इन्द्रकुमार श्रेष्ठ ‘सरित’काल्या बाउको कसम ! म पनि सांसद बन्छु
काले कालीलाई खाना खुवाएर सुताउने जिम्ममा तपाइँ को हो है, प्राणनाथ । के गर्नु हुन्छ त श्रीमानज्यू, सांसदको पाेइ भएपछि वा हुनुअघि अलिली मेहनत त गर्नै पर्यो नि । कि कसो ?

इन्द्रकुमार श्रेष्ठ सरित् :
(रंगमञ्च खुल्दा दारिद्र्य झल्किने एएटा थोत्रो कोठामा एक छेउमा थोत्रो पलङ, अर्को कुनामा थोत्रो सोफसेट र एउटा कुनामा हिटलरको पालको स्टोभ, बालटिन आदि खत्राक खुत्रुक सामान देखिन्छ । ऐना हेर्दै लुगा मिलाएर प्रमिला कतै जान तैयार हुँदैछिन् भने राजनचाहिँ खाना खाइरेको हुन्छ ।)
राजन : (खाना खान रोकेर ठट्टाको भावमा) सोर सिँगार गरेर हन काँ’को तैयारी हो मिसेज ब्युटिफुलको ?
प्रमिला : अन्त काँ हुनु र प्राणेश्वर ! मैलाहरूको सफा जुलुसमा जान लागेकी । महंगी, भ्रष्टाचार र अत्याचारको विरुद्धमा हाम्रो संगठनले आज घघडान जुलुस निकालेर सिंहदरबार घेर्ने रंगारंग कार्यक्रम छ क्या ।
राजन : (व्यङ्ग्यपूर्वक) फेसन सोमा जान लाग्याझैं सिंगारिएर तिमेरुले जुलुस निकाल्दैमा सबै समस्याको समाधान भैहाल्छ भन्ठान्या छ्यौ झाँसीकी रानी ?
प्रमिला : आहै कालेका बाउ ! भए होस् नभए नहोस् । मलाई केको चासो ? न गाँड न गलपासो । जनता र जनताको विषयमा सरकार विपक्षी नेताहरूलाई त चासो छैन भने मलाई मात्र केको टाउको दुखाई ? हात्तीको खाने र देखाउने दाँत दुईथरी हुन्छ भनेर खै बुझेको प्राणेश्वर ! आफूलाई त जसरी पनि एक पटक सांसद बन्नु पर्या छ । मैला सांसद बनेर पुरुषहरूमाथि फररर फरिया पहराउनु पर्या छ । सांसदको मानै ठूलो, शानै ठूलो । कति सेवामात्र गर्नु ? अब त अलिअलि मेवा पनि खानु पर्यो नि ।
राजन : मेरी सुन्दरी श्रीमती ! सांसद बन्नु भनेको आफ्नै मामा काकाले आयोजना गरेको सुन्दरी प्रतियोगिता जिते जस्तो सजिलो छ भन्ठान्या छौ कि कसो ? हैन सांसद बनेर के के न तामा तास्छु भन्ठान्या छौ कि कसो ? सांसद बन्नु र आलुतामाको तरकारी पकाउनुमा धेरै भिन्नता हुन्छ भन्ने बुझ्यौभने दिउँसोको सपनाले तिमीलाई सताउँदैनथ्यो कि ?
प्रमिला : सांसद बनेर तामा किन ताछ््नु पर्यो र मेरो ट्युबलाइट पतिज्यू । सांसद बनेपछि त म सुविधाको पजेरो माडेकोमा लगेर ताछ्छु । त्यत्ति गरेपछि मेरो लागि माडेले कि एउटा मारुती, हैन भने पनि एउटा ल्याण्डरोभर त ताछिहाल्छ । बाँकी पैसाले काठमाडौंमा एउटा चट्ट परेको घडेरी किन्ने हो । तेसपछि रुघै नलागी विदेश उपचार गराउन गएर डलर ताछ्छु । तेही डलरले आफ्नै जग्गामा एउटा आलिशान महल बनाउँछु । तेतिले नि नपुगे ब्यापारीहरूसँग चन्दा उठाएर भए पनि एउटा आलिशान कहल त बनाउँने नै हो, बूढा । देशभक्तिको नारा फलाक्दै ज्यूँदो शहीद बनेर छोराछोरी विदेशमा पढाउँछु । मेरो श्रीमान सुत्केरो भा’छन् भनेर सुत्केरो भत्ता कुम्ल्याउँछु ।
राजन : (जङ्गिदै) ए तिमीले मेरो बेइज्जत गर्ने ? मेरो नाममा सुत्केरो भत्ता लिने ? सांसदलाईझैं शरमछाडा भन्ठान्या मलाई ? देखाई दिउँ पुरुष संगठनको ताकत ? अब एउटा दह्रो पुरुष संगठन नखोली भएन, गाँठे !
प्रमिला : ए मेरा पति सोझा । देखाउनु पर्यो कि तपाईंलाई ओझा । हप्तै पिच्छे सरकारको समीकरणमा आउने परवर्तनले गर्दा सांसदबाट मन्त्री बनेर जति नै भ्रष्टाचार गरे पनि अदालतबाट सफाई पाइहालिन्छ । लौ मन्त्री नै भइएन भने पनि समीकरण फेरिँदै पिच्छे ब्रिफकेश भरिभरि नोट पाइन्छ भने ज्यूज्यान ला’र भए पनि एकपटक सांसद किन नबन्ने ? त्यसमा अझ पाँच बर्ष सांसद टिक्न सकियोभने त आजीवन पेन्सन पनि पाइने हो कि भन्ने सम्भावना छ । आफूलाई फाइदा हुने भएपछि यस्ता प्रस्ताव संसदबाट पास नहोला भन्न सकिन्न है । तेसो भो भने त, पेन्सन पकाउन कर्मचारी बबुरोहरूले झैं जिन्दगी गाल्नु पर्ने भो त ? आमके आम गुठलीके दाम भनेको यही हो भनेर तपाई हरिलट्ठकले खै बुझेको ? त्यसै सांसदको पोइ बन्न पाइन्छ यस्तै ग्वाँजे पाराले ?
राजन : अनि सांसद, मन्त्री, प्रधानमन्त्री भएपछि देश र जनताको बारेमा सोंच्नु पर्दैन ? काम गर्न पर्दैन ? कि आफ्ना नातागोता र आसेपासेलाई पोसे पुग्छ ? यस्तै सोंच भ’काहरूले गर्दा हो देश दिन दिनै दुब्लाउने, नेता दिनदिनै मोटाउने । असत्तीहरू । धुतुवाहरू । लुटुवाहरू । लाज छैन, देशको विकास गर्नुभन्दा जसरी हुन्छ देशलाई लुटेर स्वीजरल्याण्डको बैंक भर्ने बाहेक यो देशमा कोही सच्चा नेता देशा परेनन् ।
प्रमिला : आः हजुरको पनि कस्तो मन्द बुद्धि । देश कसले चोरेर लान्छ र ? लालपूर्जाको अभावमा कसैले बेच्न सक्दैन क्यारे । लाटो मूर्ख जनताको याँ’ कल्लाई वास्ता ? किन पो वास्ता गर्नु पनि र ? अभाव, अत्याचार र महंगीको विरुद्धमा यी कुम्भकर्णहरू कैले कराछन् र ? न त नेताहरूले हामीलाई पटक पटक ढाँटे भन्ने चेतना नै यिनमा छ । अब यस्ता भेडो जनताका बारेमा सोंचेर नदुखेको कपाल बिनासित्तिमा किन टनटन दुखाईरहने ? केइ भएन भने एउटा न एउटा काल्पनिक विषयको आन्दोलनमा यिनीहरूलाई अल्झाई रहने र यता हामीले आप्mनो दुनो सोझ्याई रहने । खै, कुरा बुझेको ?
राजन : अनि सांसद, मन्त्री, प्रधानमन्त्री भएपछि देश र जनताको बारेमा सोंच्नु पर्दैन ? देश र जनतालाई उँभो लाउने काम गर्न पर्दैन ?
प्रमिला : हरे, हजुरलाई सोझो भन्ने कि पटमूर्ख ? लाटो भन्ने कि रोटी पकाउन नमिल्ने अाँटो ? यी मुर्ख जनतालाई पासोमा पार्न लोभ्याएको बाचा पनि पुरा गर्नै पर्छ भन्ने के छ र ? तपाई नै भन्नुस् त, नेताहरूले हामीलाई झुक्याए अब हामी यिनीहरूलाई भोट दिन्नौ भनेर आजसम्म कुनै जनताले भनेका छन् त ? विरोध गरेका छन् त ? हरे गणपतिजस्ता मेरा गजधम्मे पति । नेपालमा जनता नै कहाँ छन् र विरोध गरुन् ? याँ’ त सबैजना कुनै न कुनै पार्टीका कार्यकर्ता, झोले र हुक्के छन् । यस्तो स्थितिमा तपाईंकी श्रीमतीलाई मात्रै के को लुतो, के को कन्याई ? काँको चिलाई, काँको कन्याई ?
राजन : तिमी त साँच्चिकै नेताजस्तो कुरा गर्न थाल्यौ नि मिसेज ब्युटीफूल । तर तिमी सांसद भएपछि कल्ले गर्छ भात भान्छा, कल्ले ल्याउँछ पानी ? कसरी चल्छ हाम्रो जिन्दगानी ?
प्रमिला : (लाडिँदै) ए हजुर । मेरो सुनको गजुर । मैनामा चार दिन त पैला पनि तपाईंले नै गर्नुहुन्थ्यो भने म सांसद भएपछि पनि तपाईंले नै गर्दा के फरक पर्छ र ? तपाईं मेरा लुगा धुनुस्, म लाउँछु । तपाई खाना पकाउनुस्, म खान्छु । म खान्छु तपाईं भाँडा माझ्नुस्, हुन्न त काल्या बाउ ? हे मेरा प्राण प्यारा । मेरा जूनतारा । खर्दारको जागीर खार केई फाइदा छैन । आज नै माओवादी, एमाले, कांगे्रस, राप्रपा, सद्भावना, प्रगतिशील, प्रतिगामी जुनै पार्टीको भए पनि चवन्नी सदस्यता लिइहाल्नुस् है । सरुवा, बढुवा, नियुक्तिमा अब योग्यता र क्षमता हैन पार्टी काम लाग्छ । सके सबै पार्टीको सदस्यता लिए पनि हुन्छ । पीर नगर्नु न प्राणनाथ । तर जागीर चट्टै नछाडिहाल्ने है । म सांसद भएपछि मेरो पि.ए. भएर दुबैतिरबाट फाइदा लिनुपर्छ । दुहनमात्र जान्नु पर्छ दूध डोकोमा पनि अडिन्छ, पतिदेव ।
राजन : (झर्किंदै) के वाइयात कुरा गरेकी ? के मलाई पनि सांसदहरूलाई झैं एकबाट अर्को पार्टीमा जाने अवसरवादी ठान्या ? यही हो आफ्नो लोग्नेलाई मान सम्मान गर्या ?
प्रमिला : वर हेर पर हेर बेला हेर ले त्यो कुम्लो मलाई भन्ने उखान सुन्नु भा’ छैन ? लठ्यौरो मान्छे । यता पनि मन्त्री, उता पनि गएर मन्त्री हुनेहरूलाई चिन्नु भा’ छैन ? बिना शर्त एक पार्टीबाट अर्को पार्टीमा जाँदा कत्रो नाम र दाम, नाम दाम भएपछि नै काम हुन्छ भन्ने खै तपाईले बुझ्या ? आफू सांसद भएरै छाडिन्छ है काल्या बाउ, तपाईको कसम । आफूलाई फाइदा हुने भएपछि इमान्दारिता, नैतिकता र स्वाभिमान बागमतीको ढल मिसिएको पानीसँगै बगाई दिने हो । सांसद बन्ने हो ।
राजन : नैतिकता, चरित्र र स्वाभिमानलाई लत्याएर केवल कुकुरजस्तो हड्डीको लागि बाँच्दा आफूलाई आफैदेखि लाज लाग्दैन होला ? ऐना अगाडि उभिएर आफ्नै पतीत अनुहार हेर्न सकिएला त ?
प्रमिला : के को लाज ? के को घिन ? पैसा बर्सिए दिनका दिन छिन् छिन् । बुझ्न भो, काल्या बाउ । मैले त आफ्नो पार्टी अध्यक्षलाई टण्टनाटन अल्टिमेटम दिइ सकेकी छु यसपाली मलाई सांसदको टिकट मिल्नुपर्यो होइन भने म त हिँडे अर्को मैला मुक्ति पार्टीमा निःशर्त प्रवेश गर्न भनेर । एकपटक सांसद बन्दा जीवनै झल्लरी मल्लरी हुन्छ भने सांसद बन्न म त जे गर्न पनि तैयार छु । (हिहिहि)
राजन : (रिसाएर) प्रमिला । कस्तो फोहोरी कुरा गरेकी ? के मेरो नाक काट्ने विचार गरेकी ?
प्रमिला : (हाउभाउका साथ) होइन श्रीमानज्यू, तपाईंको यो ठुटे नाकलाई अझ माथि उठाउने विचार गरेकी । किनकि म सांसद भएपछि हजुर श्रीकृष्ण, म तपाईंकी राधा । मैले जे जति कमाए नि बाँडेर खाउँला नि आधा आधा । म सांसद तपाईं मेरो लोग्ने जनतालाई मारेर र देशलाई भड्खालोमा हालेर भए पनि सुविधा चाहिँ मनग्गे भोग्ने ।
राजन : (दिक्क मान्दै) प्रमिला, प्रमिला, प्रमिला । दिउँसै पागल नबन । मेरो करजोरी बिन्ति छ, चोर बन, डाका बन, साधु बन तर बिन्ती सांसद चैं नबन ।
प्रमिला : छाड्नुस् यी कुरा । जुलुसपछि मलाई आमसभामा पनि जानु छ । अनि साँझमा होटल तारेभिरमा ककटेल डिनर छ । टिकटको बारेमा तेहीँ छलफल गर्नु छ । काले कालीलाई खाना खुवाएर सुताउने जिम्ममा तपाइँ को हो है, प्राणनाथ । के गर्नु हुन्छ त श्रीमानज्यू, सांसदको पाेइ भएपछि वा हुनुअघि अलिली मेहनत त गर्नै पर्यो नि । कि कसो ? पख्नुस्न मेरो हिरो, सांसद त बन्न दिनुस्, तपाईंले खरदार पदमा जागीर खाइरहेकै अफिसमा तपाईंलाई डाइरेक्टर बनाएर पठाउन सकिनभने मलाई श्रीमती नै नभन्नु होला । लु, अइलेलाई बाई बाई प्राणनाथ । तपाईं र मेरो रहनेछ सधैं साथ ।
राजन : प्र…..मि….ला…… । बाहिर यसरी नजाऊ, जमाना सारै खराब छ ।
प्रमिला : भैगो पतिज्यू ! आफूलाई त जसरी नि सांसद बन्नु पर्या छ ।
राजन : प्र…..मि…ला… । बाहिर यसरी नजाऊ, जमाना सारै खराब छ ।
प्रमिला : भैगो पतिज्यू ! आफूलाई त जसरी नि सांसद बन्नु पर्या छ । (इको साउन्डमा) आफूलाई त जसरी नि सांसद बन्नु पर्या छ ….. आफूलाई त जसरी नि सांसद बन्नु पर्या छ …. आफूलाई त जसरी नि सांसद बन्नु पर्या छ ।
(पर्दा)
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































