साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इन्जिनविनाको रेल

हामीले सिकेका छौं– पहिले रेल कुदाउनुपर्छ, इन्जिन पछि जोडिन्छ । र, यदि इन्जिन कहिल्यै जोडिएन भने पनि त्यो समस्या होइन । किनकि त्यसबेलासम्म हामीसँग नयाँ घोषणा हुनेछ, ‘अर्को रेल आउँदै छ ।’

Nepal Telecom ad

मदन लम्साल :

सरकारले संसद् फेस गर्न नसकेर ल्याउन लागेको हो र ? बालेन सरलाई संसद्को कचकच सुन्ने समय नभएर रे ! सरकारले चाहेको भए त फेसबुक स्टाटसबाटै ल्याउन सक्थ्यो नि ! तर संविधानप्रति दया लागेर बडो जुक्तिले अध्यादेश ल्याउने भो । किनकि हतार छ नि त ।

सरकार विकास गर्न आतुर देखिन्छ, त्यसैले ऊ निकै हतारमा देखिन्छ । ओलीको रेल नगुडे पनि रवि–बालेनको रेलले लिक समात्छ कि क्या हो हँ ? हाम्रो देशमा अहिले विकासको रेल ठूलो उत्साहका साथ प्लेटफर्ममा उभिएको छ । उद्घोषक कराउँदै छन्, ‘यो रेल अब सीधै समृद्धितर्फ जानेछ ।’ यात्रुहरू उत्साहित छन्, झ्यालबाट टाउको निकालेर हात हल्लाइरहेका छन् । रेलका डब्बा चम्किएका छन्, पेन्टिङ ताजा छ, झण्डा फहराइएको छ । तर मात्र एउटा सानो समस्या छ– इन्जिन भने छैन । पटरी बिछ्याउन नभ्याईकन रेल कुदाउन तयार । किनकि सरकारलाई छिट्टै केही गरेको देखाउनु छ ।

तर विनाइन्जिनको रेल कुदाउन समस्या चाहिँ छैन । किनकि हाम्रो देशमा इन्जिनभन्दा उद्घाटन महत्त्वपूर्ण हुन्छ । यहाँ रेल चलोस् या नचलोस्, उद्घाटन राम्रो हुनुपर्छ । फोटो राम्रो आउनुपर्छ । क्याप्सन अझ राम्रो हुनुपर्छ । किनकि सरकार छिटो विकास गर्न आतुर छ ।

त्यसैले सरकारले संसद् अधिवेशन हठात् अन्त्य गरेरै भए पनि पाँचओटा अध्यादेश ल्याउँदै छ । अरु पनि अध्यादेशको बाढी नै छ रे ! पहिले अध्यादेश सिध्यादेश भन्थे, अहिले त अध्यादेश कुदा देश हो रे ! सरकारले संसद् फेस गर्न नसकेर ल्याउन लागेको हो र ? बालेन सरलाई संसद्को कचकच सुन्ने समय नभएर रे ! सरकारले चाहेको भए त फेसबुक स्टाटसबाटै ल्याउन सक्थ्यो नि ! तर संविधानप्रति दया लागेर बडो जुक्तिले अध्यादेश ल्याउने भो । किनकि हतार छ नि त ।

हाम्रो समस्या के हो भने हामीले विकासलाई लामो समयदेखि सपना भनेर चिन्यौं । सपना पनि त्यस्तो, जहाँ हिमालहरू उद्योगहरूले गुञ्जिन्छन्, तराई पर्यटकहरूले भरिन्छन्, युवाहरू विदेश होइन, आफ्नै देशमा पसिना बगाउँछन् । तर भइदिन्छ ठीक उल्टो । सपनामा एउटा पात्र सधैं छुट्छ– विकासको इन्जिन चलाउने पात्र अर्थात् निजी क्षेत्र । किनकि सपनामा गुड्न र उड्न इन्जिन चाहिँदैन ।

निजी क्षेत्रले अर्थतन्त्रको ८० प्रतिशतभन्दा बढी भारी सकीनसकी बोकिरहेको छ । रोजगारी दिएको छ । राजस्वको ठूलो हिस्सा तिरेको छ । तर, ऊ त हाम्रो समृद्धिको खलनायक हो । ऊ करचोर हो, ‘मुनाफाखोर’ हो । यो देशमा नाफा कमाउनु अपराध हो भनेर नबुझ्ने नि उद्यमी हुन्छ ? सफल उद्यमी हुन अपराध गरेकै हुनुपर्छ । त्यसैले खोजी खोजी उद्यमीलाई जेलको हावा खुवाउनुपर्छ । आन्दोलनमा त आगो मात्रै लगाएको हो, असली सजाय त बाँकी नै छ ।

नाफाको एकमात्र हकदार सरकार हो । उसलाई नाफा कमाउने राजस्व जसरी र जति पनि लिन पाउनुपर्छ । तर व्यवसायीको काम दिनु हो । रोजगारी दिने, राजस्व दिने । लिन खोज्ने त देशद्रोही हो । सरकारजस्तै राजनीति गर्नेहरूले पनि लिनेमात्र हो, दिने होइन ।

त्यसैले हाम्रो देशमा अहिले एउटा अनौठो वैज्ञानिक प्रयोग चलिरहेको छ, इन्जिनविना रेल कसरी कुदाउने ? संसारका विश्वविद्यालयहरूले वर्षौं लगाएर पनि समाधान गर्न नसकेको यो प्रश्न हाम्रो सरकारले चुट्की बजाएर हल गर्ने आत्मविश्वास देखाएको छ ।

रेल कुदाउन इन्जिन चाहिन्छ भन्ने सोच नै पुरानो हो । विनाइन्जिन कुदाउन त नयाँ सरकार आएको छ, अब रेल इन्जिनले होइन, इच्छाशक्तिले कुद्छ । इच्छाशक्ति बलियो भयो भने पटरी आफै बिछिन्छ, डब्बा आफै जोडिन्छ र गन्तव्य आफै नजिक आउँछ ।

नयाँ दृष्टिकोणअनुसार निजी क्षेत्र भनेको इन्जिन होइन– ऊ त्यो भारी सामान हो, जसले रेललाई ढिलो बनाउँछ । त्यसैले पहिले त्यसलाई हलुका पार्नुपर्छ । कसैलाई जेलमा राखेर, कसैलाई अनुसन्धानमा अल्झाएर, कसैलाई करको भार थपेर । यसरी विकासे रेल हलुका हुँदै जान्छ । हलुका रेल छिटो कुद्छ भन्ने वैज्ञानिक सत्यलाई हामीले बल्ल बुझ्दै छौं ।

कत्तिले सोध्छन्, ‘खै पहिले कुरा सुनेको, उद्यमीलाई किन यति हतारमा थुनेको ?’ नयाँ युगमा प्रमाण पछि आउँछ, कारबाही पहिले हुन्छ । किनकि समय छैन । देश बनाउन हतार छ । र, विकासमा सबैभन्दा ठूलो बाधा के हो ? प्रक्रिया र विधि । त्यसैले प्रक्रिया हटाइयो, विधि मिच्न थालियो । सीधै परिणामतर्फ जाने बाटो खोलियो ।

हामीसँग एउटा अद्भूत न्यायशास्त्र पनि विकास हुँदै छ, कारबाही गर्न दोष प्रमाणित हुनुपर्दैन, शंका लागे पुग्छ । किनकि भविष्यमा कसैले गल्ती गर्न सक्छ भन्ने सम्भावना पनि अब जोखिम मानिन्छ ।

राजनीतिक परिवर्तनसँगै भाष्य पनि परिवर्तन भयो । पहिले निजी क्षेत्रलाई ‘साझेदार’ भनिन्थ्यो, अहिले ‘सन्देहास्पद’ भनिन्छ । यो प्रगति हो । किनकि साझेदारले प्रश्न सोध्छ, सन्देहास्पद चुप बस्छ ।

हाम्रो विकासको मोडेल पनि निकै मौलिक छ । अरू देशहरूले निजी क्षेत्रलाई बलियो बनाएर अघि बढे । उनीहरूले विकासको इन्जिनलाई तेल हालेर, संरक्षण गरेर गति दिए । हामीले त्यो बाटो रोजेनौं । हामीले इन्जिनलाई पहिले परीक्षण गर्ने निर्णय गर्यौं, कति सहन सक्छ भनेर ।

त्यसैले, कहिले कर बढाइन्छ, कहिले नियम बदलिन्छ, कहिले अनुसन्धान शुरू हुन्छ । यो सबै उत्पीडन होइन, ‘सहनशीलता परीक्षण’ हो है । जसले यो सबै सहन्छ, ऊ नै साँचो उद्यमी हो । अनि, जसले सहन सक्दैन, ऊ बाहिर जान्छ । देश हलुका हुन्छ । रेल अझ छिटो कुद्छ ।

कत्तिले भन्छन्, ‘यो सबैले उद्यम गर्न गाह्रो बनाउँछ ।’ तर त्यो बुझाइ अधुरो हो । गाह्रो नभएको उद्यम के उद्यम ? सजिलो भए त सबैले गरिहाल्थे त । हामीलाई विशेष क्षमता भएको उद्यमी अर्थात् अधम मानिस चाहिएको छ, जसले नियमको जंगल पार गर्न सक्छ, अनिश्चितताको आँधी सहन सक्छ, र पनि मुस्कुराउँदै लगानी गर्न सक्छ ।

देशमा अहिले एफिसेन्सी ल्याउने भनेर घोषणा चलिरहेको छ, चिन्तन चलिरहेको छ, कारबाही चलिरहेको छ, आशा चलिरहेको छ । अनि विकासको रेल पनि चलिरहेको छ, कम्तीमा उद्घोषणामा ।

यात्रुहरू अझै झ्यालबाट बाहिर हेर्दै छन् । कोही उत्साहित छन्, कोही अलमलमा । तर सबैलाई एउटा कुरा थाहा छ, रेल चल्नैपर्छ । किनकि घोषणा भइसकेको छ । हामीले सिकेका छौं– पहिले रेल कुदाउनुपर्छ, इन्जिन पछि जोडिन्छ । र, यदि इन्जिन कहिल्यै जोडिएन भने पनि त्यो समस्या होइन । किनकि त्यसबेलासम्म हामीसँग नयाँ घोषणा हुनेछ, ‘अर्को रेल आउँदै छ ।’

०००
अभियान दैनिक (१८ वैशाख, २०८३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x