साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सान्त्वनाको स्वस्थानी

असामान्य मनस्थितिका मानिसहरूले असामान्य काम गर्दछन् । मनै त हो आखिर, कल्पनामा डुब्दा डुब्दै सपनामा हराएर जान नसक्ने कुरै भएन । सपना विपनाको अभावमा दगुरेको हुन्छ भन्ने कुरा धेरैले भोगेका हुन्छन् तै पनि त्यसलाई स्वीकार्न सक्दैनन् ।

Nepal Telecom ad

विष्णु प्रभात :

विज्ञान तीन आधारभूत शाखामा बाँडिएको छ, तर जीवन भने मात्र दुई आधारभूत वर्गमा विभक्त छ । तथ्य विज्ञान, जीव विज्ञान र मानव विज्ञानका शाखा भित्र अन्य अनेकौं विषयहरू समावेश छन् । तथ्य विज्ञानलाई प्रकृति विज्ञान पनि भन्न सकिन्छ र यस भित्र गणित, खगोल, यान्त्रिकी, भौतिकी, रसायन जस्ता शाखाहरू छन् । जीव विज्ञानभित्र स्तनधारी – अधारीदेखि शुक्ष्म- किटाणु लगायत समस्त जीवजगत पर्दछ । मानव विज्ञानमा भने जीवनका अनेकौं परिस्थिति, सामाजिक सम्बन्ध, कानून तथा सरकारका रूप, दर्शनशास्त्र, धर्मशास्त्र, कला, साहित्य, सङ्गीत र सिनेमाको क्षेत्रसमेत विशाल वैचारिक फाँट पर्दछ । यसरी हेर्दा विज्ञान स्वयं त्रि-आयाम भएको ज्ञानसत्ता देखापर्दछ । परन्तु वस्तुसत्ताको प्रकृति, मानवसत्ताको परम्परा र भावनाका विश्वासहरूले जीवनलाई बाँध्छ । जीवन नारी र पुरुषमा विभक्त प्राकृतिक पनमा बाँधिएको त छ, तर त्योभन्दा भिन्न सामाजिक जीवनमा दुई आधारभूत वर्ग बनेर चिरिएको छ । श्रमशील र श्रमहीन पतिमा- गरीब र धनीमा, बाँडिएको छ । हुने र नहुने, सुखी र दुखी, शोषित र शोषक, शिक्षित र अशिक्षित, सम्पन्न र विपन्न जुन शब्दमा व्यक्त गरे पनि जीवनको हैसियत आर्थिक आधारमा खडा छ । साँस्कृतिक पक्ष अथवा जातिगत पक्षलाई समेत बाँध्ने काम आर्थिक पक्षले गर्दै आएको छ ।

गरीबी, भोकमरी, अकाल-मृत्यु, बेघरबार, बेरोजगार, बेसहारा परिवेशमा वाँच्नेहरूको हित कसले सोच्यो ? धनीहरूमा पनि धनीदेश मानिने अमेरिका पाँच प्रतिशत धनीहरूको रङ्गमहल बनेको छ । त्यतिमात्र होइन संयुक्तराज्य अमेरिकाद्वारा एलसाल्वाडोरको किसान विद्रोह दबाउने क्रममा तीसहजार मानिस मारिए । ग्वाटेमालाका अस्सीहजार आदिम वासिन्दा मारिए। मेक्सिको र इक्वेडरमा ठूलो संख्यामा नरहत्या गरियो । जापान, भियतनाम र पेरुका जनताको हत्यामा पनि ऊ सामेल भइरहेको छ । अमेरिकामा पहिलो पल्ट युरोपेलीहरू पुग्दा १२ लाख मानिसहरू थिए । ब्राजिलमा पाँचलाख जुलूहरू थिए । ती मध्ये धेरैको हत्या भएको छ। दुईलाख भन्दाकम संख्यामा झरेका जुलूहरू आज पनि प्रताडित छन्। आफूलाई मानवअधिकारको मसिहा भनि प्रचार गर्ने अमेरिकाले बीसौं शताब्दीमा समेत ६० हजार लाल-भारतीयहरूको हत्या गर्‍यो । जीवन उनीहरूको पनि हो तर बै विज्ञानले विशाल पराक्रम गर्दा पनि मान्छेको समाजमा सहअस्तित्व बोधको संस्कार हुर्केको ?

सिर्जनामा विश्वासको छनौट गरिन्छ। जीवनमा पनि विश्वासकै छनौट गरिन्छ । विज्ञानमा विश्वास प्रयोगद्वारा हासिल हुन्छ तर जीवनमा अन्धविश्वास पनि विश्वासको आधार बन्दछ र आस्थाको निर्माण हुन्छ । हाम्रा कतिपय आस्थाहरू विज्ञानको आधारमा होइन, अज्ञान र अन्धविश्वासमा अडिएका छन् । जसरी सामाजिक सीमा, भूगोल र युगले मानिसको जीवन प्रभावित मात्र होइन आवद्धसमेत भएको हुन्छ, त्यसरी नै शिक्षाको अर्थ पनि विकल्पयुक्त रहेर आएको छ । विज्ञानलाई मात्र हैन अज्ञानलाई शिक्षा भन्ने चलन हाम्रो जीवनमा पाइन्छ । जडविश्वासद्वारा निर्मित वानी, भ्रान्ति चेतको खानी र परम्परागत अभिमानी अनुहारमा धर्म खडा भएकाले त्यसको विकल्प विज्ञान हो भन्ने ऑट वैज्ञानिकहरूले समेत प्रष्टसँग गरेको पाइँदैन । तथ्य आफै बोल्छ भनेर सत्यको सीमा नदेख्नु भ्रान्ति चेतको कला हो । एउटा कालको सत्य अर्कोकालको झूट बन्न सक्छ । त्यसैले सत्य सीमाबद्ध हुन्छ । सीमा भित्रको सत्य सीमा बाहिर पुग्दा असत्य हुन्छ भन्नुको तात्पर्य- तेरो सत्य तेरै सीमा भित्र छ, मेरो सत्य मेरे सीमामा छ भन्ने अहंकार प्रदर्शनको छुट होइन, विश्वासको छनोट हो । झूटलाई सत्य मान अथवा सत्यलाई झूट मान तिम्रो खुशी तर एउटै समयमा एउटै आकृतिमा सत्य र झूटको एकाकार भने हुनै सक्दैन । यो हावा जत्तिकै पारदर्शी तथ्यलाई समेत हाँडीको पिँध बनाउँछ मान्छे ।

विज्ञानको कुनै सोझो र सम्म बाटो छैन र त्यसको उजेलो चुचुरोमा पुग्न तिनीहरू मात्र सक्दछन् जो आफ्ना सामु खडाभएका विकट पहाड चढ्ने आँटलाई थकाइ लाग्ने डरद्वारा कमजोर पार्दैनन् । यो कुरा दुईशताब्दी अघि नै मार्क्सले भनेका थिए । यसो भन्नुभित्र जर्दानो ब्रुनो, ग्यालिलियो, आइन्स्टाइनहरू प्रति त्यतिखेरको समाजले गरेको अभद्र व्यवहार, प्रताडना र हिंसाको अनुभव बोलेको छ। जीवनको यही अनुभवले उनलाई आफ्नो संकल्पमा दृढ बनायो र ३६ पटकसम्म देश निकाला हुँदा पनि लक्ष्यबाट विचलित हुन दिएन। संकल्प र आकांक्षाले विकल्प खोज्न प्रेरित गर्दछ । तर अठोट र आशाले मात्रै विकल्प निर्माण भने गर्दैन । श्रृंखलावद्ध संकल्प धेरैमा नहुन सक्छ, जसले मानिसलाई जीवनका निम्ति निरन्तर प्रतिबद्ध राख्न सघाउँछ ।

जीवन अचम्मको पनि छ । विविधता र जाँदा कहिले आशा र उमङ्ग बीच हराएको पाइन्छ, कहिले निराशा र विकल्पहरूका बीचबाट गुज्दै शिथिलताको दहमा भुवँरी लगाउँछ । कुमारी पुत्र ईसुख्रिष्ट खिसिक्क हाँस्छन्- छल प्रपञ्चका मीथकहरूमा । किनभने बाइबलको कथामा पाइने दुईरोटी र माछाले गाउँका गाउँलाई भोज खुवाएको स्वैरकल्पनाद्वारा उनको पराक्रम प्रचारित छ । पोष्यपुत्री सीता हाँस्छिन्- रामायण कथामा । कृष्णको रासलीलालाई कर्मवादको निष्काम कर्म-सन्देश भन्दै हिन्दुहरूले त्यसरी प्रचार गरेका छन् जसरी गीताले बताएको छैन । धर्मान्धहरू आस्थामा हराउँछन् । आस्था अन्धविश्वासको आदर्शमा अडिएको छ । त्यसैले धार्मिक जीवन प्रेममा होइन भ्रममा दगुरेको हुन्छ । चाहे ईसुखिष्ट हुन् अथवा कृष्ण- मोहम्मद, उनीप्रतिको विश्वास ऐतिहासिक तथ्यमा आधारित छैन । विश्वासको विविधताले तथ्यको विविधता हैन, भ्रमको समरुपता प्रदर्शन गरिरहेको पुराणकथाहरूको भ्रमलाई चलचित्रले वास्तविकतामा बदल्न छ. । सक्दैन । चित्रकलाले तथ्य सावित गर्न सक्दैन । शब्दलाई ब्रम्म मान्नेले अनुभूतिलाई चेतना हैन भन्न सक्दछन् तर अनुभववाट प्राप्त ज्ञानको आधार जगत वाहिरको अज्ञात शक्तिसत्ता कहिल्यै रहेको छैन । जाति र संस्कारले जीवनसँग सम्बन्ध राख्दछ र जीवनको यो भोगाईसँगै मान्छेले आफ्ना जातीय इष्टदेवता- कूलदेवता, हुर्काएको हुँदा ईश्वर स्वयं विकल्पमय बन्न पुगेको छ । निराकार भनिए पनि साकार रूपमा देवताहरू ठडिएका छन् । ब्रम्हशून्यमा अडिएको छ भन्नेहरूले शून्यलाई निरापद निराकृति र निर्वचनीय भन्दै जीवनको सीमा बाहिर पुऱ्याए पनि शून्यको धारणा विन्दुमा विखण्डन हुन्छ र भरिलो शून्य र रित्तो शून्यको यथार्थ बोध गराउँछ ।

शून्यमा जीवन चल्दैन । न त मन नै शून्यमा अडिन्छ । यथार्थको आधारले नै मनका तरङ्गहरूलाई कल्पनाको सन्सारमा दगुराउँछ । मन जब अधिर हुन्छ, तब जीवनमा स्थिरता रहन्न । त्यसैले मनको स्थिरताका लागि मानिसहरूले अनेक उपायहरू निकाले । योग र भोगको सन्तुलनमा जोडदिँदै जीवनसम्बन्धलाई सुधारे। समाजलाई मानिसका निम्ति निर्मित संस्थाको मर्यादा दिदै कल्याण कामनालाई अघि सारे। मनलाई जीवनको कल्याणमा लगाऊ दुःखबाट मुक्ति मिल्छ । जीवन मनको इनारमा खसेपछि मन र जीवन दुवैको सुधार गाह्रो हुन्छ र नियमितता टुक्रिन्छ । यस्तो अवस्थाले समाजलाई पनि अप्ठेरोमा पार्छ । समाजको सङ्गतिमा नियमितता रहन्छ, नियमितता द्वन्द्वमय हुन्छ । निर्द्वन्द नियम प्रकृतिमा छैन । प्रकृतिको द्वन्द्वमयतामा विसङ्गति पैदा भयो भने विनास उब्जन्छ । विनाशको विऊ विसङ्गति हो । विरोधको आधारमा सन्तुलन पनि रहेको हुन्छ। सन्तुलन खल्बलिँदा विष्फोट हुन्छ । विष्फोट विनाशको उब्जनी हो। ध्वंशको वाहक हो । तर ध्वंश निर्माणको सूचक पनि बन्न सक्छ । निर्माण र ध्वंश बीचको ललितसम्बन्धले सिर्जना मुस्कुराउँछ । परन्तु सिर्जना सचेत अनुभूतिद्वारा अभिप्रेरित हुन्छ र सचेत अनुभूति सिर्जनामूलक मात्र हुँदैन । प्रतिशोध वा प्रभुत्व प्राप्तिका निम्ति पनि सचेत अनुभूति प्रेरकतत्व बन्न पुगेको हुन्छ । यस्तै हैकमी चेतनाद्वारा डोर्‍याइँदा शासकहरूले राष्ट्रिय अहंकार पस्कन्छन् । अरुलाई हेप्ने- थिच्ने काम गर्दछन् । उनीहरूको मनमा कल्याणकारी सोचको अस्त हुन पुग्छ र प्रतिशोधको दीयो सल्कँदै जान्छ ।

विज्ञान र जीवनका बीचमा मान्छेका संचेतनाहरू छन् । नित्य-अनित्य, सत्य-असत्य, प्रेम-घृणा, सकार-नकार, विद्या अविद्या, यथार्थ कल्पना जस्ता परस्पर वैकल्पिकतामा प्रवाहित पक्षको सन्तुलनले मानिसलाई बोध प्रदान गर्दछ । अवाधित स्वतन्त्रता र बाधित स्वतन्त्रताबीच मान्छेको अहंकार र आकांक्षा संघर्षशील बन्दछ । ईश्वरको भ्रमबाट मुक्त चेतनाले मानिसका पराक्रमको बखान गर्छ । अनुमान प्रमाण बन्न सक्दैन तर माने पछि भइदिन्छ । जीवनको रोचकता विज्ञानको पोषक आविष्कारद्वारा जसरी सिंगारिएको छ, त्यसलाई अब कुनै ईश्वरले खोस्न सक्दैन । भए पो र ! बुद्धले भेटेनन्, मोहम्मदले भेटेनन् । क्राइष्ट आफै शुली चढे र ईश्वर पुत्र बने । कृष्णले आफ्नै गीता गए, आफैलाई ईश्वर बताए । जीवन यही अनौठोपनले गर्दा अचम्मको भएको छ । धर्मात्मा भनिने कल्पनाको देवतालाई पापी भनिने जीवजगतका मनुष्यको किन खाँचो पयो ? विहार ज्ञानको पाठशाला हैन अज्ञानको पाकशाला हो। अतः भ्रमको दर्शनका रूपमा रहेको ईश्वरवाद विरुद्ध बोल्ने आँट किन नगर्ने ? जब भाग्य बदल्न देवताले पनि सक्दैन भने भाग्यवादी संस्कारको उपासक किन बन्ने ? कर्मफल रोक्न ईश्वर असक्षम छ भने आफ्नो कर्मद्वारा प्रकृतिमाथि विजयी किन नबन्ने ? लौकिक सत्य नै अलौकिक भ्रमको आधार बनिरहेको वर्तमानमा भ्रान्ति चेतको विरुद्धमा उभिनु भनेको विज्ञानको चमत्कारले दिएका जीवन सत्यको पक्षपोषण गर्नु हो, निराकार कल्पनाको उपासना होइन, साकार जीवनलाई अझ सम्मृद्ध बनाउने मार्ग पक्रनु हो ।

सामाजिक नैतिकताको साधन बनेर धर्म र ईश्वरले हाम्रो समाजलाई भ्रान्ति सत्ताले बाँधेको छ । ज्ञानको भोकलाई अज्ञानको आदर्शद्वारा सन्तोष दिने प्रयत्नमा ईश्वरको भजन गाउन सिकाउने काम सामाजिक संस्थाका ठालुहरूले सुरु गराएका थिए । जसको आधारमा पछि आफ्नो जयगान गाउन लगाउने सामन्ती संस्कृति हुर्काए । जीवले जीवन रक्षाको उपाए निर्माण गरे जस्तै सत्ताधारी ठालूहरूले आफ्नो हैकम जोगाउने उपायका रूपमा ईश्वरीय कल्पना अघि सारेर सामाजिक संस्कार र सत्ता-चेतना फैलाए । प्रतिपक्षमा रहेका तर्कहरू, विचार र विश्लेषणहरूलाई दबाए । आफ्नो जीवनको उन्नतिका निम्ति अरुको जीवनमाथि हुकुम चलाए । मत्स्य न्याय भनौं वा व्याघ्र न्याय, ठालूको हैकमले विज्ञानलाई पनि विनासको साधन बनाएर अरुलाई नियन्त्रणमा राख्दै आफ्नो स्वार्थपूर्ति गर्ने काम गर्यो । विज्ञानले पनि सत्यको अन्तिम टुङ्गो दिन सकेको छैन त्यसो हुँदा अज्ञानको ईश्वर अझै पनि बलशाली रहेको छ भन्ने तर्क गर्दै जीवनलाई विज्ञानको पक्षधर बन्न नदिने प्रयास जारी छ । धर्मलाई मानसिक भ्रम माने पनि, ईश्वरलाई भ्रमको देवता भन्न हच्किरहेको पाइन्छ । मान्छेको जीवनका अनेकौं अनुभूतिहरू सामान्य खालका हुन्छन् सहज हुन्छन् तर सवै मान्छेमा सहज अनुभूति सामान्य ढङ्गले व्यक्तहुन्छ भन्न सकिदैन । असामान्य मनस्थितिका मानिसहरूले असामान्य काम गर्दछन् । मनै त हो आखिर, कल्पनामा डुब्दा डुब्दै सपनामा हराएर जान नसक्ने कुरै भएन । सपना विपनाको अभावमा दगुरेको हुन्छ भन्ने कुरा धेरैले भोगेका हुन्छन् तै पनि त्यसलाई स्वीकार्न सक्दैनन् । गलत आस्थामा अल्झिएका बैसालु युवा-युवतिहरू यौवनका कामनामा लहरिंदासँगै आत्महत्या गर्न पुग्छन् । जीवनको भावुकता तर्कशील हुँदैन । विवेक बुद्धिको सामाजिक धरामा खडा हुन्छ । ’हुन्छ मानिसको मन आत्ति, क्षुद्र मुसो पनि हात्ती’ भनेझैं आभाषित ज्ञानले काल्पनिक सोचको झझल्को अनुभूत गराए पनि झझल्को मनको मोहनीमा मच्चिने मनकथा मात्र मानिन्छ । त्यसैले धर्म र ईश्वरको खेल मनले मानिदिएको तर जीवनले नमानेको सान्त्वनाको स्वस्थानी सिवाय अरु केही होइन ।

संस्कृत साहित्यबाट नेवारी हुँदै नेपाली भाषामा लेखिएको स्वस्थानीको कथामा आर्य-अनार्य, किराँत ब्राह्मण संगमको कथा छ । मंगोल र आर्य संगमद्वारा निर्मित परिवार मात्र हैन यौनस्वच्छन्दताको मातृसत्तात्मक संस्कारसमेत छ । तर सँगसँगै नै सामाजिक व्यवस्थाको नायक खोज्ने गणतान्त्रिक समाजको सङ्केत पनि यसमा छ र सामन्ती संस्कृतिको सम्वाहक ईश्वरलीलाको मिथक पनि छ । सृष्टिको कथामा दूध घिऊका समुद्रको वणर्न छ जुन कुरा फगत कल्पनामा मात्र सम्भव छ । त्यसैले ईश्वर पुराणकथाको जादुगरका रूपमा शक्तिशाली देखापरे पनि त्यसको अस्तित्व हाम्रो संसारमा कहीं कतै छैन । कल्पनाको स्वस्थानी कथा जस्तै सान्त्वनाको संस्कार बाँडेर धर्म र ईश्वर नामका भ्रम र खेलाचीमा मानिसहरूको एउटा पति अझै पनि मूर्तिपूजाको नसा झुमिरहेको छ ।

०००
२०५५/९/१९

खुलैखुला कुरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x