बिन्दु दहाल ‘मूकदर्शक’जोगी
सुविधा सम्पन्न घरमा लुसुक्क भित्रियो र मुसुक्क हाँस्यो तर त्यो हाँसोमा पीडाको धाउ लुकेको प्रस्टै देखिन्थ्यो बस ! भोलिदेखि ऊ त्यो घरको फगत कारिन्दा हुने छ मात्र आज्ञाकारी कारिन्दा ।

बिन्दु दहाल मूकदर्शक :
आफ्नो पसिना मिसिएको घरलाई
लात मारेर
ऊ जोगी बनेर घरबाट निस्कियो
निधारमा खरानी घस्यो , हातमा चिम्टा बोक्यो
लट्टा पाल्यो, अलख जगायो
घर घर चहार्यो
तर बुझ्यो ओत लाग्न त
जस्तै भए पनि एउटा झुप्रो त
चाहिने रहेछ
उसले खर परालको एउटा कुटी बनायो
तर महलमा बस्न बानी परेकालाई
कुटीले शीतलता दिन सकेन
पुरानै घरको यादमा
बेकारमा छोडिएछ घर भनी
भित्रभित्रै पश्चातापमा डुब्यो
अन्तत: ऊ फेरि
आफ्नो स्वाभिमान र गरिमालाई
दाउमा राखेर
शरणार्थी बन्न
अर्कैको रगतपसिनाले सिर्जना गरेको
सुविधा सम्पन्न घरमा लुसुक्क भित्रियो
र मुसुक्क हाँस्यो तर
त्यो हाँसोमा पीडाको धाउ लुकेको
प्रस्टै देखिन्थ्यो
बस ! भोलिदेखि ऊ त्यो घरको
फगत कारिन्दा हुने छ
मात्र आज्ञाकारी कारिन्दा ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































