साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गालीको समाजशास्त्र

जब यो देशमा गाली नै सबैभन्दा प्यारो र सर्वमान्य अभिव्यक्ति हो भने यसको महिमा किन नगाउने ? त्यसैले, यदि कसैले तपाईंलाई गाली गर्यो भने नरिसाउनु है ।

Nepal Telecom ad

मदन लम्साल :

नेपालमा केवल दुई कुरा खुब विक्री हुन्छन्– ताली र गाली । गाली नेपाली समाजको सार्वभौम–स्वीकृत–स्वर हो । यो त्यही त्यो भाषा हो, जुन संसददेखि तरकारी बजारसम्म उस्तै धाक, उस्तै धारका साथ बोलिन्छ । रमाइलो त के छ भने यसमा दोभाषे चाहिँदैन । तपाईं पूर्वेली हुनुहोस्, पश्चिमेली हुनुहोस्, मधेशी, पहाडी, थारू जे सुकै हुनुहोस् गाली चाहिँ मजाले बुझ्नुहुन्छ । गालीले हरेक नेपालीको गालामा लाली ल्याउँछ ।

गाली यति ‘लोकतान्त्रिक’ छ कि बच्चाले खेल्दै–खेल्दै सिक्न सक्छन् र हजुरबुबाले अन्तिम सास लिँदासम्म पनि प्रयोग गर्न सक्छन् । गालीले न जाति हेर्छ, न धर्म, न भाषा । त्यसैले त टियूमा गालीमा थेसिस पनि लेखिएका छन् ।

‘समता’को सबैभन्दा कडा–कसिलो–कटु सिद्धान्त नै शायद यही हो । संविधान लेख्नेहरूले साँच्चै समानताको आधार खोजेका भए, संविधानको पहिलो वाक्य हुन्थ्यो, ‘नेपाल गाली–प्रधान गणतन्त्र हो ।’ गाली त्यो पुल हो, जसले धनी–गरीब, पढेका–नपढेका, शहर–गाउँ, नेता–जनता–सबैलाई समान स्तरमा ल्याएर जोडेको छ ।

गालीको समाजशास्त्र पनि कम रोचक छैन । जहाँ तर्क टुट्छ, त्यहीँ गालीको राज्याभिषेक शुरू हुन्छ । बहसमा विचार हराउँदा मानिसले गालीको झटारो हान्छ । यो नेपाली भाषाको ब्रह्मास्त्र हो । गाली त्यो बन्दुक हो, जोसँग सहनशीलता शब्द नै छैन । गाली ती पढे–लेखेका मानिसका हातको ढाल हो, जसलाई आफ्नो ‘विद्वत्ता’ बचाउनुपर्ने हुन्छ, देखाउनुपर्ने हुन्छ ।

अझ रमाइलो के छ भने हामी गालीलाई रिससँग जोड्छौं, तर यसको जन्मस्थान त प्रेम, अपनत्व र आत्मीयतामा पो छ । कुनै साथी भेटिँदा भन्छ, ‘ओई गधा ।’ र अर्कोले हाँस्दै अँगालो हाल्छ । त्यसैले सोच्नुस् त, गाली कति लचिलो र लोभलाग्दो छ ।

राजनीतिमा त गालीको प्रयोग झन् उच्चस्तरको छ । एउटाले अर्कोलाई न्वारानदेखिको बल निकालेर गाली गर्छन्, भोलिपल्ट सत्तामा जान अँगालो हाल्छन् । जनताले नबुझेर झगडा ठानिरहेका हुन्छन् । समाजले यसलाई ‘नीच’ माने पनि गाली वास्तवमा भाषा, सत्ता र समाजलाई हल्लाउने सबैभन्दा शक्तिशाली स्वर हो ।

गालीको सबैभन्दा ठूलो रंगमञ्च राजनीति नै हो । नेता जब मञ्चमा उभिन्छन्, उनका दर्शन र सिद्धान्तले जनता जाग्दैनन् । तर जति बेला गालीको वर्षा शुरू हुन्छ, भीडमा त करेन्ट नै लागेजस्तो हुन्छ । गाली सुन्नासाथ जनता यति उत्साहित र उत्तेजित भइदिन्छन् कि ताली ठोकेर भोट हालीहाली नेतालाई सिंहासनको ढोका खोलिदिन्छन् ।

रमाइलो त के भने गाली जति असभ्य, स्वागत त्यति नै ‘सभ्य र भव्य’ । भिडबाट ताली, सिट्ठी र जयजयकार गुन्जन थाल्छ । राजनीतिमा गाली रणनीति हो, यसकै भरमा मत तानिन्छ, सरकार ढल्छ, नयाँ गठबन्धन बन्छ । नेताका लागि गाली त तलवारको धार हो, गालीविना राजनीतिक भाषा उस्तै हुन्छ, नूनविनाको दालजस्तै–खान मिल्छ, स्वाद हुँदैन ।

गालीको सांस्कृतिक धार पनि उत्तिकै मनोरम । भारतीयहरू गान्धीमा, युरोपेलीहरू शेक्सपियरमा गर्व गर्छन्, हामी आफ्नै ‘गाली भण्डार’मा । हरेक प्रदेश, प्रत्येक भाषाभाषी, प्रत्येक समुदायको आआफ्नै ‘गाली–शब्दावली’ छ । कसैले आफ्ना गालीमा खेतीपाती मिसाउँछ, कसैले पशुपन्छीको जन्ती नै उतारिदिन्छ त कसैले स्त्री वर्गलाई तानेर ल्याउँछ । गालीमा रचनाशीलताको यस्तो विविधता पाइन्छ कि कवि–सम्मेलन पनि धेरै पछि पर्छ ।

कसैले गालीलाई ‘असभ्य’ भन्छन् । तर मान्नुस् लोक–संस्कृतिको असली आकृति यिनै गालीका शब्दहरूले देखाउँछन् । किसानले हलो चलाउँदा, मजदूरले बोझ उठाउँदा, चालकले सडक पार गर्दा, गाली उनका दैनिक मन्त्र हुन् । तपाईं मान्नुस् या नमान्नुस्, गालीविना यो देश आधा घण्टा पनि चल्न सक्दैन । विश्वास लागेन ? सामाजिक सञ्जाल हेर्नुस् त । पूरै देश ‘गाली–साहित्य’को ग्राफिटी–ग्यालरी बनिसकेको छ ।

अब तपाईं भन्नुहोला, गाली त खराब । म भन्छु, गाली त आत्म–शुद्धि हो । यसो सोच्नुस् त, पति कार्यालयमा हाकिमको हप्की खाएर आउँछ । घरमा खान बस्यो, नून बढी हुन्छ । अब बिचरा के गरोस् ? यदि गाली नहुने हो भने कि त ऊ हार्ट अट्याकले ढल्छ, कि कवितामा पलायन हुन्छ । धन्न गालीले नै उसलाई बचाउँछ । गाली नै उसको मनको ‘भेन्टिलेटर’ हो, उसको भावनाहरूको ‘सेफ्टी भल्भ’ हो । डाक्टरले नलेख्लान्, तर गालीले नै रक्तचापलाई नियमित बनाइदिन्छ । गाली नभएको भए समाज उहिल्यै मानसिक अस्पतालको मेनगेटमा पुगिसक्थ्यो ।

गालीको आर्थिक उपयोगिता पनि कम छैन । यो सबैभन्दा सस्तो, सरल र प्रभावकारी अभिव्यक्ति हो । पैसा खर्च नगरी गाली पस्किनुस्, अगाडिको मान्छे शिथिल भइहाल्छ । वकिलले शुल्क माग्छ, डाक्टरले प्रेस्क्रिप्शन लेखेबापत फी, गुरुजीले दक्षिणा माग्छन्, तर गाली ? पूर्ण निःशुल्क । र अझ त्यसमाथि असर त बिजुलीजस्तै तत्काल हुन्छ ।

यसैले प्रायः विवादहरू गालीका दुई–चार थोपा पर्नेबित्तिकै मिलिहाल्छन् । अदालतमा केसहरूको फैसला महीनौं र वर्षौं लम्बिन्छन् । गालीको फैसला त तत्क्षण आइहाल्छ । त्यसैले म भन्छु, गाली गरीबको अदालत हो । अब सोच्नुस् त गाली गर्नु सधैं मूर्खता हो र ? होइन नि । बरु कैयौंपटक त गाली नै होशियारी हो ।

नेताले भिड तान्न गाली प्रयोग गर्छन् । लेखकले किताबमा गाली राखेरै साहित्यिक पुरस्कार हात पार्छन् । चलचित्रमा गाली काटिदिए सेन्सरले पास गर्छ, तर दर्शकले पास गर्दैनन् । समाज जुन शब्दहरूबाट डराउँछ, त्यही शब्द बजारमा सबैभन्दा बढी बिक्छ । गालीको व्यापार चलिरहेकै छ, पत्रपत्रिकाहरूदेखि सामाजिक सञ्जालसम्म । हिजोआज त गाली ट्रेन्डिङमै जान्छ । समझदारले त्यसलाई ‘निःशुल्क प्रचार’मा बदलिदिन्छन् ।

गाली अपशब्द होइन, शब्दब्रह्म हो । यो नेपाली जीवनको रस, रक्त, रिदम हो । गालीले हँसाउँछ, हलुका बनाउँछ, सत्ता हल्लाउँछ, साहित्यलाई ताजा बनाउँछ, समाजलाई जोड्छ । त्यसैले यसो सोच्नुस् त, जब यो देशमा गाली नै सबैभन्दा प्यारो र सर्वमान्य अभिव्यक्ति हो भने यसको महिमा किन नगाउने ?

त्यसैले, यदि कसैले तपाईंलाई गाली गर्यो भने नरिसाउनु है । त्यो तपाईंलाई नेपालको जीवित परम्पराको समारोहमा सहभागी गराएको हो । गालीमा उसको असन्तोष मात्रै होइन, तपाईंको अस्तित्वको स्वीकारोक्ति पनि हुन्छ ।

अन्त्यमा, गालीले नै हामीलाई बराबरी बनाउँछ । गाली सार्वभौमिक छ । त्यसैले गाली खानु र ख्वाउनु नै लोकतन्त्रको पवित्रतम कर्म हो । बरु आउनुस्, यो लोक–धर्ममा जुटौं ।

०००
अभियान (शुक्रबार, २६ मंसिर, २०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x