दिलीप अर्यालट्याटु महिमा
“त्यसपछि मलाई लाग्यो – मान्छे, मान्छे नभई राक्षस पनि हुँदो रहेछ । त्यो एजेण्ट भित्रको अजङको राक्षस मैले प्रस्ट देखें पटक पटक । हो, मैले त्यही राक्षसी प्रवृत्तिको बिम्बलाई उतार्न उसको स्वरूपमा दाह्रा र सिङ जोडी यी ट्याटु खोपेँ दाइ ।” भन्दै गयो उसले ।

दिलीप अर्याल :
मान्छेहरूले आफ्नो शरीरका विभिन्न अंगमा विभिन्न चित्र खोपेर सुन्दर वा विचित्र बन्ने प्रचलन विश्वभर नै छ्यापछ्याप्ती पाइन्छन् र ती चित्रलाई ट्याटु नामले बुझिने रहेछ । ट्याटु अंग्रेजी भाषाको शब्द भए तापनि यो हाम्रो नेपालमा पनि पाच्य भै जनजिब्रोले रसास्वादन गरिरहेको कुरो जगजाहेरै छ ।
यहाँ आधुनिक ट्याटु संस्कृतिलाई यो पंक्तिकारले बदलिँदो जमानामा आफ्नो तरिकाले केही खोतल्ने जमर्को गरेको छ । थाहा भएकै कुरा हो – आजकल ट्याटु टाउकोदेखि निधार हुँदै पैतालासम्म खोप्नेहरूको बिगबिगी छ । कुन अंगमा बढी ट्याटु खोपिन्छन् त भन्नु पर्दा, मेरो बिचारमा मान्छेका शरीरका भाग्यमानी अंगहरूले प्रायः ट्याटुको स्थान बढी पाउँछन् ।
२१ औं शताब्दीमा ट्याटु संस्कृति धेरै मौलाएको छ भने कतैकतै बौलाएको पनि देखिन्छ । ट्याटु–ट्याटु बीच नै एक किसिमको होडबाजी जस्तो, प्रतिस्पर्धा जस्तो संसारभर । ‘तल्ला घरकी गई । म पनि जान्छु’ भने झैं फलानाले त यस्तो ट्याटु हानेछ । अब म त्यो भन्दा अलि कडा नै हान्ने हो भनेर ट्याटु प्रति मरिहत्ते गर्नेहरूको संख्या पनि ठुलै छ । अब त हाम्रो देशमा विदेश नजाने घर र ट्याटु नखोप्ने मान्छे भेट्टाउन पनि मुस्किल छ ।
यो देखेर मलाई पनि ट्याटु खोपूँ खोपूँ जस्तो नलाग्या होइन तर उमेरले ५५ पुग्न लागेको म जस्तो बुज्रुकले यस्तो के गर्नु ? हैट ! यस्तो सोच्नु हुन्न भनेर आफूले आफूलाई नै सम्झाएँ र अहिलेसम्म फेरि आँट गर्न सकेको छैन ।
अब यो ट्याटु भन्ने बस्तुको हालखबर के रहेछ भनेर अस्ति दिउँसो यसो शहर पसेको त आम्मै ! ट्याटु कसैले एक अंगमा, कसैले दुई अंगमा र कसैले अंगै पिच्छे खोपेका पनि भेट्टियो । देउता, राक्षस, आ–आफ्ना जोईपोइ, आफ्ना मन परेका बस्तु, लभ साइन, फूल, जनावर, सिङ भाको मान्छे –झन्डै झन्डै स्वस्थानीको जालन्धर जस्तो) आदिका ट्याटु । हिमाल, बन, जंगल, नदी आदि के के हुन्, के के, मैले गन्न पनि सकिनँ, वर्गीकरण गर्न पनि सकिनँ । खसोखास भन्ने हो भने म जाबाको के कुरो रह्यो र । यसको वर्णन गर्न चार हात भएका बिष्णु, घाँटीमा नाग बेरी बस्ने शिवजी, हजार जिब्रा भएका शेषनागले पनि गर्न मुस्किल पर्ने देखियो ।
यसो हेर्दै जाँदा मुखमा ट्याटु, जिउमा ट्याटु, तिघ्रामा ट्याटु, हातगोडामा ट्याटु ! यसो सोचें, आहा ! ती ट्याटुहरू कति भाग्यमानी । ढुक्क सँग ठाउँ ओगटेर विराजमान भएका छन् मान्छेका अंग अंगमा । कसैले कल्पना नै नगर्ने ठाउँमा समेत सर्लक्क रजाइँ गरेर बस्या छन्, ट्याटु मोरामोरीहरू । जसरी ५० औं वर्षदेखि उही अनुहार, उही विचार बोकेर महत्त्वपूर्ण र संवेदनशील पदमा बसेको बस्यै छन् ठुला भनिएका मान्छे । त्यसैगरी ती ट्याटुहरू पनि अब त्यहाँबाट हट्ने वाला छैनन् ।
हालसालै एउटा गोप्य सूचना पनि आयो रे – चुरोट र रक्सीको विज्ञापन गर्न हालका दिनमा कडाइ गरिएको छ । त्यसैले विकल्पको रूपमा ट्याटु सिस्टममा लैजाने भनेर । ठिक त्यसै बेला यसको विरोध गर्ने मान्छेहरूको चर्को आवाज पनि सुनिन पाइन्छ । अन्त्यमा, चुरोट र रक्सीको विज्ञापन स्वास्थ्य सचेतनाका नाराहरू क्रमशः – ‘धूमपान स्वास्थ्यको लागि हानिकारक छ’ र ‘मदिरा सेवन स्वास्थ्यको लागि घातक छ’ भनी लेखेर आ–आफ्ना ब्रान्डका विज्ञापन गर्न पाउने सहमति समेत भएपछि र विरोध गर्नेहरू पाखा लागे रे !
अब विज्ञापन गर्दा चुरोटलाई मान्छेका गालामा र रक्सीलाई नाक र निधारमा मात्र ट्याटु लेखि गर्न पाउने भन्ने कुरा ट्याटु संगठनको निर्णयमा छ रे भन्ने पनि सुनिन आयो । यी दुवै चिज मुखद्वारा सेवन गर्ने भएकोले मुखकै वरिपरि विज्ञापन गर्न उचित ठहरिएको ! हरेक विज्ञापन बापत सम्बन्धित चुरोट र मदिरा उत्पादन गर्ने उद्योगले एउटा ट्याटु बापत रु. एक हजार कर तिर्नुपर्ने रे भन्ने पनि संगठनको निर्णयमा छ । यसले राज्यलाई राम्रै आम्दानी होला जस्तो देखिएकोले राजश्वको नयाँ श्रोत हुन् पनि सक्ने भयो यो आइडिया । यो कुराको अपार सफलता हुने पक्कापक्की भएपछि विज्ञापनको दुनियाँमा अन्य नयाँ नयाँ आइडियाहरूको पनि जन्म भएछ – जस्तै : वातावरणको संरक्षणका लागि नदीनाला, जंगल, हिमाल आदिको ट्याटु खोपी सचेतना गराउने र जनावरको संरक्षणका निम्ति गाई, भैंसी, बाघ, गैंडा आदिको ट्याटुको सहायता लिने ।
त्यस्तै, घर घडेरी बिक्रीदेखि फास्ट फुड अनि विभिन्न सरसामग्री आदिको विज्ञापन समेतका लागि ट्याटुलाई मुख्य माध्यम बनाउने ।
पहिले त पत्याउन अलि गाह्रो परेको थियो तर दुई महिना पछि यो आइडियाले मूर्तरूप लिएछ भन्ने कुराको एउटा उदाहरण यही आँखाले देख्यो । यसो एकदिन म र मेरो भानिज राममणि बजारतिर घुम्दै थियौं, अचानक भानिजले एक हूल यस्तै ट्याटु लेखेका मान्छे देखेछन् र जसमध्ये उनलाई मज्जाका राँगा र खसी-बोकाका चित्रले आकर्षण गरेछन् । मेरा भान्जा राँगाको मःम, छोयला, कचिला र खसीका ह्याकुला, फोक्सो, कलेजोका परिकारका विशेष पारखी भएकाले उनलाई ती ट्याटु चित्रको मूल सन्देश यिनको संरक्षणको जनचेतना भन्दा पनि यस्ता गतिला पशुपक्षीको परिकार खान पाएमा कति मजा आउला भनेर मुखबाट पानी निक्ल्यो त मामा भनेर मलाई भन्न भ्याएको कुरो आज भन्दै छु ।
ठिक त्यसै बेला मैले सोचें – यसबाट मासुका व्यापारीहरूलाई पनि राम्रै फाइदा पुग्ने देखियो । हिंड्दा हिड्दै फेरि अर्को कुरो पनि देखियो – एउटा ७५ वर्ष जतिको बाले एउटा २२ बर्से फिल्मस्टार नायिकाको र एकजना ७० वर्ष जतिको आमाले २५ बर्से युवा क्रिकेटरको ट्याटु जिउमा खोपेको । यो देख्दा उहाँहरूको क्रेजलाई पनि मैले मानें ।
यी सबै युक्ति तथा जुक्ति देखेर राजनीति गर्नेहरूले पनि आ–आफ्ना पार्टीका शीर्षस्थ नेतागणका फोटा तथा पार्टीका चुनाव चिन्हको प्रचार प्रसार ट्याटु मार्फत गर्न शुरु गर्ने रे भन्ने कुरा हालै केही पार्टीका बैठकमा पनि छलफल चल्यो रे । पुराना पार्टीका जो सँग जति धेरै पैसा र कार्यकर्ता छन् तिनले त्यही परिमाणमा ट्याटुका लागि प्रचारप्रसार शैली प्रयोग गर्न बाधा देखिएन । तर नयाँ नयाँ पार्टीको भने नेता, कार्यकर्ता र पैसा पनि कम हुने हुँदा अलि हल्लाखल्ला गर्न सके मात्र हो नत्र ट्याटुको प्रचार शैलीले ठूलै सफलता हात पार्न हम्मेहम्मे पर्छ कि भनेर यो मनुवालाई नलागेको हैन । हेरौं के हुन्छ, अझै ४ वर्ष बाँकी छ मुख्य चुनाव हुन ।
हिंड्दै थिएँ, अचानक एउटा झन्डै ६ फिट जति अग्लो दिगम्बर जस्तो जिउभरि देउता, मान्छे र राक्षसको ट्याटु खोपेको मान्छे अर्धनग्न अवस्थामा हिंडिरहेको देखें । एक मनले सोध्यो – यी एकापसमा कसरी मिलेर बसेका होलान् ? बेलाबेलामा झगडा पनि पर्दो हो ? त्यो बेला यो मान्छेले कसरी मध्यस्थता गर्दो हो, कठै ! फेरि लाग्यो, उसको सन्देश हुन सक्छ कि यहाँ सबै प्रवृत्ति छन् – सतगुण, रजगुण र तमगुण ।
फेरि मलाई शंका लाग्यो – त्यति सम्म त नहोला कि, किन कि लवाई पनि त्यस्तो छ, जिन्सको हाफ–पाइन्ट र स्याँडो लाएर हिंडेको छ । त्यो मान्छे कसरी दार्शनिक हुन सक्ला ? तुरुन्तै सोचें – गेरुवस्त्रधारी, बडेबडेमान बाबाजीहरू पनि स्त्री लम्पट अनि भ्रष्ट भई जेलमा जिउँदै छन् हाम्रा सामु । राता पहेंला लुगा लाएर खरानी घस्दैमा भित्र परिवर्तन हुने त होइन रहेछ । बरु ती पतितहरू भन्दा यो मान्छे नै ठिक हो कि भन्ने अनुमान गरें । अनि म उसलाई पच्छ्याउँदै गएँ ।
“हेर्नुस् दाइ, यो मेरो शरीरमा ट्याटुहरू देख्नु भयो हैन ?” उसले मैले जे सोध्नु पर्ने सवाल थियो त्यो मलाई नै सोध्यो ।
“दाइ हेर्नुस्, म बहुला होइन, तर परिस्थितिले मलाई बहुला जस्तो बनायो । आजभन्दा पाँच वर्ष अगाडि मेरो एउटा साथीले हाम्रो उज्ज्वल भविष्यको लागि नेपालमा नबसौं भन्यो । म सकभर नजाऊँ, यतै गर्नुपर्छ भन्नेमा थिएँ तर एउटा एजेन्टले २५ लाख खाएर विदेश पठायो । तर त्यता खानको लागि मात्र हाड घोटेर काम गर्नुपर्ने अवस्था आयो । बहुत दुख, हण्डर खाएँ । अनि नेपाल फर्कें ।” दुखित भई उसले बतायो र म सुन्दै गएँ ।
“त्यसपछि मलाई लाग्यो – मान्छे, मान्छे नभई राक्षस पनि हुँदो रहेछ । त्यो एजेण्ट भित्रको अजङको राक्षस मैले प्रस्ट देखें पटक पटक । हो, मैले त्यही राक्षसी प्रवृत्तिको बिम्बलाई उतार्न उसको स्वरूपमा दाह्रा र सिङ जोडी यी ट्याटु खोपेँ दाइ ।” भन्दै गयो उसले ।
“करिब एक वर्ष पछि, एकदिन बाटोमा हिंड्दै थिएँ । अचानक मलाई स्कूलमा पढाउने मेरो अत्यन्त प्यारो शिक्षक अनिल सरसँग भेट भयो । उहाँले मेरो हालखबर सोध्नु भयो । मैले उहाँलाई सबै कुरा नढाँटी भनेँ । त्यसपछि उहाँले मलाई नयाँ जीवनको लागि दुई तीन खालका कामको विकल्प सहित सुझाव गर्नुभयो । अनि मैले उहाँकै सुझाव अनुसारको मेरो रुचिको काम गर्दै छु । अनि दाइ, त्यसैले उहाँ प्रतिको आदर र सम्मान स्वरूप मैले सरको अनुहारलाई मान्छेको बिम्ब स्वरूप यी ट्याटुहरू खोपें । हो, उहाँ साँच्चै मान्छे नै हुनुहुन्छ, एउटा असल मान्छे ।” उसले अनिल सरको प्रशंसा गर्दै लामो सन्तोषको सास फेर्यो ।
“त्यसपछि मेरी आमा जसले मलाई यो धर्तीमा जन्म दिनुभयो र जीवनका हरेक मोडमा स्नेह र वात्सल्य प्रदान गर्नु भयो, साँच्चै म उहाँको ऋणी छु । उहाँ साक्षात् देवी, भगवानको स्वरूप हुनुहुन्छ । अनि एकदिन मैले सोचें अब म मेरी आमाको अनुहारको ट्याटु खोपेर उहाँलाई देवताको रूपमा सजाउँछु । हो मैले त्यही गरेँ, मेरी आमा देवता हुन् र साक्षात् देवी । आखिर सबै बाहिरी स्वरूपमा मान्छे नै हुन् । ती तिनै जनाको प्रवृत्तिको चित्रण हो यी ट्याटुहरू ।” ऊ भन्दै आफ्नो बाटो लाग्यो ।
यस प्रसङ्गले मलाई निकै नै झस्कायो अनि ट्याटुलाई सतही रूपमा मात्र पनि कसैले लिनु हुन्न, यसभित्र पनि अनेकौं मर्म, पीडा, व्यथा, दुख, कुण्ठा लुकेका हुन सक्छन् भन्ने बोध गरायो ।
यसपछि मैले पनि अब के को ट्याटु खोपौं र शरीरका कुन कुन अंगमा यिनलाई पहुँच दिऊँ र आफू हुनसम्मकै भाइरल माल बनौं भनेर घोत्लिन छाडेको छु । बरु ट्याटुको सम्बन्धमा बाह्य भन्दा पनि मनोवैज्ञानिक अध्ययन अनुसन्धानमा आफ्नो समय व्यतीत गरौँ कि भन्ने सोच आएकोले सम्बन्धित विज्ञको उचित परामर्शको प्रतीक्षामा रहेको कुरा दिल खोलेर व्यक्त गर्दछु भन्दै यो बसाइलाई यही विश्राम गर्दछु ।
इति श्री अधर पुराणे त्वचा खन्डे ट्याटु माहात्म्य वर्णनं सम्पूर्णम् अस्तु ।
०००
काठमाडाैं
साहित्यपाेष्टबाट निबन्धकारकाे अनुराेधमा जस्ताकाे तस्तै
Subscribe
Login
0 Comments
Oldest







































