साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाको गोडा, जुत्ता र व्यायाम !

आफैँ हिँडडुल गर्न अनुकुलमा जुत्ताको व्यवस्था र व्यायाम पक्कै गर्न छाड्दैनन् । अरिष्ट र दुर्मुखा सन्तानबाट त पाकाले पनि आश गर्दैनन्, बरु आफैँ साथीभाईलाई गुहारेर आवश्यक्ता पुरा गर्न सक्छन् ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

खुलाबजार अर्थतन्त्र, पूँजि बटुल्ने होडबाजीमा रमाउन एकोहोर्‍याउने मानसिकता ग्रसित साशन व्यवस्था भएका मुलुहरूमा जनतालाई एकै मन्त्रले प्रभावित पार्न कोसिश गरिन्छ- ‘जसरी भए पनि पैसा कमाउ, अनि मोज गर !’ यस्तो मनसाय संस्कृति बनाउन उद्यत अगुवाहरूको पक्षपोषणमा व्यापारीहरू क्रयशक्ति नहेरी बानीपार्न सात-समुद्र पारीका चाहिने-नचाहिने सामान हाम्रो बजारमा पनि हुल्छन् । रहँदाबस्दा हुनेखानेले किनी दिए उनीहरूको देखावा अरुलाई इख्याउन भए पनि किनेर प्रयोग गरेका हुन्छन् । निर्देशित मानसिकता भएका हामी जनता दुइचार पैसाको जोहो भएमा ‘आफू कम्ता छैनौ’भनि देखाउन किन्न अन्मिरिने निम्नपूँजिवादी सोचले घिसारिन्छौँ । जग्गाधनीले जग्गा बेचबिखन गर्दा हकको जग्गा नलिई मोहियानी हक छोडेर पैसा लिने थुप्रै परिवार भेटिन्छन् भने पुर्खौदेखिको एकचोक्टो जग्गा बेचेर तथाकथित मोजगर्न भौतिक साधन किन्ने पनि भेटिन्छन् । ‘मिहेनतले भएको माटोमा सुन फलाउने’ धारणा अहिले हराउनुमा के र को जिम्मेवार ? सोचौँ त ।

घरका बलिया-बाङ्गा र हैकम पुग्नेको त्यस्तो ओह्रालो गतिमा रोकथाम गर्न उमेरिएका पाका अभिभावक बोल्नै नसक्ने स्थिति र आफू निर्णायक  सदस्य नभएको अनुभूतिले रसिला आँखा पार्दै नबोल्ने पनि हुनसक्छ । पाका मान्छेलाई उमेरजन्य शारीरिक कमजोरीले गाँस, बास, कपास र भौतिक सामग्रीहरू समेत विशेष खालको चाहिन्छ । त्यता ध्यान दिने परिवार सदस्यहरू कति घरमा होलान ? हिजोसम्म जस्तो पनि रुच्ने, पचाउने मान्छेहरू अहिले फलफूलका खान हुने सामान्य पातला बोक्रा र मासुका छाला पनि खान अन्कनाउँछन् । मज्जाले बयस्कले सिङ्गै खाने नास्पाती, स्याउ, हलुवाबेद, अम्बा, फर्सी, मुला, सागहरू, मसला खोर्सानी, आदि र छिप्पेको जीवजन्तुका मासुसङ्गको छाला, बोसो, कुडकुडे हाड, आदि अहिले सेवनले कतिपय पाका मान्छेहरू पखालाले थलिएका भेटिन्छन् । खुवा मिसिएका वा अलि बासी पनि खाइने मिष्टान्न भनिने बस्तुले आउँलगायत पेटका समस्या भई हैरान नै बनाएको पाइन्छ । हुँदाहुँदा कमिज-पाइँटका टाँक, साङ्घुरा भित्री लुगा, सुरुवालका इँजार र तुने जुत्तासमेत उमेरिएकालाई घाँडोजस्तो अल्झाउने भई दुख भइरहेको हुन्छन् । घर चलाउने जिम्बेवारले अवस्था हेरी व्यवस्था गर्नुपर्दैन भन्या ? कि सबैका थोत्राथाम्रा ‘कहाँ जानु छ र उमेरिएका ? घर कुर्ने त हुन्’ भनि जडाउरीमा नै टार्ने हो ?

पाका मान्छेलाई उमेर बढ्दै जाँदा कटीमा समस्या उब्जनु धेरैलाई सामान्य हो । हाडजोर्नी खिइएर वा कम्मरका नसाहरू थिचिएर गोडाको तल्लोभाग पैतालासम्म दुख्ने, झम्झमाउने हुनसक्छ । त्यस्ता अवस्थाका उमेरिएकाहरूलाई पुराना, धेरै खुल्ला वा कस्सिने जुत्ता लगाउनु, हिँडाई र चाल बिगार्ने मात्र होइन, थप समस्या निम्त्याउनु हो । त्यसैले पाको हुन थालेपछि नै नरम, ठिक्क मोटाईको तलुवा, तुना बाँध्न नपर्ने सकेसम्म दाँतीभएका जीपरले जोड्ने भएका लगाउन सजिलो होला । त्यस्तो जुत्ता नपाइए खुट्टा हुल्न हुने खालका जुत्ता किन्न र लगाउन सजिलो होला साथै कुर्कुच्चा हुल्न सजिलो पार्न बगलिस किन्न बिर्सनु हुन्न है ! कम्तिमा जुत्ता नयाँ होउञ्जेल त तलुवा नरमभए अलि सजिलो हुन्छ भने बानी भएमात्र नत्र बाक्लो मोजा लगाएर जुत्ता लगाउने गर्नु नै पाइताला जोगाउने उपाए हो ।

आरामी जुत्ताः
गोडाका कुनै पनि भाग हिँडदा, डुल्दा र लम्कदा दुख्छन् भने जुत्ताकै कारण हो, रोगव्याध होइन भन्ने चिकित्सकहरूले निर्क्याेल भएको छ भने आरामदायी जुत्ता खोज्नैपर्छ । त्यस्तै उमेरिदा हुने पैताला र कुर्कुच्चा दुख्ने (पेण्टल फर्साइटिस र खिल भएमा) रोग भएकोमा नरम जुत्ता लगाउनै पर्छ । त्यसैले सम्पूर्ण गोडाका अङ्गहरू स्वास्थका लागि ठिक्क हुने उपयुक्त जुत्ता किन्नु आवश्यक हुन्छ । यस्तो जुत्ताको छनौट महिला र पुरुषकालागि चलेको फेसन भनेर हुन्न, समग्र गोडाको अवस्था, रोगव्याध तथा जन्मपछि वयस्क होउञ्जेल उमेरसम्ममा हाडको प्राकृतिक आकार अनुसार नै निर्धारण गर्नुपर्छ । त्यसकारण पाका मान्छेको नितान्त नीजि शारीरिक आकार, वजन र हिँडाई अनुसार जुत्ता निर्धारण गर्नु चेतनशिल तथा सक्ने मानिसको कर्तव्य हो ।

महिलाः
महिलाहरूले प्राकृतिक रुपमा पाइताला जस्तै आकार र तलुवा भएको नै जुत्ता लगाउनु पर्ने हो तर बँैश बाँकिरहेको, बजारमा चलेको फेसन र यस्तै पाइन्छ भन्दै कुर्कुच्चा अग्लोभएका जुत्ता लगाएका देखिन्छन् । प्राय पश्चिमा महिलालाई बस्तुको रुपमा सोच्ने मानसिकताले उनिहरू होचालाई अग्ला पारेर, नितम्ब र वक्षस्थल उठाउन, सुस्त गतिमा मच्किएर हिँड्ने महिला राम्रा भनिने पूँजिवादी बिचारले प्रभावित भई कुर्कुच्चे जुत्ता उत्पादन गरेका हुन । पूर्वियाहरू पहिलेदेखिनै जुत्ता लगाउँदा जमिनसँग एकै तहका तलुवा भएका जमिनमा लेप्सिने जुत्ता बनाएर लाउँथे । उदाहरणमा नेपालका हिमालतिर लगाउने दोचा, पहाडतिर लगाउने परालका जुत्ता र तराईतिर लगाउने काठका खराउ सबै त पाइताला मिल्ने देखिन्छन् नि ! शरीरको कम्मरमा जोडिएको गोडाका जोर्नीको तलतिर लाम्सिएका खुट्टाका सानाठूला हाडजोर्नी र कुर्कुच्चामा पाइताला जोडिएको जोर्नीले पुरा शरीरको तौल बोक्न तथा पाकृतिक हिँडाईमा सजिलो पार्न जस्तो ढाँचा दिएको छ त्यस्तै जुत्ता लगाउन उपयुक्त छ त्यस्तै लगाउनु पर्छ ।

यस्तो वास्तविक तथ्यले भन्छ, उच्च कुर्कुच्चा भएका जुत्ता महिलाको लागि अनुपयुक्त हो । महिलाको कुर्कुच्चा तथा गोलिगाँठा जोड्ने नसे-धागो (टेण्डेन)को अवस्था अतिकडा र छोटो भएमा, कुर्कुच्चा उठाउने जुत्ता केहि कामलाग्ला नत्र त्यस्ताले बिगार मात्र गर्छ । अग्लो लाउन सजिलोहुने र हिँड्दा कुर्कुच्चा ठेस्सिने महिलाले इञ्चको एकतिहाई जती अग्लो भएको लगाउनाले त्यति असर गर्दैन । पाका तथा अति पाका महिलामा हिँडाई र पाइतालाको आकार उमेरिएको क्रममा एक किसिमले नबदलिने अवस्थामा पुगिसकेको हुनाले जुत्तामा खुट्टा हुल्दा र एकदुइ कदम हिँड्दा कतै नदुख्ने र नच्याप्ने किन्नु नै राम्रो हुन्छ । पाका महिलाले उमेरिएका अरुको देखासिकी बान्कीका जुत्ता रोजेर खुट्टाको कुनै न कुनै भाग जखम बनाउने लिप्सा लिनुहुन्न । त्यस्तो सिसाकलम जस्ता चुच्चे कुर्कुच्चा भएकाको सट्टा फराकिलो नरम तलुवा भएका, अगाडि औँलाको फाँचलाई मिल्ने चौडाई भएको र हिँडदा बाटोका गेग्रिनले नघोच्ने गद्देदार नरम सुतली वा जिब्री भएको जुत्ता किन्नु पर्छ ।

उमेरिएका महिलालाई कुर्कुच्चे जुत्ताले जति गोडाको समस्या बढाउने साँघुराे, फराकिलो नरम र कडाले पनि हुँदैन । जुत्तामा कुर्कुच्चा जुनसुकै आकारका- मोटा, मसिना, चौडा र दाँती भएका भए पनि उचाइले नै दुख बेसाउने कारण बनेको हुन्छ । तलुवा बराबर उचाइका पुरैभाग समतल छभने पुरै जुत्ता एक बित्तै अग्लोभएर पनि केही हुन्न, पाइताला एकै समतल भागमा टेकिएको हुन्छ र समस्या आउँदैन । कुर्कुच्चा र औँलातिरका भाग एकै सतहमा रहेकोले पाइताला अग्लोहोचो नभएकाले त्यस्तो अग्लो जुत्ताले पनि कुनै व्यवधान ल्याउँदैन । अग्लो समान सतहको जुत्ताको एउटा बैगुन भनेको पाइला चाल्दा होस् गर्नुपर्छ, किनकी होचो हुँदा र अग्लो भएर हिँडदा फडको फरक हुनगई लड्ने वा गोलीगाँठा नजीक मर्किने डर हुन्छ । पाइतालाको भित्री तहको जिब्रोजस्तो मांसपेशीको सतह बढ्ने खुम्चने रोग र बिभिन्न जोर्नीका एकअर्कालाई जोडने नसेधागो र बाथका कारण धेरै देशमा तिनचौथाई पाका मान्छेलाई पाइताला, गोलिगाँठा, छेपारी हाड, नलीखुट्टा र घुँडा दुख्ने जीवनभरी रहिरहन्छ । त्यसको दुखाई न्युन गर्न ठिक्क आकारको नरम सतह समतल तलुवा भएको जुत्ता नै सहयोगी बन्नेहुनाले अचेल धेरै ठाउँका महिलाले पनि पुरुषहरूले लगाउने कपडाका जुत्ता लगाएका देखिन्छन् ।

पुरुषः
पुरुषहरू प्राय अरु बस्तुको तुलनामा कपडाका, सामान्य खेलाडीहरूले लगाउनेजस्ता नरम खालका जुत्ताहरू प्रयोग गर्न रुचाउँछन् । बिभिन्न बलिया खालका नरम, हवाखेल्ने प्वाल भएका, हलुका र कुर्कुच्चा नभएका गालिगाँठासम्म आउने काने जुत्ता पनि उनिहरूको रोजाइमा पर्छ । त्यस्ता जुत्तामा माथिल्लो भाग हलुको र पातलो खालको भए पनि तलुवा चाहिँ चोटपटक नलाग्ने मोटा र लचकदार हुन्छन् । गोलिगाँठा र छेपारी हाड दुख्नेले अलि अग्ला काने जुत्ता (बुठ) लगाउन थाल्छन् र मर्किने रड्किएर हुने दुखाई बल्झाउँदैनन् । पाको उमेरमा हुने हाडेबाथ र मधुमेहका रोगी भएमा त अझ आफ्नो समस्याले थप हैरानी नपाउन विशेष खालका चिकित्सकीय जुत्ता बनाउन लगाउने पनि गर्नुपर्छ । त्यस्ता जुत्तामा सुन्निएका भागमा चाप नपर्ने गरेर थप ठूलो आकार दिएर बनाउने र सुकेका भागमा खुम्चिएको पार्दा ठिक्क मिलेर हिँडडुलमा सहज तथा आरामी हुन्छ ।

स्वस्थ गोडाः
शरीर स्वस्थ छ भने कुनै पनि जीवले भनेको, सुनेको र देखेकोजस्तै राम्ररी कामगर्न सक्छ र गरिरहेको हुन्छ । मानिसको मस्तिष्क बिकशितभएको प्रतिफलसङ्गै सिकाइको कारण बिभिन्न क्षमताका अङ्गहरू आआफ्ना काम पूणर्गति र सिपालु ढङ्गले पुरा गरिरहेका हुन्छन् । त्यसरी नियमित काम भइरहँदा चलिरहेको मोटरका मशिनरी सामान नहेरी तेल हालेर सधैं चलाएझैँ मानिसहरू आफ्ना हातगोडा बारेमा समस्या नदेखिई ख्याल गर्दै गर्दैनन् । तर कतै दुख्न थालेर सहन गाह्रो भएमा र आँगन पुग्न पनि दुर्लभ हुनथाले पछि बल्ल गोडाको स्वास्थ बारेमा गम्भीर हुन्छन् । बिभिन्न तरिकाले दुखाईको कारण थाहपाई नियमित काममा फर्किन को चाहँदैन होला र ? त्यसपछि ओखतीमुलो गर्न नपर्ने भएमा सुबिधायुक्त जुत्ताको खोजीमा लागिहाल्छन् ।

दुखाईका समस्यामा आउने पहिलो लक्षणहरू मध्ये कुर्कुच्चाको घोचाई, पाइतालाको पोलाई र चस्स-चस्स, छेपारी हाडको टन-टनले पाका मानिसलाई थलापारेर बिजोग नै बनाइदिन्छ । कठपाउ नभएकालाई त सुस्तसुस्त कदमचाल्न ठिकै होला, भएका र अग्लोहोचो पाइताला भएकालाई त एक कदम अघिपछि गर्न पनि निकै सकस हुन्छ । त्यस्तो समस्याग्रस्त गोडाभएका पाकाले उचित ओखती र सजिलो जुत्ताको खोजीगर्न थालिहाल्नु पर्छ । त्यस्तै अन्यकारण (नङ पाक्नु, भूँडीबोकेर नङछुरी लाग्याजस्तो)ले हुने दुखबारेमा सचेत हुनैपर्छ भने औँलाहरू सार्‍है खाँदिएर बिचमा हिलोले खाएको (ढुसी) देखिनु, खिलपर्नु र मासु मरेर वा रगत देखिनेगरी धाँजा फाटेर वा कुर्कुच्चा फुटेर दुखेकोे हुनसक्छ । ती सब कारणले भएमा सामान्य चिरफार वा ओखतीले निको हुनसक्छ । त्यस्तोमा नरम, हावाखेल्ने र फराकिलो जुत्ताको उपयोगले पनि समस्या हराउन सक्छ ।

हार्वार्ड विश्वविद्यालयको चिकित्सा स्कूलले निकालेको स्वस्थ खुट्टा भन्ने प्रतिबेदनले केहि नलागेमा देखिने बाहेक नदेखिने गोडातिर जाने स्नायुनसा र छालाको नै समस्या केहि छ कि भनि बिज्ञ चिकित्सकबाट जाँच गराउनु आवश्यक हुनसक्छ भनेका छन् । विशेष खालको छालाको अवुर्दरोगले पनि गोडाको दुखाई समस्या हुनसक्छ भने मुटु र रक्तसञ्चार प्रणालीको गडबडीले पाइताला पोल्ने तथा बिरालाको नाकजस्तो चिसो हुनेभई दुख्नसक्छ । कतिपय अवस्थामा पाकाहरूको हिँडने र टेक्ने तरिका अमिल्दोभएर शरीरको तौल थामेर कदमचालमा अप्ठ्यारो भई गोडा सम्पूर्ण दुखेको हुनसक्छ । यस्तोभएमा हिँडाईको तरिका, शरीरको प्राकृतिक मिल्दो आकारमा हिँडने अभ्यास तथा केहि व्यायामले पनि दुखाई हटाउन सकिन्छ ।

विशेष समस्याः

सामान्यतया आफूलाई लगाउँदा कतै नच्याप्ने, नदुखाउने र औँला राम्ररी फैलिनसक्ने जुत्तानै सबैले रुचाउँछन्, किन्छन् । गोडा र पाइलाको असामान्य बिग्रेको अवस्था तथा मधुमेह (चिनी रोग) छभने विज्ञसङ्गको सरसल्लाहमा उपयुक्त जुत्ता लगाउनु पर्छ । चलनचल्तीका नपाए आफ्ना दुबै गोडाको नाप लिन लगाई विशेष जुत्ता बनाउन लगाउनै पर्छ । समस्याग्रस्त पाका मानिसले नयाँजुत्ता किन्दा कहिल्यै पनि चिसो मौसममा अर्थात बिहान-बेलुका होइन मध्यान्हतिर उच्च तापक्रम हुँदा किन्नुपर्छ । त्यतिबेला सम्म प्रकृतिकरुपले फुल्नेजती खुट्टा फुलिसक्छ र चौडा भइसक्छ, अनि किनेको जुत्ता ठिक्क भएमा पछि साँघुरोहुने छैन । प्राय लगाउने मोजासहित जुत्ता छनौट पनि आवश्यक छ, नत्र अलि बाक्ला मोजा लगाउँदा कस्सिएर पछि दुखाई गराउने हुनसक्छ । दुबै खुट्टामा एकै नापका जुत्ता ठिक नहुने प्राकृतिक तथा दुर्घटनाले पनि हुनसक्छ, त्यसोभएमा अर्‍हाएको मान्ने जुत्ता बनाउने दक्ष निर्मातासङ्ग भेटेर हरेक पटक किन्दा राम्ररी नपाएर बनेका मात्र किन्नुपर्छ ।

उमेरिदा शारीरिक कारणले पुरा तौल व्यहोर्ने गोडाका पाइतालामा दबाब परेर लामा र चौडा हुँदै भ्यात्त पर्दै जाने हुन्छ, त्यस्तोहुँदा कसैकसैको त दुबै पाइला भिन्न आकारको हुन जान्छन् । दुइमध्ये ठूलो पाइलाको नापोमा जुत्ताको जोडी छानेर किनेमा सानो पाइलातिर थप व्यवस्था गर्न सजिलै सकिहालिन्छ । जुत्ता लगाएर उभिएर हेर्नुहोस् लामो पाइलाको लामो औँला र कुर्कुच्चा तिर एउटा औँला छिर्ने भाग खालि रहेको हुनुपर्छ, त्यसोभएमा जुत्ताले दुखाएर समस्या नदेखिन सक्छ । यस्तो आकार र भित्री अवस्था रहँदा हिँडदा, लम्कँदा र छिटो हिँड्दा पनि कहिल्यै जुत्ताको बाह्यकारणले पाइला वा गोेडामा दुखाइ हुनेछैन । त्यस अवस्थामा जुत्ताभित्र औँला ठोसिएर अप्ठ्यारो अनुभव हुँदा गोडाका औँलाहरू खुम्च्याउन र हल्लाउन सहजै सकिन्छ र दुखाई हुनेछैन । नयाँ जुत्ताले कुर्कुच्चातिर समात्छ वा दुखाउँछ भने ‘पछि फुक्छ, अन्त ठिकै छ’ भनि किन्ने होइन बरु नदुखाउने नै रोज्नुपर्छ । डाँडाको जून कतिखेर झ्याप्प हुने हो ! जाबो जुत्तामा पनि सम्झौता गर्ने हो र भन्या ?

प्राय आफैँ नगए पनि नम्बरका आधारमा जुत्ता किन्ने चलन छ । हरेक बिभिन्न मार्काका कम्पनीका नम्बर उस्तै भए पनि सबैमा ठ्याक्क उहि नापो हुँदैन, अलिकति भए पनि सानोठूलो हुन्छ भनि मान्नै पर्छ । अरुलाई अर्‍हाउने हो भने, कि उहि कम्पनीको मात्र ल्याउन भन्नुपर्छ, होइन भने आफैँ गएर नापजोख गरेर माथिका गुण भनेजस्तै किन्नु पर्छ । धेरैजसो जुत्ता निर्माताले लम्बाई बढि गरे पनि चौडाईमा ध्यान दिँदैनन्, त्यसले नै समस्या बढि पार्ने हुन्छ । पाइला दुखाईको समस्या लम्बाइले भन्दा चौडाइको साँगुराेपनले बढि भेटिएको छ, उमेरिदा यो कुरा ख्याल गरिनु नितान्त आवश्यक छ । जुत्ताभित्र प्रचार सामग्री वा कम्पनीका थप टाँसो गोडालाई काम नलाग्ने छन् भने र तिनले अप्ठ्यारो पार्छन् भने ठिक भएको जुत्ता नबिग्रने गरेर हटाउन लगाई हाल्नु पर्छ । भित्री नापजाँच अनुकुल भएपछि बाहिरको भागमा विशेषगरी तलुवा कत्तिको मोटो छ यादगर्नु पर्छ, भित्रनै मोटा तलुवा राखेका छन भने हटाएर आफ्नो पाइला घुसार्दा तलुवाको मोटाई र लचकपन थाह भइहाल्छ । त्यसको उपयुक्त माटोपन छ र हिँड्दा पाइतालाले कडा जमिन बा खड्याङ्गखुडुङमा बिझ्दैन भने त्यो जुत्ता भित्री तलुवासहित लगाउनु उचित हुन्छ । भित्री तलुवा आवस्यक नपरे हटाउने र परे राख्ने भएमा पाइलाको अवस्था अनुसार राख्ने-झिक्नेगर्न मिलेर सुबिधा नै हुनेछ ।

व्यायामः
गोडा पुरै वा विशेष पाइताला र गोलिगाँठाको भाग दुख्ने पाकाले सामान्य खालको व्यायामगर्दा गोडाको दुखाई घटाउन र हटाउन सकिन्छ । यसले गोडाको माँसपेशी तथा बिभिन्न जोर्नी मजबुत बनाउन सहयोग गर्नसक्छ । त्यस्ता व्यायामहरूले हातगोडाको बाहिरीभित्री भागमा असर गरेर माँसपेशी बलियो बनाउने क्रममा रक्तसञ्चालन र स्नायुमा समेत उचित दबावले स्वस्थ रहन मद्दत गर्छ । यसक्रममा कम्मरदेखि जोडिएको गोडाका जोर्नीहरूलाई उत्साहित गरेकाले पाइतालासम्म असरगरी अन्य भित्री रोग नभएमा, स्वस्थ बनाइराख्न मद्दत गरी दुखाई हुन नपाउने हुनसक्छ । यहाँ भनिएको साधारण व्यायाममा हात खुम्च्याएर राख्न मिल्ने काठको बलियो मेच र नचिप्लने तलुवा भएको खेलाडीले लाउने दौडिने कपडाको जुत्ता मात्र भएपुग्छ ।

१) पुलाकार व्यायामः
मेचको ठिक अघि अगाडीफर्की उभिएर हातराख्ने ठाउँमा दुबै हातले समात्ने र त्यो समातेको ठाउँ बराबरको सतहमा आफ्नो दुबै फिला पुर्‍याउने । बनमान्छे वा बाँदरले हिँडेजस्तो आकारमा घुँडा खुम्च्याउने गरेर कम्मरमाथि ठाडो सोझो हुने गरी गरिने यो व्यायाम हो । घुँडामुनि सोझो पिडौँला पारेर खुट्टा अलिकति फट्ट्याएर उभिने तरिकामा रहनु पर्छ । यो सबै गर्दा शरीरको कम्मर माथिको भाग सोझो, कम्मरदेखि घुँडासम्म करिब ७० डिग्रीमा सोझो र घुँडादेखि पाइलासम्म समकोण सोझो हुनुपर्छ । हातले जीउ अड्याएझैँ शरीरको सन्तुलनमात्र गर्ने र तौल थेग्ने बल कम्मरमुनिबाट तिध्राको जोर्नी माँसपेशीमा लगाएको हुनुपर्छ । हातको बलले तिध्रामाथि मात्र उठाउने र सकेको सोझो ठाडो हुने, एकछिन राकिने अनि फेरी जानसकिने, तल मेचको हातसम्म गएर थामिने अभ्यास करिब आठ पटक न्युनतम गर्नुपर्दछ । त्यसपछि एक छिन आराम र सोहि प्रक्रिया एक छिमलमा जतिसकिन्छ दोहोर्‍याउने गर्नुपर्दछ, यसले गोडा जोडिने पहिलो जोर्नीका माँसपेशीसाथै जोर्नीहाडलाई पनि बलियो बनाउन मद्दत गर्छ र दुख दिँदैन ।

२) पातो व्यायामः
गोडाको तन्दरुस्तीमा गरिने व्यायाममा हातले धेरै सहयोगी भूमिका खेल्ने हुनाले हात पाखुराको व्यायाम हुनु जरुरी छ । सामान्य मिच्नदेखि लिएर खुट्टालाई सन्तुलित राख्ने अभ्यासमा हात बलियो भएमा गोडाको व्यायाम ठिक तरिकाले हुन्छ । त्यसैले यो हात जोडिने मुख्य माथ्लो जोर्नी पातो पनि व्यायामद्वारा बलियो पार्ने गरिन्छ । यस अभ्यासमा भित्तामा हाते मेच अड्याउने, मेचमा थचक्क बस्ने र पाइला जोडेर सोझो पिँडुलापारी अलिकति अगाडि घोप्टेजसरी तर ढाड ठाडो पारी बस्ने गर्नुपर्छ । कुहिना मेचको हातराख्ने डण्डीको कुनामा अड्याएर पाखुरा डण्डीमा लपक्क लम्पसार पारी राख्नुपर्छ । यस अवस्थामा कुहिना नउठाई पाखुरालाई डण्डीमा नै राखी हातले तलतिर बलगरी शरीर सोझो उठाउन कोसिश गर्नुपर्छ । खुट्टा नहल्लाई नहटाई तिघ्रा र ढाड सकेसम्म बिस्तारै उठाउन कोसिश गर्नुपर्छ । सकेको माथि उठेपछि एकछिन अडिएर बिस्तारै बस्दै, बस्दै मेचमा थ्याच्च बस्न पुग्नुपर्छ । एक छिमलमा कम्तीमा आठ पटक यो प्रक्रिया दोहोर्‍याई आराम गर्नुपर्छ अनि सकेको बढाउँदै लैजाने गर्नुपर्छ ।

३) तिघ्रा व्यायामः
यस व्यायामकोलागि मेचलाई बस्ने अगाडी पारी पछाडिबाट मेचको अडेसा लाग्ने उठेको डण्डीमा हातले समाती सन्तुलनमा शरीर बनाई उभिनुपर्छ । यसोगर्दा दुबै गोडा ठाडा र दुबै पाइला ढ्याप्प जमिनमा टाँस्सिएको हुनुपर्छ भने ढाड सोझो रहेको हुनेगरी मेच समातिएको हुनुपर्छ । अब बिस्तारै खुट्टाका औँलाहरूको बलमा कुर्कुच्चा मात्र उठाउन कोशिस गर्नुपर्छ र जति सकिन्छ उठाएकै अवस्थामा उभ्भिने गर्नुपर्छ । अनि बिस्तारै तलतिर जाँदै पाइताला ढ्याप्प टेक्नुपर्छ । यो प्रक्रिया एक छिमलमा कम्तीमा आठ पटक गर्नुपर्छ र बिस्तारै बढाउँदै लग्नुपर्छ ।

यस्ता समान्य अभ्यासका साथै गोडातिरका माँसपेशीका अन्य अभ्यासहरू पनि सकेको गर्दै गएमा गोडाको दुखाई र पाइतालाको समस्या सजिलो पार्न सहज हुने चिकित्सकहरू लगायत अनुभवी पाकाहरूको छ ।

अन्त्यमा,
उमेरिदा पाकाहरूलाई हिनभावना राख्ने परिवारमा बाहिरफेर हिँडडुल गर्न विशेषगरी आरामदायी जुत्ताको आवश्यक्ता रहन्छ तर धेरै ननिस्कने नाममा कि पुरानैमा चित्त बुझाउनु पर्ने कि अर्काको भरमा लगाउनु पर्ने हुन्छ । यस्तो हुँदा पाको उमेरमा हुने गोडाका रोगहरूले हैरान पारेको समस्या सहजै आउन सक्छन् । जति उमेर बढ्दै गयो उति हातगोडाको ख्याल राख्नैपर्छ, प्राय खाना खानेहुनाले हरेक समुदायमा हातको अलि ख्याल राखे पनि गोडाको स्वस्थतामा त्यति ध्यान दिएको देखिँदैन । मोजाले छोपीहाल्छ भनेर कतिपयका खुट्टाका नङ बान्की नपरेका, खुँडे र घिनलाग्दै भए पनि राखिरहेकै देखिन्छन् । कतिपयका गोडाका नङ कसिएका जुत्ताका कारण र बिरलै सफा गरिएकाले थिच्चिएर रगत फुटेर र फोहोर टाँसिएर काला हुन्छन् । औँला खप्टिएर सँधै हिलोले खाएकोजस्तो सेतो छाला फाटेको र गन्हाउने हुन्छ भने चिलाएर पनि हैरान पार्छ । गोलीगाँठा र छेपारी हाडको पीडाले पनि पुरै गोडा उत्तेजित र रन्किएर चलाउनै नसक्ने हुन्छ । त्यसपछि पाइतालाबाट उव्जेको पीडाले घुँडाको जोर्नीमा असर गरेर खुट्टाले काम नगरेर हैरानमात्र पार्दैन, काछमा बाथ उठेर कम्मर नै अररो हुन्छ ।

परिस्थितिजन्य ज्ञानको कारणले अचेल घरका जिम्बेवारले कुन उमेरसमुहलाई कस्तो आवश्यक्ता हुन्छ र के सहयोग गर्दा आफ्नो कर्तव्य पुरा गरेको ठहरिन्छ भन्ने जान्दछन् । लोकलाज बचाउन पुगिसरी आएकाले उमेरिएकालाई पाउपोशको व्यवस्था सामाजिक कार्यमा जानुपर्दा इज्जत रहन्छ भनेर गरेको पाइन्छ भने कम्तीमा पाकाले घरकाले गरेका सबै राजनीति पनि बुझछन् । ‘बोल- बोल माछा, मुखभरी पानी’ पाकाले आफैँ हिँडडुल गर्न अनुकुलमा जुत्ताको व्यवस्था र व्यायाम पक्कै गर्न छाड्दैनन् । अरिष्ट र दुर्मुखा सन्तानबाट त पाकाले पनि आश गर्दैनन्, बरु आफैँ साथीभाईलाई गुहारेर आवश्यक्ता पुरा गर्न सक्छन् ।

०००
पुस ५, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x