गायत्री परिरोशनीजन्मदिनको शुभकामना पुत्र !
एउटा पोथीले जन्माएको भाले केटो, संसारका सबै पोथीहरुलाई सक्ने जति माया र सम्मान गर्नु समाजले यो त पोथी जस्तो भने–भनुन् पटक्कै वास्ता नगर्नु ।

गायत्री लम्साल :
आहा गज्जब
अनुशासित र इमान्दार बनेर 
के–के नै नाप्छु भन्ने
आजको जमानाको खराब केटो ।
बच्चादेखि नै पढ्–पढ्
भन्नै नपर्ने बेइमान केटो ॥
टिनएजको शुरुवात सँगै
आफ्नै पौरखमा रमाउने
सरस्वतीलाई खुशी पारेर
लक्ष्मीको हात च्याप्प समाउने
हरेक पल काममा रमाउने,
बेकामी केटो ।
आज तिम्रो जन्मदिन
मैले पढेको गणित भन्दा बढी
असंख्य शुभकामना ॥
काँचो उमेरमा नै
बूढो उमेरको हलो समाउने ।
मेरो अनफ्रेस अनुहार देख्दा
के–भो माते भनेर कराउने ॥
अलि–अलि बिसन्चो हुँदा समेत
झ्याप्पै थर्मोमिटर समाउने ।
थाहा छैन बरै,
तीनपानेको जुस अनि धुम्रपान
सधैँभरी दुःध,दही, महीमा नै रमाउने ॥
आधुनिक जमानाको पाखे केटो
आज तिम्रो जन्मदिन ।
म जन्मेको भूगोल भन्दा
फराकिलो शुभकामना ॥
एउटा पोथीले जन्माएको
भाले केटो,
संसारका सबै पोथीहरुलाई
सक्ने जति माया र सम्मान गर्नु
समाजले यो त पोथी जस्तो भने–भनुन्
पटक्कै वास्ता नगर्नु ।
फोस्रा आडम्बर विरोधी
अहिलेको तिम्रो तन र मनले
आजीवन निरन्तरता पाओस् ।
तिम्रा अदम्य पौरखका ज्वारभाटाले
सफलता, उन्नती र प्रगतिका
सुनामी ल्याओस् ॥
आज तिम्रो जन्मदिन
मेरो मनमा अट्ने भन्दा धेरै
रासमा– रास अनि
खासमा– खास शुभकामना ॥
कहिल्यै गाली गर्न नपर्ने
बदमास केटोलाई
आफू बत्तीस लक्षणले पूर्ण हुनु
अनि सोह्र लक्षणले धपक्क बलेकी
साथी मिलोस्,
हरपल हरकाममा सधैँभरी
सँगसँगै हिडोस् ।
हरेक जन्मदिनले बाँच्नुको
उचाई थपोस्,
आज तिम्रो जन्मदिन
सु–स्वास्थ्य र दिर्घायूको कामना ॥
घरको, देशको र विश्वको
सम्राट बनेर,
युगौँयुग बाँचिरहनु ।
प्यारो पुत्रलाई
जन्मदिनको अशेष शुभकामना ॥
०००
स्याङ्जा










































जन्मदिनको हार्दिक शुभकामना भाइ । 💐🎂🍰❤️