साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकपद्यगत हास-परिहास र संवाद (३)

यहाँ जीवनको यथार्यता छ, आँसु र हाँसोको घुलमेल छ । अनि आँसु र हाँसोको विशेषताव्याप्त नेपाली जीवन अन्तर्गत यी आफ्नो पारख र पौरखमा अन्तमुक्त छन् ।

Nepal Telecom ad

हंसपुरे सुवेदी :

हास-परिहास- झल्कोमा संवाद

नेपाली लोकसाहित्य अन्तर्गत लोकपद्यक्षेत्र व्यापक र विस्तृत छ । यहाँ विविध विषय र अनेक रसरङ्ग छन् । यहाँ पाइने संवादात्मकता पनि यही क्रमको एउटा प्रसङ्ग हो। संवाद बातचित वा कुराकानी हो । पूर्वीय साहित्यमा संवाद रचनाको परम्परा पुरानो बुझिन्छ । संस्कृतक्षेत्रमा यस प्रकारका रचना-कविता, काव्य आदि प्रशस्त छन् । संस्कृत वाङ्मयमा भएको संवादात्मक चर्चा-परिचर्चा, व्याख्या विवेचन आदि सुनेर नै हुनसक्छ नेपाली लोककविहरूले पनि आफ्ना अभिव्यक्तिमा यसप्रकारको संवादात्मक सिर्जनकला प्रस्तुत गरे ।

नेपाली समाजमा उहिले (आजभन्दा ४, ५ दशक अगि) बालविवाह, असमान-विवाह (उमेर, तह वा स्तर आदि ख्याल नगरिएको) प्रशस्त थियो । यसमध्ये पनि गाउँघरको जिमुवाल, मुखिया वा ठूलोठालु धनी छ भने उसले चाहेमा ऊ बुढो नै किन नहोस्, कलिली किशोरीलाई हात लाउन सक्थ्यो । गाउँको हैकमवाला प्रतिष्ठित त्यस्तो व्यक्तिलाई आफ्नी किशोरी बालिका सौपन बाबुआमा लाचार बन्थे । यहाँ बालक र वृद्धको यो अमिल्दो विहा अबोध ती बालिकाको निम्ति निकै बिझ्दो र चहराउँदो अनुभव हुन्थ्यो । यस्तो सन्ताप अनुभव गरेकी कुनै किशोरीको जीवन- यथार्थतालाई आफ्नै ग्राम्यभाषा र भावमा प्रस्ट्याउँछन् लोककवि । भनौँः कुनै रतिरागबोधहीन सुकुमारी कन्या प्रौढपतिको रतिक्रीडाप्रति असमर्थ छिन् र आफ्नो मर्म आमासँग गुनासो गर्छिन् । आमा उसलाई सांसारिक रीति चलाउनै पर्ने र आत्तिन नहुने सल्लाह दिँदै सम्झाउँछिन्, आफ्नो जीवनको उदाहरण समेत दिन्छिन् । हेरूँ, यस्तै भावको संवादात्मक लोकपथ

हे आमा, म त जान्न पापी घरमा, के हुन्छ बाबै तँलाई ?
चोली खोलिदिने, दुधै अठ्याइदिने निद्रामा ब्युँझाइ दिनी ।
यस्तै हो सहनू, कतै नकहनू, संसार चलाउने रिति
तेरा वा असिवर्षका भए पनी यस्तै छ उन्को थिति ।

हो यो नेपाली लोकपद्यपरम्पराको छिहिलिँदो रचना हो । यहाँनेर बेदमी रीतिरचनामा बेजोड भनी कवि राजशेखरद्वारा प्रशंसित संस्कृत कवियित्री विकट नितम्बाको यसै प्रसङ्गको नजिक नजिक पाइने नववधूसँगम सन्दर्भमा आफन्तको सल्लाह निकै घतिलो छ :

बाला तन्वी मृदुतनुरियं त्यज्यतामत्र शङ्का
दृष्टा क्वापि भ्रमरभरतो मञ्जरी भग्नपुष्पा
तस्मादेषा रहसि भवता निर्दयं पीडनीया
मन्दाक्रान्ता विसृजति रसं नेक्षुयष्टिः समग्रम् ।

अर्थात् प्रियमहाशय, यी किशोरी बालकै छन्, सुकोमल जिउडालकी दुब्ली पालती छन् के रसबस गर्ने ? भन्ने धरमर छोडिदिनु होला । किनभने भैमरो लहलहाउँदो मुजुरामा बस्ता कोमल पालुवा भाँचिएको कुरा कहीँ कतै सुनिएको छैन । यसैले मनमा कुनै डर भाड्का नलिई एकान्तमा यी किशोरीलाई दह्रोसँग निर्धक्कले अँगाल्नुहोला-अँठ्याउनु होला । कारण मजासँग नलिइकन कहिले पनि उखुले राम्ररी रस दिँदैन ।

यस्तै अर्को संवाद कुनै बैसालु नारी आफ्नो खायसलाग्दो जवानीको जोसमा पतिसुख नपाएकोमा खिन्न छिन्, आफ्ना देवर जेठाजु सीप र रूपका भरसिला छन् र मर्द छन्, तर आफ्नै दुलाहा चाहिँ केही नजान्ने नामर्द भएकोमा उनलाई पर्नुपीर परिहेछ । यसरी दुलहाले गर्नुपर्ने खास कामबाट समेत आफू वञ्चित हुनुपरेकोमा उनी आफ्नो उत्तरमा चिन्ता पोल्छिन् । यही मानसिक वेदना पोख्तै पतिसुख नपाएकी तरुनी यहाँ जवाफ रूपमा विरह ओकेल्दैछिन् ।

ए नानी, तिमिता पहेलि पातली देख्तामा राम्री अति,
कस्ता छन् तिमरा देवर-जेठाजू कस्ता छन् तिम्रा पति ?
जेठाजु रूपका, देवर सिपका, केही नजान्ने पति
जुन काम हो पतिको सो काम नहुँदा दिग्दार मान्छु अति ।

पाठान्तर –

हे नानी, नटुकी पहेली पटुकी किनो छिन्याको कटी,
कस्ता छन् तिमरा देबर जेठाजू, कस्ता छन् तिम्रा पति ?
जेठाजू रूपका, देबर सिपका केही नजान्या पति
जुन् काम हो पतिको ऊ काम नहुंदा पीर् पर्छ मन्मा अति ।

यसरी यथार्थ जीवनमर्म केलाउने, निश्छल रूपमा मानसिक भावना प्रस्ट्याउने जनगलामा बचेका मर्मस्पर्शी लोकपद्यहरू नेपाली गाउँघरमा व्याप्त छन् । यहाँका भावुक नरनारीहरू स्वच्छ हृदयले आफ्ना हरएक मनोव्यथा निष्कपट बन्दै प्रकट गर्छन् । यहाँ उनीहरूमा कुनै कुटिल चाल वा छलछाम छैन, सभ्यताको दर्वह आवरण पनि छैन । हेरुँ, आफ्नो जीवनगत अन्तमर्म प्रस्तुत गरिएका संवादात्मक भाव झल्कने केही लोकपद्यहरूः

हे नानी तिमि ता पहेंलि-पातली ज्यूडाल मिलेको अति
तिम्रो घर् कहाँ हो ? छोरी हौ कसकी ? कस्ता छन् तिम्रा पति ?
सौता छन् घरमा-जरुल जियकी, पती उसैका भया,
छोराछोरि पनी भए उसइका, माया विनूकी रह्याँ ॥

ए नानी तिमि ता अत्यन्त रूपकी दन्तैमा लाउने बिरी
हाँस् – खेल गर्नु पनी यसै बखतमा आउँदैन जोवान् फिरी,
कोटाकी पटुकी, गउन्कि फरिया, लाउनू रगिन्का चोला
दिग्दारी मनमा फाल्दिन्छु ज्यान् पनी की देख्न पाउनु होला ।

ए नानी, तिमिता पहेलि-पातली मोटी थियौ दूबली ?
एक्सरे पतरी-कटेमटे ढिंडो पस्केर ठेस्याइ दिनी,
तर्कारी तिहून अलीनु-विलिनू-कोल्टे दुनो चुहिने,
दीँदा खान पनि घोची-पेचि र’ने मोटी कसोरी हुने ?

लुगाधुन भनी बसालेको बाहान्
मलाई दिने धर्मा कति छन् त जाहान् ?
दुई लेना भैसी त ओदाने गाई
दुई आमा-छोरा तीन दाजु-भाइ ।

हे नानी, तिमीता पहेली-पातली बेलेडि राम्रो कपाल्
बाबाले दिनुभो पूर्व दिशा हेरी तिम्ले रोजेको नेपाल,
सात् हात्को फरिया, सुजैको पटुकी, बन्धन् छिन्यो डोरिको
आर्काको घरमा नगढ़ नहुने के कर्म यो छोरिको ।

यस प्रकार निष्कपट ग्रामीण नरनारीहरू आफ्ना तत्कालीन मनोव्यचालाई संवाद शैलीमा यहाँ प्रस्ट्याइरहेछन् । यी अभिव्यक्ति कतै असभ्य बोलीद्वारा हल्का हाँसो हसाउँदै छन् भने कुनै अभिव्यक्तियत शैलीको ढङ्गले सहज मुस्कान ल्याउँदै छन् । फेरि कतिपय पद्यले सामाजिक चित्रण, त्यसको विषमता तथा विसङ्गति बिस्तारै दर्साउँदै छन् जसमा उपेक्षात्मक हाँसोले स्थान पाउने कुरा यथार्थ छ । अर्को कुरा : नेपालका केही त्यस्ता जिल्ला, ठाउँ र एरियासमेत छन्, जो आ-आफ्नै चीजावस्ताको लागि वैशिष्ट्यकाे कुरा फेरि यहीँ नेपालको पश्चिमाञ्चल भेक अन्तर्गत केही यस्ता ठाउँ छन्, जो आ-आफ्नो उत्पादित वस्तुको लागि स्थानीयभेकमा विशेष प्रसिद्धि कमाएका छन् । जस्तैः

फलेवास्का मास, कुर्घाका बाँस,
भोगसिङ्को घाँस, धुवाकोटको कांस इत्यादि ।

त्यस्तै अर्को अर्थनवर्थको हाँसो :

जन्ती त आए खोपलाको बाटो
गोडा धुन बस्यो गजधम्मे लाटो
गजधम्मे लाटोले बटुको फोर्‍यो,
दुलहीको सौतालाई बाघले कोर्‍यो ।

पाठान्तर –

जन्ती त आए खोपलाङ्कको बाटो
गोडा धुन बस्यो गजघम्मे लाटो
पेटका द्यौतालाई छटपटि भा’को
गोडा धुने नाम्मा कति पानी खा’को ।

यसरी आफ्नो भेकमा घाँस (गाईवस्तुको आहारको रूपमा खाने तृण वा डाले घाँस को निम्ति प्रसिद्ध ‘भोगसिङ्गाउँ’ ’कि बस्न भैँसीगोठ’ को जीवनकालनिम्ति निकै महत्त्वपूर्ण थियो । गृहस्थ किसानहरू किसानीको निम्ति सन्तोषी र सबल थिए । यसैले धनीमानी कहलाएका यहाँका गृहस्थ किसानहरू स्वयंमा सम्पन्न, सुखी, स्वाभिमानी भएको भावमा अप्रत्यक्ष रमाइलो उत्तर दिन्छन् प्रश्नकर्तालाई । जुन रमाइलो र घुमाउरो लोकपद्य यसप्रकार छ –

भोगसिङ्गा बराल, धनका गराल
के खान्छन् भैँसीले, खै टौवा पराल ?
बाच्छाँ का धान फलेबास्का मास
के चाइयो पराल ? हेर काँ घाँस । इत्यादि

वास्तवमा संवाद, संलाप, कथोपकथन-हाराहारीका शब्द हुन् । नाटक र कथासाहित्यका अन्यतमतत्त्वको रूपमा संवाद सामान्य छ भने यहाँ लोकानजनरूपमा महिमामय छ । प्रस्तुत संवाद जीवनमुखी वस्तुतथ्यलाई निष्कपट रूपले अघि सार्ने भावनाको प्रकटीकरण हो जहाँ छोटा, चुट्किला र हृदयस्पर्शी अभिव्यक्ति छन् । यहाँ जीवनको यथार्यता छ, आँसु र हाँसोको घुलमेल छ । अनि आँसु र हाँसोको विशेषताव्याप्त नेपाली जीवन अन्तर्गत यी आफ्नो पारख र पौरखमा अन्तमुक्त छन् । निश्चय पनि हास्यव्यङ्ग्य लोकजीवनको रमाइलो र लोकप्रिय विधा हो । यसका आफ्नै शैली र तौरतरिका छन् । महाकवि देवकाटोले आफ्नो मनोरञ्जन (२०२४) मा व्यङ्ग्यचित्र, गिज्यौली तथा दिल्लगी, उत्ताउली र उडन्ती, पानीहाँसो, अश्रुहाँस आदि नाम दिई यसलाई आफ्नै ढङ्गले प्रस्तुत गरे-प्रस्ट्याए । त्यस्तै भैरव अर्यालले आफ्नै ढङ्गले हास्यविवेचना गरे । अर्यालले आफ्ना हास्यनिबन्धमार्फत सामाजिक कुरीति र राष्ट्रियस्तरका कमी-कमजोरी तथा विकृति आदिलाई व्यङ्ग्यतासाद प्रस्ट्याउँदै रमाइलो अनुभूति प्रदान गरेका छन् । यहाँ रमाइलो प्रस्तुतिमार्फत पाइने सरल हाँसोमा व्यङ्ग्यको कठोर तीक्ष्णता घुलमेल हुनु नै उनका रचनाको विशेषता हो । फेरि हास्यरचनाद्वारा जनसाधारणलाई मख्ख बनाउँदै मानसिक तरलता उद्वेलित पार्ने गरी हल्का हाँसो दिन सक्नु यसको बैग्लै विशेषता हो । यहाँ हाँस्नु र हँसाउनु ढङ्गका पनि फरक-फरक किसिम छन्, चालढाल छन् । यसैले हास-परिहास, कुराकानी, व्यवहार सबै सामयिक अवस्था र परिस्थितिको फेरमा आ-आफ्नो समझअनुसार अभिव्यक्त छन्, बोध्य छन् ।

सामान्यतः बोल्नु र हाँस्नु सजिलो ठानिन्छ, तर व्यङ्ग्यसाथ हाँस्न र बोल्न पनि ठीक ठाउँ चाहिन्छ । त्यसमा पनि झन् हाँस्ने काममा त मान्छेले राम्रो बुद्धि पुर्‍याउनु अत्यावश्यक छ । मान्छेले आफ्नो तह र स्तर, मर्यादा र सभ्यता, अनि सामाजिक परिवेश आदि राम्ररी सोचेर मात्र अवस्थाअनुसारको हाँसो हाँस्नुपर्छ, नत्र वित्यास नै पर्नसक्छ । यही पक्षमा छन् युवक कवि मोतीराम भट्ट (१९२३-१९५३) । यहाँ बुढाकवि भानुभक्त (१८७५-१९२५) त हाँसोका लागि अनुदार नै देखिन्छन्। उनी गृहिणीलाई अझ मर्यादित र गृहकार्यलीन गराउने पक्षमा छन् । यसैले मान्छे जम्मा भई हाँस्न थाले गृहकार्य पसारो पर्छ, लथालिङ्ग बन्छ भन्दै – ‘हाँस्न छैन कदापि नारिहरूले…’ आदि लेख्न थाल्छन् । मोतीराम चाहिँ यति अनुदार छैनन् उनी मौकापारी हाँस्नुपर्छ भन्छन् र बेमौकाको हाँसो ठीक छैन पनि भन्छन् । उनको हासो भलाद्मी छ र मर्यादित छ ‘मुसुक्क’ । उनी भन्दछन् मान्छे भलाद्मी र सभ्य बन्न पहिले त सितिमिती हाँस्तै नहाँस्नु, हाँस्नैपर्ने अवस्था आए भलाद्मी तरिकाले मुसुक्क हाँस्नू इत्यादि । उनी यही सल्लाह समाजलाई दिन्छन् –

खित्-खित् नहाँस्नु, न त पेट मिचेर हाँस्नू,
हा-हा, हिही गरि त सज्जनले नहाँस्नू,
पैले त वे बखतमा कहिल्यै नहाँस्नू,
दोस्रो नहासि नभया त मुसुक्क हास्नू । अस्तु,

०००
स्मृतिमा डा. हंसपुरे सुवेदी (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x