हंसपुरे सुवेदीलोकपद्यगत हास-परिहास र संवाद (४)
निश्चय नै प्रकृतिको देश नेपालका कैयौँ गाउँघरमा यस्ता कवि-कवयित्री प्रशस्त छन् - ‘यहाँ वाग्नर कोदाली खनिरहेछन्, सेक्सपियर हलो जोत्दा हुन् । टिसियन् र टर्नर भेडा चराउँदा हुन् ।

हंसपुरे सुवेदी :
उपसंहार
प्रस्तुत रचना खासगरी लोकपद्य, अनि लोकछन्दबारे भएको सानो दिग्दर्शन वा विवेचन हो । लोकपद्य स्वभावतः लोकलयमा, लोकभावनामा संवद्ध हुन्छ । लोकपद्यमा लोकभावना (कथ्य) भाषा र लोकको महत्त्व विशेष हुन्छ । यहाँ भाषिक व्याकरण भनेको नै लय हो, स्वरलहरी हो । लयको मिलानक्रममा यहाँ स्वर पनि काटिन्छन्, पदहरू भाँचमुँच र विकृतसमेत हुन पछि पर्दैनन् यो लोकको उच्चारण र लयमिलनको नियम नै हो । किनभने पढ्दा वा बोल्दा वणर्, पद वाक्य आदिमा देखापरेको लयगत असावधानीले श्रोतावर्गलाई कहिल्यै आकर्षण गर्न सक्तैन । पद्यहरू पढ्दा अलाप्ता भावलाई राम्ररी अभिव्यक्त गर्ने, स्पष्टता दिने गरी पढ्नु आवश्यक छ । यसक्रममा आवश्यकता अनुसार लय हाल्दा ठाउँ-ठाउँमा जिब्रो रोकिने अवस्था आउँछ, जसलाई विराम वा यति भन्ने छन्द-शास्त्रीय चलन छ । यहाँ लय वा भाका हाल्दा शब्द पद खज्मजिन नदिई भावलाई राम्रोसँग स्पष्टता पार्ने सावधानी राख्तै छन्द मिलाएर भाका हाल्नु आवश्यक हुन्छ। भाका वा लयले गर्दा नै रचनाको महत्त्व बढ्छ । पढ्दा वा सुन्दा विशेष मिठास आउँछ ।
वैदिककालीन ऋषिहरूले वेदमन्त्रको उच्चरणमा स्वरादिको जे जस्तो विचार पुर्याउँथे, छन्द-मात्रा र यतिको जुन ख्याल राख्तथे – त्यस्तो सावधानी पछि लोकजीवनमा हुन सकेन, पछि विस्तारै घट्तै गयो । वणर्-पद- वाक्य आदिको उच्चारणमा हुन सक्ने स्वरालय सम्बन्धी उच्चारणदोष वैदिक मन्त्रहरूमा कहिले नआओस् भन्ने भावना ऋषिहरूको थियो। अतः उनीहरूले स्वरहीन र वणर्हीन भएर कहिले पनि उच्चारण नगर, यसले जसभन्दा अपजस नै बढी ल्याउँछ भन्ने सङ्केत गरेका छन् । पछि ई. पू. पाचौँ शताब्दीको आसपासतिर आएर वैयाकरण पाणिनिले त उच्चारणमा भएका अशुद्ध वाकरूपी बज्रले यजमान राम्रो काममा लागिपरेका व्यक्तिहरूलाई नै घात गर्छ भन्ने कुरा आफ्नो शिक्षामा खुलस्तपारेका छन्- ‘मन्त्रो हीनः स्वरतो वणर्तो वा (पाणिनीय शिक्षा-५२) इत्यादि ।
आज स्वतन्त्रताको युग, यो छन्दशास्त्रको क्षेत्रतर्फ पनि स्वतन्त्र हुन लागिरहेछ । स्वर उच्चारणका आरोह-अवरोह आदिको ज्ञान त कता-कता सामान्य छन्द र लयसम्मको पनि आजभोलि वास्ता गरिन्न । छन्द वा लयले नै भावुक आत्मालाई कवित्व प्रदान गर्छ । छन्दालय र गेयात्मकता विना कविता बन्नु कठिन छ, छन्द र लय नभएका रचनाकार कवि र गायक हुन सक्तैनन् भन्ने भाव नेपाली महाकवि दर्साउँछन्। तर कतिपय आधुनिक कविहरू चाहिँ मुक्तास्वतन्त्र कविताको पक्षपाती छन् । जसरी मानिस स्वभावतः स्वतन्त्रताको पक्षपाती छ, त्यस्तै कविताले पनि स्वतन्त्रता चाहन्छ ।
वास्तवमा मनुष्यको मुक्ति कर्मको बन्धनबाट स्वतन्त्रता पाउनु हो, त्यस्तै कविताको मुक्ति छन्दको शासनाकडाबन्धनबाट अलग (स्वतन्त्रता) पाउनु हो इत्यादि । यहाँनेर विचारणीय के छ भने कविताको मुक्ति वा स्वतन्त्रता भनेको मुक्त छन्दप्रयोग हो अर्थात् स्वतन्त्र लय वा गेयताको आधारभूमिमा रहेर प्रयोग भएको पाइनु हो। यस्तो मुक्तिकामना नेपाली कविहरूमा प्रशस्त बढेको छ । यसैले आज शास्त्रीय छन्दबाट मुक्त भएर रचना गरिएका कविताहरूको आधिक्य नै नेपाली साहित्यमा पाइन्छ । जेहोस्, हाम्रो लोकजीवनप्राप्त नेपाली सुकोमल भावना, त्यसको प्रस्तुति आदि आफ्नै तहको छ । यहाँ मुक्त नेपाली छन्द छन्, भाका र भावाना छन् । यसैको सानो चर्चा वा दिग्दर्शन हो यो ।
नेपाली भावोद्गारको सहजताक्रममा परस्पर देखिने भावना र लयको सानो खाका हो, छलफल हो । नेपाली गाउँघरमा पाइने लोककवि-कविता वा पद्य, गीत आदि बारेका कतिपय उद्गारहरू पनि प्रस्तुत सन्दर्भमा स्मरणीय छन् । यसक्रममा नेपाली लोकजीवनका अतिप्रिय विषय लोकपद्य (कविता) लोकगीतबारे पनि सान्दर्भिक छुवाइ भइरहेछ । जेहोस्, यो अध्ययनक्रमको सतही चर्चा हो- यसप्रति गम्भीर अध्ययनको अपेक्षा छँदैछ, यसलाई यसको पूर्वाङ्ग सम्झिनुपर्ला ।
लोकगीत लोकको गायन हो, गाथा हो, यथार्थ प्रस्तुति हो। अतः यहाँ आफ्ना मनका एक-एकभाव छिटो- छरितो ढङ्गले व्यक्त हुन्छ । यहाँ यी स्वयं पूर्ण छन् र सिँगो प्रस्तुतिमा सफल पनि देखापर्छन् । कविता (पद्य) को अवस्था लोकगीतअपेक्षा केही फरक छ यो पृथ्वीनारायण शाहका उपदेशको भाषामा टाँगनघोडा हो, जो हिलो-डालो हुन्छ । अतः यो लोककविले बिस्तारै कथ्दै आफ्नो धुनमा गाइने, सकभर राम्रो बनाउने प्रयास गर्ने विशेष रचना हो । गीतको अपेक्षा प्रायः केही लामा विवरणात्मक पनि देखिन्छन् लोकपद्य ।
फेरि लोकगीत जस्तो जो पायो उसैले हरहमेसा गाइने पनि गरिन्नन् । कारण यी गीतजस्ता चुड्किला (छोटा छिटा-छरिता स्वतन्त्र) र एउटा कुनै आवेग वा झडकोमा चट्टै आइहाल्ने पनि हुन्नन् । यिनको निम्ति समय वा मौका चाहिन्छ, लहड र सुर पनि आवश्यक हुन्छ । यसैले होला लोकपद्य लोकगीत जस्तो व्यापक छैनन् र उर्वर पनि पाइन्नन्, अनि जहाँकहीँ प्रशस्त गाइएको पनि सुनिन्नन् ।
लोकगीत र लोकपद्यको सूक्ष्मता केलाई यसबारे पनि व्यापक विवेचन, सूक्ष्म अध्ययन र चिन्तन हुन आवश्यक छ। यसको अध्ययनक्रममा लोकगीत-लोकपद्य – यी दुईमा प्रायः अभिव्यक्तिको ताच्छिल्य, भाषा र भावनाको तुलना, विषय र स्थानीयतागत सांस्कृतिक प्रस्तुति, अनि त्यहाँ पाइने भाव, दर्शन र मानवमूल्य, प्रकृति र मानवबीचको अन्तरसम्बन्ध एवं वैशिष्ट्य इत्यादि कुरा अध्ययनीय छन् । लोकसाहित्य अध्ययन क्रममा यस विषयप्रति पनि विशेष दृष्टि पुगोस् भन्ने सानो घच्घच्याहटसमेत हो यो ।
समयको गतिमा आज लोकपद्य खिइँदै गइरहेको अवस्था छ, किनभने अहिले लोकपद्य बिर्सिंदै, बिरानिँदै र उपेक्षित बन्दै हराउँदै गइरहेछन् । यसको कारण आधुनिक शिक्षाको प्रसार, आधुनिक कविताको व्यापकता तथा पाश्चात्य प्रभाव आदि बुझिन्छ । फेरि लोककविहरूमा भएको हीनताबोध र उनको प्रोत्साहन अभाव आदि पनि हुन सक्तछ । उहिलेका पाका पुराना बुढाबुढीहरूको कण्ठबाट निस्की मुखमुखै परम्परित बन्दै चलेका पुराना पुराना लोकपद्यहरू आज कमै मात्र सुन्न सकिन्छन् ।
वास्तवमा अघि-अघिका पुराना रचना गाउँघरमा बुढाबुढीहरूको लोककण्ठबाट मात्र सुनिने र परम्परागत हुँदै रहे-बचेका भएमात्र पाइन सकिने कुरा हो । आज बुढाबुढीहरूको अभाव खड्किँदै गइरहेछ र लोकपद्यहरूप्रतिको प्रेम र गाउने उत्सुकता पनि दिनानुदिन घट्तो छ । यसैले हाम्रा गाउँघरहरूमा बुढापुराना रसिकहरूको कण्ठबाट फाटफुट सुनिने उहिलेका पुरातन लोकपद्यहरू सङ्कलन र सङ्ग्रहको अभावमा आज विलुप्त भए र हुँदैछन् । जो नरमाइलो खड्किँदो दुर्भाग्यको कुरा हो । अहिले मलाई सम्झना हुन आउँछ मेरो गाउँका लोककवि रामचन्द्र भट्टराई (१९३९-२०३४) । यिनी धेरै अगिका बुढा-पुराना होइनन्, तर पनि उनको रचना सम्झना, परिचय र प्रसिद्धि आज दुर्लभ झैँ भइरहेछ ।
रामचन्द्र भट्टराई गाउँघरमा ‘अकवि’ नामले प्रख्यात थिए र साँच्चिकै लोककवि थिए । उनमा भावुकता थियो, सहज प्रतिभा थियो र आशुकवित्व थियो । आफूले देखेजानेको र सुनेको गाउँघर, स्वदेश-विदेश जहाँको जुनसुकै घटनालाई पनि उनी तत्कालै कवितामा कथी हृदयस्पर्शीरूपले उतार्न सक्षम थिए । उनको कला र सीप मानिसलाई मख्ख पार्ने तरिकाले कथ्न र भन्न सक्ने प्रतिभावान् थियो । पढाइको हकमा उनी केवल साक्षर थिए, राम्रो लेख-पढ जान्दैनथे । उनका कण्ठमा आफूले कथेका सयौँ लोककविता फिलिमको रिल मैँ एक-एक मुखाग्र थिए । गाउँका रसिकहरूको आग्रहमा यथासमय उनी कविता भन्दथे-सुनाउँथे । आज उत्तराधिकारीको अभावमा उनका प्रायः ती सबै रचना उनीसँगसँगै बिलाए गए ।
उनको प्रतिभा र कवित्वशक्तिको मर्म बुझिदिने तथा कवितासङ्ग्रह गरी राखिदिने लोककविताको महिमाबोध गर्ने मर्मज्ञ कोही भएन । बिझ्दो र दुःख लाग्दो कुरा छ । हाल मेरो गाउँमा एकजना आशुकवयित्री वृद्धा छन् – पवित्रा बराल । करिब ७५, ८० वर्षकी सादा-सरल वृद्धविधवा छन् उनी, बरालज्यू आफ्नो अलौकिक कविप्रतिभाद्वारा तत्कालै लोककविता कथ्न सक्षम छन् । गाउँघरको दीन-हीन अवस्था, अकिञ्चन परिवारको सदस्य उनी अकेलासाधुसन्त अवस्थामा जीवन बिताइरहेकी छिन् । उनको दिनानुदिन अशक्ततहमा पुगिरहेको वृद्ध हालत र दयनीय, निरक्षर जिज्ञासापूर्ण जीवनदेस्ता मनमा सहानुभूति र करुणभावना जाग्दछ । तर गर्न नै के र हामी जस्तो साधारणले ।
निश्चय नै प्रकृतिको देश नेपालका कैयौँ गाउँघरमा यस्ता कवि-कवयित्री प्रशस्त छन् – ‘यहाँ वाग्नर कोदाली खनिरहेछन्, सेक्सपियर हलो जोत्दा हुन् । टिसियन् र टर्नर भेडा चराउँदा हुन् । सोक्रेटिज् गफमा घोल्लिरहेका होलान्, कालिदास असारको पन्ध्रमा धाराप्रवाह गीत गाईरहेका होलान्’ (लक्ष्मीनिबन्धसङ्ग्रह)। यस्ता सहज प्रतिभाहरूप्रति कसले चाख र चासो राख्ने ? यहाँ शैक्षिक जगत् र सरकारले राम्रो दृष्टि पुर्याउन, भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न अत्यावश्यक भइरहेछ । अतः यसप्रति समयमा नै सचेत बन्दै ध्यान दिइयोस् दुराग्रह नसम्झियोस् । साग्रह यही निवेदन साथ गन्धन टुङ्ग्याउने अनुमति माग्दछु ।
०००
‘स्मृतिमा डा. हंसपुरे सुवेदी : लोकवार्ताको सिंहवलोकन’ (२०७९)
Subscribe
Login
0 Comments
Oldest







































