अमर अधिकारीडेन-जी विरुद्ध जेन-जी !
कान समातेर उठबस गर, जनतासँग माफी माग्दै भन्ने गर- “हामीले बिरायौँ, हामी धन कमाउनेतिर मात्र लाग्यौँ, तपाईँहरुको पीरमर्का बुझ्ने फुर्सदै भएन। अब हामी जनताकै लागि उठ्ने छौँ, कस्सम !!”

अमर अधिकारी :
२०४६ सालमा जनताले के के न पाउँला भनेर बहुदल ल्याए, न गोरु ब्याए न त बोका ब्याए ! एउटा खोस्टो संविधान वाहेक अरु के देखिएको छ मुलुकमा ? तातो न छारोका कुरा गर्छन् डेन्जरनाक डेन-जीहरु अर्थात् देशघाती नेताहरु। तीनटाउके रावणमध्ये कहिले कुन कुन टाउको मिलेर सर्खार बनाउने अनि भ्रष्टाचार गरेर डुङडुङती गन्हाउने। जनता हेरेको हेर्यै् मुलुकलाई वैदेशिक ऋणले बेरेको बेर्यै। ठूला भनाउँदा पार्टीका तोरिलाउरे नेताहरुले मुलुकलाई नै भड्खालोमा हाले कलुसित मन सधैभरिलाई पाले। देशको जर्जर अवस्थातिर ध्यान नदिने खाली अनि आफ्नो भकारी भर्नेतिर मात्र लागे सत्तामा बस्ने नेताहरु।
धेरै अपराधीहरुसँग साँठगाँठ गरेर नपुगेर महाठग करोडपति अर्बपति जोगीहरुसँग समेत कमिशन खाए नेताहरुले। जोगीहरु पनि कस्ता कस्ता ढेँडू बाँदर जस्ता। कुनै जोगीले भक्तहरुलाई सम्भोग गर भन्छ भने अर्को पाखण्डी जोगीले सम्भोग नै नगर भन्छ। केटीलाई केटा बनाउने र केटालाई केटी बनाउने मन्त्र १३ सयमा विक्री हुँदासम्म के हेरेका थियौ हो तीनटाउके रावणहरु? अनि कालीलाई गोरी बनाइदिने दाबी गर्ने त्यस्तै जोगीहरुबाट कति हसुर्यौँ फटाहा नेताहरु हो ! हाम्रो गुरुलाई वा बाबालाई छुँदा बित्तिकै कुनै पनि रोग निको हुन्छ भन्दै अन्धभक्तहरुबाट लुटेर सीमा पारी नगद कुम्ल्याएर तारे होटेलहरुमा लगानी गरेका कुरा सर्खारको मगजमा पटक्कै घुसेन।
बलात्कारी, हत्यारा, धोकेबाज जस्ता अपराधी सन्त-बाबा गुरुहरु आफूलाई भगवान सावित गर्न कम्मर कसेका छन्। नेताहरु भने देखे पनि नदेखे झैँ गरेर बसेका छन्। अहिले त सुतेकै होलान् किन कि जेन-जीले उनीहरुको सातो उडाइदिएका छन्। उनीहरुको दिमाग थोत्रो गाडामा राखेर गुडाइदिएका छन्। राजनीतिक ठग, धार्मिक ठग, सामाजिक ठग। ठगहरु पनि कति हुन् कति हाम्रो देशाँ? सबै ठगहरुलाई तीनटाउके रावणका एउटा न एउटा टाउकोले संरक्षण गरेकै थियो।
अख्तियारमा महाभ्रष्टलाई प्रमुख बनाउने तिमीहरु झन महाभ्रष्ट थियौ ए अडबांगे नेताहरु हो ! संस्थानको महाप्रवन्धक नियुक्ति गर्दा प्रत्येकबाट कति-कति करोड खायौ थाहा छैन मलाई ? अनपढलाई संस्थानको सञ्चालकमा नियुक्त गरेका कुरा के मलाई थाहा छैन? मन्त्रीका आसेपासे भनेर चिनिने स्वकीय सचिव र निजी सचिवले मन्त्रालयका सचिवको टेबुलबाट फाइल उठाएर निजी सचिवको कार्यकक्षमा हुलेर नियम कानून भुलेर भित्रबाट चुकुल ठोकेर फाइलमा गडबडी गरेका तिम्रा कार्यकर्ता मार्फत कति कमिशन खायौ तोरिलाउने नेताहरु हो। कर्मचारीलाई उल्लु बनाएर टिप्पणी उठाउन लगाएर निर्णयकर्तासम्म धम्क्याएर, थर्काएर फाइल सदर गर्न लगाएर तिमीहरुले धन थुपार्ने ? कति लोभ हो तिमीहरुलाई ?
कर्मचारीहरुलाई बेबकुफ बनाएर काम पट्याएर कति कमिशन घिच्यौँ हो नेताहरु हो। उल्टै कर्मचारीलाई भ्रष्टाचारी भन्ने अन्धाहरुले नेताहरुले गरेका ज्यादतीका विरुद्ध बोल्दैनन्, किन कि चुनावको अघिल्लो दिन टन्न रक्सी र मासुमा मतदाता विकेपछि नेतालाई के पो गाली गर्थे र कतिपय अबुझ मतदाताहरुले। हुन त नेपालको कर्मचारीतन्त्र ज्यादा नै बदनाम छ। २० प्रतिशत खराब कर्मचारीका कारण ८० प्रतिशत इमानदार कर्मचारीलाई समेत बदनाम गराएका छन् नेताका झोले बनेका सीमित कर्मचारीहरुले। एउटा आलुले बोराभरीको आलु कुहाइदिन्छ भने झैँ केही भ्रष्ट कर्मचारीहरुले गर्दा वफादार र सोझा कर्मचारीलाई धेरै नै मर्का परेको छ।
तीनै ठूला दलमा इमानदार नेताहरु पनि नभएका होइनन, तर के गर्ने राक्षसी प्रवृत्तिका ठूला नेताका कारण ती इमानदार नेता पाखा लगाइए, त्यतिले नपुगेर कता कता भगाइए। नेतालाई प्रमुख अतिथि वा अतिथि बनाइएका साहित्यिक कार्यक्रममा म जाँदै जादिनँ। थाहा नपाएर गएको बेला हलमा नेताको थुतुनो देख्यो कि मेरो पारो चढिहाल्छ।
डेन्जरनाक डेन्जीभन्दा जेनजी नै डेन्जरनाक देखिए। दुईदिनमै तोरीको फूल देखाइदिए चोर फटाहा नेताहरुको। राज्यको ढुकुटी लुटेर मदिरासँग सुकुटी खान पल्केका अनि डान्सबारमा तरुनीहरुसँग सल्केका त्यस्ता पनि कहीँ मन्त्री हुन्छन्? थुक्क नकच्चराहरु हो ! जनताको मनोभावनालाई कुल्चिनुसम्म कुल्चियौ है ? डन, तस्कर, माफियालाई सिंहदरबारभित्र छिर्न कसैले छेक्नसक्दैन। तर सोझा नेपालीहरु सिहदरबारभित्र छिर्न पाउँदैनन्। आफ्नो देशको प्रशासनिक केन्द्र सिंहदरबार कस्तो छ हेरौँ न त भनेर गेटमा पासका लागि घन्टौ कुर्छन्। पास लिएर छिर्नखोज्दा सुरक्षाकर्मी कडाइ गर्छन्।
सिंहदरबारभित्र सरकारी नम्बर प्लेटका गाडीभन्दा निजी नम्बरका अर्थात् रातो नम्बर प्लेटका गाडीहरु बग्रेल्ती देखिन्छन्। यस कुराले के प्रष्ट पार्छ भने सिंहदरबारभित्र देशभक्त मान्छेहरु छिर्नपाउँदैनन्। म कार्यरत मन्त्रालयका स्वकीय सचिवले १५ जनालाई पास पठाएपछि प्रवेश पास पाएका सबैजना सिंहदरबारभित्र छिरेर पर्यटन मन्त्रीको कठालो समाउँदै हातपात गरेका थिए।
नेताहरुले खराब मान्छेहरुसँग अंकमाल गरेका कारण नयाँ युवाको आक्रोस खेप्नुपर्यो । मैले त अन्दाज गरेकै थिएँ अति भयो भनेर। अब त कुनै शक्ति उदाउनुपर्ने हो, उदाउँछ पनि होला भनेर मैले जुन अडकल गरेको थिएँ। मैले सोँचे वमोजिम जेन-जी नामको विशाल समूह खडा भयो। सक्कली जेन-जीभन्दा पनि नक्कली जेन-जीको उदय पनि सँगसँगै भयो। जसले आगजनी र तोडफोड गरेर सक्कली जेन-जीको बदनाम गर्यो ।
तीनटाउके रावणका घरका भकारीमा नगदैनगद भेटियो, ती नगद लुटिए। त्यसरी नगद लुटिनुभन्दा सैनिकको सहयोगमा सकुशल संकलन गरेर हेडक्वार्टरमा लैजानुपर्थ्यो र विकास निर्माणमा खर्चिनुपर्थ्यो । ती राक्षसरुपी ठूला नेताहरुले राज्यकोषबाट लुटेका नगदलाई सदुपयोग गरेको भए उत्तम हुनेथियो। ट्यांकीमुनी ट्यांकीमा धन थुपार्ने कस्ता नेता हुन् ती ? हुन त नेताका लठैतहरुले कामकुरा मिलाउने, कमिशन ल्याउने अनि नेताका घरघरमा केही अंश थुपारिदिने काम पक्कै गरेकै हुन्। सोझा सिधा कार्यकर्ताहरुले त्यस्तो किन पो गर्लान् र टाठाबाठा कार्यकर्ताकै कारण ठूला नेताहरु धनाढ्य भएका र सातपुस्ता पुग्ने धन कुम्ल्याएकै हुन्। तस्करसँग मिल्यो नगद ल्यायो बाँडीचुँडी खायो माफियासँग पनि त्यस्तै अन्य अपराधीहरुलाई चोख्याउने र धन गुटमुट्याउने अर्थात् जिप्टाउने काम मात्र भयो हाम्रो मुलुकमा।
देश बर्बादीका धेरै कारणहरु देख्ने यो लेखक पनि एक हो। साहित्य-लेखनतर्फ आधा दर्जन कीर्तिमान कायम गरेको मात्र होइन आधा दर्जन उपाधि वा उपनाम पनि पाएकै छु, त्यस्तै नेताका झोलेहरुबाट पनि आधा दर्जन धम्की खेपेकै लेखक हूँ म। देश बर्बाद पार्ने नेताहरु हो ! अब टाउको उठाउने काम नगर, यो सरकारलाई चुनाव गर्न जुट्ने वातावरणमा सहयोग गर ! कान समातेर उठबस गर, जनतासँग माफी माग्दै भन्ने गर- “हामीले बिरायौँ, हामी धन कमाउनेतिर मात्र लाग्यौँ, तपाईँहरुको पीरमर्का बुझ्ने फुर्सदै भएन। अब हामी जनताकै लागि उठ्ने छौँ, कस्सम !!”
राजासँग बदला लिन सरकारी उद्योगहरु ध्वस्त पार्दै लगे डुकुलण्ठक नेताहरुले अनि रोजगारका लागि विदेशतिर धकेल्नथाले ऋण काढेर गए विचरा गाउँलेहरु। रेमिट्यान्समा उल्लेख्य मात्रामा रेकर्ड कायम भयो भनेर खुशी मान्ने नेताहरु देशका लागि घातक हुन्। विदेशमा मजदुरी गर्न पठाउन बाध्य पार्ने त्यस्ता नेता मुलुककै लागि भार हुन्। निजामती विधेयक दश वर्षसम्म पनि नटुङ्ग्याउने, खाली घरिघरि भत्ता मात्र चपाउने र पचाउने यस्ता अघोरी नेताहरुबाट जनताले आशा गर्नु ? बेकार छ। अब यी तीनटाउके रावणका कुनै पनि टाउको उठ्यो कि लाठोले हिर्काइहाल्नुपर्छ है देशभक्तहरु हो ! समयमै चेतना भया !!!
हरि ॐ तत्सत !!!
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest









































