हेम अधिकारीघुर्मैला सपनाहरू
पित्तलभुँडीहरू गुप्तबास थिए । कृष्णजीको मुरली नै हाम्रो बोली भन्नेहरू शब्दहीन थिए । भविष्य ठिँगुरामा थियो । उता चौरमा भेडाका बथानहरू तन्द्रामै यताउता गर्थे ।

हेम अधिकारी :
अकास धुम्मियो । गड्याङ्गुडुङ् थर्कमान गरेर वादलले थर्कायो । बिछट्टको खडेरीले बालीनालीको शासन गर्ने प्रकृतिसँग किसान आक्रोशित थिए । युवाहरू प्रचण्ड खडेरीले धुलाम्मे पारेका सडकमा राम्ररी हिँड्न सकिरहेका थिएनन् न त खेलमैदानमा नै आनन्दपूर्वक खेल्न पाएका थिए । दिनानुदिन बढेको गर्मी र प्रदूषित वातावरणबाट मुक्ति पाउने छटपटिमा थिए । यस्तैमा अचानक दरररर दर्के मानी पर्यो । पानीमात्रै परेन वादलका दलहरू यसरी मडारिए कि चट्याङ र विजुलीका चमकले गर्नुहार गर्यो । उफ्रिँदै नाचेर भविष्य खोजिरहेका कैयौँ मृगशावकहरूको अनाहकमा ज्यानको आहुती भयो । पुर्खादेखिका इतिहास बोकेका कैँयौँ गोठहरू निमेश भरमा उठेको ज्वालामुखीको लाभाले झैँ खरानी बनाइदियो ।
सङ्ग्राम,सहज, मिजास र सराहनाहरू तन्द्रामै यी यावत् सपना देखिरहेका थिए । सायद यो उग्र रूपको कल्पना गरेका थिएनन् । उनीहरूका सपना तिनै भविष्य खोजिरहेका मृगशावका झैँ सुन्दर र विश्वास,भरोसाले भरिएका थिए । सबैका साझा थिए । सपना पूरा गर्न आफ्नै आहुती दिँदै जुर्मुराए । उनीहरू साँच्चै जुर्मुराएर उठे तर कुनैँ बलिया साँडेहरूले उनीहरूका सपना पूरा गर्ने जिम्मा लिइसकेका थिए । आकाश पानी बिहिन बादलले अत्याँस लाग्दो बनाएको थियो । नदी र झरनाहरू कल्कलाउन डराउँदै थिए । उनीहरूका ती सुन्दर सपनाहरू कतै घुर्मैला हुदै थिए ।
सपना अझ गाढा भए । दृढअठोट बोकेका उनीहरूका सपना निरन्तर अघि बढिरहे । प्रकिृतिको त्यो रौद्र रूप परिवर्तन भएर खै कस्तो घुर्मैलो देखिने रूप अगाडि आयो । उनीहरूले तन्द्रामै स्वागत गरे । हौसलासाथ होइन सतर्कता साथ । तैपनि अब किसानका अनुहार उज्याला होलान्,ती उमङ्गसाथ त्यो रौद्ररूपको प्रहारबाट कैयौँ साथी गुमाएका कल्कलाउँदा मृगशावकहरूका सपना साकार होलान् भनेर केही ढुक्क हुन खोजे ।
सङ्ग्रामहरूका सपना अचानक तब घुर्मैला हुन थाले जब आशा गरिएकी नयाँ प्रकृति स्वरूपा सिंहिनीबाट उनीहरूका सपना पूरा गर्न नसक्ने भनेर ऐलान भयो । नयाँ वादल आउला,राम्रो वर्षा होला, सुदूर निहारिका निलिमा स्वच्छ भएर आउला,प्रदूषण अन्त्य होला भनेर देखेका सपना क्रमशः घुर्मैला हुन थाले । नयाँ प्रकृति सत्ताबाट पुराका केहीथान कोलाहललाई ता ठेगान लाउलान् तर सपना के हुने हुन् भनेर उनीहरू तन्द्रामै बर्बराउन थाले । “ हाम्रा कुरा पूरा हुनै पर्छ । कतिका जीवन सौन्दर्य विलिन भए, कति अलन्तारमा छटपटाउँदै छन् । त्यसैले हाम्रा सपना साकार हुनै पर्छ ।
अर्को भन्थ्यो “ हामी फेरि आँधीबेहरी बोलाउछौँ । हाम्रो त्यो तुजुक कमाजोर भएको छैन ।” अर्को भन्थ्यो “हाम्रा कुरा सबै वनवासीका साझा हुन् त्यसैले हामी पूरा गराएरै छाड्छौँ नत्रभने प्रकृति सत्ताको यो रूपलाई आँधीले उडाएर अर्को रूप बनाउछौँ ।” अर्को कराउँथ्यो “हाम्रा बाजेहरूले सपना देखे तर घुर्मैलामै बिलिन भए,हाम्रा बाहरूले सपना देखे घुर्मैलामै बिलिन भए,हाम्रा दाजुहरूले सपना देखे घुमैलामै बिलिन भए । सपना टुक्रिएरै हाम्रा कैयौँ पुस्ता बिते । अब हामी साकार पारेरै छाड्छौँ । हामी आजका युवा हौँ भन्ने कुरा बुझाउन चाहन्छौँ ।” एकसे एक तन्द्रामा कराउँथे,चिच्याउँथे,थर्कमान बनाउँथे ।
उनीहरू मात्रै होइन सारा प्रकृति तन्द्रामा थियो । रिमोट कहाँ पर्दा कहाँ । हिमश्रृङ्खला पहरामा अटल रहेर पनि अन्योल देखिरहेको थियो । धरणी अश्रुपुरित नजरले सन्तानका लास हेरिरहन्थिन् । अनपेक्षित रगत र खरानीले उनी आहत थिइन् ।
पित्तलभुँडीहरू गुप्तबास थिए । कृष्णजीको मुरली नै हाम्रो बोली भन्नेहरू शब्दहीन थिए । भविष्य ठिँगुरामा थियो । उता चौरमा भेडाका बथानहरू तन्द्रामै यताउता गर्थे । धेरैका एउटै बथानमा थिए । कहीँबाट कुनै गोठालाले सुइइइ पारेर पसेल्थ्यो । केही भेडाहरू त्यता लागेर उसैको लागि भ्या भ्या गर्थे । अर्कोले अर्कातिरबाट पसेल्थ्यो केही भेडाहरू उसको पछि लागेर भ्या भ्या गर्थे । यी सबै संग्रामहरूका टोलीका सपनामा जादुगर थिए । बिउँझन खोज्थे फेरि तन्द्रामा सपनामा झुलिहाल्थे । सपनैमा थर्कमान पार्थे तर हर्कमान आफ्नो बिरानो नचिनिने साँझ वा बिहान जस्तै ।
आँधीबेहरी पछिको सन्नाटामा निलिमा पनि तन्द्रामा सपना देखिरहेको थियो संग्रामहरू झैँ । सपना सकिँदा शिकारीहरूको राज नहोस् भनेर दृढविश्वासका थप सपना बुनिरहेका थिए । तर सपना घुर्मैला थिए । विगतका आँधीबेहरी पछिको अवस्थाको इतिहास झल्झली आउँथ्यो जसले सपना घुर्मैला बनाउन प्रेरित गर्थ्यो ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































