साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माटो- महिमा

भोक, भुँडी र भातमाथि अन्याय र अत्याचार गर्नु हुन्न अनि त्यो माथि ज्यादती गरेमा भ्रष्टाचार ठहर्छ भन्नेहरूको भद्दा भेला हेर्दा हेर्दा वाक्कदिक्क लागेको कुरा कति बिन्ति बिसाउनु !

Nepal Telecom ad

दिलीप अर्याल :

बसी बसी खाने प्रवृत्तिमा बढोत्तरी भयो भने मान्छे मोटो हुन्छ भन्ने एउटा तथ्य र कथ्य छ भने, अर्कोतर्फ अरूलाई माटोमा धसाएर भए पनि आफू मोटो हुनुपर्छ भन्ने होडबाजी र प्रतिष्पर्धा जगतमा व्याप्त रहेको देखिन्छ । खरोखास भन्दा अब आइन्दा मोटा जतिलाई माटोसँग नजिक्याउनु पर्ने टडकारो आवश्यकता देखियो । अस्ति माहिला बा भन्दै हुनुहुन्थ्यो, ‘नढाँटी भन्दा माटोले माम दिन्छ, मामले मदिरा अनि आजकल मदिराले बढी माल दिँदो रहेछ, बुझिस् बाबु ।’ फलानो मालामाल भयो भनेको पनि सारमा बुझ्दा उसले माटाका उत्पादन जम्मा गरेको भन्ने रहेछ । सुन, हिरा, द्रव्य, सम्पत्ति, घर, खेत, बारी सबै नै माटोबाट बनेका रहेछन् । मान्छे म के के हुँ ! कस्तो छु, मैमत्त, मालदार, मपाईमा अल्झेको, बल्झेको के के हो , के के ? हेर्नुस त ! गहिरिएर, ऊ त वास्तवमा माटो जम्मा गर्ने पात्र पो रहेछ । गाउँ, शहर, देश, परदेश जे भने पनि आखिर माटो रहेछ सबै । माटो नहुने हो भने को, कहाँ र कसरी हिंड्छ होला ?

मज्जाले मोज गर्न अनि भाइरल माल बन्न पनि मान्छेलाई माटो विना कदापि सम्भव हुन्न । रातोमाटो, सेतोमाटो, फुस्रोमाटो, कालोमाटो, खैरोमाटो जे भए पनि आखिर चाहियो माटो । माटो सम्याउन जाने सबै चिज फल्ने, फुल्ने, डुल्ने, भुल्ने, उड्ने, गुड्ने रहेछन् । माटोले नै मुहार बनाउने रहेछ । माम हाम गर्न वा मम: झ्वाम गर्न पनि माटोमै चिजविज उत्पादन गर्नु पर्यो ।

पूर्खाले माटो कोरे, माटो फोरे अनि माटो सोरे । हाम्ले माटा पोल्यौ, बाटा खोल्यौं अनि त्यही माटो पोलेर माटाका डल्ला ठड्यायौं । जहाँ जता गए पनि मान्छेहरू माटो पोलेको पोल्यै छन् । माकुरे दाइको छाप्रो होस् वा माइकलको बडेमानको महल आखिर माटोको थुप्रो नै रहेछ । फरक के छ भने माइकल आफ्नो दस तले महलबाट माकुरेलाई हेरेर उपहास गर्छ अनि माटोको डल्लो उसको छाप्रो नजिक फाल्छ अनि माकुरे भने आफ्नो गर्दन दुख्ने गरी माइकलको दस तले महलको छानो हेर्दै भन्छ, ‘तलाई डाँका मलाई हेप्ने , डल्लो हानेर’ ।

धरोधर्म माटो विना केहि पनि नहुने रहेछ । म माटोकै सृजना, मेरा बा, आमा सबै । बुद्धदेखि युद्धसम्म सबै माटोले नै गरायो । नेता, क्रेता, विक्रेता हुन् वा उपनिषद्का पात्र नचिकेता सबैले माटोमै बस्नेसँग सङ्गत गर्ने रहेछन् । माटा नचिन्ने जति लाटा मात्र हैन तिनका जिन्दगी पुरै घाटामा चल्ने रहेछ । अर्कोतर्फ माटा चिन्ने बुझ्नेहरू टाठाबाठादेखि रतन टाटासम्म बन्ने रहेछन् । उनीबाट सिक्ने भनेको यो हो कि- शर्म नमानी माटाको मर्म नै कर्म हो भनी धर्म गर्नेहरूका लागि त्यसको प्रसाद यत्रतत्र भेटिन्छ ।

माटो नभए साहित्य हुन्न, न राजनीति हुन्छ । माटो नभए म हुन्न, तल्ला घरे साहिलो हुँदैन, चिवे नकटो हुन्न, खुम्कान्त भानदाइ हुन्नन्, राजा हुन्न, नेता हुन्न, रैती हुन्न । न डाक्टर, न रोगी, न भोगी, न योगी अनि न ढोंगी । भोग गर्न, योग गर्न अनि ढोंग गर्न आखिर चाहियो माटो  ।

फुर्सद भयो कि मान्छेहरू आजकल बिग्रेको कुराको घाँडो जति माटो लाई भिराउँछन् । छिमेकी देशबाट ल्याएका मुर्रा राँगोदेखि आफूले केटाकेटीमा खेलेका नर्कटका घुर्रा समेतले माटो अनि देशका बारे नकारात्मक गफमा प्रवेश पाउछन् । आफ्ना माटाका सग्ला र सारसौंदा कुरालाई समेत वेवास्ता गरी परका, दूरदेशका माटो गजब भन्नेको बोलवाला रहेको कुरा कसरी लुकाउनु ? अर्काका माटामा गई त्यहाँ घनचक्करमा पर्नेहरूको सास्तीको चर्चा पनि चानचुने छैनन् यहाँ । आजकल आफ्ना माटाका प्रकृति, संस्कृतिमाथि विकृति उत्पन्न गराउनेको सबैभन्दा बिगबिगी रहेको पनि देखिन्छ ।

पश्चिमा र विकसित देशहरूको नित्य कर्म नै आफ्नो माटोको महिमा छर्ने बाहेक केहि देखिएन । ती देशका मान्छेहरू आ-आफ्ना माटाका विज्ञापन गरेर धनी भएका हुन् भन्ने कुरोमा मेरो दृढ विश्वास रह्यो । यसो घोत्लिएँ अनि निर्क्योलमा आएँ । हो नि , त्यो नदी, ती पाखा, हिमाल, जंगल, झरना, प्रकृति, संस्कृति सबै माटाकै भर हुन् । कति राम्रो माटोमाथि उभिएका हिमाल र त्यो तलका सिर्जना । हाम्रा हिमालयका हिउँ जम्ने हिमचुली हेर्न, हिमताल, हिमनदी, हिमशिखरको अवलोकन गर्न संसारभर हामीले हाम्रो माटोको पनि हल्ला र विज्ञापन गर्न पछि परेको हो कि ?

मान्छेले आफू जन्मेको माटो बिर्स्यो तर त्यही माटोबाट बनेका महल, मोटर, मालसामान जम्मा गर्न मुग्लान पस्यो | हेर्नुस् त ! त्यो मुग्लानमा पनि त्यही माटो भन्दा बाहेक अरू नयाँ चिज वा माल जोडेको भए के ? बस, त्यत्ति हो | खसी टोक्न होस्, फर्सी बोक्न होस् वा रक्सी धोक्न होस् पहिले त माटोमै रोप्नै, फुलाउनै, फलाउनै पर्यो । मुद्धा-मामिला, मेरो- तेरो, मान-मर्यादा, महिमा-गरिमा, माथापच्चिसी, मानहानी सबै माटा माथिकै गतिविधि रहेछन् । लौ जुलुस निस्क्यो, क्रान्ति शुरु भयो अनि शान्ति बहाली भयो भनेको पनि माटामाथि बसेर माटाकै लागि गरेको हो भनी टोपल्नेहरुकै कृत्य, नृत्य र कहिँ कतै कुकृत्य सम्म हुने रहेछ ! मल्हमपट्टि लगाउने, मूसा प्रवृत्ति बनेर दुलो खन्दै जग भास्नेहरू माटामै लुकामारी गर्दै हिंड्ने रहेछन् ।

माटो विना जीवनको सम्भावना यस विश्व ब्रह्माण्डमा छैन भन्ने बुझियो । चन्द्रमा, मङ्गलग्रह वा अन्य ग्रह कहाँ माटो योग्य छ भनी वैज्ञानिकहरू धुँइधुँइति खोजेको खोज्यै छन् । पन्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश ) मा मूल तत्त्व माटो रूपमा पृथ्वी नै रह्यो । मान्छे मरेपछि माटोमै मिलेर जान्छ भन्ने सबैले आँखाले देखेको हो तर अन्य तत्त्व उडेर जान्छन् भन्ने सुनेको पक्कै हो ।

शरणार्थी बनाई बेच्ने हुन् वा सहकारी ठग्ने, ठगाउने हुन् सबैलाई यो माटोको ज्यादै माया रहेको देखिन्छ । तब पो यिनीहरू पटक पटक सत्तामा जान्छन् अनि निम्सरा, निमुखा र निरिहका आशामाथि तुषारापात गर्छन् । फेरि, मोटा, मात्तिएका, मैमत्त, साँढासाँढीहरूले यही माटामा पतित र पातकीहरूलाई समेत पानी माथि ओभानो बनाएर चोख्याउँछन् । अनि माटामाथि बस्ने मोटाहरू दिनदहाडै ठग्छन्, अनि माटामै हग्छ्न् ।

झटपट गरी चटपट बेच्ने अनि छिट्टै खटपट पर्ने नेपालको माटो सुहाँउदो प्रवृत्ति हो । यी सबै कुरा माटोमाथि नै उम्रिने, हुर्किने, फुर्किने, घुर्किने हुनाले यसमा मलजलको मात्रामा गडवड भएर हो वा केमेष्ट्री नमिलेर हो नतिजा खासै फलदायी देखिएको छैन । बढी विषादीयुक्त औषधी तथा मल आदिको प्रयोगले हाम्रो माटोमाथि अन्याय भएको हो भन्ने कुरा भने कहिं कतै लुकेको छैन ।

सबैजना माटो बनाउँछु भनी हिँडेका भेटिन्छन् । एउटा भूँइमान्छेदेखि लिएर सूइमान्छे (अरूलाई घोचपेचले रोप्दै हिंड्ने), फुँइमान्छे (फाइँफुट्टी लाउँदै हिँड्ने ), बुइमान्छे (भूँइमान्छेको काँधमा बोकिँदै हिड्ने ) हरू सबै माटाका सवालमा अत्यन्तै परिश्रमी रहेका भेटिन्छन् । अन्तर यत्ति छ कि भूँइमान्छे भुँडी भर्न भयानक दु:ख गर्छ भने सूइमान्छे, फुँइमान्छे र बुइमान्छेहरू आफू मोजमस्तीमा रमाई अरूलाई कसरी भयानक दु:ख र पीडा दिन सकिन्छ भनेर लागिपरेका छन् । भोक, भुँडी र भातमाथि अन्याय र अत्याचार गर्नु हुन्न अनि त्यो माथि ज्यादती गरेमा भ्रष्टाचार ठहर्छ भन्नेहरूको भद्दा भेला हेर्दा हेर्दा वाक्कदिक्क लागेको कुरा कति बिन्ति बिसाउनु !

कुरैकुरोमा एउटाले भनेको झ्वाट्ट सुनें – माटोमा वृक्ष रोपौं । फेरि अर्कोले भन्यो, माटोमा उब्जनी बढाउँन बिष छरौं । अनि अर्कोले क्रान्तिकारी पारामा भन्यो – माटोको ईख भए विद्रोह गरौँ । अनि म अलमलमा परें , के गरौँ के गराैँ भनेर !

०००
गोकर्णेश्वर- ७ , काठमाडाैं
फोन : ९८५११०५२५५

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्याटु महिमा

ट्याटु महिमा

दिलीप अर्याल
हल्ला

हल्ला

दिलीप अर्याल
बसिबियाँलो

बसिबियाँलो

दिलीप अर्याल
रोगहरूको बैठक

रोगहरूको बैठक

दिलीप अर्याल
साँढे पुराण

साँढे पुराण

दिलीप अर्याल
जय कविता !

जय कविता !

दिलीप अर्याल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x