साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्ला

यता हिरादेवी काकी डाँको छोड्न थालिन | उता छोरो ह्यारी ह्वार्लांग परेको हाफ पाइट र हरियो रंगको लामोमा-लामो टिसर्ट भिरेर ह्विस्कीको ह्वास्स गन्ध छाड्दै ह्वात्त मूलढोका धकेल्दै घरबाट बाहिरियो |

Nepal Telecom ad

दिलीप अर्याल :

हरिले हिरालाई भन्यो, “तिमी यो नचाहिँदो हल्लाको पछाडि नलाग त ! काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर भनेको यही हो |”
अर्को प्रसंगमा होमनाथले हिरण्यलालसँग कुरैकुरामा भन्यो ” यो हल्लैहल्लाको देश हो | साँचो कुरा कुनातिर, झुट अगाडि अगाडि |”
ध्यान गर्न शुरु गरौँ भनी म हेमन्तनाथले मेरा गुरु हरिनारायणलाई सोधें, ‘ बाहिरी र भित्री हल्लाले मेरो दिमाग खाइ सक्यो, अब यसलाई कसरी शान्त पार्ने अनि ध्यानमा मग्न हुने , उपाय के होला गुरु जी ?’

फेरि अर्को प्रसंगमा हुतनाथ काकाले हनुमानप्रसादलाई भन्न भ्याए, ” हाब्रेको अन्तरे छोरो हुर्मतनाथले हेटौडामा कान्छी बुढी राख्या छ रे भन्ने हल्ला छ भाइ हो | सत्य के हो, भगवान जानुन |”

सत्ता बाहिर भएका एकजना राजनीतिक कार्यकर्ताले हिजो बिहान हरेराम दाइको चिया पसलमा खोकेको सुनियो, ” अब देशमा नयाँ उथुलपुथुल हुँदै छ रे भन्ने हल्ला सुनिन्छ, अब लूट मच्चाउने हरुको कन्तबिजोग हेर्न पाइने हो कि ? हेर्दै जाऔं |”

हँस्सीमजाक गर्ने क्रममा उपद्रो मच्चाउने हुन् वा हँस्यौली ठट्यौली लाई थप रोमान्चक बनाउने हुन् त्यसमा मुख्य भूमिका हल्लाकै हुन्छ जुन परिभाषा भित्र नै पर्दछ | हरेकले आफ्नो हक अधिकारको लागि हल्ला गर्नै पर्ने रहेछ भन्ने कुरा देश दुनियाँका दैनिक घटनाक्रमले पनि प्रष्ट पारेकै छ | हल्ला नगरे कसले कसलाई हक अधिकार दिंदा हुन् ? के गर्नु हल्ला नगरे कुनै उपाय छैन | यसो लाग्छ, यो सारा संसार हल्लाकै भरमा टिकेको छ ! फलानो हकी छ भन्नलाई पनि उसले ठुलो स्वरमा नकाराए नहुने रहेछ | बाटो हगुवालाई दच्काउन होस् वा हरामीलाई हच्काउन होस् चुप लागेर बसे केही हुनेवाला रहेनछ |

एक हप्ता अघि हुँदो हो, यसो पत्रिका हेरि टोपलौं भनेर पाना पल्टाउँदै थिएँ , मेरो एक नजर हल्लाका समाचारमा पर्यो | लेखेको रहेछ – हवालातमा हल्ला र हंगामा भनेर | शीर्षक झन चासो लाग्यो र पढ्दै गएको त हवालातमा राखेका मान्छेहरूले पनि आवाज उठाए रे ! एकजना बस्ने ठाउँमा पांचजना राखेर हावा खेल्ने ठाउँ पनि भएन, अनि कमसल खानेकुरा दिएर व्यवस्थापकले रकम हसुरे भनि हप्तादिन देखि ति जेलमा बस्नेहरूले हल्ला मच्चाएका थिए |

हस्तरेखा हेर्ने हुन् या होनहार ठानिएका नेता वा कर्मचारी हुन् ति सबैको प्रसिद्धिको चूरो कुरो हल्ला नै रहेछ | अस्ति हनुमानजयन्तीको दिनमा मन्दिरमा हनुमानजीको गुणगानमा मस्त एकजना बाबाले समेत माइकमा यस्तो हल्ला गरेको आफ्नै कानले सुन्यो – ‘ हनुमानजीको हुँकारबाट लंकाका राक्षसहरूको हंसले ठाउँ छाडेको थियो | पवनपुत्रले आफ्नो होसहवास नगुमाइ होसियारीका साथ राक्षसहरूका होहल्लालाई हैरान पारी तिनलाई युद्धमा हराउनु भएको थियो |’

पहाड घर हेलम्बुमा हरितालिका तीजको दिनमा जन्मेको म हेमन्तनाथ हुमाँगाई अहिले ५५ बर्षमा हिड्दै छु | झन्डै ३५ बर्ष अगाडि हेटौंडाको हर्नामाडीमा बसाइ सरि आएका म र मेरी बुढीले यो ठाउँमा टिक्न हुनसम्मकै दु:ख गरियो | के के मात्र गरियो, गरियो | गाई, भैसी, बाख्रा, कुखुरा, हाँस पालेर घरभरी हल्लै हल्ला गराएर जिविका चलाइयो | कति रात त यी पशुपक्षीका आवाज र हल्लाले सुत्न पनि पाइएन | के गर्नु हल्ला पचाउन नसकेको भए त्यत्रा जहान परिवार कसरी पाल्नु ?

आज बिहान मर्निंगवाकबाट घर फर्केर भातसात खाएर यसो ढल्केको मात्र थिएँ , एक्कासि मेरी बुढी च्याँठिएर हल्ला गर्न थालिन् – “के को हल्ला , हँ यो ? बल्ल बल्ल बच्चा सुत्न आँटेको थियो | हल्लाले यो बालख लाई सुत्न पनि नदिने भए, पापी असत्तिहरू ” |

फेरि मेरी जहानले थपिन, “उता आफू हिजो रातभर हाप्सिलो कराएर दुई घण्टा पनि सुत्न पाइएन अनि यसो के निद्रा लाग्ला जस्तो भाको थियो जँड्याहा मोराहरूले होहल्ला गरेर सुत्न दिएनन् |”

हालसालै हुमकान्त भान्दाइ हर्नियाको उपचार गरेर हस्पिटलबाट घर फर्कनु भएकोले उहाँलाई भेट्न भनी गए | खाली हात के जानु भन्ठाने | बुढा अलि मासुका पारखी भएकाले नजिकै हर्कदाइको मासुपसलबाट हाफकिलो ह्याकुला किनेर गएँ | यसो दाजुभाइ गफ्फिदै थियौं पल्लो टोलको होमनाथ दाइ पनि त्यतै टुप्लुक्क आइपुग्नुभयो | एकछिनमा बुढाको मुखबाट एउटा नयाँ हल्ला सुनियो – ” हुक्के बुढाको माइलो छोरा पनि सहकारी ठगीमा परेर फरार भाको छ रे ! भन्ने हल्ला छ भाइ हो | सत्य के हो, भगवान जानुन |”

ब्याज धेरै पाउने लोभमा म स्वयं नै सहकारीबाट ठगिएको व्यथा कसलाई सुनाउनु ? आजकल समाचार, सामाजिक संजाल आदिमा दिनरात सहकारी ठगीको अनेकौं हल्ला सुन्दा सुन्दा वाक्क दिक्क भएको बेलामा फेरि यहाँ पनि सहकारीकै हल्लाको प्रसंग आएकोले थप केही सुन्न नपरोस भनी म त्यहाँ बाट जुरुक्क उठेर, आफ्नो बाटो तताएँ |

छ महिना अगाडि विपश्यना ध्यान गर्न जाँदा, ध्यान सिकाउने भन्तेले भन्नु भयो, ” हेर्नुस तपाईहरू यहाँ आइपुग्दा बाहिरका हल्ला र आवाज त केही कम महसूस गर्नुहोला तर अब तपाईहरूका परीक्षाको घडी शुरु भयो है | किनभने अब त तपाईको भित्रको हल्ला र आवाजले तपाईलाई बसि टिक्न दिन्न नि ! बाहिरको भन्दा भित्रको हल्ला कडा हुन्छ भन्ने कुरा अबको यो दश दिनमा तपाईहरूले सिक्नुहुन्छ |”

भन्ते महोदयले यो के भनेको होला जस्तो लाग्यो मलाई पनि | तर जब पहिलो ध्यानको सिटिंगमा आँखा चिम्लिएर निर्देशन गरे बमोजिमको अभ्यास गर्दा नै थाहा भयो यो त मेरो बसको कुरा हैन | ओ हो ! के गरि दश दिन कटाउने होला , आधा घण्टा त टिक्न मुश्किल छ, भन्ने लाग्यो | तर इज्जतको सवाल छ, ध्यान गर्न जान्छु भनि घरपरिवारमा हल्ला गरि हिंडेको छ आफैले | अनि फलानो त ध्यान गर्न नसकेर भाग्यो रे भन्ने हल्ला चल्यो भने कसरी मुख देखाउने शुभचिंतकका अगाडि | यति सम्झेर जेसुकै होस, बस्छु यतै भनेर मन बुझाए अनि मेरो भित्री हल्ला र आवाज संग नजिकिदै गएँ |

मेरी जहानले घाममा नातिनीलाई तेल लगाएर सुताउनु पर्यो भनेर के लागेकी थिइन, छिमेकमा हापुरे काकाको घरमा रडाको र कोलाहल शुरु भयो सधैजसो | हुन त रातदिन यस्तै हो त्यो घरमा | एउटा न एउटा कुरामा कहिले बाउ छोरा त कहिले आमा-छोरा बीच भनाभन भएर झगडा परिरहन्छ | आज छोरा ह्यारी र आमा हिरादेवीको पालो छ हल्लाखल्ला गरेर रडाको मच्चाउने |

छोरो ह्यारी अहिले उमेरले २८ बर्षको भैसक्यो तर के गर्नु , बज्जे हुन सम्मकै हरामी, हुण्डरी र हल्लुँडे छ | आज त झन् घरका हाँडाचिन्डा फाल्दै कोकोलो मच्चाउदै गरेको दृश्य देखियो | त्यसपछि त मोराले एउटा बडेमानको लौरो लिएर आमा चाहिं लाई हान्दै पिट्दै गरेको देखेपछि, लौ बित्यास पर्यो भनी हतारहतार म पनि उतै दौडिए | वरपरका छिमेकीहरुमध्ये हिरन्यदेव, होसप्रसाद, हिरामणि र हरेराम काका पनि हुर्रिदै झगडा मिलाउन आइपुगे | एकैछिनमा एकहुल मान्छे जम्मा भएर छुट्टयाउन त छुट्टयाए आमा छोरालाई तर आमा चाहिं कराउन छाडिनन् | जन्मदिने आमालाई हमला गरेर साराका अगाडि हुर्मत लिने तलाईं पख भाते भन्दै काकी त हवाँ हवाँ रुन पो थालिन |

“जे गर्नु हुक्का, गाँजा र रक्सीले गर्यो बाबु यो पातकीलाई, यो चिज नबनेको भए यो संसारमा कति शान्ति हुन्थ्यो होला, कम्तिमा सुबिस्ताले बाँच्न त पाउने थिए म जस्ता आमाले”, भन्दै यता हिरादेवी काकी डाँको छोड्न थालिन | उता छोरो ह्यारी ह्वार्लांग परेको हाफ पाइट र हरियो रंगको लामोमा-लामो टिसर्ट भिरेर ह्विस्कीको ह्वास्स गन्ध छाड्दै ह्वात्त मूलढोका धकेल्दै घरबाट बाहिरियो | त्यो देखि, ए पख भाइ ! मेरा दुई-चार कुरा सुन् अनि जालास् भनेर मैले ह्यारीलाई रोंके र सम्झाउने चेष्टा गरें | उसकै हित होस् भनेर मैले दिएका हितोपदेशले उस्ले कुनै प्रतिउत्तर दिएन बरू एकैछिनमा घोडा हिनहिनाएझैं गरि उ त हेटौंडा बजारतिर हानियो |

नशाले मान्छेलाई हुनसम्मकै हरामी, हान्डहुण्डे र हुल्लडबाज बनाउने रैछ | नशा सेवनपछि हरामीहरूले घरपरिवारलाई हायलकायल पार्ने, हदैसम्मको दु:ख र पीडा दिने गर्छन भन्ने कुरो जगजाहेर नै छ | हुँदोखाँदो अवस्थाको घरपरिवारलाई नशाले हिम्मतदारबाट हुतीहारा बनाउने रैछ भन्ने ज्वलन्त उदाहरण यही घरको हल्लाले बुझ्न सकिन्छ |

करिव २२-२३ बर्षको उमेरतिर ह्यारीले म संग होटेल व्यवसाय चलाउने स्किम छ, त्यसैले घरबाट मलाई ८-१० लाख पैसा व्यवस्था गरिदिनुस भनेछ | तर हापुरे काकाले चाहिं मैले हुनसम्मको दु:ख हण्डर खाएर कमाको पैसो यसले हुरेलधुरेल गर्ने भो, यो हुँदो न खाँदोको होटेलको ब्यापारमा हुत्याउने भो भनेछन् | यो होस्ल्यांगेले गरि खाँदैन हन्ड्रेड पर्सेन्ट ! म दिन्न होटेल खोल्न | बरू देश बाहिर जा, त्यता जाने हो भने बरू म खर्च गरि दिन्छु भनेछन् काकाले | लौ त भनी यूरोपको हंगेरी देखि अमेरिकाको होनोलुलुसम्म पठाइदिन्छु भन्ने एउटा झल्ला दलालसँग सल्लाह गरि त्यसको नक्कली हल्लाको पछि लाग्दा हापुरे काकाको लाखौँ पैसा पनि रित्तिएछ अनि छोरा ह्यारीको होसहवास पनि सिद्धिएछ | स्वदेशमै केही गर्छु भन्नेलाई अवसर नदिंदा विदेश लान्छु भन्ने ठगले काकाको पैसो खाएको कुरो एक कान दुई कान हल्ला भएछ | अनि त्यो कुरा मैले पनि थाहा पाएँ र यहाँ तपाइँहरूसँग हल्ला गर्न भ्याएँ |

०००

गोकर्णेश्वर- ७ , काठमाण्डौ
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्याटु महिमा

ट्याटु महिमा

दिलीप अर्याल
बसिबियाँलो

बसिबियाँलो

दिलीप अर्याल
रोगहरूको बैठक

रोगहरूको बैठक

दिलीप अर्याल
साँढे पुराण

साँढे पुराण

दिलीप अर्याल
जय कविता !

जय कविता !

दिलीप अर्याल
माटो- महिमा

माटो- महिमा

दिलीप अर्याल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x