साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इन्जिनविनाको रेल

हामीले सिकेका छौं– पहिले रेल कुदाउनुपर्छ, इन्जिन पछि जोडिन्छ । र, यदि इन्जिन कहिल्यै जोडिएन भने पनि त्यो समस्या होइन । किनकि त्यसबेलासम्म हामीसँग नयाँ घोषणा हुनेछ, ‘अर्को रेल आउँदै छ ।’

Nepal Telecom ad

मदन लम्साल :

सरकारले संसद् फेस गर्न नसकेर ल्याउन लागेको हो र ? बालेन सरलाई संसद्को कचकच सुन्ने समय नभएर रे ! सरकारले चाहेको भए त फेसबुक स्टाटसबाटै ल्याउन सक्थ्यो नि ! तर संविधानप्रति दया लागेर बडो जुक्तिले अध्यादेश ल्याउने भो । किनकि हतार छ नि त ।

सरकार विकास गर्न आतुर देखिन्छ, त्यसैले ऊ निकै हतारमा देखिन्छ । ओलीको रेल नगुडे पनि रवि–बालेनको रेलले लिक समात्छ कि क्या हो हँ ? हाम्रो देशमा अहिले विकासको रेल ठूलो उत्साहका साथ प्लेटफर्ममा उभिएको छ । उद्घोषक कराउँदै छन्, ‘यो रेल अब सीधै समृद्धितर्फ जानेछ ।’ यात्रुहरू उत्साहित छन्, झ्यालबाट टाउको निकालेर हात हल्लाइरहेका छन् । रेलका डब्बा चम्किएका छन्, पेन्टिङ ताजा छ, झण्डा फहराइएको छ । तर मात्र एउटा सानो समस्या छ– इन्जिन भने छैन । पटरी बिछ्याउन नभ्याईकन रेल कुदाउन तयार । किनकि सरकारलाई छिट्टै केही गरेको देखाउनु छ ।

तर विनाइन्जिनको रेल कुदाउन समस्या चाहिँ छैन । किनकि हाम्रो देशमा इन्जिनभन्दा उद्घाटन महत्त्वपूर्ण हुन्छ । यहाँ रेल चलोस् या नचलोस्, उद्घाटन राम्रो हुनुपर्छ । फोटो राम्रो आउनुपर्छ । क्याप्सन अझ राम्रो हुनुपर्छ । किनकि सरकार छिटो विकास गर्न आतुर छ ।

त्यसैले सरकारले संसद् अधिवेशन हठात् अन्त्य गरेरै भए पनि पाँचओटा अध्यादेश ल्याउँदै छ । अरु पनि अध्यादेशको बाढी नै छ रे ! पहिले अध्यादेश सिध्यादेश भन्थे, अहिले त अध्यादेश कुदा देश हो रे ! सरकारले संसद् फेस गर्न नसकेर ल्याउन लागेको हो र ? बालेन सरलाई संसद्को कचकच सुन्ने समय नभएर रे ! सरकारले चाहेको भए त फेसबुक स्टाटसबाटै ल्याउन सक्थ्यो नि ! तर संविधानप्रति दया लागेर बडो जुक्तिले अध्यादेश ल्याउने भो । किनकि हतार छ नि त ।

हाम्रो समस्या के हो भने हामीले विकासलाई लामो समयदेखि सपना भनेर चिन्यौं । सपना पनि त्यस्तो, जहाँ हिमालहरू उद्योगहरूले गुञ्जिन्छन्, तराई पर्यटकहरूले भरिन्छन्, युवाहरू विदेश होइन, आफ्नै देशमा पसिना बगाउँछन् । तर भइदिन्छ ठीक उल्टो । सपनामा एउटा पात्र सधैं छुट्छ– विकासको इन्जिन चलाउने पात्र अर्थात् निजी क्षेत्र । किनकि सपनामा गुड्न र उड्न इन्जिन चाहिँदैन ।

निजी क्षेत्रले अर्थतन्त्रको ८० प्रतिशतभन्दा बढी भारी सकीनसकी बोकिरहेको छ । रोजगारी दिएको छ । राजस्वको ठूलो हिस्सा तिरेको छ । तर, ऊ त हाम्रो समृद्धिको खलनायक हो । ऊ करचोर हो, ‘मुनाफाखोर’ हो । यो देशमा नाफा कमाउनु अपराध हो भनेर नबुझ्ने नि उद्यमी हुन्छ ? सफल उद्यमी हुन अपराध गरेकै हुनुपर्छ । त्यसैले खोजी खोजी उद्यमीलाई जेलको हावा खुवाउनुपर्छ । आन्दोलनमा त आगो मात्रै लगाएको हो, असली सजाय त बाँकी नै छ ।

नाफाको एकमात्र हकदार सरकार हो । उसलाई नाफा कमाउने राजस्व जसरी र जति पनि लिन पाउनुपर्छ । तर व्यवसायीको काम दिनु हो । रोजगारी दिने, राजस्व दिने । लिन खोज्ने त देशद्रोही हो । सरकारजस्तै राजनीति गर्नेहरूले पनि लिनेमात्र हो, दिने होइन ।

त्यसैले हाम्रो देशमा अहिले एउटा अनौठो वैज्ञानिक प्रयोग चलिरहेको छ, इन्जिनविना रेल कसरी कुदाउने ? संसारका विश्वविद्यालयहरूले वर्षौं लगाएर पनि समाधान गर्न नसकेको यो प्रश्न हाम्रो सरकारले चुट्की बजाएर हल गर्ने आत्मविश्वास देखाएको छ ।

रेल कुदाउन इन्जिन चाहिन्छ भन्ने सोच नै पुरानो हो । विनाइन्जिन कुदाउन त नयाँ सरकार आएको छ, अब रेल इन्जिनले होइन, इच्छाशक्तिले कुद्छ । इच्छाशक्ति बलियो भयो भने पटरी आफै बिछिन्छ, डब्बा आफै जोडिन्छ र गन्तव्य आफै नजिक आउँछ ।

नयाँ दृष्टिकोणअनुसार निजी क्षेत्र भनेको इन्जिन होइन– ऊ त्यो भारी सामान हो, जसले रेललाई ढिलो बनाउँछ । त्यसैले पहिले त्यसलाई हलुका पार्नुपर्छ । कसैलाई जेलमा राखेर, कसैलाई अनुसन्धानमा अल्झाएर, कसैलाई करको भार थपेर । यसरी विकासे रेल हलुका हुँदै जान्छ । हलुका रेल छिटो कुद्छ भन्ने वैज्ञानिक सत्यलाई हामीले बल्ल बुझ्दै छौं ।

कत्तिले सोध्छन्, ‘खै पहिले कुरा सुनेको, उद्यमीलाई किन यति हतारमा थुनेको ?’ नयाँ युगमा प्रमाण पछि आउँछ, कारबाही पहिले हुन्छ । किनकि समय छैन । देश बनाउन हतार छ । र, विकासमा सबैभन्दा ठूलो बाधा के हो ? प्रक्रिया र विधि । त्यसैले प्रक्रिया हटाइयो, विधि मिच्न थालियो । सीधै परिणामतर्फ जाने बाटो खोलियो ।

हामीसँग एउटा अद्भूत न्यायशास्त्र पनि विकास हुँदै छ, कारबाही गर्न दोष प्रमाणित हुनुपर्दैन, शंका लागे पुग्छ । किनकि भविष्यमा कसैले गल्ती गर्न सक्छ भन्ने सम्भावना पनि अब जोखिम मानिन्छ ।

राजनीतिक परिवर्तनसँगै भाष्य पनि परिवर्तन भयो । पहिले निजी क्षेत्रलाई ‘साझेदार’ भनिन्थ्यो, अहिले ‘सन्देहास्पद’ भनिन्छ । यो प्रगति हो । किनकि साझेदारले प्रश्न सोध्छ, सन्देहास्पद चुप बस्छ ।

हाम्रो विकासको मोडेल पनि निकै मौलिक छ । अरू देशहरूले निजी क्षेत्रलाई बलियो बनाएर अघि बढे । उनीहरूले विकासको इन्जिनलाई तेल हालेर, संरक्षण गरेर गति दिए । हामीले त्यो बाटो रोजेनौं । हामीले इन्जिनलाई पहिले परीक्षण गर्ने निर्णय गर्यौं, कति सहन सक्छ भनेर ।

त्यसैले, कहिले कर बढाइन्छ, कहिले नियम बदलिन्छ, कहिले अनुसन्धान शुरू हुन्छ । यो सबै उत्पीडन होइन, ‘सहनशीलता परीक्षण’ हो है । जसले यो सबै सहन्छ, ऊ नै साँचो उद्यमी हो । अनि, जसले सहन सक्दैन, ऊ बाहिर जान्छ । देश हलुका हुन्छ । रेल अझ छिटो कुद्छ ।

कत्तिले भन्छन्, ‘यो सबैले उद्यम गर्न गाह्रो बनाउँछ ।’ तर त्यो बुझाइ अधुरो हो । गाह्रो नभएको उद्यम के उद्यम ? सजिलो भए त सबैले गरिहाल्थे त । हामीलाई विशेष क्षमता भएको उद्यमी अर्थात् अधम मानिस चाहिएको छ, जसले नियमको जंगल पार गर्न सक्छ, अनिश्चितताको आँधी सहन सक्छ, र पनि मुस्कुराउँदै लगानी गर्न सक्छ ।

देशमा अहिले एफिसेन्सी ल्याउने भनेर घोषणा चलिरहेको छ, चिन्तन चलिरहेको छ, कारबाही चलिरहेको छ, आशा चलिरहेको छ । अनि विकासको रेल पनि चलिरहेको छ, कम्तीमा उद्घोषणामा ।

यात्रुहरू अझै झ्यालबाट बाहिर हेर्दै छन् । कोही उत्साहित छन्, कोही अलमलमा । तर सबैलाई एउटा कुरा थाहा छ, रेल चल्नैपर्छ । किनकि घोषणा भइसकेको छ । हामीले सिकेका छौं– पहिले रेल कुदाउनुपर्छ, इन्जिन पछि जोडिन्छ । र, यदि इन्जिन कहिल्यै जोडिएन भने पनि त्यो समस्या होइन । किनकि त्यसबेलासम्म हामीसँग नयाँ घोषणा हुनेछ, ‘अर्को रेल आउँदै छ ।’

०००
अभियान दैनिक (१८ वैशाख, २०८३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
मानवता

मानवता

लक्ष्मी रिजाल
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x