इन्द्रकुमार श्रेष्ठ ‘सरित’मुखौटा
भेँडा हैन व्वाँसा हो भनेर चिनिसकेपछि पनि किन गर्न सकिन मैले अलग बाटा धोकाको अविरल वर्षात्पछि पनि किन च्यात्न सकिन उसको मुहारमाथिको नक्कली मुखौटा ?

इन्द्रकुमार श्रेष्ठ सरित्
बोलीमा महको मिठास छ,
जहिल्यै सहयोगी भाव छ
देखिन्न कुनै छल, देखिन्न कुनै कपट
भ्रम हो कि यो दृष्टिभ्रम हो ?
कसरी चिन्नु मुहार हो कि मुखौटा हो ?
कसरी जान्नु सत्य के हो ? झुट के हो ?
सत्यलाई साथ दिन्छु भन्छ
सङ्घर्ष परिवर्तनको कुरा गर्छ
नैतिकता इमान्दारिताको भारी
भनेजत्ति बोक्छु भन्छ
हजारौं पाइलासँगै हिँडे पनि
ऊ को हो भनेर मेरो मनले सोधिरहन्छ ।
नखोजे खोज्छ, खोजे ऊ टाढा जान्छ
छक्क पर्छु म, विचित्रको छ उसको चरित्र
ठेस लाउनमा त ऊ माहिर नै छ
अरूलाई अप्ठ्यारोमा पारेर ऊ मौन बस्छ
कालो मुहारमा सधैं
सच्चरित्रको सेतो पाउडर घस्छ
खै, कसरी यो भ्रमलाई मैले काखी च्यापिरहँ ?
अँगालोको शत्रुलाई आत्मीय मित्र ठानिरहें ?
भेँडा हैन व्वाँसा हो भनेर चिनिसकेपछि पनि
किन गर्न सकिन मैले अलग बाटा
धोकाको अविरल वर्षात्पछि पनि
किन च्यात्न सकिन
उसको मुहारमाथिको नक्कली मुखौटा ?
०००
तरहरा, सुनसरी हालः कपन, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest









































