इन्द्रकुमार श्रेष्ठ ‘सरित’गुनकेशरी
तेस्रो दिनमा प्रहरी चौकीमा बाउछोरीको भेट भयो ज्वाईं अगमसिंह परियारसहित । छोरीले ज्वाईं नछाड्ने भएकीले कानुनले केही भन्न नमिल्ने । बलजफ्ती छुटाउन नमिल्ने ।

इन्द्रकुमार श्रेष्ठ सरित् :
नीलकण्ठ बाजेले सत्यनारायणको पूजाको बिट मारे । टिका लाइदिने काम सकिएपछि दक्षिणालाई काखी च्यापेर उनी बुलेट बाइकमा भुटुटु हुइँकिए । अधवैसे नीलकण्ठ बाजेको बाइक हँकाई कुनै तन्नेरीको भन्दा कम थिएन । घर पुगेर सिदा र दक्षिणा बज्यैलाई हस्तातरण गरे । बज्यै मुसुक्क बाजे ढुक्क ।
“छोरी, कलेज जाने, राम्रोसँग पढ्ने र यो वर्षको अन्तिमसम्ममा जात मिल्दो केटोसँग विहे गनेॅ हो । दुई चार ठाउँमा कुरा चलाएको छु ।”- बाजेले छोरी गुणकेशरी र बज्यैलाई पुलुक्क हेरे । निर्विकार बज्यैको अगाडि गुणकेशरीले केही भन्न खोजेझैँ गरिन् तर बाजेको कठोर मुद्राको अघि उनी चुप रहिन् ।
“मामु, म अहिले नै विहे गदिॅन के ।”
“मुख थुनेर बस नत्र बाबाको कानमा पर्योभने मुख च्यातिएला,।”
बाबा सजातीय केटो खोज्न तल्लीन । गुणकेशरी विपरीत विचारमा अडिग । असहमती आमासम्मै सीमित । टाउको दुख्न थाल्छ गुणकेशरीको । उनले खाना बन्द गरिन् बाउले गाली सुरु गरे ।
“तेरी छोरीलाई सम्झा, विहे भनेको जात पनि मिल्दो भात पनि मिल्दोसँग गर्नुपर्छ । जग हसाउँने काम नगरेस् भनेर ।”
बज्यैको आँखाको झिलबाट बगेको आँसु डरले हो वा के ले हो गालाको डिलतिरै बिलायो । बाउछोरीको अडान आआफ्नै ठाउँ कायम । न टस न मस । छैमलेका खनाल बाजेकाे छोरा इञ्जानियर संयोगसँग गुणकेशरीको कुरा छिनेको दिनदेखि गुणकेशरी बेपत्ता ।
तेस्रो दिनमा प्रहरी चौकीमा बाउछोरीको भेट भयो ज्वाईं अगमसिंह परियारसहित । छोरीले ज्वाईं नछाड्ने भएकीले कानुनले केही भन्न नमिल्ने । बलजफ्ती छुटाउन नमिल्ने ।
कथावाचन सकिएपछि टुंग्याउनीमा नीलकण्ठ बाजेले भने- “जातिपाति, केही हैन मान्छे सबै बराबर हुन्, रगत सबैको उस्तै रातो ।
मानव भएर जन्मिएपछि जातलाई आधार मानेर जातीय विभेद र मानवीय विभेद नगरौं । यत्ति भए पुग्छ ।”
०००
तरहरा (सुन्सरी), हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































