रामप्रसाद अर्याल ‘अविराम’नबास्ने भाले
जुग अनुसार चल्नका लागि भएका भाले चुपचाप बस्न थाले । यदि चुप नबसेर बास्न थाल्ने हो भने त्यस भालेलाई कालले कुत्कुत्यायाे भन्ने जान्दा हुन्छ । हाम्रोतिर भालेहरु बास्दैनन् अचेल तपाईकोतिर नि ?

रामप्रसाद अर्याल :
हेर्दा हेर्दै देख्दा देख्दै के के देख्न परिरहेको छ। के के सुन्नु परिरहेको छ। तर देखे पनि सुने पनि बोल्नु भने हुँदैन बोलिहाल्यो भने बिल्यासै पर्दछ । बोल्यो कि पोल्यो त्यसै भनेका होइनन् रहेछ । आजकल म चुपलागेर बस्ने गरेको छु। हुनत यो मौनव्रत शीतकालमा कोइलीको जस्तो हो। स्यालले बाघको छाला ओडेर म यस जंगलको राजा हुँ भनेपनि जब स्यालको हुईयाँ सुन्छ तव स्वरमा स्वर नमिलाई सुखै पाउँदैन । पारिडाँडामा एउटा स्यालले उई क गर्यो भने वारिडाँडाको श्यालले ह्वा… गरिहाल्दछ । अनित के चाहियो र ? वनमा भएभरिका स्यालको स्यालबास सुन्न पाइन्छ । एकछत्र श्यालको रजाई भएपछि अचेल वनमा कुखुराका भाले बास्दैनन् ।
वनमा भाले बास्दैनन् भन्नुको अर्थ घरमा भाले बास्दछन् भने अर्थ नलगाए हुन्छ । भाले बास्यो भने आफनै वंश नास्यो भन्ने बुझ्दा हुन्छ । सहरका भाले झालेमाले भैसके ज्यान जोगाउन । सहर भनेको बित्पाते बन्ने रहर हो। बित्पाते बनेपछि कसैले जहर पिलाउन सक्दैनन् । बास्ने भनेको भाले जाति नै हो । “तित्रा बास्यो आफ्नै खति भन्ने उखान त्यसै बनेको होइन रहेछ । वनमा बासे चिलले ताक्छ । बारीका कान्लामा बासे बन्दुकेले दाग्छ।
एउटा बन्दुकेको कुरा गरौं । बन्दुकेलाई के थाहा छ भने– जातिको विरोधमा जातिलाई लडायो भने आफूलाई जाती नै हुन्छ । उसले सिकार गर्ने क्रममा एउटा तित्राको बच्चो ल्यायो । पिंजडामा थुन्यो, हुर्कायो , तालिम दियो , सिकायो । केही समयपछि त्यो तित्राको बच्चो बास्ने बन्यो । सिकारीले दिनदिनै तित्रालाई वनमा लिएर जान्थ्यो। तित्रालाई कुनै एक ठाउँमा राखेर आफू झाडीभित्र कतेै लुकेर बस्दथ्यो।
मालिकको इसारामा पिंजडाको तित्रो जव बास्दथ्यो तव वनमा भएका तित्राहरु आफ्नै जातिको, आफ्नै वर्गको, आफ्नै गोलको, आफ्नै टोलको वित्राले बोलायो भन्ठानेर नजिक आउँथे । उसको नजिक भुम्मिन्ये। मौका पर्खेर बसेको सिकारीले तित्राहरुलाई ताकेर बन्दुक सोभ्याउथ्यो। गोली लागेको तित्राको युटुकलेजो झिकेर तात्तातै पिंजडाको तित्रालाई दिन्थ्यो । कलेजो खान पाएको तित्रो पिंजडामै भए पनि सन्तुष्टिमा थियो। आफ्नै वंशका तित्रा मार्न पाएकामा खुशी थियो । तित्रा त अबुझ पंक्षी न हो। बुझकी भन्ठानिने मानव तित्राहरु पनि एक अकालाई भ्रममा पार्न तल्लिन छन् र पो ।
भालेहरुले बासेर उधुम मच्चाउने थलो भनेको आफ्नो धुम हो। अचेल घुमका भालेहरुलाई छानी छानी ,ताकी ताकी निगरानीमा राखिन्छ । कतैे चारा दिएर त कतै सहारा दिएर । ती भालेलाई बास्तमा भने हो भनि प्रतिबन्ध नै लगाइन्छ । बास्नु भनेको कराउनु, बोल्नु, आफ्नो आवाज बुलन्द गर्नु हो। विचेत भएकालाई सचेत गराउन हो।
हिजो हाम्रा पितापुर्खाहरु प्रकृतिसँग निकट थिए । विकट क्षेत्रमा बस्नेहर पनि भालेको पहिलो डाककसंगै उठेर काममा खटिन्थे । दिनभरि जोतिन्ये नरनारीहरु काममा । आकाशका जुनतारा बाटोका सहारा बन्दये। अहिले रातिमा एक्लै कतै कोही हिड्यो भने पिपासुको आहारा बन्दछन् । त्यसको शिकार विशेष गरी भाले जाति पर्दछन् । त्यसैले भुक्मुकके उज्यालो हुन लाग््यो उठ, जाग काममा लाग भनेर कराउने बास्ने भाले अचेल बास्न छाडे। हिजो मान्छेको हातमा घडी थिएन र पो घडीचरीको महत्व थियो। आज मान्छेको हातमा घडी छ।
मान्छे अहिले घडी अनुसार चल्दछन । के दिन के रात । हाम्रा नवयुवाहरू दिनमा सुन्दछन् रातिमा उठ्दछन्। रातभरि अनलाइमा काम गरेर थाकेपछि विहान ब्रह्म मुहुर्तको शुभ साइतमा निद्रादेवीको अंगालोमा मिठो सपना देखिरहेका बेला बासेर निद्रा भंग गरिदिने कुखुरीको भालेलाई भुत्ते खुकुरीको चोट सहनै पर्दछ । यसो पाहुना पाछा आए अथवा चारजना रौसेकेटा जम्मा भए तीनपानेलाई सितन बन्ने भाले नै हो।
हिंजो एकजना अधवैसे जवानले गफगर्दै हुनुहुन्थ्यो । कुर्कुरे वैसको बेला घाँटी खुइलेको भाले पनि छोडिएन । रोगाएर घाँटीका भुत्ला झर्दा रहेछ । उल्टे कुखुरा पनि र्छिोडएन रोगी, बृद्ध, अशक्त, बालबालिकालाई सनातनी कानुनमा छुट छ तर अहिलेको तनातनी जवानामा छुट छैन । त्यसैमा पनि निर्दो पशुको कारेका कले सोचोस । त्यसैले ज्यान जोगाउन जरुरी छ ।
आफ्नो पुंसत्व देखाएर बास्नु हुँदैन । अहिले धेरैले रङ बदलिसके । अथवा भनूँ आफ्नो वास्तविक रङ प्रस्तुत गरे ।
हुँदाहुँदा लामाधामी गर्ने खञ्चुवा मनुबाँहरूले समेत कुन जमानाको वैरी साध्दछन् । भन्दछन्– अक्षेता पाती, धूपवाती, यसो जोखाना हेरे मैं गरेर फेरि थप्दछन “ यो विरामीलाई कालीपारे मरीभसान लागेछ धूप, धर्जा , कालोमास, बेसार, आदि बच्कारेर उठाइ दिनु पर्यो र रातिको ट्याम पारेर एउटा “बास्ने “भाले उठाइ दिनु पर्यो । नत्र विरामी सञ्चो हुन मुस्किल छ ।”
हामीकहाँको एउटा सनातनी रीति, चलिआएको संस्कृति, बडो अचम्मको छ। भगवान, देवी, देउताको पूजागर्ने भन्ने हो भने– चन्दन, अक्षता, फूलपाती नैवेद्य, फलफूल, मिठाइ, पञ्चामृत जस्ता सुस्वादु बस्तु चढाउने गरिन्छ तर हाँस, कुखुरा, परेवा, भेडा, वोका, पाडा, च्वााँचे वा वंगुरको पूजा गर्ने वा पञ्चवली लगाउने भन्ने हो भने ती ती जिवले वली बन्नै पर्दछ । रगत चढाउनै पर्दछ । दोजिया नबनी सुखै छैन । दोजिया बनेपछि बन्ने भनेको छियाछिया हो । मानवको भान्साको मिठो तरकारी।
कतैकतै भालेहरु धेरै बाँसेर दुःख पाएका छन् भने कतै कोही आवश्यक पर्दा पनि नबासेर मौन साधेका हुन्छन् । भाले हुनु भनेको आफ्नो गाउँको खोरको, वा देशको नै पनि भनौ रखवाले हुनु हो। नबोल्लु भनेको घुसघुसे हुन् हो । घुसघुसेले ताल पारेको हुन्छ । धेरै बोल्ने चटपटेले गाल पारेको हुन्छ, भनिन्छ । गाल परेपछि, अवगाल आइलागे पछि एकछिन बोल्नु भन्दा नबोल्नु नै जाती हुन्छ !
भाले हुनु भनेको जान्ने हुनु पनि हो । जान्ने भएर कोही कतै केहीे बेलीहाल्यो भने अहिले उसको जिम्रो थुतिन्छ । गालीको वर्षा हुन्छ। उस्तै परे मार्ने धम्की समेत आउँछ । अहिले महंगी बासी रहेछ । सुकुम्बासी बासी रहेछन् । सदन बासी रहेछ। तर बासेको सुन्नेले सुन्दैन । उजेलो भएको थाहा पाए भाले बास्दो हो। थाह नपाएपछि के गरोस् विचरा। मस्त निद्रामा छ ।
एउटा जाज्वल्यमान सिद्धान्त छ “सुतेको भालेलाई सुत्न देउ उठ्यो भने बास्छ । निद्राको महत्व बुझेकाहरू कामगर्ने बेलामा मस्तसंग सुत्दछन् । उहिले लंकाको राजा रावणको भाइ कुम्भकर्ण मस्तसंग निदाउँथे। रावण भन्दथे भाइ कुम्भकर्णलाई सुतिरहन देछ। उठे भने खाना धेरै चाहिन्छ र, भण्डारै रित्तिन्छ । खाना नपाए रिसिन्छन् र कराउन थाल्दछन् । राजगर्नेहरुलाई कोही कराएको मन पर्दैन । कुनै भाले आफ्नो चित्त नबुझेर करायो भने उसको घाँटी चिलाएको रहेछ भन्ने कुरा बुझकीहरु ले बुझ्दछन् ।
हर्ष बढाइ, पुत बढाइ, कोत बढाइ आदि उत्सव मनाउँदा खुसीयाली दिलाउने काम काटिएरै भए पनि भाले जातिकै हो । “भाले बास्यो“ भनेपछि कालले निम्तो पठायो भन्ने जान्दा हुन्छ ।
इतिहासको कुरा रणबहादुर शाहको पालामा पाल्पामा उजिरसिंह तैनाथ थिए । सोही समयमा बुटवल क्षेत्रमा अंग्रेजसेनासंग लड्न भिड्न पर्ने भयो । उजिर सिंहले जगत्जननी भगवतीसंग विजयको वर मागेर भने “ हे भगवती विजयको आशीक दिनुहोस् अंग्रेज सेनालाई जित्न पाऊँ। यदि जितेर आएँ भने हजुरलाई वर्षेनी पञ्चबलि चढाउँला । उनको नेतृत्वको नेपाली सेनाले जित्यो पनि । त्यसबाट यता पञ्चबलि भगवती– लाई दिइएकै छ। पञ्चबलि चढ्ने भनेको भालेजाति नै हो ।
त्यो लडाइँमा कति योद्धा जोधाहा भालेहरु बलिचढे १ इतिहासकारहरु ले नै जानून् । यहाँ त बलिको बोकाको कुरा छ। भोकाएकाहरुको पेट भर्ने कुरा छ। चाहे देवी देउताको नाममा होस् चाहे मानव दानव बन्दाको अवस्थामा होस बलि चढ्ने भनेको निमुरखो सुधो प्राणी नै हो।
भाले बन्न गाह्रो छ हजुर । सके लखेट्ने न सके लखेटिने । पक्राउ खाइयो भने ऐया। आत्था भन्न समेत नपाइने । यदि भनिहाल्यो भने जिम्रो थुतिने सानो बाख्राको पाठोलाई घर, डहर, छिडीमा, पटाहा, पिंडिमा नाच्यो, उफ्रियो खेल्यो भने या त भैरवलाई भाकिन्छ या अव यसको बेला भयो भनेर चारिन्छ , खसी पारिन्छ । गाईको बहर बाछोलाई सजिन्छ । जुवामा नारिन्छ । हलो जोताइन्छ, लडिया तनाइन्छ । भैंसीका पाडालाई नाक छेडेर बयलगाडामा हिडाइन्छ । जोताइन्छ। वर्षाभार जोतिएका पाडालाई दशैंका बेला किचिमिची पारेर चिची बनाइन्छ । पाडाको मात्र होइन अहिले गाईगोरुको समेत मासु खान पाउँनु पर्छ भन्ने हाननीयहरु छन् ।
गाउँघरतिर एउटा भनाइ छ। विहान जोत्न जाने बेलामा जुर्रे बहर हो क्क्क् काँ गर्दछ ठुलो स्वरले । साँझ मेलो सकेर फर्कने बेलामा त्यसैमो स्वर बोल्न नसकेर का मात्र हुन्छ । भन्छन् भाले भनेको पुरुष हो। पुरुषमा बल हुन्छ । वीर्य हुन्छ। शक्ति हुन्छ । तागत हुन्छ । ऊर्जा हुन्छ । विश्व विजेता बन्ने हिम्मत हुन्छ । त्यसैले पुरुष भनेको सिंह हो सिंह। तर विवाह गरेपछि भने सिंहमाथि दुर्गा सवार हुन्छिन् । अनि कसरी गर्जोस, वनै थर्काउने गरी ।
अहिले कल्पनातीत, आयातित बोइलर, कोइलरको साम्राज्यमा लोकल ओथारो बसेर चल्ला कोरलिएको घडीचरो, कुखुरोको “कुखुरी काँ“ सुनिदैन । बतासे फुलबाट निस्किएका, कोरलिएका चल्ला बास्ने कुरा पनि भएन । हरेक जीवका आआफ्नै गुण, धर्म र स्वभाव हुन्छन् नै । त्यो लुकाउन पनि सकिंदैन, देखाउन पनि सकिँदैन ।
त्यसैले जुग अनुसार चल्नका लागि भएका भाले चुपचाप बस्न थाले । यदि चुप नबसेर बास्न थाल्ने हो भने त्यस भालेलाई कालले कुत्कुत्यायाे भन्ने जान्दा हुन्छ । हाम्रोतिर भालेहरु बास्दैनन् अचेल तपाईकोतिर नि ?
०००
पाल्पा
Subscribe
Login
0 Comments
Oldest







































