इन्द्रकुमार श्रेष्ठ ‘सरित’मोर्डन ड्रेस
छिः छिः छिः । य मा, बूढेशकालाँ पनि के यस्तो ड्रेस ला’की, मिसरी नानी । भो, झट्ट सारी लाएर आऊ । हुँ हुँ, याकन हुँ । का, हजुरआमाको उमेरको मान्छेले नातिनीको उमेरको ड्रेस ला’र पनि हुन्छ ?

इन्द्रकुमार श्रेष्ठ सरित् :
(आलिशान घरको शानदार बैठकमा शिवप्रसाद छटपटिएर टहलिरहेका हुन्छन् । छटपटीमा सिगारको धुँवा प्वाक प्वाक मुखपार्दै उडाएको देखिन्छ । त्यही बेला नाथुरामले शिवप्रसादका लागि कफी लिएर आईपुग्छ ।)
शिवप्रसाद — ए नाथुराम ! तेरी मालिक्नी अझै तैयार भएकी छैनन् ? हन, दुलहीलाई तैयार हुन पनि
योविधि समय त लाग्दैन त, हौ । त्यो बूढो अनुहारमा पनि लाली पाउडर कति घस्न
सकेको ? किरिम कति पोत्न सकेको ? कतै जाउँ भन्यो भने कहिल्यै समयमा निस्किन
पाइन्न । समयमा घरबाट निस्किन नपाएसी समयमा कहीँ कतै के पुगिन्थ्यो र ? कहिले
मेकअपले ढिलो, कहिले डे्रसले ढिलो । उस्स्स्स्स्स्स्स् । (चिसो उच्छवास छाड्छ शिवप्रसाद)
नाथुराम — कहाँ मालिक ! मालिक्नीलाई कौनु डेरेस मन परेको छैन । तेसैले सारी काटेर छोटो छोटो
नयाँ डेरेस सिलाउँछ मालकिन । (बोली समाप्तीसँगै दुब्लो होचो ज्यानको नाथुराम सेता
दाँत देखाएर ङिच्च हाँस्छ ।)
शिवप्रसाद — (आश्चर्य मान्दै), हन कस्तो ड्रेस हो त्यो बूढेशकालाँ सारी काटीकाटी सिलाएर लाउनुपर्ने ?
उमेरको त अलि ख्याल गर्नुपर्छ । अनुहार हेर्यो भने एक माना तोरी छर्न मिल्ने चाउरी
परेको छ । डे्रस चाहिँ सारी काटी काटी छोटो छोटो छोटो ड्रेस लाउनुपर्ने । यी अधवैंशेको
उत्ताउला चाला देखेर ठिटाहरु पनि अलमल्ल पर्दा हुन् ।…….अलमल्लमा त
हामी बूढाहरु नै पर्ने भैसक्यौं । काः छुयाउ, छुयाउ ।
(दिक्क मान्दै ठूलो स्वरले कराउँछ) यः मिसरी नानी । याकन वा ले ।
नाथुराम — (आफैसँग मसक्क मस्किँैदै) मालिक, नयाँ डेरेस लाएपछि त अथी वो देख्छ न (हिहिहि)
शिवप्रसाद — के देख्छ ए देशी मोरो ? अहिले जथाभावी नबोल । मिसरी नानीको रिस तेरो पुन्टे
टाउमोमा ट्वाङ ट्वाङ बजे्रला नि । कसरी बजे्रला रे ? (क्रोधपूर्ण मुद्रामा)
नाथुराम — (हासँ कि रोउँको भावमा, अलि डराएजस्तो पनि देखिन्छ ।)नयाँ डेरेस लगाउँदा (आत्तिन्छ)
मालिक अथी वो छाती, नाइटो र तिग्रा देख्ने डेरेस नै राम्रो लाग्छ मालिकिनको । तेसैले
मालकिन वोही डेरेस सिलाउँछ कि ? (हिहिहि)
शिवप्रसाद — धत् । फटाहा । सतुवा । धोती । जा भो यहाँ धेरै नकरा तेरै इण्डियातिर गएर करा ।
नाथुराम — (मालिकलाई हेर्दै सुस्तरी ) विहार छुटिगयो त सतुवा पनि छुटिगयो। अब त हामी पनि
हजुरजस्तै नेपाली भैसक्यो न, मालिक । अब त हाम्रो नेपाली नागरिकता लिनुछ,
मालिक । हजुरको नेताजीलाई भनेर हाम्रो नागरिकता बनाइ दिनुस्, मालिक । म पनि
शादी ब्या करेर अब नेपालमै बस्ने हो ।
(शिवप्रसाद छटपटिएर ओहोर दोहोर गरिरहन्छ । बेला बेलामा नाथुरामलाई गाली गरेजस्तो नबुझिनेगरी
भुतभुताउँछ । घरी घरी मिसरीनानी आउने बाटोतिर पनि हेर्छ)
शिवप्रसाद — (घरै थर्किनेगरी ठूलो स्वरमा कराउँछ) य मिसरी नानी । छँ वने मखुला ? याकन वा ।
गुली वास्या वास्या ।
(त्यहीबेला अर्धनग्न पोशाकमा एकजना प्रौढा भन्न मिल्ने उमेरकी महिलाको प्रवेश हुन्छ ।)
शिवप्रसाद — छिः छिः छिः । य मा, बूढेशकालाँ पनि के यस्तो ड्रेस ला’की, मिसरी नानी । भो, झट्ट
सारी लाएर आऊ । हुँ हुँ, याकन हुँ । का, हजुरआमाको उमेरको मान्छेले नातिनीको
उमेरको ड्रेस ला’र पनि हुन्छ ? मान्छेहरुले बूढी घोंडी लाल लगाम भन्दैनन् ?
मिसरी नानी — य बुरा कटी बोलेको कटी ?
शिवप्रसाद — य मिसरी चा, जाऊ न जाउ, अर्को डे्रस फेरेर आऊ , मलाई धेरै नतडपाऊ ।
मिसरी नानी —(आँखीभौ नचाएर । शिवप्रसाद र नाथुरामको अघिल्तिर क्याटवाक गरेंझैँ बटारिएर
हिँड्दै) टिमी पो बुरा भयौ, शिव । म ट ऐले पनि स्वीट सिक्सटिन नै डेखिन्छु । ल,
नधाँती भन त, के यो डे्रसमा म जूही, मनीषा, माधुरीभन्दा कम देखिन्छु र ?
(शिवप्रसादतिर उपेक्षाको भावले हेर्दै) यो डे्रस त मोर्डन ड्रेस हो, डार्लिङ ।
शिवप्रसाद — (आफ्नै कपाल लु्छ्दै) यो मोर्डन ड्रेस हैन, मिसरी नानी, यो त लाजमर्नु ड्रेस हो
मिसरी नानी— (उत्ताउलो हाँसो हाँस्दै) कम अन डार्लिङ । लेट्स गो टु द पार्टी ।
शिवप्रसाद — (ठाउँको ठाउँ थुचुक्क बस्छ) हे राम । हे कलियुग । (नाथुराम कुनामा बसेर मुसुमसु
हाँसिरहेको हुन्छ)
मिसरी नानी — (हाँस्दै) कम अन डार्लिङ । लेट्स गो टु द पार्टी ।
(शिवप्रसादले नाइँ नाइँ भनिरहेका हुन्छन् भने मिसरी नानीले चैं ‘कम अन डार्लिङ’ भन्दै घिसारिरहेकी हुन्छिन् ।)
(पर्दा)
०००
तरहरा, सुनसरी, हाल बुढानीलकण्ठ नगरपालिका–९, काठमाडौँं
Subscribe
Login
0 Comments
Oldest









































