हंसपुरे सुवेदीलोकपद्यगत हास-परिहास र संवाद (१)
जेहोस्, पढ्दा र सुन्दा रमाइलो लाग्ने अर्थमा मुस्कुराहटको मिठास दिँदै हाँस्न बाध्य तुल्याउने, बिस्तारै छेडपेचको वाण हान्ने मिठा रमाइला रचना हास परिहास हुन्, व्यङ्ग्य हुन् ।

हंसपुरे सुवेदी :
हास-परिहास
यहाँ हाँस्नुको शुद्ध सिद्धान्त खास
हस्यौली-ठट्यौली हुनाको विलास,
नयाँ दृष्टिका कोणका मिटभास
यहाँ स्वच्छ पानी भरी ज्योति राश ।
– मनोरञ्जन (२०२४)
यो लोकपद्य हैन र लोकपद्यमार्फत हाँसो वा हाँस्नुको लक्षण पेश गरिएको पनि हैन । यहाँ महाकवि देवकोटाद्वारा पवित्र हाँसोको शुद्ध सोचाइ वा सार, वाग्विलासको हँस्यौली-ठट्यौली हो भनी सङ्केत गरिएको प्रसङ्ग दर्साउन पेस भएको मात्र मनोरञ्जन साधन हो । निश्चय नै शुद्ध, स्वच्छ, उन्मुक्त हाँसोले मानिसमा नयाँ दृष्टिकोणको अलौकिक आलोक भासमान गर्छ, नयाँ ज्योति उदय गराउँछ भन्ने भाव सङ्केत पनि भएको छ यहाँ ।
‘हास-परिहास’ संस्कृत शब्द हुन् । यसको तात्पर्य यहाँ नेपाली लोकपद्यहरूमा पाइने हास्य व्यङ्ग्य दुवै अर्थलाई एक अर्कासँग सम्बद्धरूपमा लिई चर्चा गर्नु हो । प्रस्तुत हासपरिहास शब्द हास्यव्यङ्ग्य द्वैतत्त्वको तात्पर्यका नै निकट छन् । सामान्यतः ’हास’ हास्यरसको स्थायिभाव हो, अनि ‘हाँसो- हास्य’ हँसीमजाक आदि हो । त्यस्तै ‘परिहास’ ख्यालठट्टा, खिसीट्युरी, व्यङ्ग्य, आक्षेप वा गिल्ला हो, उपहास हो । यसरी हास-परिहास शब्द व्यापक तात्पर्यबोधक अनुभव हुन्छन् जसबाट हँसी-मजाक गर्नु, मनोविनोद लिनु, खिल्ली उडाउनु या हिस्सी गर्नु, गिल्ला वा दिल्लगी गर्नु, तिरस्कार गर्नु, आक्षेप गर्नु, छेडछाड वा व्यग्य गर्नु इत्यादि बुझिन्छ ।
संस्कृत ‘हस्’ (हसे-हसने भ्वा.प.) धातुको मूल अर्थ हाँस्नु हो । हाँस्नुको रहस्य मानसिक प्रफुल्लतामार्फत आनन्दित बनी आफ्नै ढङ्गले शारीरिक अवयव विकसित बन्नु, मुखमण्डल उजिलिनु र शरीरमा आमाको दीप्ति सञ्चारित हुनपुग्नु आदि हुनसक्छ । यसरी हाँस्नुको मर्म उज्यालो र आनन्दमयानको द्योतन बुझिन्छ । यसैभावमा कविसमय उल्लिखित ‘यशसि धवलता व हासकीत्र्योः (सा. प. ७/२३/ इत्यादि । जसले खुल्नु, खुसी हुनु, आनन्दित बन्नु, मग्न हुनु, हर्षित देखिनु आदि अर्थको सङ्केत दिन्छ । यसरी स्पष्ट बुझिन्छ – हाँस्नु भनेको मुखमुद्रा र अनुहारको कान्तिले हृदयको खुसियाली वा आनन्द प्रकट गर्नु हो, अनि हाँस्ने काम नै हाँसो हो ।
हाँसो किन निक्लन्छ भन्ने बारे महाकवि लेख्दछन् – ‘हास्यरस त्यहाँ निक्लन्छ, जहाँ स्वाभाविक तथा आदती रूप-रङ्गगको अभावले हाम्रो विरोधको चैतन्यलाई कुत्कुत्याउँछ । हामी आफुलाई कहिले आफ्ने मोलतोलमा उपहासपात्र पनि बनाउँछौँ, त्यसकारण स्वाभविक र आदती तवरहरूमा पनि हास्यरसको प्रादुर्भाव हुन सक्तछ, तर विरोधको चैतन्यको साथमात्र । यसरी महाकवि देवकाटोले हाँसोलाई धेरै मात्रामा आदतसँगको विरोध हो भनी आफ्ना अभिव्यक्ति दिएका छन । संस्कृत साहित्यक्षेत्रमा ‘हास’ लाई हास्यरसका स्थायीभावको रूपमा लिइएको छ र यसको उत्पत्ति आकारविकति, वागविकति, वेषविकृति, चेष्टाविकृति आदि विकृतिगत प्रभाव र अभिनय प्रदर्शनबाट समेत हुन्छ भनी बताइएको छ । साथै यसलाई निम्न प्रकार र उत्तम, मध्यम र अधम तीनतहमा विभक्त गरी राखिएको पनि पाइन्छ
उत्तम
१. स्मित
मन्द मन्द मधुर मुस्कान, ठू-ठूला उज्याला प्रफुल्ल आँखा बनाउनु र दाँत नदेखाई ओठ ज्याँदै बोरै खुकुल्याउनु ।
२. हसित
सानो मुस्कानयुक्त खिसिक्कको हाँसो, मुस्कुराउनु, चेहरा, ओठ फुलेको अर्थात् हाँसोको प्रभावद्वारा चेहरा उज्यालो र भरिलो बनाउदै दाँत देखिने गरी ओठ खुकुल्याउनु मात्र ।
मध्यम
३. विहसित
सूक्ष्म हाँसो, अर्कालाई उडाउने तालको मसिनो किसिमको गिज्याई, मुख खोली अलि-अलि हलुका हाँसो हाँस्तै बोल्ने काम समेत गर्नु ।
४. अविहसित
सूक्ष्म व्यङ्ग्यसहितको उल्लासपूणर् हाँसो, म जसमा मानसिक रोमाञ्चित हुँदै काँध र टाउकोसमेत काँपेको हुन्छ ।
अधम
५. अपहसित
उचातालको खिल्ली वा गिल्लाको हाँसो, घटिया किसिमको हाँसो, जसमा आँशुसमेत आउन पुग्छन् ।
६. अतिहसित
जोडदार चर्को हाँसो, जसलाई अट्टहाससमेत अधम भनिन्छ र निम्नस्तरमा लिइन्छ, यसमा हात गोडा बजाइने, ताली लाग्ने जस्ता कामसमेत हुन्छन् ।
यसरी संस्कृत आचार्यहरुद्वारा हाँसो र हाँसोको स्रोतलाई जीवनमूलकतहको रूपमा हेरी विश्लेषण गरी नवरस अन्तर्गत स्थान दिइएको छ । हाँसोको भेदक्रममा भरतमुनिले आफ्नो नाट्यशास्त्रमा आत्मस्थ र परस्थ गरी दुई प्रकारमा उल्लेख गरिनुको साथै यसको महिमा एवं महत्त्वलाई उचारूपमा दृष्टिपातसमेत गरिएको छ ।
यहाँ व्यावहारिक स्थितिले हेर्दा र जीवनमूलक तहले सोच्ता हाँसो जीवन हो र जीवनयात्रालाई सहजतासाथ लम्ब्याउने रमाइलो विधा हो । यो मानवजीवनको जन्मजात प्रवृत्ति (गुण) हो । नवजात शिशुमा पनि हास्यरोदनको सहजात मुखाकृति देखापर्छ । यो नैसर्गिक स्थिति हो र प्राणीगत स्वाभाविक प्रवृत्ति पनि हो । फेरि मान्छेलाई हँसाउने तरिका पनि यहाँ अलग-अलग छन् । यसका आधार, तौरतरीका र प्रसङ्ग वा पृष्ठभूमि आदि पनि यहाँ कलाकार वा वक्तापिच्छे फरक-फरक भएको पाइन्छ । हाँसोका कति स्वरूप वा अवस्था अश्लीलताको प्रसङ्गबाट पनि हास्यस्थिति सिर्जित गर्न सफल हुन्छन्, अनि कति चाहिँ उटपट्याइ कुराबाट पनि सिर्जित हुन पुग्छन् । फेरि कतै चाहि बोली बिगारेर, मुख बङ्ग्याएर वा बिगारेर, अनि कतै जिउमाएर भाँचकुच पारेर उटपट्याङरूपको नाटकीयता सिर्जित गरेर पनि हँसाउने मान्छेलाई मख्ख बनाएर रमाइलो पार्ने, हंसाई दिल बहलाउने काम गर्छन् । यसैले हास्यरससिर्जना थरीथरीका उपाय, प्रसग वा प्रविधिहरू, सोच वा तौरतरिकाहरू यहाँ अपनाइएको तथ्य अविस्मरणीय छ ।
हाँसोबारेको चर्चाक्रममा छेडखान, छेडछाड, छेडपेच आदि भने जस्तै ‘हास्य-व्यङ्ग्य’ शब्द पनि व्यापक छ । यसको सामान्य पदच्छेद अर्थ बुझाउने संस्कृत ‘हास्य’ ‘हास्य र व्यङ्ग्य’ हो । सामान्यतः हँसी-मजाक वा दिल्लगी आदि ‘हसे हसने (भ्वा.प.से.) धातु व्युत्पादित शब्द हो । अनि ‘व्यङ्ग्य’ चाहि वि-उपसर्गपूर्वक अन्जू व्यक्तिभ्रक्षणकान्तिगतिषु (रु.प.से. त्पादित शब्द हो उ तात्पर्य हो – विशिष्ट, विवेचन आदि। जो व्यञ्जित अर्थपरक देखापर्छ । यसैले यहाँ अभिधा-लक्षणाशक्तिद्वारा मात्र स्पष्टार्थ खुल्न सक्तैन । अतः व्यञ्जनाद्वारा विवेचित यस प्रकारको अभिप्रेत अर्थ स्पष्ट गर्ने शब्दलाई व्यञ्जक भनिन्छ र अर्थलाई ‘व्यङ्ग्यार्थ’ भनिन्छ । व्यङ्ग्य शब्दको अर्थ कुनै पद, पदावली, वाक्यको सङ्केत तथा भाव वा झल्कोद्वारा विशेष अर्थ बुझ्नु हो ।
असल हास्यव्यङ्ग्य रचनामा हास्यको पुट र व्यङ्ग्यको कसिएको घत लाग्दो झटारो हुनुपर्छ । यसैले नेपाली कवितामा हास्यव्यङ्ग्य विषयक चर्चा गर्ने क्रममा हास्य-व्यङ्ग्यको अर्थ दिँदै कृष्ण गौतम लेख्छन्- ‘हास्यको अर्थ हाँस्नु हो त व्यङ्ग्यको अर्थ हान्नु हो । हाँस्ने र हान्ने प्रवृत्ति मानवस्वभावमै विद्यमान छ । विकृति विसङ्गति वा विचलनलाई देखेर मान्छेले हाँस्तै वा हान्दै आएको छ अथवा दुवैको उपयोग गर्दै आएको छ । व्यङ्ग्य-विवेचकद्वारा व्यङ्ग्यलाई सामान्यतः (क) मधुर व्यङ्ग्य र (ख) विषाक्त-व्यङ्ग्य गरी दुई प्रकारमा हेरेका छन् । फेरि कुनै पनि व्यङ्ग्यकारको हृदयमा पात्रप्रति सहानुभूति र सुघारभावना हुनुपर्छ, किनभने व्यङ्ग्यको सफलता नै सद्भाव हो इत्यादि भनेका पनि छन् ।
जेहोस्, पढ्दा र सुन्दा रमाइलो लाग्ने अर्थमा मुस्कुराहटको मिठास दिँदै हाँस्न बाध्य तुल्याउने, बिस्तारै छेडपेचको वाण हान्ने मिठा रमाइला रचना हास परिहास हुन्, व्यङ्ग्य हुन् । वास्तवमा यो सामाजिक अनुचित काम कारबाहीमाथि खिल्ली उडाउँदै गरिने छेडखानी हो । यहाँको विकृति विसङ्गति र असङ्गतपूर्ण क्रियाकलाप तथा व्यवहार आदिलाई देखेर सचेत मानवसमाजले उहिलेदेखि हाँसो उडाउँदै र व्यङ्ग्यवाणले हान्दै आएको छ । अतः यस्तो असङ्गत अवस्थाको हाँसोमा स्वभावतः व्यङ्ग्य जोडिन पुगेको बुझिन्छ र समष्टिमा भनिन्छ- हास्यव्यङ्ग्य ।
विद्रोहपूर्ण मानव मनस्थितिको हरेक अभिव्यक्तिमा प्रायः हाँसोसँगै व्यङ्ग्य मिसिएको हुन्छ । जसको केन्द्र विकृतिप्रतिको विद्रोह वा विरोध बुझिन्छ । यस बाहेक कतै स्वच्छ हाँसो पनि पाइन्छ, जो व्यग्य विनाको मनोविनोदमय रमाइले हाँसो हो, मनोरञ्जन हो । यस्तो सतही हलुका हाँसोलाई महाकवि देवकोटाले ‘पानी हाँसो’ भनेका छन् (मनोरञ्जनः लाटोतिर्सना) । फेरि हास्यव्यङ्ग्य कै छेडपेच वा मनोरञ्जनक्रममा कतै अश्लीलताको हाँसो पनि पाइन सक्छ । संस्कृत कोषकारले ‘ग्राम्य’ र ‘अश्लील’ शब्द पर्याय रूपमा उल्लेख गरेका छन् । यसको आशय-अमर्यादित, असभ्य, गाउँले भनाइ भन्ने बुझिन्छ । यस व्यापकतामा अश्लील शब्द अर्थविस्तारित छ । अश्लीलको सङ्कुचित अर्थ- जहाँ लाजभाँडका शब्दावली हुन्छन् र तिनको अर्थबोध सङ्कोच बन्ने स्थिति ल्याइदिन्छन् । यस्ता तुच्छ गाली गलौजका लाजभाँड शब्दार्थमार्फत भएको हाँसो घृणास्पद हाँसो हो । यस्तो हँसाइलाई राम्रो र स्वादिलो हाँसो मानिन्न ।
क्रमशः
०००
स्मृतिमा डा. हंसपुरे सुवेदी (२०७९)
Subscribe
Login
0 Comments
Oldest




































