दिलीप अर्यालजय कविता !
गाई, राँगा, हात्ती, गैंडा, सुँगा, कुखुरा, हाँस, मुजुर आदिले आ-आफ्ना कथा व्यथा सुनाए कविताको माध्यमबाट | म तिनका कविता सुन्दै गएँ , सुन्दै गएँ, अनि सुन्दै गएँ | मेरा अश्रुधारा बगे, करुणाको सागर उर्लियो ।

दिलीप अर्याल :
एक महिना अघि म एउटा साहित्यिक कार्यक्रममा कविता श्रवण गर्न भनी गएँ । त्यस दिन त्यहाँ वाचन गरिएका अधिकांश कविताहरू करुण रसमा निबद्ध रहेका र श्रोतालाई मन्त्रमुग्ध पार्ने थिए | ती कविता सुनेपछि म भावविह्वल भएछु । लाग्यो कि म आज करुणा नै करुणाको सागरमा चुर्लुम्म डुबेको छु । संस्कृत कवि भवभूतिको करुण रसप्रधान कृति उत्तररामचरितम् भर्खरै पढेको थिएँ । त्यसमाथि आज यो कार्यक्रमले मेरो करुणाको बारीमा अझ बढि मलजल गरेको अनुभूति भयो मलाई | कार्यक्रम सकेर घर फर्कदैं गर्दा बाटोमा एउटा नौ –दस बर्षको एउटा फुच्चे सडकमा भिख माग्दै गरेको थियो | म अगाडि बढ्दै गर्दा नजिक आएर म संग उसले भन्यो ” अंकल! भोक लाग्यो, दुई दिनदेखि केही खाएको छैन | दस रुपियाँ दिनुस् न” | मैले यसो पर्समा हात लगाए र उसलाई पैसा दिउँ भनी हेर्दा मैले सानोमा पचास रुपियाँको नोट मात्र भेटें | अनि नजिकैको किराना पसलमा गएर पसलेलाई भने ‘ए साहूजी ! यो नोट साटिदिनुस् न, यो फुच्चोलाई अलिकति दिउँ भनेको” | पसलेले भन्यो, “दाजु केही नकिनी त्यसरी साट्न मिल्दैन है, नरिसाउनुस् |” पसले भाइको कुरा सुनेर मैले खान मन नलागि नलागि एउटा कोक र एक पुरिया कुरकुरे मगाएँ र आफैं एक्लै बुत्याएँ | यस्तो खान्की खाएपछि मलाई झुस्सिलो डकार आयो र पेट डुम्म फुल्यो | खाने कुराको मूल्य चालिस रुपैयाँ तिरें | पसलेले दस रुपैयाँ फिर्ता दियो | अनि त्यो पैसा त्यस केटोलाई दिएँ र सन्तोषको सास फेरें | आज मैले करुण रसका कविता सुनेर राम्रै काम गरें भने लाग्यो र आफ्ना जुँगामा ताउ दिएँ |
फेरि अर्को हप्ता अर्कै कवि सम्मेलनमा पुगें | यसपटक त्यहाँ शृंगार रसको कविताहरू सुन्ने मौका जुर्यो | शृंगार रसमा कविता वाचन गर्ने कविहरूमा वयस्क, युवादेखि, पचास कटेका र जेष्ठ नागरिक समेतको संख्या उल्लेख्य नै थियो | त्यस मध्ये पनि बुढा कविहरूले उफ्रिँदै अनि जोशिँदै शृंगारको मादकता पोख्दै गरेको अनुपम दृश्य देखियो | उमेरले ५५ को उकालो चड्दै गरेको म पनि ती कविता सुन्दै जाँदा कता कता जवानीको रोमान्चक क्षणको स्मरण गर्दै पुलकित हुँदै जवानी र वैंस पुनः फर्के जस्तो अनुभव गर्न थालेछु | बाटामा देखिने हरेक मान्छे र वस्तुमा शृंगार मात्र पो देखिन्छ बा ! दिमाग रति र रागमा मात्र केन्द्रित हुन थाल्यो अनि मन चंचल भयो- भोग र विलासको कल्पनाले | अभिज्ञानशाकुन्तलम्, मृच्छकटिकम्, कादम्बरी, मेघदूतम् जस्ता शृंगारका बादशाहरूपी संस्कृत साहित्यका कृति पढ्दा पनि यो राग चुलिन पाएको थिएन ममा तर आज के भयो, के भयो ? अलमलमा परें !
घर पुगेको मात्र के थिएँ म मेरी जहानलाई कहिले ए शकुन्तला, ए उर्वशी, ए रम्भा त कहिले ए मेनका, ए तिलोत्तमा, हाय मेरी प्राणप्यारी ! के के हो, के के भनेर एकोहोरो घन्टौँसम्म बोलेको बोल्यै भएछु | मेरी बुढीले आज यो बुढालाई के भयो यस्तो भनेर अचम्म र ताजुब मानिन् | उनी भन्दै थिइन्- “मेरो नाम त अम्बिका हो, यिनले खुसी हुँदा कहिलेकाहीं – ए अम्बुसम्म भनेको सुन्या हो, आज किन बौलाएका हुन् ? दुनियाभरका अप्सरा, नायिका अनि के के हो नाम लिएर मसँग किन बकबक गरेका होलान् ? पक्कै केही गडबड छ, यिनलाई भूत लाग्यो पक्कै”, भन्ने ठानी उनले छोरा पुजन र बुहारी अस्मिलाई गुहारिन् | “ए पुजन, ती चम्लागाईं बालाई बोलाएर लेराउ बाबु, ड्याडीलाई झारफुक गर्नु पर्यो राम्ररी | खोइ ड्याडी त बिसुरका कुरा मात्र गर्नु हुन्छ हेर न !” लौ भनी छोरोले ती फाकफुके बुढालाई बोलाएर ल्यायो | अनि बुढाले पुसको त्यो ठण्डीको दिनमा धूप सल्काएर बेस्सरी तितेपातीको मुठो पानीमा चोपेर मलाई झ्यामझयाम् हान्नसम्म हाने टाउकोमा, अनि सर्वत्र जिउमा पनि हान्न भ्याए | मेरो जिउ थरथर काँप्दै गयो अनि जिउभरी काँडा उम्रदै रह्यो | म एकछिनमा इन्तु न चिन्तु भएछु, केही समय के भयो पत्तो भएन | अलिक समय पछि ब्युँझेर उठेपछि निर्क्योलमा पुगेँ – यो सबै ती कविता श्रवणको असर हो, अनि मनमनै भनेछु ‘अबदेखि म कविता सुन्दिन |’
माघको १७ गतेका दिन माख्ला घरा नारदकाकाको घरमा छोराको बिहे थियो | बिहेमा मलाई पनि गाउँलेको नाताले जन्त जाने निम्तो आएको | के गर्नु सबै कुरो छाडेर भए पनि जन्त त जानै पर्यो भनी बिहान १० बजे बनेपातर्फ लागियो | जन्तिमा खाना खाएर यसो गफ गर्दै थियौँ, सूर्यप्रसाद दाइले ‘ ए काइँला, यसो एक बिरा पान खाउन त्यता बजारतिर गएर’ भन्ने प्रस्ताव गर्नुभयो | अब यिनको कुरो मान्नै पर्यो भनी लागियो पान पसलतिर | जर्दा पान मुखमा हालेर यसो घुम्दै थियौँ दुई दाजुभाइ | अचानक अलि पर एउटा साहित्यिक कार्यक्रम भएको ठाउँमा पो पुगियो | हैट, फेरि जुन ठाउँमा जान्न, जे गर्दिन भन्यो, दैवले त्यही ठाउँमा पुर्याउँछ बा मलाई, के गर्नु | अब यहाँ नबसौँ भनेर सूर्यप्रसाद दाइलाई भनेको त दाजु भन्दै गए ‘ हेर बाबु मलाई त ढुंगा खोज्दा देउता मिलेको जस्तो भयो आज | आफू परियो साहित्य अनुरागी, त्यसमा पनि कविताको पारखी | आज यहाँको कार्यक्रम पनि कविता वाचन विशेष नै रहेछ | बेलुका छ नबजी दुलही पनि अन्माउदैनन्, यसो टाइम पास पनि हुन्छ | के भो त ? होइन काइला, तँ पनि कविता भनेपछि त हुरुक्कै हुन्थिस, आज के भयो ? नबसौ पो भन्दैछस् त, किन हो ?’ |
मैले अब यीसंग बढी कुरा के गर्नु, लौ दाइ हुन्छ हुन्छ भनी सहमति जनाई खुरुक्क बसें | त्यहाँ कविहरुबाट रौद्र रसका लेखिएका बेजोडका कविताहरू सुन्ने स्वर्णिम अवसर प्राप्त भयो | ती कविताहरू समाज र देश दुनियाँमा हुनेगरेका कृत्य, नृत्य र कुकृत्यको चित्रणले ओतप्रोत भएका थिए र तिनले म जस्ता श्रोतालाई जुरुक्क उचालि बुर्लुक्क उफार्नेसम्म पारे | मलाई ती कविताको असर बढ्दै गयो, विद्रोह गर्ने बदला लिने आदि आदि | घर फर्केपछि पनि रातभरि निद्रा लागेन | मलाई झुटो कुरा गर्ने र झुटो आश्वाशन दिने मान्छे पटक्कै मन नपर्ने सानै बेलादेखि | टोलमा बाटो खोल्छु अनि ढल हाल्छु भन्ने एकजना स्थानीय नेताको यस्तो आश्वासन सात वर्षदेखि सुन्दै आएको म र म जस्ता धेरै पीडित थियौं | यो कुरामा रिस उठ्थ्यो, वादविवाद हुन्थ्यो तर के गर्नु, काम भने नहुने ! यसपटक चाहिं झुटा आश्वासन दिने त्यही नेताको अगाडि पुगी एक्लै आफ्नो रौद्र रुप प्रदर्शन गरें र जे सुकै नापियोस् भनी त्यसका गालामा हाँडीको मोसो दल्न भ्याएँ | वर्षौंदेखि गर्छु गर्छु भनेको यो काम आज फत्ते गर्न पाएकोमा मैले आफूले आफैंलाई धाप मारें अनि बिस्तारै भने, स्यावास काइला !
निष्कर्ष रह्यो – रौद्ररसको कविताको असर ! अनि भनेछु – जय कविता ! तर के गर्नु यो घटना घटेको आधा घण्टा नबित्दै त्यस ठुटे नेताका सुन्डमुसुन्ड आएर मलाई सिस्नोपानी लाएर चौबिस घण्टासम्म पाता फर्काएर राखे | यस्तो भएपछि ममा चेत खुल्यो – अब आइन्दा कविता सुन्दै सुन्दिन |
समय बित्दै थियो | एकदिन मेरी बुढीले भनिन् , “लौन बुढा, आज बजार गएर हप्ता दिनलाई पुग्ने तरकारी किनेर ल्यानुउस् न, थोकमा ल्याउँदा अलि सस्तो पर्छ |” हस् भनी म बजार पुगेँ र किनमेल गरेर फर्कदै थिएँ बाटोमा नवराज काका भेट भयो | बुढाले ए बाबु एकछिन यसो त्यता छिरौं न, त्यहाँ कवि सम्मेलन भाको रहेछ, एकछिन बसौं अनि जाउला भने | म चाहिँ भर्खरैको त्यो कालोमोसो र सिस्नुपानीको घटना सम्झेर नजाउँ नजाउँ भनी पन्छिन खोज्दै थिएँ तर के गर्नु काकाले हात समातेर एकैछिन मात्र हो भनि जवर्जस्ती त्यहाँ लगी छाडे |
कार्यक्रममा दिग्गज दिग्गज कविहरूले शान्त रसका कर्णप्रिय कविता वाचन गर्दै रहेछन् | म कविता गहिरिएर सुन्दै गएँ, ममा कविताको नशा चड्दै गयो र म आफैंमा विलिन भएछु | बिस्तारै असर बढ्दै जाँदा म को हुँ ? भनी आफूले आफैलाई प्रश्न गर्दा उत्तर पाएछु- बुद्ध, महावीर र युधिष्ठिरको जस्तै शान्त र स्निग्धता भएको चेतन होस् तँ बाबु भन्यो कसैले | त्यसपछि म घर फर्कें | घर छिर्ने बित्तिकै थाहा भयो आज घरमा कोलाहल र भाँडभैलो शुरु भएको रहेछ | कुरो के हो भनेर बुझ्दा कान्छो छोरो रोहनलाई नयाँ मोबाइल किन्न पर्यो र आमासँग पच्चिस हजार पैसा चाहियो अहिलेको अहिल्यै भन्ने कुरो रहेछ | मेरी बुढी अम्बिका कराउँदै रहिछन्, “मसँग त्यत्रो पैसा कहाँ छ ? ए पख मोरा तलाई , तेरो ड्याडी त आउन दे घरमा | अनि तेरो ताइन देखिन्छ आज |” यसरी मेरी बुढी कुर्लिएको आवाज मेरो कानमा पर्यो | मैले भर्खर त्यस्ता शान्त रसका कविता सुनेर आएकोले जेसुकै होस् भनी गुरु-गम्भीर भएर पद्मासनमा आँखा चिम्ली बसें |
त्यो दृश्य देखि मेरी बुढी मसँग आगो भएर भन्न थालिन, “ए पापी बुढा, घरमा यत्रो उत्पात मच्चिएको छ, तपाइँ ध्यान गरेर बस्ने | यो कोलाहल शान्त पार्ने कि, जात्रा देखाउने |”
उता माथि कौसीबाट मेरी आमा पनि कराउन थाल्नु भयो, “ए बाबु, एक महिना बिचमा तीन चार वटा घटना घटी सक्यो यो घरमा | तँलाई कहाँ कहाँबाट कस कसले के के मन्त्र फुकेर पठाउँछन्, के गरेको हो तैँले ? यता यो नाति भन्ने बजियाले तेरी जहानसँग पैसो चाहियो भनेर टोकसेको टोकस्यै छ | आमाचाहिंलाई हात हाल्न मात्र बाँकी छ | झगडा मिलाउनु त कता हो कता, ऋषिमुनि झैं ध्यान गरेर पार लाग्छ, यो कुम्ले काइलो ?”
यस्तो भन्दै आमा आफ्नो कोठातिर लाग्नु भयो | ममा कविताको असर राम्रै थियो, अब बिस्तारै बिस्तारै सबैलाई शान्त बसेरै ठिक पार्छु भन्ने लाग्यो र ध्यानमा मग्न भएँ | त्यो कोलाहालमा पनि म आफ्नै दुनियाँमा मस्त भएछु | एकछिनपछि आँखा खुल्यो | छोरो रोहन म अगाडि बसेको रहेछ | उसले भन्यो, “हुन्दिनुस् ड्याडी, अब म चुप भएँ, झगडा खतम भयो” | म मनमनै खुसी भएँ – आज चाहिं कविताले काम गर्यो है भनेर | आधा घण्टापछि एउटा जरूरी फोन गरौँ भनेर मोबाइल खोलेको त मेरो बैंक खाताबाट पच्चिस हजार काटिएको मेसेज पो आउँछ बा ! लौ यो के आपत आइलाग्यो भनेर बैंकमा बुझ्न गएको त मेरै छोराको खातामा त्यो पैसो ट्रान्सफर भाको भेटियो | अनि उसलाई बोलाएर ‘ए छोरा, यो के भाको, भन त’ भनेर शान्त भई सोध्दा थाहा भयो कि म ध्यानमा मग्न भएको मौका पारेर मेरो सर्टको खल्तिबाट मोबाइल निकाली नोटप्याडमा सेभ गरेको पासवर्डद्वारा पैसो त उसले हजम गरेछ | लौ बित्याँस पर्यो अब चाहिं, ‘बुढी मरी भन्ने भन्दा नि काल पल्क्यो’ भन्ने नेपाली उखान जस्तै होला भनेर छोरो देखि डर लाग्यो | यो पटकलाई आफ्नै छोरो हो, होस् भनेर छाडिदिएँ |
के गर्नु, कविता र म बिचको सम्बन्ध भक्त र भगवान जस्तो पो हुन लागिसक्यो | छुट्नै नसक्ने | भिन्न रसका कविता सुन्यो सुन्यो, त्यसको असर परिहाल्छ | यो असरले फेरि के के थप घटना घटाउने हुन् भनी त्रास पनि छ मनमा | लौ अबदेखि भने चाहिं म सुन्दिनँ , लेख्दिन कविता भनेर फेरि मन बाँधे |
बेलुकाको खान खाएर यसो घरमा भलाकुसारी गर्दै थिएँ, मोवाइलमा कल आयो | स्कूलको मिल्ने साथी सोमनाथले फोन गरेको रहेछ | उसले आउने शनिवारको निम्तोको लागि फोन गरेको कुरो बुझियो | निम्तो चाहिं उसले एउटा हास्यव्यंग्य कविताको पुस्तक लेखेर त्यसको लोकार्पण गर्ने कार्यक्रमको रहेछ | लौ फेरि यो के आइलाग्यो ? भन्ठाने | जानै पर्यो, अति सहृदयी मित्रको पुनित कार्यमा | गएँ कार्यक्रममा, कविता बेजोड हास्य र व्यंग्यले भरिएको पाएँ | कविता पढे-सुनेपछि हाँस्दा हाँस्दा पेट नै बाउँडियो, पेटका लाम्टा दुखे अनि आन्द्रा नै चुँडिएला जस्तो भयो | जे देखे पनि हाँसो मात्र उठ्ने भयो मलाई | घर फर्कदा बाटोमा मेरो घर नजिकै क्लिनिक चलाउने डा.भोग्यप्रसादसँग भेट भयो | उनले के छ दाजु भनी भलाकुसारी गर्न लाग्दा म चाहिं हाँसेको हाँस्यै भएछु | हाँसो र खित्का थामिने कुनै लक्षण नै नदेखेपछि डाक्टर साहेबले ‘लौ बित्यास पर्यो’ भन्ने ठानी उनको क्लिनिकमा लिएर गएछन् र मेरी जहानलाई फोन गरेर भनेछन् “भाउजू एकपटक मेरो क्लिनिकमा आउनुस् छिट्टै | खै दाइलाई अर्कै रोगले समाते जस्तो छ | अब उहाँलाई यहाँ राखेर हुन्न, लगनखेल मेन्टलतिर पो लान पर्ला जस्तो देखिन्छ भाउजू |” उनकै सल्लाह बमोजिम मलाई मेरी जहान, छोरा पुजन र बुहारी अस्मि मिलेर ठाउँमै पुर्याए | डाक्टरले अब यिनको हाँसो थाम्न अलि कडा इन्जेक्शन नलगाए गाह्रो हुन्छ भने | त्यसपछि डाक्टरले बडेमानको सुई मेरो अगाडि तेर्स्याएपछि म एक्कासी कराएछु – ‘हैन हैन, मलाई केही भाको छैन, म हाँसेको कविताको असरले हो, त्यो सुई नहान्नुस् डाक्टर साहेव |’
त्यसपछि मेरो हाँसो र खित्का ठ्याक्कै बन्द भयो | त्योदेखि डाक्टरले पनि सुई फाले र भने “वो, दिस इज पोएट्री इफेक्ट , वोंडरफुल |” अनि म पनि यो सुनी हर्षले गदगद् भए र आफूले आफैलाई गर्व गरें | मैले गर्व गर्नुमा चूरो कुरो यो थियो कि यस्ता चमत्कारिक घटना म भन्ने पात्रबाट नै घटित भएकोमा |
कविता सुन्ने मेरो लहड जति रोक्न खोज्दा, जति बिर्सिन खोज्दा पनि रोकिएन | एकदिन ससुरालीमा श्राद्ध खान भनी घरबाट निस्कें | चोकमा पुगेर बस समातें | जाँदै थिए, अचानक म चढेको बस ससुराली पुग्नु भन्दा दस मिनेट अगाडि बिग्रियो | लौ, अब हिंडेरै जान पर्यो भनी लम्कें ससुराली घरको बाटोतर्फ | बिचमा एउटा कान्जी हाउस (छाडा पशुपन्छी राख्ने घर) देखें | आहा कति राम्रो चिटिक्क परेको रहेछ यो ठाउँ भनेर यसो हेरौं न भनी भित्र छिरेको त, म चकित परें त्यहाँको दृश्य देखी | गजब, आश्चर्य !, अनुपम ! अर्कै विचित्रको कवि सम्मेलन | यहाँ विशुद्ध पशुपन्छीहरूले मान्छे जस्तै बोलेर कविता वाचन गर्दै रहेछन् | लौ आज भने कविताको अर्कै स्वाद र मज्जा आउने भयो भन्ठाने र सुनें ती पशुपन्छीहरूका कविता | अहो ! तिनले त आफ्ना पीडा, वेदना, भोक, शोक, भय, हिंसा, मान्छेले उनीहरू माथि गरेका अन्याय र अत्याचार, विभत्सता र बाँच्न पाउने अधिकारको बारेमा बडो मार्मिक र कारुणिक हिसाबले कविताको रूपमा वाचन गरे | गाई, राँगा, हात्ती, गैंडा, सुँगा, कुखुरा, हाँस, मुजुर आदिले आ-आफ्ना कथा व्यथा सुनाए कविताको माध्यमबाट | म तिनका कविता सुन्दै गएँ, सुन्दै गएँ, अनि सुन्दै गएँ | मेरा अश्रुधारा बगे, करुणाको सागर उर्लियो, कोमलताले नौनी र सिमलको भुवालाई समेत बिर्सायो | फेरि मेरो तन र मनमा दर्द प्रारम्भ भयो, मलाई के के ले थिचे जस्तो भयो, ऐठन शुरु भयो, के के भयो, भयो भनी साध्य छैन |
एकछिनपछि बाहिर निस्कें | सूर्तीको तलतल लागेर यसो एक फाँको सूर्ती खाउँ भनेर खल्तीबाट पुरिया निकालेको मात्र के थिएँ , एउटा अजंगको राँगो म नजिक आएर भन्यो, “राम राम भैया ! आप अकेले आए हो ? मुझे भी थोडा सा सूर्ती दिजिए ना ?” | यसो विचार गरें – कवि सम्मेलन नेपालमा छ, यसले अघि त आफ्नो कथा, व्यथा र प्रसिद्धी कविताद्वारा नेपालीमा नै सुनाएको थियो, फेरि यसले किन हिन्दी बोल्यो हँ ? एकछिन घोरिएर विचार्दा कुरो बुझें – यो त भारतमा जन्मेको मुर्रा राँगो पो परेछ | मैले बल्ल सम्झेँ – केही महिना अघि हाम्रा देशका शीर्षस्थ मान्छे भारत गएको बेला उपहारमा ल्याएको हो नि त यो जिनिसलाई, टिभीमा पनि देखेको ! जे होस् आज यी मुर्राका कविता पनि सुन्न पाइयो यहाँ | यस्तो अपूर्व जमघटमा आफू पनि सरिक हुन् पाएकोमा आफूलाई धन्य ठानें |
कार्यक्रम चल्दै थियो, बाहिर भने एक्कासि मान्छेहरूको जुलुस देखियो | त्यो जुलुस कार्यक्रम हलभित्र नै प्रवेश गर्यो र नारा लाग्ने थाले – “यी पशुपन्छीहरूका वेदना, कथा-व्यथा र आर्तनाद वाहियात कुरा हुन् | यिनलाई ठेगान लाउनै पर्छ, मान्छेले गर्ने कविता सम्मेलनको उपहास गर्ने अधिकार यी मूलाहरूलाई कसले दियो हँ ?”, यस्तै के के भन्दै कार्यक्रममा मान्छेहरूले धावा बोले | म चाहिं ल बित्याँस पर्यो भनी कुलेलम ठोकें त्यहाँबाट | म भाग्दै गएँ, तर मेरा कानमा यी आवाज भने परे, टाढा टाढासम्म – “लौ , अश्रुग्याँस हान्यो | लौ हेर हेर ! ट्रकमा हाले, हाले | पानीको फोर्रा, दमकल…..ढल्यो ढल्यो | राँगा समात, खसी धपाउ | पिरो भो.. | ए गाई, गाई लखेट… ऐया… | बचाउ..बचाउ | इत्यादि |”
ती निरिह पशुपन्छीहरूका कथा, व्यथाले भरिएको कवि सम्मेलन तितरबितर भएर कहाँ पुग्यो कहाँ | अनि ती पशुपंक्षी र तिनका कविताहरू कहाँ पुगे पुगे केही अत्तोपत्तो भएन | त्यसको असर मलाई पनि पर्यो | म भाग्दै भाग्दै डाँडामाथि पुगेछु – आँखा मिच्दै, स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै |
“लौन, के भयो तपाईंलाई ए बुढा, किन एस्तो स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गरेको, उठ्नुस् ?”, भन्दिरहिछिन् मेरी बुढी अम्बिका | मेरो जीउ पसिनाले निथ्रुक्क भिजेछ, ओठमुख खंग्रंगै सुकेछ | यता म हिजो बेलुका मज्जाले दुध र भात खाएर सारसौंदो सुतेको मान्छे मध्यरातको निद्रामा स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै के के हो, के के बर्बराउन थालेछु | अनि आँखा बेस्सरी मिचेँ | जुरुक्क उठेर कलकल एक अम्खरा पानी खाए | ओहो ! पत्याउनै नसकिने, कस्तो कस्तो सपना देख्दो रहेछु म पनि ! यस्ता कवितै कविता र तिनका असरका सपना पनि मै मार्फत देखिनु पर्ने ! धन्य म, धन्य कविता !! जय कविता !
०००
गोकर्णेश्वर- ७, काठमाण्डौ
फोन : ९८५११०५२५५
Subscribe
Login
0 Comments
Oldest







































