युगल बसेलहाकिमको कुकुर हराउँदा
“कुकुरसित सरोकार राख्ने सबैलाई स्पष्टीकरण सोध्ने नि । त्यो पनि सोध्ने कुरा हो ? तपाईंहरूले लोकसेवा कसरी पास गर्नुभयो हँ ? ताज्जुब लाग्छ मलाई ।” हाकिमसाहबले रोष पोखे । यता सुब्बासाप भने अलिकता हच्किए,, मुख निन्याउरो गराए ।

युगल बसेल :
एक दिन हाकिमको जगरसेँठ कुकुर थाहै नदिई एकाएक गायब भयो । अनि त हाकिमको घरमा खैलाबैला मच्चिईहाल्यो । नमच्चियोस् पनि किन ? कुकुरले हाकिमनीको ज्यादै लाड प्यार पाएको थियो । उनको काखैमा सुत्थ्यो र एउटै थालमा कलो खाने गर्थ्यो । उनले हग भने हगथ्यो र मुत भने मुत्थ्यो । यस्तो आज्ञाकारी कुकुर हराएपछि हाकिमनी आलसतालस परिन्, रन्थनिइन् । चौतरिया लक्ष्मीनारायणलाई गुमाएपछिकी सुवर्णप्रभा देवीको जस्तो अवस्था उनको भएको थियो । हाकिमनीको मनभरि मातम मडारिएको थियो , शोक र सुर्ताले जीउ आधा भएको थियो । रन्थनीएकी हाकिमनीले कुकुर हराएको झोँकमा छतिपति वा कुनै कसर केही बाँकी नराखी हाकिमलाई सराप्नसम्म सरापिन् र लुछलाछ समेत पारिन् । विद्यमान कानुनअनुसार हाकिमनीले जति अतिचार गरे पनि हाकिमलाई कुनै प्रतिकार गर्ने हक थिएन । यस सम्बन्धी प्रतिबन्धात्मक कडा कानुनी प्रावधानको परिपालना हाकिमले कडै अनुशासनका साथ गर्ने गर्थे । करनीको भरनी भोगेजस्तै गरेर उनले चुँसम्म पनि नबोली हाकिमनीको उत्पीडन दाँतेबह खाएर सहिरहे । आखिर योग्यता र क्षमता पुगेरै त उनी हाकिम बनेका थिए नि । आफूभन्दा ठूलोले दिएको पीडा सहजता साथ झेल्ने र आफूभन्दा सानालाई दृढता साथ पेल्ने काबिलियत नभई हाकिम बन्ने अवसर कसैले पो पाउँछ र ?
हाकिम मुर्मुराउँदै अफिसतिर लागे। अफिस पुग्नासाथ उनले ११ बजे नै स्टाफ मिटिङ डाके । ऐन मौकामा सबै कर्मचारी जम्मा भए। हाकिमको उब्लिएको चेहरा देखेर उनको पेटमा पक्कै पनि जौतिल पागक्दैछ भन्ने अनुमान जोसुकै अनुभवी कर्मचारीले गरे । साथै कुनै अज्ञात अनिष्टताको भयको कालो बादल पनि उनीहरूको हृदयाकाशमा मडारिएकाले एकएक जना तर्सिएका पनि थिए।
सबै कर्मचारी एकत्रित भएको गहन निरीक्षण गरेपछि हाकिम पड्किए – “कुकुर कसरी हरायो ?”
सुब्बा साहबले कुरो स्पष्ट नभएको महसुस गर्दै प्रतिप्रश्न गरे – “कुन कुकुर हाकिमसाब, जेठो कुकुर कि कान्छो कुकुर ?”
हाकिमका दुवै छोरा कुकुरकै बानी व्यहोराका थिए, अनापसनाप भुकिरहन्थे । दुई भाइ आपसमा घरीघरी ङार्रङुर्र पनि गरीरहन्थे । त्यसैले सुब्बासाबको मानसपटलमा ती दुई सुपुत्रले आफू कुकुरसरहका भएको छाप पारेका थिए। यही कारणले गर्दा उनको मुखबाट अनायासै जेठो वा कान्छो कुकुर भन्ने वाक्यांश निस्किएको थियो ।
“मतलब के ? कस्तो जेठो र कान्छो कुकुर ?” हाकिम जङ्गिए ।
सुब्बा साहबलाई जिब्रो चिप्लिएको, गल्ती भएको स्पष्ट महसुस भयो । उनले तत्काल गल्ती सच्याउँदै भने – “जेठो भन्नाले तपाईंको र कान्छो भन्नाले तपाईंको छिमेकीको कुकुर क्या । ती दुवै त सनाखत नभएको एउटै डाँगो र एउटै माउ कुकुरका सन्तान हुन् नि त ।”
हाकिमको उर्लिएको आवेग ओर्लियो र शान्त स्वरमा उनले स्पष्ट पारे – “त्यस मानेमा त जेठो कुकुर हराएको हो, सुब्बासाप ।”
सुब्बासाहबले हाकिमप्रति वफादार हुन खोज्दै भने – “अब यसका लागि स्पष्टीकरण सोध्नुपर्ने भयो साप ,कोकोलाई स्पष्टीकरण सोध्ने हो, आज्ञा होस्।” एक हप्ते भ्रमण आदेशको लागि पृष्ठभूमि तयार गर्दै सुब्बासाप बोले ।
“कुकुरसित सरोकार राख्ने सबैलाई स्पष्टीकरण सोध्ने नि । त्यो पनि सोध्ने कुरा हो ? तपाईंहरूले लोकसेवा कसरी पास गर्नुभयो हँ ? ताज्जुब लाग्छ मलाई ।” हाकिमसाहबले रोष पोखे । यता सुब्बासाप भने अलिकता हच्किए,, मुख निन्याउरो गराए ।
भण्डारे सापले मेसो मिलाउँदै भने – “हाकिमसाहबको सुन्दर घोर्ले कुकुर बेलाबेलामा हाम्रो अड्डाका सेवाग्राहीमाथि पनि भुक्ने गर्थ्यो । त्यसैले सेवाग्राही पनि हराएको कुकुरसित सरोकार राख्ने जमातअन्तर्गत पर्छन् । तिनलाई पनि दया बक्सनु हुँदैन , हाकिमसाब । स्पष्टीकरण सोधिनुपर्छ।”
भण्डारे खरिदारसाहबको बोलीमा सबैले लोली मिलाए ।
यस्तो गम्भीर मुद्दामा केही नबोली मौन बस्दा हाकिमको प्रिय कुकुरको अनादर गरेको पुष्टि हुने ठहर कार्यालय सहयोगीको अन्त:स्करणले गर्यो र उनी बोले – “आज सियो हरायो , भोलि फाली हराउँछ। त्यसपछि पर्सि थाली हराउँछ अनि लगत्तै हाम्रो घरवाली हराउँछ । लोभलाग्दो बैँस र जिउडाल भएका हाम्रा घरवालीमाथि एकजनाको नजर लागेको हुनाले घरवालीहरू हराउने जोखिम पनि धेरै छ । यो जोखिम कम गर्नका लागि पनि सरोकारवालालाई स्पष्टीकरण सोध्नै पर्छ, हाकिमसाब।”
कम्प्युटर अपरेटरलाई धेरैथरी सूचनामा आफ्नो पहुँच छ भन्ने अभिमानजन्य अनुभूति थियो । त्यसैले उनी मौन रहन सक्ने सम्भावना नै थिएन । अत उनी पनि आफ्नो सूचना शक्ति पोख्दै बोले – “गए साँझ त मैले हाकिमको कुकुरलाई लुती कुकुर्नीसित खिँचातानी खेलिरहेको देखेथेँ , कतिबेला हराएछ त्यो ?”
कम्प्युटर अपरेटरको कथन सुनेर हाकिमको पारा तात्यो । उनी दहाडे – “हाकिमको कुकुरले सम्पर्क वा संसर्ग गर्ने कुकुर्नीलाई ´लुती` भनेर मानहानी गर्ने हिम्मत कसरी भयो तपाईंको ? तपाईँको ग्रेड वृद्धि वा बढुवा रोक्का गरिदिऊँ ? हाकिमको कुकुरले संगत गर्ने कुकुर्नीलाई जेजस्तो अवस्थाकी भए पनि कुकुर्नी मैयाँ भन्नुपर्छ भन्ने हेक्कासम्म नभएका मान्छेले कसरी कम्प्युटर अपरेट गर्छन्, हँ ?”
कम्प्युटर अपरेटरले आफ्नो तीरको निसाना गलत ठाउँतिर लागेको महसुस गरे अनि उनी विनीतभावमा बोले – “मैले गल्ती महसुस गरेँ, सर।”
आफ्नो सबै सेखी मेटाएर पश्चाताप गरेकोले हाकिमको पारा ठिक ठाउँमा ओर्लियो । सबै कर्मचारीका भनाइ, राय, परामर्श सुनिसकेपछि हाकिम निर्णायक मोडमा पुगे । निष्कर्ष निकाल्दै उनी बोले- “वर्तमान सामाजिक शान्ति सुरक्षा, अमन चैन, कानुनी राज्यको अवधारणाजस्ता परिप्रेक्ष्यमा संवेदनशील र पेचिला मुद्दालाई दृष्टिगत गरी सुब्बासाहबले एक घण्टाभित्र रीतपूर्वकको टिप्पणी उठाएर पेस गर्नुहोस् ।”
सुब्बासापले समर्थनमा मुन्टो हल्लाए । केही बेरमै उनी आफ्नो टेबलमा पुगे र टिप्पणी तयार गरे । टिप्पणीको व्यहोरा यस्तो थियो :
श्रीमान् ,
यस कार्यालयका जल्दाबल्दा हाकिमको कुकुर गत साँझदेखि गायब गराइएको,
उक्त कुकुर कहाँ र कुन अवस्थामा छ भन्ने अत्तोपत्तो वा सुइँको हालसम्म कसैले नपाएको ,
हाकिम विरोधी तत्त्वहरूको कुकुर गायब गराउनमा गम्भीर षड्यन्त्र रहेको प्रशस्त आशंका गर्न सकिने अवस्था रहेको,
अड्डामा सेवा लिन आउने सेवाग्राहीविरुद्ध बेलाबेलामा हाकिमको कर्मठ कुकुर भुक्ने गरेको हुँदा सेवाग्राही पनि कुकुर गायब गराउने संलग्न छन् कि भन्ने अनुमान धेरै सहकर्मीहरूबाट भएको,
हाकिमकी छिमेकीको घरमा गएर कुकुरले मासु जुठो पारिदिएको थाहा पाएपछि त्यस कुकुरलाई नमारी छोड्दिन भनी छिमेकीको लोग्ने कुर्लिएको कुरा सुनीजान्नेले बताएको हुँदा निजको समेत कुकुर गायब गराउने षड्यन्त्रमा संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको,
उपर्युक्त तथ्यहरूलाई दृष्टिगत गरी माथि उल्लेख भएका सरोकारवालाहरूलाई विलम्ब नगरी तुरुन्त स्पष्टीकरण प्रचलित कानुनबमाेजिम सोध्न र तोकिएबमोजिमको पारिश्रमिक पाउने गरी म सुब्बा सुन्दरमानको संयोजकत्वमा स्टोरका कडोरीमल खरदार र प्रशासनका धनवान् धान्चुकेसहितको तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय हुन मनासिब देखिएकोले निर्णयार्थ यो टिप्पणी पेस गरेको छु ।
अड्डाको कार्यमा ढिलासुस्ती भएको गुनासो कहिँ कतैबाट नसुनियोस् भन्ने पवित्र मनाशयले प्रेरित भई पुरै व्यहोरा पढ्ने समयसमेत खर्च नगरी ´सदर ` भन्ने तीन अक्षरको शक्तिशाली शब्द लेख्दै हाकिमले टिप्पणी सदर गरे ।
०००
सन्धिखर्क (हाल चन्द्रागिरी- ११, काठमाडाैं)
Subscribe
Login
0 Comments
Oldest










































