
रतेलीको रौनक
राति चल्ने रतेली त दिन घोडे-जात्रा कतिञ्जेल चल्ने होला यस्तो गाई-जात्रा ? रतेली र गाई-जात्रा मिलाएर मात्रा रतेलीको रौनकमा भयो महाजात्रा ।

डा. बमबहादुर जिताली :
तस्करका लस्कर महान ।
खाए देश मिलेर जहान ॥
देखेँ कतै नदेखेको महाजात्रा मैले
गाई-जात्राभन्दा ठूलो जात्रा चल्यो ऐले ।
जल्ले जेजे गरेपनि कल्ले ठोक्न सक्ने ?
रतेलीको स्वतन्त्रता कल्ले रोक्न सक्ने ?
रतेलीमा ठेउवा, कौवा गीत गाउन थाले
पखेटा नै उचालेर नचाउन थाले ।
बाज आयो हानिएर आँखा नचाउँदै
स्याल, कुकुर, गिद्ध आए झनै हँसाउँदै ।
बाँदरको हातपर्यो डल्लै नरिवल
बिरालो र बाघहरू गरे खलबल ।
टाठा-बाठा बलियाले मोज गरी खाए
लाटा-सुधा जनताले खानु दुक्ख खाए ।
जोजो आए खाए गए काम कल्ले गर्यो ?
जल्ले पनि मौका पारी आफ्नै भुँडी भर्यो ।
जल्ले पायो डाडु-पन्यू उल्ले खायो धेरै
सीधा-सादा नारी चाहिँ सधैं हेर्याहेरै ।
राति चल्ने रतेली त दिन घोडे-जात्रा
कतिञ्जेल चल्ने होला यस्तो गाई-जात्रा ?
रतेली र गाई-जात्रा मिलाएर मात्रा
रतेलीको रौनकमा भयो महाजात्रा ।
तस्करका लस्कर महान ।
खाए देश मिलेर जहान ॥
०००
नागार्जुन-१, रानीवन, काठमाडौं
९८४१४९१०८१