नरेन्द्रराज पौडेलमाछो माछो भ्यागुतो
यता माछो माछो भन्दाभन्दै भ्यागुतो पनि समाउन नसक्ता मेरो के हालत होला ? श्रीमान् ड्यारड्यार गर्दै थिए । मन पग्लिएछ क्यार- वनझाँक्री भने ट्यारट्यार गर्दै हिलो खेलिरहेका भ्यागुता जम्मा पारेर पाहुनाको पेरुङ्गो भर्दै थिए ।

नरेन्द्रराज पौडेल :
सधैँ समयमा उठ्थे, हातमुख धुन्थे, अलिअलि व्यायाम र न्यासध्यान गर्थे र सात्विक खानपान सकेर ट्यानछ्यान पर्थे लबेदा सुरुवाल लगाएर । अनि समयमै डायरी कलम बोकेर लेखापढी गर्न अफिसतिर लाग्थे ।
एकदिन बिहानै हाफपेन्ट, टोप, टिसर्ट, गगल्समा खुलेका काउब्वाई देखिएछन् उनी त । अनि काँधमाथि जाल बोकेर अँधेरी खोलातिर लागेछन् । श्रीमान्को चालमाल देख्तै श्रीमतीको सातो उडेछ । आत्तिएर सोधिछन्, ‘हँ न, कहाँ जान लाग्नु भा’को यस्तो गति लिएर !’
‘माछा मार्न जान्छु स्वर्गंगाको मनचिन्ते दहमा’, उनले भनेछन् । संवाद चल्दै गएछ । दुवै हातमा लड्डु छँदाछँदै कसले लगाइदियो यो उट्पट्याङ काम फेरि तपाईलाई ? यो बोसोजनित डाल्डा घिउमा काठेधुलो मिलेर बनेको बाबा रामदेवमाका लड्डुले अमन गरायो । पछि मन फर्किए बरु फेरि यतै घर्किउँला । अहिले लड्डु होइन पिज्जा, बर्गर रोस्टसँगै ऐराँगे द्रवतिर मन तानियो । दिमाग छड्किएर त्यतै हानियो । श्रीमान् महान् उद्देश्यमा खरो उत्रिँदै ताते । खोलातिर गएर त्यो कहाँ पाउनुहुन्छ त अनि ? म घरैमा व्यवस्था गर्छु । बिन्ती त्यो खोलातिर नजानुस् । त्यो अहिले स्वर्गंगा होइन अँधेरी खोला भइसक्यो । विषालु पानीले डमडम्ती भरिएको भूत्याहा दह भन्छन् रे जानिफकारले त्यसलाई । वरिपरि चौबीसै घन्टा डाइने बोक्सीले पहरा दिँदै गर्छन् रे ! बनझाँक्री दिनरात पौडी खेल्ने र जाल हानेर माछा मार्ने गर्छन् रे ! त्यस्तो विषालु पानी भएको कालो दहसम्म पुग्नै सक्नुहुन्न । पुगे पनि त्यहाँको ठण्डापानीमा खुट्टो हाल्नै सक्नुहुन्न । केही जानी हालिहाल्नु भो भने पनि तुरुन्तै रक्तसञ्चार बन्द हुनेछ । नभइहाले पनि शरीरका गतिविधि सबै एकाएक ठ्याप्पै बन्द हुनेछन् । यस्तो दुस्साहस गरेर किन जानुहुन्छ त्यता ?
त्यही बुझेर त म पनि साहसिक यात्रामा लागेको । सुनको माछा जालमा परेपछि सुनको सिंहासनमा बस्न पाइन्छ रे ! उनीहरूसँग मिल्न सक्यो भने बनझाँक्री पनि साह्रै दिलदार हुन्छन् रे ! कसैले सिकारको समय बताइदिन्छन् रे जोखना हेरेर । कुन दिन प्रहर घडी, पला र मुहूर्तमा सुनका माछा त्यहाँ उत्रिन्छन्- मौका छोप्ने व्यवस्था गरिदिन्छन् अरे !
कुनै बनझाँक्रीले कसरी जाल फैलाउने र कसरी दहमा छम्लङ पारेर जाल फाल्ने भन्ने सबै ट्याक्टिस सिकाउँछन् रे ! त्यहाँ परीसँग पासा खेल्न मद्दत गर्छन् रे ! त्यस्तो मौका परे सयौं सयौं स्वर्णमत्स्य हात लाग्न बेर लाग्दैन रे !
श्रीमान् एकोहोरिँदा म्यामको वेदनाविदीणर् स्वर निस्कियो- त्रेतायुगमा रामचन्द्रजीलाई पनि सुनको मृगले भ्रम पारेर सिकार गर्न पछिपछि दौडिँदा पत्नीवियोग खेप्नुपरेथ्यो । पछि त आफ्नै छोराहरू नचिनेर झन्डै घमासान युद्ध परेथ्यो । आफ्नै औरस पुत्रहरूलाई मार्नेमर्नेसम्मको झमेला आइलागेर कतै नभएको दुस्मनी खेप्नुपरेथ्यो । त्यही हालत झन्डैझन्डै कलियुगका पत्नीपीडित साधुरामले पनि बेहोर्नुपरेकै हो । कुकाठको कुर्सीलाई सुनको सिंहासन सम्झिएर थ्याच्च बस्दा फोहोरको डङ्गुरले झ्याप्पै छोपेको घटना यो लोककै लागि बिर्सिनसक्नु भो । अब न नुहाउँदा जाने, न धुँदा निख्रने ? त्यो दुर्गन्धको कुहिरीमण्डलबाट कसरी मुक्त हुन्छन् बिचरा साधुराम ?
दिनमै अँध्यारो र सुरुङजस्तो अँधेरी खोलाको बगरतिर झर्दैमा नानाभाँती दृश्य देखिए । कतै डाइना-बोक्सीहरू हातमा रातानीला बत्ती लिएर कम्मर मर्काई मर्काई नाचिरहेका । कतै नरकङ्कालहरू ठूलाठूला मैदानमा नरमुण्डको भकुन्डो खेलिरहेका । कतै खप्परकै करपात्रमा अघोरी बाबाहरू आलो रगत र मलमूत्रादिको फ्रेस जुसपान गरिरहेका । कतै भूतप्रेतहरू पगरी गुतेर भट्याउँदै मृत्युगीतका जुहारी खेलिरहेका । त्यही रमिता हेर्दाहेर्दै पाइला नबढाइरहेका सिकारी मनुवाले आकाशतिर फर्किएर धूप हाल्दै गरेको बनझाँक्रीलाई सोधेछन्- हैन, यो अँधेरी खोलामा माछा मार्ने दहचाहिँ कता छ ? बनझाँक्री एकपटक झस्किए झैं भए ।
जताततै गड्यौंला, पाहा, भ्यागुता मात्र छन् यो नदीमा । वंशै विनाश भएछ र हो कि माछा चैं पर्दैपर्दैनन् हिजोआज । मैले पनि बुझ्न सकेको छैन । वनझाँक्रीका कुराले तातेका श्रीमान् भन्दा भएछन्- हैन म त माछा मार्ने भनेर यहाँसम्म आएको । उसै फर्कने त कुरै आएन । हामी मान्छेको अधिकारमा किन कटौती ?
माछा छैनन् भनेपछि के मार्छौ तिमी ? माछा जति डाइनामाइट पड्काएर ट्रिपका ट्रिप गए यो खोलाबाट । अब त भुत्रो मारे त हो नि ।
काँचै खाउँला झै गर्दै थिए बनझाँक्री । होइन । अझै सुनका माछा छन् रे यो खोलामा । एउटा मात्रै जालमा पार्न सके पनि काण्ड पुग्छ रे ! जताजता छुवायो त्यतैत्यतै सुनका असर्फी बर्सिने त्यो माछो जसरी पनि हत्याउन भनेर यहाँसम्म आएको । यो अन्धकारमा यत्रो विधि दुःख गरेँ । मलाई रित्तो हात नफर्काऊ वनझाँक्री बा । श्रीमान्को नम्र निवेदन । माछा त तिमी भेट्दैनौ । तर भ्यागुतासम्म भए पनि एक टोकरी बोकेर फर्कन्छु भन्छौ भने द्याट्स ओके । म हेल्प गरौंला । झाँक्री बाको भर्सन ।
माछा छँदैछैनन् भने भ्यागुता नै सही । सीफुडको जमाना छ । कन्टिनेन्टल परिकारमा त भ्यागुता चल्छ होला सर्प, घुँगी, गँगटा, कमिलाजत्तिकै । होइन र ? अघिको चुरीफुरी हराएर कर्कलोजत्तिकै गलेछन् श्रीमान् त ।
यी प्रश्न हामी बनझाँक्रीसँग नगर मनुवा । साइकल बम पड्काइदिउँला अहिले म । जङ्गिए बनझाँक्री । जनी गर झाँक्री बाबा । भ्यागुता नभए पनि यो पेरुङ्गो भरी पठाउने कृपा गर । आखिर म नआउनु आइ त हालें । रुन्चे स्वरमा रुँइँरुइँ बज्दै थिए श्रीमान् बबुरा ।
उसो भए त्यो घुमाउने दह किनाराको सिमसारमा जाऊ । हिलोमा नपस । स्वात्तै गाडिएर बेपत्ता होउला । छेउमा बसेर दुईचारपल्ट जाल हानीहेर । भ्यागुता त पर्लान् । तर ? फेरि के तर झाँक्री बा ? मेरो त जीवनको जहाजै डुब्ने भो । घरवालीले दुई हातका लड्डु छोडेर कता हिँडेको भन्दै हकारिथिन् । यता सुनको माछो हात पारेर सिंहासन सजाउँला र त्यसमाथि थ्याच्चै बसौंला भनेर यत्रो कष्ट गरिसकें । साहसी यात्राकारको फेटमा तीनपुस्ते दरिसकें । तर यता माछो माछो भन्दाभन्दै भ्यागुतो पनि समाउन नसक्ता मेरो के हालत होला ? श्रीमान् ड्यारड्यार गर्दै थिए । मन पग्लिएछ क्यार- वनझाँक्री भने ट्यारट्यार गर्दै हिलो खेलिरहेका भ्यागुता जम्मा पारेर पाहुनाको पेरुङ्गो भर्दै थिए ।
०००
नयाँ वानेश्वर, काठमाडौं
‘अन्नपूर्ण पोष्ट’, १९ फागुन २०६९
Subscribe
Login
0 Comments
Oldest








































