पदम दाहालखाने मुख र पचाउने पेट
फगत उसको उत्रिन्छ भौतिक शरीर घाटमा छुट्तैन कसैको लाद्रो, हाब्रो र घाग्रो कुनै अङ्ग सँगसँगै हुन्छ साथमा एक्लै जतन गरेर राख्न सक्तैन समाजले रहिरहन पनि सक्तैन जमातमा ।

पदम दाहाल :
जति खाएर पनि
नअघाउने रहेछ यो खाने मुख
कति भयानक ओडार पनि बोकेको हुँदोरहेछ
स्वयं मान्छेले आफ्नो साथमा
जति नै निले पनि
अघाएँ भन्दै नभन्ने रहेछ त्यो लाद्रो
कस्तो अद्भुत चमत्कारमय पेट हो यो
खै कसले रचेको रहेछ यसलाई ?
बिसन्चो भएदेखि गोली र ट्याब्लेट पठाएर
निको पारुँला पचाउँला भन्दै
हुरुक्क भएर खान्छ
जुरुक्क उठेर ढकढक्याएर भए पनि तान्छ
बुताले भ्याएसम्म धोक्य्राइरहन्छ
गलगिद्ध खान्कीले
सञ्चो नभए बरु
एक्लै झोक्राइरहन्छ
तर, बिर्सिदैन टिलपिल नहुन्जेल खान
कुम्ल्याइरहन्छ आँखा चिम्लुन्जेलसम्म
एकैनाश बुत्याइरहन्छ
ढलपल नहुन्जेल
धोक्य्राइरहन्छ पलपल ।
रुच्नसकुन्जेल हसुरिरहन्छ
खन्चुवा हुनाले नै पटकपटक थपिरहन्छ
भुँडीले दिउन्जेल अनुमति
नचर्कुन्जेल नसर्कुन्जेल लिइ नै रहन्छ ।
ढ्याउढ्याउ काढेर भए पनि
पसलको पाचक खरिदेर भए पनि
असन्तुष्ट छ हरेक घ्याम्पो
बिहान चर्किउन्जेल खाए पनि
बेलुकैपिच्छे फेरि उत्तिकै भोक लगाउँछ
बेलुका अगासुर भै विश्राम लिए पनि
बिहान उठ्न भ्याउन्न
उत्तिकै भोक जगाउँछ
यस्तै छ हरेक मान्छेका साथमा
कहिल्यै पूर्ण छैन पचाउने पेट
अपूर्ण छ एउटा घ्याम्पो
चित्र बेगरको विचित्रको छ
र अद्भुत छ ।
हरेक मान्छे आफू अथुलाउनका लागि
त्यही पेट उकास्नका लागि
अर्कोसित चाकडी गर्छ, चाप्लुसी भर्छ
सकेजति चिप्लो घस्छ
कसैको कुर्नेसमा बस्छ
राल चुहाउँछ
पराल र सुरालका लागि भए पनि
भ्रष्टाचारमा निर्लिप्त हुन्छ
घुस र कमिसनमा लिप्त हुन्छ
पदको सीमा र गजको हदै नबुझी
काइतेवाला जुनीले
छिर्के लाउँछ, कीर्ते गर्छ
बनावटी स्याहास्रेस्तामा सहीछाप झर्छ
लुकेर छिपेर नियम–कानून मिचेर
इमानजमान रीतिथितिलाई ढुङ्गामाटाले किचेर
नजानिँदो ढङ्गले धाप मार्छ, झाप मार्छ ।
नाति पनातिदेखि जनाति खनातिसम्मलाई
निकृष्ट भएर कमाइदिन्छ
के स्वदेश के विदेश जताततै
घर र महल ठड्याइदिन्छ
कति छ कति ज्याद्रो पेट
तर अन्तिम क्षण शून्य भएर जाँदा
लाँदैन कोही कसैले केही पनि साथमा
फगत उसको उत्रिन्छ भौतिक शरीर घाटमा
छुट्तैन कसैको लाद्रो, हाब्रो र घाग्रो कुनै अङ्ग
सँगसँगै हुन्छ साथमा
एक्लै जतन गरेर राख्न सक्तैन समाजले
रहिरहन पनि सक्तैन जमातमा ।
०००
मादी न.पा. ६, सङ्खुवासभा
हाल, लोकन्थली, भक्तपुर ।
९८४२०९९८३१
Subscribe
Login
0 Comments
Oldest







































