दिलीप अर्यालबसिबियाँलो
तर त्यो ३० वर्ष हिउँदबर्खा गरि खाको जागिरको टेन्सनले दिएको पेन्सन बारे म कसरी मेन्सन गर्न सक्थें र ! फेरि कतै मलाई टपरे, टापटिपे र टपर्टुय्याँको पगरी समेत नभिराउलान् भनेर कसरी भन्न सकिएला र !

दिलीप अर्याल :
“ल मेरो खुल्यो, पच्चिसको माल शो है, राम्ररी हेर्नुस् ?”, शम्भु काकाले मख्ख पर्दै तास खुलाएर भुईंमा राखे |
“आज काकाले कालो बिराला सालनालै बोकेर आका त हैनन ? खोल्या खोल्यै छन्, नखोल्दा नि माल त्यत्तिकै पर्ने | आफ्ले त दुई राउण्ड खेल्दा पनि एकपटक हेर्न सम्म पाको छैन, छ्या ! लौ खाओ, कति खान्छौ खाओ |” के के भन्दै रामदाइ जंगिए |
केदार बा, शम्भु काका, माख्ला घरा अच्युत, धुर्वे दाइ र रामशरण दाइ यसो मौका मिल्यो कि तीन जोर फिटेर बसिहाल्छन्, बले(बलराम) भाइको चिया पसलको भित्रपट्टि | जम्मा भयो कि लौ हिंड केटा हो बसिबियाँलो गरौँ भनी केदार बा सबैभन्दा पहिले उक्साउछन् | पहिलाको जस्तो जमाना हैन, आजकल फुन(मोबाइल) र सास(सामाजिक सञ्जाल) ले मान्छेलाई सजिलो बनाएको छंदैछ यसो कल, मेसेज गरे भैहाल्यो बसिबियाँलो गर्न |
यता बलराम भाइको चिया पसललाई यो तासे बैठकले राम्रै टेवा दिएको छ | चिया, चुरोट, चना, पप, पानी टन्नै बिक्रि हुने, खेलेको पैसा पनि घण्टाको दरले आउने | तास बढी जित्नेले २-४ सय जितौरी पनि दिनुपर्ने उनका भुराभुरी लाई | गजबसंग फस्टाएको छ व्यापार, बले भाइको | ग्रुप खाली नै हुन्न, बाहिर पालो पर्खेर लाइनमा बसेका हुन्छन, अब उठ्लान् कि भनेर | खेल्ने ५ जना, अरु ३-४ जना खेल्नेका पछाडि हुन्छन् अहोरात्र | बेलाबेलामा यो तास काट र ऊ तास काट भनेर सिकाउने | त्यो पनि विना लगानीमा | मानौ, नेतागणका अघि पछि लाग्ने होनहार बुद्धिजीवीहरु जस्तै |
मैले अलि जान्ने भएर बले भाइलाई भन्न भ्याएँ , “ए भाइ , यो के व्यापार गरेको तमासा देखाएर | एकदिन पुलिसले रेड हान्ला है, होस् गर ! फेरि केटाकेटी पनि बिग्रेलान् | मैले त सुझाएको मात्र हो है भाइ |”
“हेर्नुस् दिलीप दाइ, अरु के गर्नु त मैले | बुढी कतार गएपछि, गाउँ छाडि हालियो | खेतीपाती बाँझै छन् उता, गरे खानसम्म त पुग्ने नै थियो | यता उल्ले पठाउने पैसाले रिनधन तिरेर खान लाउन, केटाकेटी पढाउनसम्म पुगेको नै छ | यो पसल चाहिं बसिबियाँलो नै भनौं न, दाइ |”, बले भाइले आफ्नो कुरो बेलीबिस्तार लाउँदै गए |
केदार बा, बले भाइ जो संग कुरा गरे पनि प्रसंग भने बसिबियाँलोको नै आउँछ | हैन, यो बसिबियाँलो भन्या ठेट अर्थ के रहेछ भनेर नेपाली बृहत शब्दकोश पल्टाउँदा यो पो भेटियो !
बसिबियाँलो- ना.( बस्+बियाँलो) फुर्सदमा बसेर समय काट्न गर्ने सानोतिनो काम; समयकटनी | यो अर्थ पढेपछि बल्ल यो मनुवाको घैंटा घाम लाग्यो, छर्लंग | अब जस जसले लास्टाँ बसिबियाँलो भन्छन्, त्यसको चुरोकुरो बुझिहालियो नि !
“ए बा यो त अलि भएन है, जो बुढो उही बाटो हग्वा | के गर्या यो ? आफू फुर्सदमा छु भनेर भाइ भतिजा बिगार्ने ?”, मन्दिर दर्शन गरेर फर्केका शान्ताराम दाइले केदार बा लाइ छुस्स भनिहाले |
“हेर भाइ ! के गर्नु त | घराँ पनि एक्लै कति बस्नु | छोरा बुहारी अफिस जान्छन्, नातिनीलाई स्कूल हाल्या छ यो साल देखि | अनि हरबखत घरमा दुई जना बुढाबुढी मात्र | बुढीलाई सासमै अल्झिदैं फुर्सद छैन, मलाई त्यो कामै छैन | यसो बसिबियाँलो त क्यै गर्ने पर्यो | “केदार बा आफ्ना घरका कुरा सखल्ल पाराले भन्छन् |
“अनि केदार बा, आमालाई सासमा अल्झिंदै फुर्सद छैन, भनेको के हो ? मैले कुरो बुझ्या भए धरोधर्म | सास नचले त मान्छेले सिलटिमुर खान्छ हैन र ? त्यो त चल्न परिहाल्यो नि बा !” शान्ताराम दाइले जिज्ञासु पाराले सोधे |” ए भाइ, त्यो मोबाइल भन्ने एउटा भाँडो छ नि तेस्मा मेरी आम्मै ! के कति चिज हाल्न सकेका | अनि त्यो सासको त कुरै नगरौं | ल सुन, शान्ताराम ! त्यो सासको पुरा अर्थ चाहिं सामाजिक संजाल भन्या हो क्या, अब बुझ्यौ ? आजकल जेलाई पनि छोटकरीमा भन्ने चलन छ नि भाइ ! आफू त जागिर खा र रिटायर्ड भाको मान्छे – उता जागिरा हुँदा हामी हुकुम प्रमाङ्गीलाई हुप्र, दाखिल खारेज लाई दाखा, जबरजस्ती करणी मुद्दालाई जक भनेर भन्थ्यौं | यता गाउँघरमा पनि तेस्तै आदत परेको छ, नानीदेखि लाग्या बानी |” केदार बा फूर्तिका साथ भन्दै गए | “ए बा मैले कुरो बुझें | अब ठिकै छ नि त, आमाको प्राण सासमा झुन्डेको रहेछ, अनि बाको तासमा, क्या गजव, तास र सास !”, यसो भन्दै शान्ताराम दाइले बालाई कडा नै दिए |
यी कुरा सुन्दा लाग्छ कि- नजाँनिदो तरिकाले केदारबाको तास प्रतिको मोह र काकी आमाको मोबाइल प्रतिको मोह मानौं भक्त र भगवान बिचको जस्तो देखिन्छ | यस्तै रहिरहने हो भने बा र आमाको शेषपछि शुद्धाईंका दिन तास र मोबाइल दान गरेमा उहाँहरूको परत्रको बसिबियाँलो पनि राम्रै हुन्थ्यो होला जस्तो लाग्छ !
मलाई यसो एउटा प्रसंग याद आयो | मेरो ठुलो बा, बा, काका र एकजना उहाँका अति प्रिय जजमानबा गरी चार जना बाहरू मौका मिल्यो कि तास खेली हाल्ने गर्नुहुन्थ्यो | सबै बाहरूको तासप्रति यति धेरै मोह थियो कि जीवनको उत्तरार्धमा समेत ओछ्यानबाट उठ्न सक्ने सम्मको तागत भएसम्म उहाँहरुले तास फिट्न छाड्नु भएन | पछि उहाँ जजमानबा बितेको बेलामा मेरो बाले उहाँको कान्छा छोरालाई भन्नु भएछ ” बाको १२ दिनको दिन दुई जोर तास दान गर्नु है, कान्छा ? उहाँको आत्माले शान्ति पाउँछ |”
नभन्दै पुरेतको सल्लाह बमोजिम नै छोराहरूले २ जोर तास दान गर्नुभएछ | सो कुरा केही दिन अगाडि मेरो उहाँको छोरा संग भेट हुँदा बसिबियाँलो भएको थियो | मलाई लाग्यो- दान गरेको त पुग्न धेरै समय लाग्छ होला ! त्यो बेला अहिलेको जस्तो अनलाइन डेलिभरीको चलन थिएन | त्यो सुविधा भएको भए छिट्टै तासको पार्शल पाउँदा उहाँ लगायत धेरै बाहरू कत्ति खुशी हुनुहुन्थ्यो होला !
अस्ति सानी काकीलाई भेट्न भनी गए उहाँको घर | काकी संग भलाकुसारी गर्ने क्रममा कसरी दिन बितेका छन् भनि सोधे |
“यो मोबाइल नहुँदो हो त आज हाम्रा दिन कसरि बित्दा हुन, कहाली लाग्छ बाबु ! यो बनाउने मान्छे जिउँदो भए उसलाई ५० किलो चामलको बोरा बराबर तुलाको आशिर्वाद दिन्छु बाबु म, यदि स्वर्गे भाको भए त्यसको बैकुन्ठा बास होस् भन्ने कामना गर्छु बाबु |”, आमाले भावविह्वल हुँदै छोराले विदेशबाट पठाएको आइफोन मुसार्दै भन्नु भयो | यहि बेला मैले अमेरिका र स्टिव जब्सलाई झल्झली सम्झे, तपाईहरूलाई मेरी काकीको आशिर्वाद लागोस् भनेर |
हेर्नुस् त ! एकले अर्कालाई दोष लाउने- तास र सासका निहुँमा | यहाँ दुधको साक्षी बिरालोको सट्टा बसिबियाँलो भन्ने जन्तु भएको छ | यो मूला बसिबियाँलो पनि कस्तो हो कुन्नि ? जोसंग खाली समय भयो कि एउटा न एउटा काममा व्यस्त गराउन पुगि हाल्ने ! यो बसिबियाँलो नभएको भए कत्तिका रुवाबासी चल्थ्यो होला !
चिया पसलमा, मिठाई पसलमा, म:म पसलमा, भट्टीमा, स्टार होटेलमा बसेर आ-आफ्ना स्तर अनुसारका राजनीतिक गफ हाँक्ने, फाँकिने नेताहरू वा कार्यकर्ताहरूलाई पनि बसिबियाँलोले छाडेको छैन | बिगत ३५ वर्षदेखि राजनीतिमा बसिबियाँलोको उही दृश्य, परिदृश्य देख्यादेख्यै छ यी आँखाले – एकीकरण, वशीकरण, ध्रुवीकरण, शुद्धीकरण, निर्मलीकरण, छुट्टीकरण अनि देश र जनताको कन्तविजोगीकरण | मूलतः देशको समग्र राजनीतिले मूलमर्म बिर्सेर बसिबियाँलोको धार पकडेको हो कि लाग्ने कतै !
पीडा, पिंडालु र पेडाका गफ धेरै हाक्ने तर घरमा सिन्का नभाँच्नेहरूको भेला पनि बसिबियाँलो भन्दा केहि फरक देखिन्न | एउटै मान्छे बिहान योगी, दिउसो जोगी र बेलुका भोगी बन्ने रहेछ यो धरतीमा | फेरि मान्छे दाम, काम र नाम प्राप्त गर्न तामझाम, छलछाम र रामरामका नाटक मन्चन गर्न पनि उत्तिकै सिपालु हुँदा रहेछन् भनेर कुनै महाकाव्य पढ्नु नपर्ला ? यहाँहरूले कत्तिको बिचार गर्नु भयो, यहाँ बसिबियाँलो एकदम सशक्त भूमिकामा प्रस्तुत देखिन्छ |
अब कुरो चुहियो है साहित्य, काव्य र सृजनाको | हो, यो त हाम्रो जरोकिलो, गाँठीकुरो र चुरोकुरो नै भैहाल्यो | यो विधा सबैको साझा फूलबारी भएकोले यहाँ सबै बोटबिरुवा, फूल, फलफूल र कन्दमूल हुनै पर्यो | यहाँ गुलियो, अमिलो, तितो, पिरो, टर्रो, तम्तमिदो सबै स्वाद हुन्छन् नै |
अर्को एउटा स्वाद छ- मीठो | जुन गुलियो स्वाद पटक पटक बसाई सरेर बनेको ठिमाहा स्वाद हो | यो प्राय: केही स्वादको कहिले अगाडि, कहिले पछाडि पाहुना लाग्न यसरि पुग्छ– गुलियो मीठो, मीठो पिरो, मीठो अमिलो, मीठो अचार आदि | तर मैले अहिलेसम्म मीठो टर्रो, मीठो तितो, मीठो तमतमिदो छुट्टै स्वाद भनेर सुन्ने अवसर पाएको छैन | बरू एउटा मीठो कविता, मीठो कथा सुनाउनुस भनेको सुनेको हो कतिपटक | कति मीठो साहित्य हगि ! कस्तो मीठो रचना भन्ने कुरा सुनिएको छ, बसिबियाँलो नै भएपनि !
बेलाबेलामा झर्रा, टर्रा र ठर्राले पनि साहित्यमा उधुम नै मच्चाउने गर्दा रहेछन | हुँदाखाँदाका भाषालाई बंग्याएर, टेड्याएर, हिज्जे बिगारी बिगारी कुरूप बनाउने, नियममा हिड्नेलाई खिसी टिउरी गर्ने र ठर्रा भाषण, संभाषण बमन गर्नेहरूका बलमिचाइंलाई विवेकी पाठकले पटक्कै मन पराउन्नन् भन्नेमा म ढुक्क छु | अब यसमा अझ स्पष्ट विचार व्यक्त गर्ने जिम्मा विद्वान लेखक, सर्जक र साहित्यकारज्यूहरूको |
यो बसिबियाँलो कहाँ कहाँ सम्म पुग्न भ्याउँदो रहेछ भनी मेरो बलबुत्ताले भ्याएसम्म निन्दोचर्चो गर्दा यो लबस्तरो नपुगेको गाउँ र ठाउँ मैले भेट्नै सकिन |
मन्दिरको पुजारी बाजेदेखि म जस्तै आकलझुकल कर्मकाण्ड गरि टोपल्ने पुरेत बाजे पनि रिटायर्ड जीवन बिताउने निहुँमा बसिबियाँलो त गर्न परिहाल्यो भन्ने | यो पेन्सन खाएर बसेको मान्छे फेरि केमा अल्झेको होला, भनेर कुरो काट्ने पनि नभेटेको होइन् | तर त्यो ३० वर्ष हिउँदबर्खा गरि खाको जागिरको टेन्सनले दिएको पेन्सन बारे म कसरी मेन्सन गर्न सक्थें र ! फेरि कतै मलाई टपरे, टापटिपे र टपर्टुय्याँको पगरी समेत नभिराउलान् भनेर कसरी भन्न सकिएला र ! यो बसिबियाँलोको कारण |
फुर्सद भयो कि छिमेकी, साथीसंगीसंग, देशपरिवेशका कुरा काट्ने हुन् वा अर्काको निन्दोचर्चो गरेर अट्टहास गरिगरि मज्जा लिने हुन् ती सबैले यस्ता कृत्य वा कुकृत्यको घाँडो भिराउने काम त्यही बसिबियाँलोलाई दिन्छन् | छिमेकी देशबाट ल्याएका मुर्रा राँगोदेखि आफ्ले केटाकेटीमा खेलेका नर्कटका घुर्रा समेतले गफमा प्रवेश पाउँछन् |
घरमा सग्ला र सारसौंदा स्वास्नी वा लोग्ने हुँदाहुँदै फेसबुके र टिकटके लभको घनचक्करमा पर्ने पात्रहरूको गफ र तिनले पाएका सास्तीको चर्चा पनि चानचुने हुन्नन् यहाँ | ए फलानु त हनी ट्रयापमा परेछ नि, लौ हेर त, ६० बर्षको उमेरमा-चौटा खान गाको झोलाँ डुबेर मरेछ, क्या फसाद ! घमाइलो र रमाइलोको चक्करमा लागेर के उखरमाउलो बैंश आको होला ती बुढालाई, त्यो नखरमाउलीसंग लागेर, भन्नेहरूको ताँती छ यहाँ | सबैभन्दा पिक आवर हो यो बसिबियाँलोको लागि |
आजकल हाम्रा माझ जफु चक्करको ठूलो बिगबिगी छ– माने जंकफुड चक्कर | केटाकेटी देखि बुढाबुढी सम्म यो जफुले गर्नु गरिसक्यो | घरमा भएका खाने सामानको रुवाबासी छ हाम्लाई सौता हाले भनेर | यस्सो फुन गरे भित्रिहाल्छ, के को दु:ख गर्नु भन्यो | बरू यो दु:ख गर्ने बेलामा यस्सो मोबाइल हेरेर बसिबियाँलो गरे भैहाल्यो |
घर जग्गाको दलाली गर्नेहरू र शेयर कारोबार गर्नेहरूले पनि यो बसिबियाँलोमा छिरियो भने दामपैसाको दु:ख हुन्न भनी मलाई धेरै पटक उक्साएकै हुन् तर मैले आँट गर्न नसकेको कुरा कि मलाई थाहा छ, कि स्वर्गवासी मेरा बा लाई थाहा थियो |
ए बाबा ! सबै जना बसिबियाँलो भन्ने | यो बसिबियाँलो भन्ने कस्तो जन्तु रहेछ | आफू जहाँ जता गए पनि बसिबियाँलो मात्र सुनिन्छ | यो बसिबियाँलो बाट म बबुरो मात्र किन अछूतो रहन सक्छु होला भन्ने सोच्दै थिएँ | ठिक त्यसै बेला मलाई यो बसिबियाँलोले बस्न टिक्नै दिएन् | अब के गर्ने त भनेर घोत्लिंदा घोत्लिंदै बसिबियाँलोले कानमा आएर फुसफुस भन्यो, “ए दिलीप भाइ ! आफ्ना वरपरका मान्छे, छरछिमेक, गाउँशहर, देशविदेश, परिवेश, जीवन र जगतका बारे यसो गन्थन, गुनासो, हाँसो, नासो, चासो र गलाको पासो बारे लेख्न हो, गाँठे |”
उसैको त्यही सुझाव अनुसार म पनि बसिबियाँलोलाई साथैसाथै लिएर तपाईंहरूसंग गफ्फिदै छु | जय बसिबियाँलो !
०००
गोकर्णेश्वर- ७, काठमाण्डौ
Subscribe
Login
0 Comments
Oldest







































