साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई तु मन्त्री बनाइयोस्

कालोलाई सेतो, हारलाई जित, भ्रष्टाचारलाई अवसर र असफलतालाई ‘भिजन’ बनाउन सक्छु । त्यसैले मलाई मन्त्री बनाउनु भनेको देशलाई मुक्ति दिलाउनु हो र मलाई रोक्नु भनेको राष्ट्रिय प्रगति रोक्नु हो ।

Nepal Telecom ad

मदन लम्साल :

प्रधानमन्त्रीजी नयाँ मन्त्री कसलाई बनाऊँ भनेर खोज्दै हुनुहुन्छ रे । मन्त्री बन्ने मान्छे नपाएर मन्त्रिमण्डल विस्तार रोकिएको छ रे । मजस्तो योग्य व्यक्तिलाई नचिन्नु प्रमको ठूलै कमजोरी हो ।

मन्त्री बन्न चाहनु मेरो जन्मसिद्ध अधिकार हो । तपाईंलाई थाहा होला कि सोच्न दिने कुरामा संविधान मौन छ । यसको अर्थ के हो भने तपाईंले जति चाहनुहुन्छ, त्यति सोच्न पाउनुहुन्छ वा चाहनुभयो भने त्यति नै नसोच्न पनि पाउनुहुन्छ ।

ठूला मान्छेहरू भन्छन्, ‘सपना ठूला देख्नुपर्छ ।’ महान् मानिसहरू त भन्छन्, ‘साना सपना देख्नु त अपराध हो ।’

वयले म जेनजी होइन, तर भावनाले त पूरापूर जेन नै हुँ नि । त्यसमाथि मेरा छोराछोरीहरू त जेन नै हुन् । त्यसैले उनीहरूको सन्तोष, असन्तोष, ह्याशट्याग र पोस्टको अर्थ मलाई राम्ररी थाहा छ । शुरूका मन्त्रीहरू पनि जेनजी त थिएनन् । मन्त्री बन्न जेनजी नै हुनुपर्छ वा उसले सिफारिस गरेको हुनुपर्छ भन्ने पनि त छैन नि ।

म ब्राह्मण हुँ, तर जातपातवादी होइन । मेरा साथीहरू सबै जातका छन्, र मैले उनीहरूका घरमा भात पनि खाइसकेको छु । त्यसैले म सबै समुदायबीच पुल बन्न सक्छु ।

म पत्रकार हुँ । समाचारको एंगल बदल्ने कला मलाई आउँछ । त्यसैले देशका समस्याको पनि एंगल बदल्न सक्छु । रिपोर्टिङले सरकार हल्लाउँछ, लेखाइले बहस उठाउँछ र म शब्दले एजेन्डा सिध्याउन सक्छु । देख्नुभएन, एउटा रिपोटिङले जेनजी अभियानका बेला एउटा पाँचतारे होटल नै खरानी भयो ।

फेरि म जत्तिको क्षमतावान् मान्छेलाई मन्त्री नबनाए कसलाई बनाउने त ? म मन्त्री बन्न योग्य छु कि छैन भन्ने सोच्नु मेरो काम होइन । सोच्नु त चंगा उडाउनु जस्तै हो । जसको हातमा धागो रह्यो, उसकै सपना आकाशमा पुग्छ ।

मेरो छिमेकका एक नेताजी भन्छन्, ‘तिमीले मन्त्री, प्रधानमन्त्री बन्ने सपना देख्नु पाप हो । तिमी त एउटा पत्रकार, व्यंग्यकार र लेखक न हौ । लेखेरै आफ्नो खुशी बढाउँदै जाऊ । बढी पारिश्रमिक पाउने सपना देख । तिम्रो व्यक्तित्वलाई पनि त्यो मेल खान्छ । फेरि किन अरूका फाटेका सपनामा आफ्ना आँखा छिराउन खोज्छौ ? यदि सपना देख्ने रहर छ भने मदन पुरस्कारको सपना देख, जगदम्बाश्री पुरस्कार, साझा पुरस्कार वा प्रज्ञा पुरस्कारको सपना देख । यी पुरस्कारहरूका लागि हजारौंले आवेदन दिएका छन् । तिम्ले पनि एकपटक आवेदन दियौ भने त्यसले सरकारलाई कुनै वित्तीय संकट पर्नेवाला त छैन । यही तिम्रो फिल्डको ठूलो सपना पनि हो ।’

मैले आपत्ति जनाएँ, ‘तपाईं मेरो हिम्मत तोडिरहनु भएको छ । लोकतन्त्रमा सबैलाई आफ्ना सपनाको अधिकार छ ।’

नेताजी मुस्कुराएर भने, ‘लोकतन्त्रमा जनताले त्यही मात्र सपना देख्ने अधिकार पाउँछन्, जुन सरकारले देखाउँछ । विकासको सपना देख, त्यो पूरा होस् वा नहोस् । तर अन्य सपना देख्यौ भने देशद्रोही ठहरिन्छौ ।’ र, यो कुरा पनि ख्याल राख कि ‘भिड’ कानून जस्तो आँखा नदेख्ने र कान नसुन्ने हुँदैन । भिडको अदालतमा न वकिल हुन्छ, न मिति वा तारिख लिनुपर्छ । भिडको न संसद् हुन्छ, न सिंहदरबार हुन्छ, न सर्वोच्च अदालत ।

नेताजीको यो कुरा मलाई मन परेन । म त एक संवेदनशील लेखक हुँ । गरीब, आदिवासी, दलित र पछाडि परेकाहरूको आवाज बन्न चाहन्छु । म जे उल्टो–सीधा लेख्छु, अन्ततः उनीहरूको हितका लागि नै लेखिएको हुन्छ । म यति शिष्ट छु कि म कुनै घर चोर वा कर चोरलाई चोर भन्दिनँ । किनकि घर चोर वा कर चोर्ने त सामान्य चोर हुन् । यहाँ पूरै देश लुट्नेहरू त ससम्मान समाजमा हिँडिरहेका छन्, उल्टै चर्को भाषण गर्दै अर्ती उपदेश छर्दै हिँडिरहेका छन् । ममा के समस्या छ र मन्त्री वा प्रधानमन्त्री बन्न बाधक भयो ? मसँग कुनै नीति वा दृष्टिकोण छैन होला, तर त्यसले के फरक पर्छ र ? राजनीतिमा यस्ता कुराहरू हिजोआज कोसँग पो छ र ?

‘हेर्नुस् भाइ’ नेताजीले भन्न थाले, ‘केवल सपना देखेर मात्र केही हुँदैन । तिमीले आफ्ना यस्ता अनुचित धारणा बताएर आफ्नै टीआरपी खराब गर्ने मात्र हो । मन्त्री बन्ने सपना त केवल उसले मात्र देख्न सक्छ, जसमा क्रान्तिको छाप, जेनजीको चाप वा पिठ्युँमा कसैको धाप छ । त्यो नभए छलछामको ताप, बोलीको चर्को राप वा ठूला र छिमेकीहरूको प्रताप चाहिन्छ । सपनाहरूको साझा र सजिलो बाटो छैन कि जो कोही ऐरे गैरे पनि छाती फुलाएर, शिर ठाडो गरेर मन्त्री बनिहाल्न सक्छ ।’

‘म कुनै ऐरेगैरे होइन नि नेताजी’ मैले अलि ठूलो स्वरमा जवाफ दिएँ, ‘देशका नामी पण्डितहरूसँग सोध्नुस्, मेरो वंशको जन्मपत्री पण्डितहरूसँग रजिस्टर छ । दुई–चारजना युट्युबे त मैले पनि चिनेको छु । अर्कोले भन्दा चर्को स्वरमा देश बचाउने भाषण दिन सक्छुु । खासमा मन्त्री हैन, प्रधानमन्त्री बन्ने ल्याकत छ ममा ।’

नेताजीले हाँस्दै भने, ‘अब त मन्त्री योग्यता हैन, ह्याशट्यागको सहाराले बन्छन् । त्यसैले तिमीले पनि कुन समूहको आशिर्वाद लिने हो पहिल्यै सोच्नुपर्छ । अर्थात् मन्त्री बन्ने त्यत्रो ठूलो रहर छ भने पहिलेजस्तो नातागोताले वा हामीजस्ता नेताले भन्दा हिजोआजका जेनजी केटीकेटाले सिफारिश गरेको बढी लाग्छ रे । यत्ति कुरा पनि अहिलेसम्म बुझेका छैनौ र ?’

तर म सोच्दैछु, प्रधानमन्त्रीलाई मैले चिनेको छैन । मन्त्री बन्ने मेरो सपना पूरा गर्न अब म कुन चैं जेनजी समूहको शरणमा जाऊँ त हँ ? किनकि जेनजी समूह पनि एकथरी दुईथरी भए पो । त्यसैले मलाई मन्त्री बनाउन तपाईंले पनि सिफारिश गर्दिनुपरो । जेलमा बसेकादेखि जिम्मेवार पदमा बसेर पनि काममा फेल भएकाहरूले आफूलाई मन्त्री बनाउन तताएजस्तै मेरो नामले पनि सामाजिक सञ्जाल तताउन परो क्या ! किनकि देशले मैजस्तो बहुमुखी, बहुभाषी, बहुजातीय, बहुदृष्टिकोणीय व्यक्ति पर्खिरहेको छ ।

मुख्य कुरा त मलाई मन्त्री बनाएपछि देशको सबै समस्या स्वतः हल हुनेछन् । किनभने म दृष्टिकोण पनि बदल्न सक्छु, कालोलाई सेतो, हारलाई जित, भ्रष्टाचारलाई अवसर र असफलतालाई ‘भिजन’ बनाउन सक्छु । त्यसैले मलाई मन्त्री बनाउनु भनेको देशलाई मुक्ति दिलाउनु हो र मलाई रोक्नु भनेको राष्ट्रिय प्रगति रोक्नु हो । अब जलाउन बाँकी केही नभएकाले देश त चलाउनै पर्यो । देश चलाउन मन्त्रीहरू त हुनैपर्यो । त्यसैले मलाई तुरुन्त मन्त्री बनाइयोस् । अहिले नै ।

०००
अभियान (२०८२, शुक्रबार, ३१ असोज)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अदालत

अदालत

आर.सी. रिजाल
विद्यार्थी जीवन

विद्यार्थी जीवन

अनुश्री आचार्य
सहरिया

सहरिया

सीताराम नेपाल
ससुराली !

ससुराली !

धनराज गिरी
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x