साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोगहरूको बैठक

यहाँ रोगहरुले पनि मान्छेले जस्तै बैठक बस्ने, निर्णय गर्ने, कार्यान्वन, अनुगमन र मूल्याङ्कनका योजना बनाउन आतुर देखिन्छन् । तर यिनीहरुले निर्णय गरेको पनि झन्डै एक वर्ष हुन लागि सक्यो, खै अब यिनका योजना कार्यान्वयन हुन्छन कि हुन्नन् ?

Nepal Telecom ad

दिलीप अर्याल :

एक्काइसौँ शताब्दिको संघारमा आइपुग्दा रोगहरूको राम्रै निदान (Diagnosis) भएको कुरा कुनै दूरबिनको सहायता बिना नै यत्रतत्र सर्वत्र छर्लंग देख्न सकिन्छ । यसो हेर्दा रोग निदानको सिलसिला विश्वका बिकसित देशमा राम्रै हिसाबले भैरहेका छन् भने सँगसँगै नयाँनयाँ रोगहरूको आगमनको दर पनि गतिलै देखिन्छ । हिजोका दिनमा कडा, घातक र निको नहुने भनी पत्तोअत्तो नलागेका अनि तिनका उपचारका नाममा अनुमानका भरमा जे पायो त्यही औषधि ख्वाएर बेलै नहुँदै मान्छेलाई यमराजका दैलामा ठेल्ने परम्परा अहिले तोडिएको छ भन्ने कुरा मेरो मुखबाट मात्र सुनिदैनन् ।

मेडिकल साइन्सको क्षेत्रमा आजका दिनसम्म अभूतपूर्व विकास भएको हुनाले अहिले मान्छेको बाँच्ने अवधिलाई वर्षौसम्म लम्ब्याएको देखिन्छ । विशेषगरी एलोपेथिक उपचार पद्दतीमा भएको उपलब्धिलाई हेर्दा त म आफैंलाई कहिलेकाहीं बाजा बजाएर त कहिले डाडू-पन्यू बजाएर भएपनि छमछमी नाच्न मन नलागेको होइन । तर आजकल रोगहरु नौलो प्रकारले मौलाएका अनि बौलाएका देख्दा र सारसौंदोलाई समेत क्षणभरमै चिलिम च्वाँट पारेको देख्दा कतै यी रोग निदानका खुशी लाई दीर्घकालसम्म अड्याउन हाम्लाई धौ धौ, हम्मे हम्मे, मुश्किल मुश्किल पर्ने हो कि भन्ने डर लाग्छ ।

मान्छेका खुशीलाई कसरी तितरबितर पार्न सकिएला भनेर अर्कोतर्फ रोगहरू आन्दोलनका अश्रुग्याँस र हवाई फायर गर्ने बन्दूक जस्तै गरि ढुकेर बसेका छन् । रोगहरूले भन्न लागेका छन्, मान्छेले हाम्रो के कति निदान गरेका हुन्, वाफ रे १, अरू क्यै काम छैन कि क्या हो यिनका ? खाली हाम्लाई मात्र खेदेका छन् , दपेटेको दपेट्यै छन्, हाम्लाई सिध्याउन भनी सूई हानेको हान्यै छन्, ट्याब्लेट ख्वाको ख्वाई छन्, चिरफार गर्या गर्यै छन् । यस्तो विकराल स्थितिमा अब हाम्रो हालत के हुने हो ? ।

एकदिन यसरी बिचारिंदै आत्तिएर, डराएर, झन्डै झन्डै होसहवास गुमाउने अवस्थामा रोगहरू पुगेछन् । फेरि, आगामी दिनमा हाम्रो भूमिका के हुनुपर्ला भनेर सारा संसारका रोगहरु घोत्लिन थालेछन् । हामीले आफ्नो अस्तित्व रक्षाका लागि के कस्ता खालका रणनीति अपनाउनु पर्ला र हाम्रा शत्रुहरू मध्ये मुख्य गरी मान्छेका शरीर र उसका बिचारहरूलाई के कसरी परास्त गर्न सकिएला अनि आफू असनको साँढे जस्तै रजगज गर्न पाइएला भन्ने कल्पना गर्दै रोगहरू मन्थनमा लागेछन् । यसका लागि हामी सबै रोगहरु मिलौं, एकजूट बनौ, झिनामसिना कुरामा अल्मलिने तर्फ नजाऔं भनेर बिस्तृत छलफल गर्ने उद्देश्यले रोगहरूले आगामी नयाँ वर्षको दिन   “रोगहरूको अन्तर्राष्ट्रिय सम्मेलन“ गर्नका लागि बैठकको आयोजना गर्न लागेछन् । रोगहरूको सम्मेलन पूर्वको त्यो बैठकमा के के भएको थियो भन्ने कुराको सूईको, गोप्यसूचना सहित एउटा सुलसुलेले मलाई मेसेंजरमा पठाएर लाउनुसम्मको गुन लाएको छ । आज तपाईंहरू लाई यो कुरो कतै लिक नगर्नुहोला भन्ने आग्रह गर्दै रोगहरूको बैठकको त्यो माइन्यूट यहाँ सविस्तार वर्णन गर्न गैरहेको छु ।

बैठक नं ३
मिति : वैशाख १, २०८१
स्थान : पृथ्बी, नेपाल
आज हामी “खेदिएका रोगहरू पुनरुत्थान समिति“ का अध्यक्ष श्री डेंगुध्वजजीको प्रमुख अध्यक्षतामा संसारका क्रियाशील, सुषुप्त र निर्मूल भएका समेत गरी देहाय अनुसारका रोगहरूको उपस्थितिमा आ–आफ्नो अस्तित्व र पहिचान बचाउने अभिप्रायले बसेको यस बैठकमा देहायका एजेन्डा उपर छलफल भई देहाय अनुसारका निर्णय भयो :

उपस्थिति :
१. डेंगुध्वजजी ––– अध्यक्ष
२. कोरोनाप्रसाद ––– उपाध्यक्ष
३. क्यान्सरमति ––– कोषाध्यक्ष
४. मधुमेहनाथ ––– सचिव
५. थाइराइडराज ––– सदस्य
६. उच्च रक्तचापदेव ––– सदस्य
७. ग्यास्ट्रिकमाया ––– सदस्य
८. दमदेव स्वाँस्वाँ ––– सदस्य
९. प्रोष्टेटध्वज सुसु ––– सदस्य

आमन्त्रित सदस्यहरू
१. छारेरोग कुमार, २. स्किनभक्त टेवा, ३. साइटिकादेवी, ४. नशाच्याप्नेवाली, ५. मानसिकप्रसाद, ६. स्टोनदास, ७. मृगौला क्षयनाथ

बैठकका एजेन्डा
१. रोगहरूको हालको स्थिति र अवस्था बारे दिमागीआँधी (Brainstorming) गर्ने र यसको निचोड निकाल्ने,
२. अस्तित्व र पहिचानको लागि अल्पकालीन नाटकीय आक्रमण गर्ने,
३. विविध ।

निर्णय :
१. एजेन्डा नं.१ उपर विश्वका सम्पूर्ण रोगहरूको यथार्थ स्थिति र अवस्थाबारे घनिभूत रूपमा दिमागीआँधी (Brainstorming) सहितको छलफलबाट निम्न निष्कर्ष निकालिएकोले अबका दिनमा निम्न अनुसार कार्यान्वयन गर्ने निर्णय भयो :–

क. संसारका सबै रोगहरू एकजुट हुने कार्यमा कुनै कसर बाँकी नराख्ने,
ख. मानव शरीरमा आक्रमण गर्दा एक्लै नगर्ने, सकेसम्म दुई वा दुई भन्दा बढी रोगहरु मिलेर गर्ने,
ग. औषधि कम्पनीहरूलाई मिसावटका लागि आग्रह गर्दै औषधिको शक्तिलाई निस्तेज बनाउन बिशेष भूमिका खेल्ने,
घ. एउटा कमिशन कोष खडा गर्ने र त्यसलाई चाहिएको बखत कमिसन दिने र लिने प्रयोजनको लागि चाँजोपाँजो मिलाउने,
ङ. डाक्टरको फी तथा औषधिहरूको स्वेच्छाचारी ढङ्गले मूल्यवृद्धि गर्न प्रेरित गर्ने,
च. डाक्टर, नर्स र स्वास्थ्यकर्मी उत्पादन गर्ने कलेज तथा युनिभर्सिटीहरूको शुल्क वृद्धिमा ऐक्यबद्धता जनाउने,
छ. नक्कली डाक्टरहरूको बिगबिगी गराउने काममा सक्रिय भूमिका खेल्ने,
ज. सकेसम्म मान्छेका मुटु,फोक्सो, दिमाग, मृगौला र पेट तथा संवेदनशिल अङ्गलाई सिद्ध्याउने हिसाबले ठूला रोगहरुले आक्रमण गर्ने,
झ. नयाँ रोगहरूले आक्रमण गर्न चाहेमा पुरानासँग सल्लाह र सहकार्य नगरि कुनै पनि हालतमा मानव शरीरमा प्रवेश नपाउने व्यवस्था गर्ने,
ञ. रोगहरु बिरुद्ध खनिने जुनकुनै पनि सामाजिक सञ्जाललाई चल्न नदिने,

२. रोगहरूको अस्तित्व र पहिचान जोगाउनका लागि अल्पकालीन रणनीति अन्तर्गत पृथ्बीका मान्छेलाई सकेसम्म छिटो केही नयाँ जटिल रोगहरुले आक्रमण गर्दै त्यसको संक्रमण दरलाई दिनमा हजारौँ गुणा र रातमा लाखौँ गुणाको दरले बृद्दी गर्दै लैजाने र यो

प्रयोजनको लागि निम्न अनुसार गर्ने :–
क. छिटो गरि नयाँ जटिल रोग उत्पन्न गर्नका लागि हाललाई समितिका अध्यक्ष डेंगुध्वजजी र उपाध्यक्ष कोरोनाप्रसादज्यूको २ सदस्यीय अध्ययन तथा कार्यान्वन टोली गठन गरि यसलाई १ महिना भित्र आक्रमण र संक्रमण गर्ने रणनीति सहितको प्रतिवेदन प्राप्त गर्ने व्यवस्था गर्ने । यस सम्बन्धमा उहाँहरूका हालैका ताजा अनुभवहरूलाई समेटी ति भन्दा डरलाग्दा र घातक रोगहरू के के हुन् सक्छन् भन्ने अध्ययनको आधारमा नयाँ रोगको सृष्टि गरि तिनलाई सकेसम्म गरिब र अविकसित देशका मान्छेहरूलाई पहिले आक्रमण गर्ने र त्यसपछि प्राथमिकताका आधारमा फैलदै जाने र फैलाउंदै लैजाने व्यवस्था गर्ने,

ख. उदीयमान खालका रोगहरू छन् र तिनले आक्रमण गरेका तथ्याङ्क कम छन् भने पनि यदि तिनले दीर्घकालीन अवस्थामा ठूलो संख्यामा आक्रमण गर्ने सम्भावना हुने कुरालाई मध्यनजर गरि रैथाने र पुराना घातक रोगहरू त्यसमा पसि साम, दाम, दण्ड, भेदको नीति अवलम्बन गर्दे त्यसलाई हाइब्रिड खालको नयाँ रोगमा परिणत गर्ने,

ग. रोग, रोगहरू बिच मेलमिलाप नभइ एक आपसमा इर्ष्या द्वेष, घृणा उत्पन्न भइ आ–आफ्नै तरिकाले रोगीको संख्या बढाउने अवस्थामा यस्तो होडबाजी चल्ने कुरालाई विचार गरि रोगलाई एकालकाँट्टे हुनबाट जोगाउन बिभिन्न गोष्ठी, कार्यशाला, सभा, तालिम आदिको आयोजना गर्ने,

घ. संसारका स्वास्थ्यक्षेत्रका मुख्य मुख्य विज्ञहरू, डाक्टरहरू नै रोगहरूका प्रमुख शत्रुहरू हुनाले तिनलाई छानिछानि घातक तथा गम्भीर रोगहरूले आक्रमण गर्ने व्यवस्था मिलाउने,

विविध
१. रक्सी, चुरोट, गुट्खा, खैनी, जंकफुड जस्ता स्वास्थ्यका लािग हानिकारक वस्तुहरुको अन्धाधुन्ध प्रयोग गराउने तर्फ सबै रोगहरू मिलि प्रमुख भूमिका खेल्ने,
२. भूतप्रेत, टुनामुना, जादू एवं प्रमाण नभएका औषधिको प्रयोग जस्ता अन्धबिश्वास लाई अभिवृद्धि गर्न उदाहरणीय भूमिका खेल्ने,
३. देशभित्रका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूलाई सबै रोगहरू मिलेर कानेखुसी गरिगरिकन विदेश पलायन गराउन वाध्य पार्ने,
४. मेडिकल कलेज खोल्ने भन्दा बन्द गराउने तर्फ लागिपर्ने र औषधि कम्पनीहरू खोल्नु भन्दा आयात गर्ने कार्यमा प्रोत्साहन गर्ने,
५. योग, ध्यान, प्राणायाम तथा आयुर्वेद, प्राकृतिक चिकित्सालाई जरैदेखि निर्मूल गर्नुपर्छ भन्ने अभियानमा लाग्ने,
६. सन्तुलित भोजन, स्वच्छ पानी र स्वच्छ वातावरणको बिरुद्धमा लड्न हरतरहले लागिरहने,
७. स्वास्थ्य जनचेतनाको अभिवृद्धि, स्वास्थ्य बीमा, स्वास्थ्य चौकी र अस्पतालको स्थापना, नियमित स्वास्थ्य सेवाको डेलिभरीलाई के कसरी घटाउन सकिन्छ त्योतर्फ अग्रसर भई कार्य गर्ने,
यी त भए रोगहरूको बैठकका निर्णयहरु ।

जुनसुकै कुराको पनि निर्णय मात्र गरेर, नीति नियम बनाएर मात्र के पो खुइलिन्छ र ? तिनको प्रयोग एवं कार्यान्वयन पनि गर्नु पर्यो । त्यसपछि त्यसको अनुगमन, अध्ययन, अनुसन्धान र विश्लेषण पनि गर्नुपर्यो । झन् त्यो पक्ष त अझै जटिल छ । यहाँ रोगहरुले पनि मान्छेले जस्तै बैठक बस्ने, निर्णय गर्ने, कार्यान्वन, अनुगमन र मूल्याङ्कनका योजना बनाउन आतुर देखिन्छन् । तर यिनीहरुले निर्णय गरेको पनि झन्डै एक वर्ष हुन लागि सक्यो, खै अब यिनका योजना कार्यान्वयन हुन्छन कि हुन्नन् ? शंकै लाग्छ मलाई, अब त !

इति श्री स्वास्थ्यपुराणे रोग खन्डे बैठक महात्म्ये रोगस्य निर्णय वर्णनम् नाम तृतीयोध्याय ।

०००
गोकर्णेश्वर- ७, काठमाण्डौ
फोन : ९८५११०५२५५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्याटु महिमा

ट्याटु महिमा

दिलीप अर्याल
हल्ला

हल्ला

दिलीप अर्याल
बसिबियाँलो

बसिबियाँलो

दिलीप अर्याल
साँढे पुराण

साँढे पुराण

दिलीप अर्याल
जय कविता !

जय कविता !

दिलीप अर्याल
माटो- महिमा

माटो- महिमा

दिलीप अर्याल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x