखिन्छ । त्यसैले कतै हल्का र कतै निकै गतिलै हँसाइको स्वादिलो मसलासँगै व्यङ्ग्यका मट्याङ्ग्राहरू तिनै विषयहरूप्रति लक्ष्यित गरेर प्रहार गरिएका देखिन्छन् । राजनीतिक व्यङ्ग्यको एउटा नमूना दिनु उचितै होला—
“स्वर्गमा गाडी छन् कि छैनन्, चिलगाडी बनेका होलान् कि नहोलान्, त्यहाँ पनि सांसदको चुनाव हुन्छ कि हुँदैन, मन्त्री-प्रधानमन्त्री हुन पाइन्छ कि पाइँदैन, यहाँ शानेवानिमा खाने बानी परेर जाने बानी भएकालाई त्यहाँ केही मिल्छ कि मिल्दैन … … ।” – (मर्ने बेलामा को कसरी बर्बराउला)
बाँचुञ्जेल चौतर्फी विसङ्गतिको डङ्गुर लगाउने हाम्रा राजनेताहरूको मर्ने बेलाको घिड्किसो के हुन्छ होला भनेर गरिएको यो अनुमान निकै घतलाग्दो र चित्तबुझ्दो छ ।
शिक्षाका व्यापारी बोर्डिङवालाहरूमाथि पनि वशिष्ठको कलम त्यसै गरी खनिएको छ । ‘आइज बुढी बोर्डिङ खोलौं’ भित्र जडिएको यो कवितांशले त्यस्ता बेपारी बोर्डिङहरूको सिङ्गै कथा सुनाउँछ-
छोरो बी.ए. फेल, बुहारी आइ.ए.फेल
छोरी एस.एल.सी. फेल, म पनि साक्षर छँदैछु
बुढी अनपढ भएर के भो,
सबैको बुद्धि एकै ठाउँ घोलौं
आइज बुढी र्बोर्डिङ खोलौं ।
आजको जीवनमा स्वार्थ, मानवीय कमी कमजोरी, परिस्थितिको चपेटामा परेर थङथिलिएको मानव नियति आदि जस्ता कुराहरू नै सङ्ग्रहभित्रका रचनाले अघि सारेका विषयहरू हुन् ।
हास्य-व्यङ्ग्यकार वशिष्ठको छेपनकला समाजका विद्रूपता, कुरूपता र मूल्य-मर्यादाहीनतातिर नै विशेषतः लक्ष्यित छ । उनको व्यङ्ग्यचेत ‘जीवन कस्तो हुनुपर्छ’ को बोधतिर भन्दा पनि ‘जीवन कस्तो छ’ को चेतमै बढी रुमल्लिएको देखिन्छ तापनि परोक्ष किसिमबाट जीवनका दुर्बलताहरूलाई उपहास्य बनाएर कुत्कुत्याउँदै जीवनको असङ्गतिबोधका माध्यमबाटै सङ्गतितर्फको यात्रामा अग्रसर रहेको देखिन्छ । असङ्गतिकै समर्थन गरे झैं गरी व्याजोक्तिपूणर् ढङ्गले त्यसको निन्दा-भत्र्सना गर्ने आइरनी शैली वशिष्ठको समृद्ध हास्य-व्यङ्ग्य शैली हो । यस पद्धतिमा नै उनलाई बढी सफलता प्राप्त छ झैं लाग्छ । यसै गरी कुनै एउटा विषयमा कुरा गर्दागर्दै दृष्टान्त दिने निहुँमा अर्को क्षेत्रलाई पनि ट्वाक्क टिपेर छिर्के लगाउने शैली पनि उनको निकै मापाको छ । यसो गर्दा एउटै दृष्टान्त धेरैवटा रचनामा पर्न जाने हुँदा पुनरावृत्तिको खतरा चाहिँ जताततै देखिन्छ ।
कतिपय ठाउँमा व्यङ्ग्यकार आफू तटस्थ द्रष्टाका रूपमा प्रस्तुत हुँदै जीवनका होची-अर्घेलीमाथि कटाक्ष गर्छन् त कतै आफैंलाई पात्र बनाएर विसङ्गतिको उछित्तो काढ्छन् अनि कतै अरूलाई सम्बोधन गर्दै कुरौटेले कुरा लगाए झैं गरी विसङ्गतिको पोल पनि खोल्छन् । हँसाउनका लागि व्यङ्ग्य गर्नुभन्दा पनि वशिष्ठको व्यङ्ग्यले नै हँसाउँछ । अर्थात् सायास हास्य सृजना कम र व्यङ्ग्य सृजना गर्दा स्वतः हास्य प्रकट हुने पाराको शैली छ वशिष्ठको । यसर्थ उनको लेखनको साध्य व्यङ्ग्य हो भने त्यसको साधन हास्य हो ।
यस सङ्ग्रहभित्रका सृजनाहरू सहज लेखनका भन्दा पनि बढी बाध्यात्मक लेखनका उपज हुन् । दैनिक अखबारको स्तम्भलेखनकै रूपमा प्रायः सबैजसो रचना आएका हुनाले यी दैनिक छाकटराइकै उपज बढी हुन् । तात्कालिक महत्त्वको कुनै विषय टिपेर तोकिएको आकारमा दैनिक लेख्नुपर्ने लेखकका बाध्यता हुन् रपनि सङ्ग्रहभित्रका रचनाहरूले निकै राम्रा सम्भावनाहरू देखाएका छन् । कथ्यलाई खेलाएर, कुँदेर रमाइलो र ठट्यौलो पाराको गाउँले लवजको भाषामा चटक्क मिलाएर प्रस्तुत गर्ने आफ्नै पाराको विशिष्ट शैली प्राप्त गरिसकेको छनक यिनै रचनाहरूले पनि देखाइसकेका छन् ।
अब ‘कुरा यिनै हुन्, कसो पो गर्ने र ?’ हास्य-व्यङ्ग्य निबन्ध सङ्ग्रहलाई आधार बनाएर हेर्दा आफ्नो पारा र पहिचान दिइसकेको ‘तित्रा’ शैली झापाको हास्य-व्यङ्ग्य साहित्यमा स्थापित भइसकेको शैली हो । अब भने करको लेखाइबाट मुक्त भएर स्वतन्त्र लेखनका माध्यमबाट आफ्नो सृजनात्मकतालाई नयाँ उचाइ दिने र चिरस्थायी एवम् शाश्वत् मूल्य प्राप्त गर्नेतर्फ लाग्नै पर्ने देखिन्छ— हास्य-व्यङ्ग्यकार चूडामणि वशिष्ठ उर्फ ‘तित्रा’ ले ।
०००
सन्दर्भ सामग्री
त्रिपाठी, वासुदेव. (२०३५) हास्यव्यङ्ग्य परिचर्चा. रचना. १५४ ।
— . (२०५१) हास्य-व्यङ्ग्यको सैद्धान्तिक सन्दर्भतर्फ. प्रज्ञा. पूणर्ाङ्क ८० ।
पाण्डेय, जगदीश. (१९५२इ) हास्य के सिद्धान्त और मानस में हास्य. पटना ः मोतीलाल वनारसी दास ।
प्रधान, कृष्णचन्द्रसिंह. ( ) छ्याकन (भूमिका) ।
—. (२०३५) हास्य-व्यङ्ग्य परिचर्चा. रचना. १५४ ।
— (२०५४) नेपाली साहित्यमा हास्य-व्यङ्ग्य ः प्राप्ति र पर्यवेक्षण. मधुपर्क. पूणर्ाङ्क ३३९ ।
भरत. (१९८३इ) नाट्यशास्त्रम्. सम्पा. केदारनाथ. दिल्ली भारतीय विद्या प्रकाशन ।
भट्टराई, भरतकुमार. (२०५७) हास्य-व्यङ्ग्य सिद्धान्त. काठमाडौं ः श्रीमती रमा भट्टराई ।
राई, इन्द्रबहादुर. (१९७६इ) टिपेका टिप्पणीहरू. (दो.सं.) दार्जीलिङ ः नेपाली साहित्य सञ्चयिका ।
विश्वनाथ. (२०५३) साहित्यदर्पण. व्याख्या शेषराज रेग्मी. वाराणसी कृष्णदास अकादमी ।