युगल बसेलनायिकाको नाइटो
जाने बोल, नजाने गर्दनको मोल भन्ने लोकोक्ति सुनाउँदै नायिकाको नाइटोउपर कलम चलाउने छुद्दे राख्नु धारिलो तरबारको धारमा हिँड्नु जत्तिकै जोखिमयुक्त हुन्छ भन्ने हिदायत मेरा शुभचिन्तकहरूले मलाई दिएकै हुन् तैपनि मैले वास्ता गरिनँ ।

युगल बसेल :
अरू जीवजन्तुकोजस्तै नाइटो एक महत्त्वपूर्ण मानव अङ्ग हो । गर्भमा रहँदा उसले आमाबाट पाउने पोषण र जीवन तत्त्व नाभीको माध्यमबाट ग्रहण गर्छ भन्ने कुरा यहाँ बताइरहनुपर्ने विषय होइन। नाइटोकै चर्चा गर्न परे कस्तुरीको बिनाको नामले चिनिने ज्यादै
महत्त्वपूर्ण तत्त्वको आधारभूमिको चर्चा नगरी के बहुलट्ठी पाराको सनक चढेर होला नायिकाको नाइटोका फत्यौरा झिक्ने भनेर पाठकलाई सनक चढ्न पनि सक्छ।
यस्तै शरीरका अन्य विभिन्न आकर्षक अङ्ग छन्, अवयवहरू छन्, तिनको चर्चा नगरेर किन नाइटोलाई नै विषयवस्तु बनाएको होला भन्ने खालको काउकुती पनि पाठकको मनमा सलबलाउन सक्छ। पढ्दै जाँदा त्यो खुल्दुली सोह्रै आना मेटिन्छ भन्ने मेरो दाबी छ।
नायिका अर्थात् चलचित्रकी मुख्य पात्रको छनोट गर्दा निर्देशक र निर्माताले नाइटोमा नै विशेष दृष्टि पुर्याउने गर्छन् । नाइटोको आकारअनुसार नै अन्य अङ्गको लम्बाई, चौडाइ, गहिराई र मोटाइको मापन तिनीहरूले सजिलै गर्न सक्छन् । नायिकाको लायकी वा नालायकीपना पनि उनीहरूलाई नाइटोबाटै दृष्टिगोचर हुने गर्छ । त्यसैले बाल, वृद्ध, वनिता सबैका निम्ति नाइटो ज्यादै वजन र उचाईको हकदार भएकै अङ्ग हो । नायिकाका लागि भने योअति नै महत्वपूर्ण र श्रेष्ठ अङ्ग हो भन्ने जिकिर यहाँ म गर्न चाहन्छु ।
आफ्नो नाइटोको महत्त्वलाई मध्यनजरमा राखेर नायिकाहरूले अन्य कम महत्त्वका अङ्गहरूलाई दुई चार अङ्गुलका परिधानले परिवेष्ठित गरे पनि नाइटोको प्रदर्शन बडो तन्मय र सतर्कका साथमा गरिरहेका हुन्छन् । नाइटो ढाक्न वा लुकाउन उनीहरूलाई निषेध गरिएको हुन्छ।
नायिकाको नाइटोलाई योग्यताको मानकको रुपमा प्रतिष्ठापित गराउने काम आनन्द गौतम ,सत्यजितरे र स्टानले कुब्रिक भन्दा पनि प्रसिद्ध निर्देशकले गरेका हुन् रे भन्ने सूचना सुन्नमा आएको कुरा कसैकसैले मलाई सुटुक्क बताएका हुन् । नाइटोको राप र तापकै बलमा नायिकाले प्रताप आर्जन र विस्तार गर्छिन् भन्ने कुराको पुष्टि नाम खुलाउन नचाहने अनुसन्धानकर्ताले आफ्नो बृहत अनुसन्धान प्रतिवेदनमा गरेका छन् ।
यसै तथ्यलाई मनन गरेर नायिकाहरू नाइटो आकर्षक पार्नका लागि टुप्पीदेखि पैतालासम्मको बल लगाएर हरदम तल्लिन रहन्छन्, पसिना काढिरहन्छन् । तेरो नाइटोभन्दा मेरो नाइटो कहाँ हो कहाँ धेरै आकर्षक छ भन्ने हानथाप पनि नायिकाहरूको बीचमा बेलाबेलामा भइरहन्छ । तर नायिकाहरु सभ्य, सुसंस्कृत र संयमी हुने हुनाले लुछालुछ भने कहिल्यै नभएको कुराको इतिहास गवाह छ भन्ने गरिन्छ।
नायिकाको नाइटोमा जादुमय मादकता भयो भने मात्रै नायिकाद्वारा अभिनीत चलचित्रले टिकट काउन्टरमा डंका पिटाउँदै ठूलाठूला बिटाले बाकस भर्न सहज हुन्छ भन्ने सारगर्भित निष्कर्ष प्रकाण्ड चलचित्र समीक्षकहरूले आफ्ना गहन समीक्षाहरूमा बरोबर उल्लेख गर्ने गर्छन्।
यसै कारणले गर्दा नायिकाहरूले नाकको भन्दा नाइटोको कैयौं गुना धेरै स्याहारसुसार गर्ने गर्छन् । नाक जाओस् तर नाइटो नजाओस् भन्ने मूल मन्त्र उनीहरूले साँझ बिहान जपिरहेका हुन्छन्, स्मरण गरिरहेका हुन्छन् । मेरा धान भए मेरै नाइटोमा कुटुँला, अरूको ढिकीमा किन धाउँला भन्ने ढिपी पनि उनीहरूले गर्न छाडिसकेका छन् ।
कलिवुड, बलिउड वा हलिउड जहाँसुकैको चलचित्र जगतमा पनि लोकप्रियता, ख्याति, आकर्षण र ग्लेमरको मापक नाइटोलाई नै ठान्ने गरिन्छ । यिनै कुरालाई ध्यानमा राखेर बढीभन्दा बढी दर्शकलाई नायिकाको जाज्वल्यमान नाइटो देखाउन चलचित्रकर्मीहरू उद्यत हुन्छन् ।
प्राय: धेरै खालका दर्शकको चासो पनि नायिकाको नाइटोमै केन्द्रीत हुन्छ। उनीहरू नायिकाको नाक, मुख भन्दा पनि नाइटोमै आफ्नो दृष्टि एकोहोर्यााएका हुन्छन्। कला, बोलीको उतारचढाव, हाउभाउ, कटाक्ष, मुद्रा, अङ्ग परिचालन, कथाका पात्रसितको अन्तरघुलनको भन्दा पनि नाइटोकै लेखाजोखा गर्नमा बहुसंख्यक दर्शकले आफ्नो विवेक र बल खर्च गर्ने गर्छन्। फलानी नायिकाको भन्दा फलानीको नाइटो अब्बल वा कम्सल भन्ने कुराको भीषण विवाद र संवादपनि कहिलेकाहीँ चरमोत्कर्षमा पुग्ने गरेको देखिन्छ ।
नायिकाहरूले बेलाबेलामा आफ्ना विरोधीहरूलाई आफ्नो श्रेष्ठ अङ्ग नाइटोमा गिद्धे नजर लगाएको भन्ने धमाकेदार गम्भीर आरोप लगाएर विरोधीलाई थाङ्लेबाङले र हायलकायल तुल्याई सोत्तर पारेको खबर पनि चलचित्र जगतमा बेलाबेलामा सुन्न पाइन्छ । यसरी हेर्दा नायिकाको नाइटो एके-४७ भन्दा पनि शक्तिशाली हतियार भएको र सात रेक्टर स्केलभन्दा पनि बढी हलचल ल्याउन सक्ने भूकम्प केन्द्र भएको कुराको पुष्टि सजिलै हुन्छ । त्यसैले सरोकारवालाले नायिकाको नाइटोको बारेमा धेरै समय तन्मय भएर लागे पनि बेलाबेला सतर्कता अपनाउनु पनि उत्तिकै जरुरी हुन्छ।
केही नायिकाहरू नाइटोलाई हतियार नबनाई नाट्य कलाकी साधिका बन्न चाहन्छन् । यो चाहना पूरा गर्नलाई भने उनीहरूले ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ । भगीरथ प्रयत्न र साधना गर्दागर्दै पनि हात लाग्ने सफलता नगण्य नै हुन्छ । त्यसैले गर्दा कतिपय नायिकाहरू यस्तो लाग्छोडको स्थितिबाट वाक्क दिक्क भएर नाट्यकला क्षेत्रबाटै तिरोधान भएको खबर बेलाबेलामा सुनिन आउँछ। कलाको गला निमोठेर बिचरीहरूले आलु प्याजको बन्दव्यापार गर्नुपर्ने असहज स्थिति आइलागेको कुरा पनि सुनिनमा आइरहन्छ ।
यस लेखुवाले उपर्युक्त शीर्षकमा कलम कुदाउन थालेको थाहा पाएर शुभेच्छुकहरूले जानीजानी भौरोमा हात नहाल्न सुझाव दिएका थिए। तर काग कराउँदै गर्छ पिना सुक्दै जान्छ भन्ने उक्ति सम्झेर मैले मेरा कलमको निब भाँचिन दिइनँ।
जाने बोल, नजाने गर्दनको मोल भन्ने लोकोक्ति सुनाउँदै नायिकाको नाइटोउपर कलम चलाउने छुद्दे राख्नु धारिलो तरबारको धारमा हिँड्नु जत्तिकै जोखिमयुक्त हुन्छ भन्ने हिदायत मेरा शुभचिन्तकहरूले मलाई दिएकै हुन् तैपनि मैले वास्ता गरिनँ । अरूले पाङ्दुरे ठाने पनि आफूलाई श्रीपेचका विपक्षमा समेत वजनदार तर्कहरू फलाकेको दाबी गर्ने यस स्वघोषित ज्याद्रो लेखकले अच्छिउँ खाएँ बच्छिउँ खाएँ झुसे बारुलो भन्ने भनाइ उनीहरूलाई सुनाउँदै कलम नरोकेकै हो । यसबापत जेजस्ता विपत्तिहरू आइलागे पनि सहुँला बुझाउँला, भुसुल्टिउँला, हलालीको सामना गर्नु परे पनि गरुँला भन्ने मेरो बलियो अठोट छ । यही बेहोरा खुलस्त पार्दै नाइटोको सारयुक्त विवेचनको यहीँ बिट मार्ने अनुमति चाहन्छु ।
०००
सन्धिखर्क (हाल : चन्द्रागिरी ११)
Subscribe
Login
0 Comments
Oldest









































