रमेश खकुरेलआजको नाच यो
मण्डली छन् फलाक्ने नयाँ रागिनी पस्न खोज्दैछ अर्कै नयाँ वाहिनी चित्र देखाउँछन् सामुमा स्वर्गको हात डोर्याउँछन् मार्गमा नर्कको ।।

रमेश खकुरेल :
नाचियो नाचियो मस्त भै नाचियो
ताल बाजाबिनै स्वादले नाचियो
लोकको तन्त्रमा लोक नै खाँदियो
यस्तरी नाचियो कम्मरै भाँचियो ।।
लोक भन्ने त भेंडा र बाख्रा भयो
चङ्खका हातको भव्य खाजा भयो
आश के के थियो खै त टाढा भयो
जो सुधो हो उतापट्टि जा जा भयो ।।
तीव्र आस्था लिई उभ्भियो मन्दिर
मूर्तिमा हालियो अक्षता सिन्दुर
मूर्ति नै भैदियो निर्दयी पत्थर
चित्त चिर्दै निराशा चल्यो चर्चर ।।
चढ्छ नैवेद्य खाने पुजारीहरू
लासमा हाँस्न थाले शिकारीहरू
नोटमै मात्र हेर्छन् बिचारीहरू
बूथमै सिद्धिएछन् चिनारीहरू ।।
बन्द घेरा दिई एक मेला चल्यो
चित्त लोभ्याउँदै दीपमाला बल्यो
पस्नकै निम्तिमा शुल्क लाग्ने भयो
शुल्क तिर्ने गयो शेष टाढै रह्यो ।।
वीर दर्ता हुने आज छट्टू भए
जो लठेब्रा सुधा ती निखट्टू भए
बुद्धिमान् मानिने चाहिं पट्टू भए
खेल हेर्ने यसै दङ्ग लट्टू भए ।।
मण्डली छन् फलाक्ने नयाँ रागिनी
पस्न खोज्दैछ अर्कै नयाँ वाहिनी
चित्र देखाउँछन् सामुमा स्वर्गको
हात डोर्याउँछन् मार्गमा नर्कको ।।
०००
कमलपाेखरी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































