कलानिधि दाहालसमाज
पहरोमाथि छँदै छ सङ्गीत हो बजिरहन्छ बाँसुरी हो नयाँ नयाँ धुन प्वालभित्र ख्याल बनेर औँलाहरू चलिरहन्छन् आत्मसातको अग्लो हरियो जङ्गलमा निलो आकाशमुनि ढिस्काहरू भत्कन्छन् ।

कलानिधि दाहाल :
छन् छुद्र पहाडहरू
कुहुँदै गरेका झारहरू
फस्टाउँदै गरेका वनमाराहरू
बेशरमका निरस ढिस्काहरू
भत्कन्छन् विनायाम
गनाउँछन् विनाकाम
स्वघोषित सैनिक कुर्सीमा
पुलिस कुर्सीमा
सशस्त्र कुर्सीमा
राष्ट्रपति आसनमा
मन्त्री शासनमा
शिरपेच टाउकाले
थेगेनन् छुद्र पहाडहरू
गनाउँदै गरेका झारहरू
तैपनि
भ्यागुताको अभाव
कहाँ छ र ?
टर्टराउँछन् विनाकाम
बेमौसम
विनायाम
छन् सुन्दर लहराका शिरहरू
झप्प खर्खरुकीका भीरहरू
रेसा छुटेका पातहरू
प्रेम फैलिएका हातहरू
थोरै छन्
तर तिनैबाट छुट्छन्
विराट्विश्व बाँसुरी गीतहरू
सारङ्गीसङ्गीतहरू
सौजन्यका असङ्ख्य
हल्हलाउँदा प्रितहरू
प्यारका पल्लवित
प्यारामिडहरू !
घनघोर झरी झरोस्
या तूफानी हुन्डरी परोस्
राजा मरोस्
वा राष्ट्रपति
मन्त्री मरोस्
वा सेनाध्यक्ष
पुलिस मरोस्
वा भँगेरो
कवि मरोस्
वा कलाकार
छाडेकै हुन्छ उसले डोबहरू
कुवाभरि
भ्यागुता टर्टराइरहन्छन्
लहराभित्र नयाँ नेतृत्व
पातमा प्रेम रोपिरहन्छ
हातमा
बाँसुरीगीत घन्किरहन्छ
छुद्र पहाड भत्कन्छन् अनायास
दुर्गन्धझारहरू
हटाइन्छन् अचानक
विगुल बज्छ
जङ्गलभित्र
नयाँ सेनाध्यक्षको
भ्यागुतो अनुशासन
छोपिन्छन् कुवाकिनारमा
थोत्रा बेमौसम आवाहरू
थुनिन्छन तगारा
ब्लक-बन्द गरेर
चौबाटाहरू
च्याँखे थाप्दैनन्
वंशविनाश
कसैले केही गर्नु पर्दैन
आफैँ आगो बल्छ आबासभित्र
जति प्वाल फुट्छन् पुराना
नवसङ्गीत बनिरहन्छ निरन्तर
सारङ्गीधुन कतै रित्तिएको छ र?
फट्याङ्ग्राहरू
उड्छन् एकछिन्
छुद्र पहाडझैँ
कुहुँदै गरेका झारझैँ
फस्टाउँदै गरेका वनमाराझैँ
तर निरन्तर अग्लिरहने त
लहरो हो
पहरोमाथि छँदै छ
सङ्गीत हो बजिरहन्छ
बाँसुरी हो नयाँ नयाँ धुन
प्वालभित्र ख्याल बनेर
औँलाहरू चलिरहन्छन्
आत्मसातको अग्लो
हरियो जङ्गलमा
निलो आकाशमुनि
ढिस्काहरू भत्कन्छन्
उत्तिस पलाउनुको उत्साह
ढुङ्गोमाथि माटो मुछेर
असारे हिलोमा
मङ्सिर रोपिरहन्छ
विराट् विश्वसमाज !!
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































