साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वार्थजीवी भव सब !

मात्रा प्रमात्रामा स्वार्थ व्याप्त भएको हुँदा यसको वर्गीकरण गरी साध्य छैन ! जहाँ जानुस् त्यहाँ स्वार्थका कुरा उठिहाल्छन् । जे कुरा गर्नुस् त्यहाँ स्वार्थ खोजिहालिन्छ । त्यसैले दुनियाँमा कहीं कतै निःस्वार्थ भन्ने कुरै हुँदैन ।

Nepal Telecom ad

विष्णु प्रभात :

स्वर्ग, मर्त्य र पातालमा सबभन्दा ठूलो र महत्त्वपूर्ण कुरा केही छ भने त्यो हो- स्वार्थ । स्वार्थकै कारणबाट सारा चराचर गतिशील हुन्छन् । सबै जाति, देश, समूह र व्यक्तिहरूबीच सर्वाधिक लोकप्रिय कुनै वस्तु छ भने त्यो पनि स्वार्थ नै हो । स्वार्थबिना न देवताहरू क्रियाशील हुन्थे, न मनुष्यहरू क्रियाशील हुन्छन् । जङ्गम, स्थावर सबै स्वार्थको मियोवरिपरि रिँगेका हुन्छन् । जलचर वा नभचर मात्र हैन स्थलचरका यावत् प्राणीहरूमा समेत यो समान रूपमा प्यारो बन्न सकेको छ ।

अघि स्वर्गाधिपति इन्द्रमहाराजले कुर्चीस्वार्थवश साधक तपस्वीहरूलाई पथभ्रष्ट पार्ने गरेका कुराहरू हाम्रा पुराणपोथ्राले बताउँछन् । पछि धरतीमा पनि स्वार्थकै कारणबाट अनेक बबन्डर मच्चिदै मनुष्यहरूको महाभारत, रामचरित्र र कृष्णलीलाहरू भए । कौरव र पाण्डवको युद्ध अथवा राम र रावणको युद्ध, जुनलाई लिनुस् ती कुनै धर्मयुद्ध थिएनन् बरु दुवै स्वार्थयुद्ध थिए । स्वार्थकै अँगालो मारेर कृष्णजीले अर्जुनलाई गीता पढाए । मुकुन्दसेनका पुर्खाले माण्डव्यलाई शूली चढाए, बुद्धले बनियाँ भुलाए, पारुहाङले सुम्निमा डुलाए । आखिर स्वार्थबिना को चल्न सक्यो ? मिथकीय देवताहरू हुन् अथवा दलीय नेताहरू हुन् कुनै न कुनै अभिलाषा लिएर नै उनीहरूको आँखा उम्रन्छ । आँखा चिम्लेपछिको स्वर्गमा कोही कसैको विश्वास छैन । छ भनेर कसैले दाबी गरे पनि त्यो ढाँटकुरा हो । ‘मरेपछि डुमै राजा’ नेपाली लोकजीवनले भन्छ- “ खाने बुद्धि शीला र मन्तर ।” त्यसैले सबले आफ्नो आफ्नो नाम लिएर भनौं – स्वार्थजीवी भव सब !

स्वयम् मैले निःस्वार्थ मनले स्वार्थका बारेमा लेखिरहेको छैन किनभने बाँच्नका निम्ति लेख्नैपर्ने बाध्यता मेरो अगाडि छ । अनि लेख्नुको तात्पर्य बाँच्ने छ । यदि ईश्वर कतै छ भने त्यो स्वार्थमय संसारका रूपमा कणकणमा व्याप्त छ । सो भन्दा आजको कर्म, धर्म र ईश्वर स्वार्थ नै हो । स्वार्थका कथाव्यथा नै ब्रह्माण्डका लीला हुन्, कर्मकायाहरू हुन् । चाकरीमा जाने मान्छे होस् अथवा नजाने, युद्धमा जाने व्यक्ति होस् अथवा शान्तिको परेवा उडाउने व्यक्ति होस् प्रत्येकसँग स्वार्थ टाँसिएको हुन्छ । प्रत्येक मन, वचन र कर्महरूमा स्वार्थ लुकेको छ । बिरालाले मुसाको प्वाल कुरेर बस्दा निःस्वार्थ रखवारी गरेको भाषण गर्न सक्छ । कुकुरले भतेरको डिल कुर्दा मालिकप्रति भक्तिभाव प्रकट गरेको वक्तव्य दिन सक्छ । गाई दुहेर दूध बेच्नेले पनि भन्न सक्छ- मैले गाईको उपकार नै गरेको हुँ । नदुहेको भए कल्चौंडो गानिएर थुनिलो हुन सक्थ्यो । पूँजीपतिले भन्न सक्छ मैले रोजगारी नदिएको भए मजदुर भोकभोकै मर्न सक्थ्यो। यी सब भन्ने कुरा हुन्, सुन्ने कुरा हुन् । दन्त्यकथाजस्तै मीठा अभिव्यक्तिहरू हुन् । तर तीतो यथार्थ हो स्वार्थ जसलाई सबले जानेसम्म लुकाउने चेष्टा गर्दछन् । त्यसैले मनलाई साक्षी राखेर भनौं- स्वार्थजीवी भव सब !

स्वार्थ राम्रो वा नराम्रो र व्यक्तिगत वा सामूहिकमा बाँडिन सक्छ । त्यसैले स्वार्थ थरीथरीका हुन्छन् । व्यक्तिगत स्वार्थ, दलगत स्वार्थ, जातीय स्वार्थ, राष्ट्रिय स्वार्थ, जैविक स्वार्थ, दामको स्वार्थ, मामको स्वार्थजस्ता अनेक रूपहरू आज हाम्राबीच प्रचलित छन् । मात्रा प्रमात्रामा स्वार्थ व्याप्त भएको हुँदा यसको वर्गीकरण गरी साध्य छैन ! जहाँ जानुस् त्यहाँ स्वार्थका कुरा उठिहाल्छन् । जे कुरा गर्नुस् त्यहाँ स्वार्थ खोजिहालिन्छ । त्यसैले दुनियाँमा कहीं कतै निःस्वार्थ भन्ने कुरै हुँदैन । परमउपकारीदेखि अपकारीसम्मका सबै कामकुराहरूमा कुनै न कुनै स्वार्थ लुकेको हुन्छ । प्राप्तिको अपेक्षा स्वार्थ हो, समाप्तिको अपेक्षा एक मात्र निःस्वार्थ हो । त्यसैले समाप्त हुन नचाहने प्रत्येक मानिसले जपिरहेको हुन्छ- स्वार्थजीवी भवेत् मम ।

स्वार्थको संसार ज्यादै व्यापक भएर पनि असङ्गठित पनि छ । समाजका अनेक क्षेत्रमा कार्यरत व्यक्ति वा समूहलाई उनीहरूको पेसासँग जोडेर मर्यादित र सङ्गठित बनाउने प्रयास भइआएको देखिन्छ । मान्छे कुट्ने पुलिस वा मान्छे भुट्ने फौजको कुरा छोड्ने हो भने पनि दलदलमा बाँधिएका बगालहरू हाम्रासामु छँदै छन् । तर स्वार्थीहरूको कुनै सङ्गठित संस्था भने हालसम्म पनि यत्रो विशाल भूमण्डलमा कतै छैन । प्रत्येक क्षेत्रलाई उनीहरूको कामसँग जोडेर नाम दिने चलन सबैतिर पाइन्छ । सिङकर्मी र नङकर्मीबाट सिकर्मी र नकर्मी बनाउनेहरूले स्वार्थीहरूका निम्ति स्वार्थकर्मी भन्ने शब्द नबनाउनु ज्यादै दुःखको कुरा हो । रङ्गरसमा डुबेकालाई रङ्गकर्मी भनेजस्तै स्वास्थ्यसँग लेखबाड गर्नेहरू स्वास्थ्यकर्मी, सूचना सुधार्नेहरू सञ्चारकर्मी, कपडा उघार्ने सिलाइकर्मी भनिँदै आएका छन् । त्यसैले स्वार्थका निम्ति मरिमेट्ने वीरहरूका निम्ति मतलबीजस्तो फेटा गुताएर पुग्दैन । मेरो विचारमा यिनीहरूलाई पनि कर्मी जोडेरै पुकार्नुपर्ने हुन्छ र त्यसो गर्दा ’स्वार्थकर्मी’ भन्नु बेसै हुन्छ । यस कुरामा सहमति जनाउनुहुन्छ भने आउनुहोस् अखिल नेपाल स्वार्थजीवी सङ्घ खोल्न लागिहालौं र पुकारिहालौं – स्वार्थजीवी भव सब !

वास्तवमा आजका प्रत्येक मान्छे स्वार्थजीवी छन् । जब स्वार्थबिना कसैले कुनै काम गर्दैन भने सबै नै स्वार्थका निम्ति क्रियाशील हुन्छन् भने मान्छेलाई किन सामाजिक प्राणी भन्ने ? बरु उसलाई स्वार्थजीवी जन्तु भन्न बेस हुन्छ । सुहाउँदिलो पदावली स्वार्थकर्मी हो भन्ने मत पनि देखा पर्न सक्छ । त्यस बखत स्वार्थकर्मी र स्वार्थजीवीमध्ये रोज्नुपर्ने भयो भने कुन रोज्नुपर्ला ? मलाई पनि खबर गर्नुहोला । यतिन्जेल मैले निःस्वार्थ ढङ्गले सोच्नै सकेको छैन । प्रत्येक स्वार्थजीवीहरू स्वार्थकर्मी पनि हुन् । तिनीहरूको पेसा जेसुकै होस्, बसोबास जहाँसुकै होस्, भाषाभेष जस्तोसुकै होस् सब स्वार्थमुखी, स्वार्थमा आधारित रहेका छन् । स्वार्थजीवीको जिन्दगी स्वार्थमूलक हुनु कुनै अनौठो कुरा पनि भएन । नेपालका हुन् वा भारतका, चीनका हुन् वा जापानका, युरोपका हुन् अथवा अमेरिकी देशका सबका सब मानिसहरू स्वार्थद्वारा वशीभूत छन्, स्वार्थद्वारा प्रेरित छन् र स्वार्थपूर्तिकै काममा क्रियाशील रहेका छन् । मात्रा फरक हुन सक्छ, तर निःस्वार्थ मान्छे कतै ज्यूँदो छैन । बाँच्ने स्वार्थमा खाने, खाने स्वार्थमा पछिलाग्ने, पछिलाग्ने स्वार्थमा प्रशंसा गाउने तरिकाहरू पनि स्वार्थजीवीहरूले अपनाउँदै आएका छन् । ह्युमन राइटका कुरा गर्नेहरू हुन् अथवा उमन राइटका, चुम्बन राइटका कुरा गर्ने हुन् अथवा डगफाइटका खेल खेल्नेहरू हुन् स्वार्थको गुदीबिना कोही डेग चल्ने वाला छैनन् ।

त्यसैले यो साँचो कुरालाई ’ख’ भन्नेहरू पनि भेटिने छैनन् र सबैले आआफ्ना मनमा स्वार्थीकामहरू सम्झँदै ’स्वार्थजीवी भव सब !’ भन्ने मन्त्र जप्न पुग्नेछन् । त्यसैले आउनुहोस्, तपाईंहामी पनि स्वरमा स्वर मिलाएर भनौं – स्वार्थवाद जिन्दावाद ! स्वार्थतन्त्र अमर रहोस् !

०००
‘खुसखुस कम्पनी’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x