हंसपुरे सुवेदीलोकपद्यगत हास्यव्यङ्ग्य- (२)
यहाँ हास्यले भनाइमा रमाइलोपन दिएर, भाषा र शैलीमा साहित्यिकता भरेर मिठास ल्याउँछ, भने व्यङ्ग्यले समाजिक सुधारको सन्देश प्रदान गरी जीवनोपयोगिता अँगालेको हुन्छ ।

हंसपुरे सुवेदी :
नेपाली लोकसाहित्यका विधा-उपविधा अन्तर्गत विविध रसरङ्ग लयविधानको आफ्नै महत्त्व छ । यहाँका गद्यविधाको तहमा पाइने हास्यसिर्जनकलाको महत्त्व एकातिर छ भने अर्कोतिर पद्यसिर्जन अर्थात् लयात्मक लोकरचना-लोकगीत, लोकपद्य, उखान-चुड्का आदिमा पाइने कलाको महत्त्व अर्कोतिर छ । यहाँका असारे गीत, दाइँ गीत, आदिमा आफ्नै तहको हासपरिहास छ र हास्यरस-सञ्चारित रमाइलो मुस्कान छ।
नेपालीहरूको मुख्य अनाज वा खाद्यान्न हो धान। नेपाली कृषकहरूको निम्ति धान रोप्ने समय असार । ज्यादै व्यस्त र बेफुर्सती बेला हो, ‘मानु खाई मुरी उब्जाउने’ महत्त्वपूर्ण समय हो । यतिखेर नेपाली युवायुवती आफ्ना असारे गीतमार्फत हाँसो उठाउँदै र उत्साह भर्दै खेताला खेताली (रोपार-बाउसे-हली आदिमा जागृति ल्याउँछन्, रमाइलो गर्छन् । यहाँ असारेलय विभिन्न छन् काँठे, चुड्के र पश्चिमेली सामान्य इत्यादि । हेरूँ सानो एउटा असारे लयको उदाहरण –
दुलहाभन्दा मायालु नाठो हितैको परानी,
हली है राजा, खेताली रानी बाउसे खरानी ।
कालै र गुन्यू, काले र चोली चुलोमा पोत्नेलाई,
खाइलाग्दो जवान् घरैमा थिए के हेर्छ्याे जोत्नेलाई ?
यस्तै गाईजात्रापर्व (भाद्रकृष्ण प्रतिपदा) पनि हास्यव्यङ्ग्य तहमा अविस्मरणीय पर्व मानिएको छ । यस पर्वमा प्रहसनरूपका अनेक ख्यालीहरू निकाल्ने चलन उहिल्यैदेखि व्यापक थियो । आजभोलि त अझ यसको विशेष महिमा बढेको पाइन्छ । हिजोआज बर्सेनी गाईजात्राको चाडभन्दा एकहप्ता अघिदेखि नै यहाँ हास्यव्यङ्ग्य समारोह चल्न थाल्छन् । अनि समाजमा भए घटेका विकृति र विसङ्गतिलाई, दुष्कृति र दुर्भावलाई त्यहाँ रमाइलोसँग प्रस्ट्याइन्छ । साथै पत्रपत्रिकाहरूले पनि गाईजात्रा अङ्क छाप्न सुरु गर्छन् । त्यहाँ व्यङ्ग्यचित्र, कविता, चुट्किला आदि निस्कन्छन्, घोचघाच, कटुआलोचना तथा तीखो व्यङ्ग्य प्रकट हुन्छन्, अनि ठूला-बडा भनाउँदा अनैतिक दुष्कर्मीहरू व्यङ्ग्यपरक लोकनिन्दाद्वारा चहराउँदो झापट खान पुग्छन् । यो नै हास्यव्यङ्ग्यविधाको यथार्थता हो, विकास र सम्मानको शुभसूचन हो ।
यस्तै मंसिर महिना : खलाखेतमा दाइँ गर्दा गाईने दाइँ गीत पनि प्रस्तुत सन्दर्भमा स्मरणीय छन् । यी एकातिर सहल्याउने मङ्गलगानको रूपमा देखापर्छन् भने अर्कोतिर जोतार, दयेँरा, गोरु धपाउने गोठाला चैतालासमेतमा भएको हँसीमजाकनिम्ति रमाइला पनि छन् । यिनको उद्देश्य अप्रत्यक्षतः दाईमा गोरु धपाउने गोठाला-खेताला र धानपराल गर्ने दयेँराहरूलाई उत्साहित पार्दै जोसजर्जागर भर्ने र रमाइलो गर्ने, हँस्यौली ठट्यौली झिक्ने आदि काम बुझिन्छ । यसरी लोकपद्यमार्फत हास-परिहासको मिठास जीवनव्याप्त देखापर्छ । यी कुनै लोकगीतको भाकामा, छन् भने कुनै मात्रिक लोकपद्यको लयमा छन् । यहाँ कतै व्यङ्ग्य मिश्रित हाँसो छ, कतै निश्छल हाँसोमात्र छ । भनौँ आफ्नै सिर्जनामा अरूलाई उपभोग्य वस्तु पुर्याउने, तर आफूचाहिँ नाङ्गै रहिरहने स्रष्टा यहाँ छन् । यिनको बसोबास व्यवहार लापरवाह जस्तो देखिइरहेछ । यस्ता सर्जकहरूलाई विषयवस्तु बनाउँदै हाम्रो सामाजिक नियति वा स्थितिप्रति व्यङ्ग्य गर्दै आफ्ना भावना प्रस्ट्याउँछन् नेपाली लोककवि :
छोरी ज्योतिषिकी त हुन्छे विधवा, साइत् त्यो हेर्दैन कि ?
वैद्यको गलगांड रोग बढन्या, औषध त्यो जान्दैन कि ?।
यी हरफ पूर्वाञ्चलभेक प्रचलित लोकाभिव्यक्ति बुझिन्छन् । यहाँ लोकजिह्वाले परम्परागत पद्यलाई समयसापेक्ष भाषा-सुधार गर्दै गरेको बुझिन्छ, जो लोकसाहित्यगत एउटा विशेषता नै हो । तर यिनको लोकपद्यात्मकता चाहिँ रहिरहन्छ । यहाँ उक्त भनाइको यथार्थता प्रस्ट्याउँदै डा. डिल्लीराम तिमसिनाज्यूले आफ्नो पाँच पुस्ता भित्रका पितामह हरिलाल पाध्येलाई सम्झनु भएको छ । जो गाउँघरमा कहलाएका ज्योतिषी र निकै चङ्ख कौवा थिए, काकचेष्टाशील व्यक्ति भनी मानिन्थे । यसरी कहलाएका ज्योतिषी भए पनि उनकी एकमात्र छोरी थिइन् बालविधवा । त्यस्तै आफ्नै गाउँघर (इलाम) का नाम चलेका वैदानी बुढा ‘भिउसिने’ भोटेलाई पनि तिमसिनाज्यूले सम्झनुभएको छ । भिउसिने गाउँमा गोरुस्वार्ने, भारफुक गर्ने र रुट्यान आउँदा हिउँदका बखत खोली थापेर माईको दवाइ गर्ने काम गर्थे । उनले निको नपारेको रोग एउटै थियो- उनकी स्वास्नीका गलामा झुन्डिएको एक बिसौलीजतिको साँभेगाँड इत्यादि ।
यसरी उहिलेको गाउँघरमा आफ्नै घरायसी ओखतीमूलो, प्राकृतिक जडीबुटी, फु-फाक र तातोपानी ख्वाएर पनि कैयौँ विमार च्वाट्टै हुनपर्दथे । यहाँ काँचो सिम्रिक, अदुवा-हलेदो, गहुँत, गाईको दूध, घिउ, मह, तुलसी, तीतेपाती, बोझो, गुर्जो, कागती, दारिम, हर्रा-बर्रो, अमला, आँप, पिपल, खएर, नीम, हर्चुल आदिका जरा-बोक्रा-पात इत्यादि जडीबुटी र झारपातसमेत परम्परागत ढङ्गले ओखतीको रूपमा प्रयोग गरिन्थ्यो । यी वनस्पति एकप्रकारका विश्वस्त औषधि नै थिए । यिनको समुचित मात्रा मिलाई बिमारीलाई यथासमय खान दिनाले प्रायः रोगी बौरिँदै आउँथे । अनि बुढापाका सल्लाहकार तथा वैद्यले जस पाउँथे, नाम कमाउँथे । यस्तो व्यवहार गाउँघरमा उहिल्यैदेखि चल्दै आएको पाइन्थ्यो । यस बाहेक, हेरकोर, लागोभागो, झारफुक आदि र धामी झाक्री एवं तन्त्रमन्त्रप्रतिको विश्वास पनि यहाँ प्रवल थियो । यस्तै लोकप्रचलित यथार्थ प्रसङ्गलाई आत्मसात् गरेका लोककविहरूले रमाइलो अनुभूतिमा यहाँको स्थितिचित्रण गरेका छन् । यस क्रममा लोककण्ठप्रचलन र स्थानीयताको आधार अपनाउँदै भएको लोकपद्यहरूको भेद-विभेद बा पाठान्तर प्रशस्त देखापर्छ ः
जुत्ता सार्कि नलाई हिँड्छ शितमा छाला नपाएर कि ?
दम्मैको पनि छैन टोपि शिरमा त्यो स्यून जान्दैन कि ?
कामीले पनि भिर्छ भुत्ते खुकुरी सान्लाउन जान्दैन कि ?
सूनार्ले पनि लाउँछ पिल्ले अऊँठी सुनचाँदी पाउदैन कि ?
ज्योतिषका किन राडि छोरि घरमा ज्योतिष नजानेर कि ?
वैद्यको गलगाँड छ घाँटी बिचमा औषध नजानेर कि ?
कर्मीको पनि छैन भ्याल घरमा सिप् छैन की हातमा ?
बीचारी किन नेल ठोकिन गयो कम्ती छ कुन् बातमा ?
वास्तवमा यहाँ दमाईंले सिउन नजान्ने, कामीले खुकुरीमा सान लाउन नजान्ने आदि भनी यिनीहरूलाई जो उपहासपात्र बनाइएको छ, त्यो स्वयंमा व्यङ्ग्य छ । जहाँ हाँसोमा विरोधभावको छेपन मिसावट हुन्छ त्यहाँ स्वतः व्यङ्ग्य उपस्थित हुन्छ ।
यसबाहेक जहाँ सतही हाँसो छ, त्यहाँ विरोधाभासको मिसावट पाइन्न, आरोप-प्रत्यारोप पनि हुन्न, ती सहज मुस्कान हुन्, सफा दिल्लगी हुन् । यसैले कैलेकता व्यङ्ग्यहीन हाँसो पनि हुनसक्छ । फेरि अवस्थाअनुसार व्यङ्ग्यरचना हास्यविहीन पनि बन्न सक्छन् । यसैले हास्य र व्यङ्ग्य पृथक् अस्तित्ववान् विषय हुन्, तर पनि मेल वा संयोग हुन्छ, यिनको रमाइलो साहित्यिक मिलन व्यवहारमा देखिन्छ – हास्यव्यङ्ग्य । यहाँ हास्यले भनाइमा रमाइलोपन दिएर, भाषा र शैलीमा साहित्यिकता भरेर मिठास ल्याउँछ, भने व्यङ्ग्यले समाजिक सुधारको सन्देश प्रदान गरी जीवनोपयोगिता अँगालेको हुन्छ । यसैले यी परस्पर सापेक्ष बन्दै प्रयोग भइरहेछन् । जेहोस्, लोकपद्य लोककविका यथार्थ सिर्जन हुन् । यहाँ कतै प्रतीकात्मक सङ्केत, बेमेल उटपट्याङखालका अर्थको प्रस्तुति, कतै अश्लीलताको गन्ध आउने असभ्य ग्राम्यदोष देखिने अभिव्यक्ति आदिले हास्य सिर्जनको अनौठो अनुभूति दिएका छन् । लोककण्ठप्राप्त निम्न पद्यले हास्यको नै विविध स्वाद प्रदान गर्नेछन् :
एकादेशमहाँ अचम्म सुनियो बाँदर्ले गाई दुह्यो,
दूछ पोख्यो वनमा, झसङ्ग मनमा-तुम्बो त रित्तै थियो,
बाघ भालु वनमा झसङ्ग मनमा डरलाग्दो जङ्गल तहाँ
थर्थर् कम्प छुट्यो मुटू पनि फुट्यो घर्जाने आशा टुट्यो ।
घाँस काट्न भनी गएको म थिएँ घाँसै काटेँ कुकुरे
सीलोकै भन्नको सिपालु रहिछस् लागोस् तलाई तुर्तुरे,
घाँस काट्नी भनेर गएको म थिएँ घाँसै काटेँ गेडुले
सीलोकै भन्नको सिपालु रहिछस् स्वास्नी लगोस् ढेँडुले ।
अरुको हेर्छ भाग दूध, दहि, केरा,
मेरो भाग हेर्छ कमिलाको घेरा,
तीन् आना हालेर खुकुरी नि कीनेँ
यो पापी कमीला बल्ल बल्ल छीनेँ ।
ए भाई तिमीले एक विन्ति ल्यौन
म काट्छू कमीलो खुट्टो समाइ द्यौन,
काटता र जोख्ता यौटा चौटो खस्यो
यै यौटा चौटाको एक धार्नि बस्यो ।
गोरु किन्न गा को त गोपे र पाँडे
पराल्नी खाँदैन यस्का बाको साँडे,
रोगी त गोरु झन रै’छ आँडे
छब्बीस पैसा खालटैमा गाँडे ।
यस्तै प्रयागराज वाशिष्ठज्यूद्वारा लोककविताको चिनारीक्रममा सहजरूपमा हास्यभाव झल्किने नेपालको पूर्वीभेकमा प्रचलित लोकपद्यहरूको उदाहरण प्रस्तुत गरिएको पाइन्छ –
हस्तिनापुरमा गाँजाका सुरमा अदुवाथिचे मैँ तँलाई,
थिचेको मईले, ढोगेको तईंले हामी पुरेत् बाजेलाई ।
लाम्पुच्छ्रे ढेडुवा त्यो कालो थुतुनु रुख-रुख हिड्थिस् तँ ता,
म मकै गोड्दथेँ तँ टीपि खाँदथिस् तैँ होस् कि भन्थेँ म ता ।
तेरा माइत’नी गएथेँ कोहि दिन् विच्छौना दिन्थे उन्यू,
सालैका पातको टपरीगाँसे मैँ तुनेर लाउथिस् गुन्यू, इत्यादि ।
क्रमश:
०००
(नव आकाङ्क्षा २/१ः०५९)
स्मृतिमा डा. हंसपुरे सुवेदी (२०७९)
Subscribe
Login
0 Comments
Oldest






































