हेम अधिकारीभानुको जन्मोत्सव
बाजेले थर्काएपछि उताबाट देवकोटाले नरम तरिकाले भनेछन् “बाजे पनि हुल्याहा, छुल्याहा, मुल्याहा, धुताहा, मुताहा र सुताहाकै बाहुल्य भएसि कसलाई के अह्राउनु र ।

हेम अधिकारी :
भानुबाजे हरेक वर्ष मनाइनेलाई जन्मोत्सव भन्दा रहेछन् । एकपटक मोतीरामले केही मान्छेको मण्डली लिएर बाजेकहाँ गएर “हामी पनि बाजेको जन्मदिन मनाउँछौँ” भनेर अनुमति मागेछन् । बाजे ता आगो भएर कड्किएछन् “ए केटा के भन्या हँ, वर्षैपिच्छे मान्छे जन्मिन्छ काहीँ । मेरो जन्मदिन ता उहिले आमाका गर्भबाट खुत्रुक्क धर्तीमाताका काखमा खसेको दिन पो त । वर्षाैपिच्छे मनाइने ता जन्मोत्सव पो हो । केको जन्मदिन ? कहाँ न कहाँ चौखुरी बाहाँ केक काट्न सिकेपछि सक्कली कुरा पनि नक्कली बनाउन सिकेछौ । तिमीजस्ता केटा के भाका हँ । मनाए मनाओ नमनाए कण्डैसित् ।”
बाको थेगोजत्तिकै रहेछ त्यो ता । आफ्नै हाकिमलाई ता छोराको ब्रतबन्ध गर्न पैसा माग्दा “कण्डैसित् भनि बक्सियो यदि भने मान्न्याछु तेही पनि” भन्ने बा । मोतीसँग गएको मण्डलीले “हवस् त्यसोभा जन्मोत्सव नै मनाउछौँ” भनेर आफ्नो एकेडेमीतिर फिरेछन् ।
बाजेलाई पनि झोँक चलेछ । यसपालि आफैँ पो मनाउनु पर्यो जन्मोत्सव भनेर गमेछन् । यसो बिचारी ल्याउँदा आफ्नै जन्मभूमिमा मनाउनु बेस लागेछ । त्यसो भएपछि अलकापुरीमै मनाउने तामसुर कसेछन् । उनको आलकापुरी कान्तीपुरी आइपुग्दा ता बिर्केटोपी लाएको टाउको चिल्चिलाउने गरी पसिना आउँदा तीनछक्क पनि परेछन् । धुलाले खाजा ता मस्तै भएछ । अब पानी पिउन भनेर एउटा हिटिमा गएछन् के को पानी हुनु मान्छेका सानीको बिसर्जनले नाका’ प्वाल झन्नै टालिएछन् । एकसिलोक कथुरी हालेछन् :
न त छन् हिटि धार कुवा पुरमा
सब छन् लुटने धुतने सुरमा
अति भो खति भो क्षति भो पगरी
छलका पुरि भ्रान्तिपुरी नगरी ।
अब कहाँ जाने भनेर गमखाँदा आफ्नै पाठशाला ठिक ठानेर खुरुखुरु लागेछन् । यसो आइपुगेर हेर्दा र बिचारी ल्याउँदा ता के को भानु हुनु सेक्सपियर माध्यमिक विद्यालय पो भैसकेछ । बाजे अमिलो मन पारेर एकछिन् नयाँ स्वरूपमा मुस्कुराईरहेकी तरुनी झैँ रानीपोखरीलाई देखेर भोको बाघजस्तै मख्खै परेर उभिएछन् ।
अलिक पर एकेडेमी छ भन्ने सुनेकाले त्यता लागेछन् । मास्तिर जमल चोकमा पुग्दा अल्मलिएर उभिएका ता आफ्नै सिलोक “पथ सात फुटे बस नौ गजको, सिट बीस भए भिड सौ तकको ” जिउँदै देखेर टुप्पी तातेछ र देवकोटालाई फोन गरेर थर्काएछन् । “हन ए लक्ष्मी, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनी अह्राएर आएँ बाजे भन्थ्यौ त खोइ ? तासकन्दमा नि तिमीले नेपाललाई राम्ररी उचालेका सुनेथेँ । तिमी ता जौडे अरे त । अम्रिकाने चैँ तिमीले भन्या तेह्रवर्षमै पुगेछन् जूनमा हाम्रा चैँ उल्टो धुनमा । यसो बेलाबखत अह्राइकराइ गर्नु पर्दैन ?”
बाजेले थर्काएपछि उताबाट देवकोटाले नरम तरिकाले भनेछन् “बाजे पनि हुल्याहा, छुल्याहा, मुल्याहा, धुताहा, मुताहा र सुताहाकै बाहुल्य भएसि कसलाई के अह्राउनु र । किन जानु भा’ हामीलाई यसो नसुनाई । छिटो फिर्नू यतै त्यहाँ केको जन्मोत्सव हुन्छ सबै केके भैसके अनि केकको बड्डे रे ।”
छलका दल देख्छु जताततै
बरु फिर्दछु लेख्छु मता उतै ।
भनेर माथि देवकोटाले एक चिलिम पनि चिलिमचौतारी नपारी पुगिहालेछन् ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































