
जुरेलाको जन्त जाँदा …
कतै तपाईं पनि माइलाका बाबु जस्तै जुरेलाको जन्त जाने अवसर पाउनुभएको छ कि ? अथवा कौवाको मलाम जानेमा पो पर्नुभएको छ कि ! नत्र फ्याउरोको ब्रतबन्धमा भोज खाने मौका पो पाउनुभएको छ कि ? खसखस लागेर हो क्या मलाई ।

काशीनाथ मिश्रित :
व्यक्ति व्यक्ति मिलेर परिवार, परिवार परिवार मिलेर समाज र समाज समाज मिलेर गाउँ बन्छ । यस्तै गाउँ गाउँ मिलेर देश बन्छ भन्दै हाम्रो गिलो गिदीमा भरिएको थियो बेलुनमा हावा भरे झैँ सानैमा सामाजिक शिक्षकद्वारा । त्यसरी भरिएको कुरा अझै पनि निस्कन मान्दैन गाउँ रित्तिएर सहर र सहर रित्तिएर देसै खाली हुन लाग्दा पनि । गाउँ गाउँ मिलेर देश बन्ने भएकाले देशको एउटा अङ्ग गाउँ हो भन्ने कुरामा विवाद गर्नु नपर्ला कि! यहाँ सहरलाई बिर्सन खोजेको लाञ्छना कसैले लगाउँछ भने लगाइरहोस् । तर यो लम्फुदासको भनाए गाउँ दुखेपछि देश दुख्नुपर्छ र देश दुख्दा गाउँलाई दुख्छ भन्ने हो । घुमाउरो कुरा नगर्ने हो भने गाउँको ठुलो रूप देश वा देशको एउटा सानो अंश गाउँ हो भन्नु हो । अर्थात् एउटा गाउँमा पर्ने प्रभाव सिङ्गो देशमा पनि पर्छ पर्नुपर्छ र परेको छ भन्ने हो भूमिकै भट्याएको भान पार्न खोज्ने हो भने । यतिका गनगन गरेपछि व्यक्ति राम्रो भए देश राम्रो हुन्छ पनि भनिदिनु पर्यो भने मेरो मात्र हैन मेरो बाबु बाजेको पनि केही लाग्दैन ।
शीर्षक एकातिर छ, कुरा ताइ न तुइका गर्दै छ भनेर तपाईँलाई वाक्कदिक्क लागिसक्यो होला । झर्को मान्नु पर्दैन जति लफङ्गिए पनि आखिरमा यो लम्फुदासलाई बाटो बिरायो भने भीरबाट गुल्टिन्छ भन्ने थाहा छ । कुराको कन्तुर खोल्नका लागि केही त गर्नै पर्योु नि होइन त? जति बाटो बिराए पनि गुल्टुङबाजी खानु नपर्ने त कुर्सीका अधिकारीले हो, हामी जस्ता फर्सीका अधिकारीले होइन बुझ्नु भो ?
आजकल तल्लारे माइलासित भेट नभएको पनि थुप्रै दिन भएको थियो । खै कता मुन्टिएका हुन् थाहा पाउन सकेको थिइन । अस्ति साँझ टुप्लुक्क आइपुगे बरन्डी कोट लगाएर । मैले सोध्न नपाउँदै आफै बकिहाले, ‘ हेर न भाइ काठमाण्डौको रमिता हेर्न गएको उतै भुलियो ।‘
मलाई पनि उनीसित भेटेपछि सोझो बोल्न मन लाग्दैन । भनिहालेँ, हैन रमिता केटो मान्छे होर? काठमाण्डौकी रमिता पो भन्नुपर्ने तपाईँले! उनले पनि झर्केर भने, त्यस्ता सानातिना कुरामा के खसाल्न खोज्छौ, मैले ठुलै कुरा गरुँला भनेको क्या । देशको राजधानी भने पनि हाम्रै गाउँघरकै जस्तो हुँदोरहेछ कुरा त । त्यहाँ पनि हाम्रो गाउँमा झैँ मान्छेलाई जीवजन्तुका नामबाट चिनिँदो रहेछ। बुझ्यौ? यस्तो कुरा सुनाउँला भनेर तात्तातै आएको , कहाँ त्यस्ता झिना मसिना कुरामा ठट्टा गर्छौ ।‘
अब भने माइलाले केही चाखिला गफ गर्छन् जस्तो लाग्यो । हैन, कस्तो कुरो हो भन्नुस् नत। मैले पनि चासो राख्न खोजेर उनलाई जिस्काउन छोडेर भनेँ, नबुझे पनि बुझेँ भन्न भएन क्यारे ! अलिक बुझिने गरि भन्नुहोस् नत कुरा के हो ?
नबुझिने कुरा हैन भाइ, तिमीले जानेबुझेकै हो । हाम्रो गाउँका कुन कुन मान्छेलाई कुन कुन जनावरका नामले चिनिन्छ भन्ने त थाहै छ नि! उनीहरूलाई किन त्यसरी मानिसहरूले पुकार्न थाले भन्ने त मलाई पनि थाहा छैन तर भन्न त भन्छन् । आनीबानीका आधारमा हो वा कामका आधारमा हो त्यस्ता नाम उनीहरूकै अगाडि नभने पनि प्रचलित छन् । उदाहरणका लागि फ्याउरो, कौवा, ढुकुर, जुरेलो, गिद्ध, चिबे, सारी, लुइँचे, गाई , बाच्छो, भेँडो, बौँडाई, भैँसी को को हो को को ! जो जो खोजे पनि थिए, छन् नि । थिएनन् त ? छैनन् त ??
माइलाले भन्दै गए, मैले हो भन्ने इसारामा मुन्टो हल्लाउँदै गएँ । कुरो चाखिलो नै लाग्न थाल्यो मलाई । तर उनले भन्न खोजेको गाँठी कुरा भने घाँटी तन्काई तन्काई मुन्टो हल्लाए पनि मैले बुझेको भने थिइनँ । धेरैजसो मरिसकेका र थोरै जीवित भएका मानिसहरू भए पनि उनले नाम भन्दै जाँदा मैले चिनेका मानिसहरूको याद आउँदै गयो मानसपटलमा । कतिपयलाई त भेटेको पनि छु, कुराकानी गरेको पनि छु ।
उनले लहरो फेरि तान्न थाले । हेर भाइ, मैले जुरेलालाई त जानिनँ तर बाले भनेको एउटा घटना भने सम्झन्छु । जुरेलाको बिहेमा हाम्रो बालाई पनि जन्त लगेका रहेछन् । आधा घन्टा जति हिँडेपछि पल्लो गाउँमा पुग्दा जन्ती हेर्नेमध्येकाले आपसमा कुरा गरेको बाले सुन्नुभएछ । ‘ऊः हेर त, जुरेलाको बिहे रहेछ; ढुकुर, सारी र बाच्छो पनि जन्त आएका रहेछन् !’ टोल छिमेकमा मात्र नभएर उनीहरूको त्यस्तो नाम अलिक परैसम्म फिँजारिएको रहेछ नि । यो चाल पाउँदा भने म दङदास परेँ । उनीहरूलाई किन त्यसो भन्न थालियो भन्ने कुरा न त मैले बालाई सोधेँ, न त कसैले मलाई बुझाइदियो ।
राजधानीतिरको ठुलै कुरा सुनाउँछु भन्दै हुनुहुन्थ्यो भरखर त? अनि हाम्रै गाउँघरका बाजे बराजुका कुरा मात्र छाँट्न थाल्नुभयो । यो त मैले पनि हल्काफुल्का जानेकै कुरा थियो । भन्न खोजेको के कुरा हो? भनिहाल्नुस् न । मलाई खसखस लागिसक्यो क्या ! म अलिक जर्किएँ माइलासित ।
ए अँ साँच्ची ! लहरो तान्दा पहरो पो भत्केछ । हाम्रो देशका ठुल्ठुला नेताहरूले पनि हाम्रै गाउँघरका बुढाहरूले झैँ जनावरको दर्जा पाएका रहेछन् क्या भाइ । यो चाल पाउँदा मलाई अचम्म लागेर तिमीलाई सुनाउन आएको । फलाना पार्टीका वरिष्ठ नेतालाई बाख्रा भन्दारहेछन् । ढिस्कानो पार्टीका मै हुँ भन्ने नेतालाई भैँसी मात्र हैन मुर्रा भैँसी भन्न थालेका रहेछन् मान्छेहरू । यति मात्र हो र, तिलानो पार्टीका सम्मानित नेतालाई सर्प भनेर चिनिने रहेछ । यो हो के मैले भन्न खोजेको कुरा । हाम्रो गाउँको प्रभाव राजधानीसम्म पनि पुगेको थाहा पाउँदा मलाई अचम्म लागेको मात्र हो, कुरा ठुलो नभए पनि मलाई चाहिँ गजबै लाग्यो भाइ ।
ए ! कुरा त्यसो पो हो । आखिर नेता भनेका नेतै हुन्, ठुलाबडा भनेका ठुलाबडा नै हुन् । जस्तो नाम भए पनि उनीहरू देशभर चर्चित नै छन् क्यारे । हाम्रा गाउँघरका बुढाहरू त्यही पल्लो गाउँसम्म मात्र चिनिएका रहेछन् बढीमा । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चिनिनु ठुलै कुरो हो जे भए पनि । त्यस्तै त्यस्तै काम थप्दै गए भने अझ गैँडा, हात्ती, बाघ, भालु के के नाम थपिने हो हेर्दै जाऔँला भविष्यमा । कि कसो दाइ ? सिंहदरबारलाई स्यालदरबार भनेको त मैले पनि सुनेको थिएँ ।
तल्लारे माइलाले यस्तो कुरा सुनाएपछि मलाई भने मान्छेलाई जीव जन्तुका नामले चिनिनुका पछाडि उनीहरूको काम र आनीबानी नै हो भन्ने लाग्यो । हाम्रो गाउँघरमा मात्र मान्छेहरूलाई त्यसरी पशुपन्छीका नामले चिनिने हो कि अरु गाउँमा पनि हुन्छन् होला भन्ने उत्सुकताले भने कुत्कुत्याउन छोडेन । त्यसैले एक दिन बुढा मावलीतिर जाने निधो गरेँ । हिँडेर करिब दुई दिन लाग्ने बाटो पार गर्दै मलाई माहिलाकै रहस्योद्घाटनले त्यहाँ पुर्यायो । त्यहाँका गन्यमान्य जस्ता देखिने एक जनालाई आफ्नो जिज्ञासा राखेँ, ‘ए हजुर ! यतातिर कसैलाई सम्मुखमा हैन, विपक्षमा कुनै जनावर वा पन्छीका नामले चिनिने गरिन्छ कि नाइँ कुन्नि ?’
अरुले नसुनोस् भनेर आफ्नो आवाज सानो बनाउँदै ती महानुभावले भने, ‘छन् त्यस्ता दुई चार जना मान्छेहरू ।‘ उनले मेरो उत्सुकता मेटाउँदै भने, ‘कौवा, चिबे, जुरेलो, भैँसी जस्ता नामका मान्छेहरू छन् हाम्रो गाउँमा । तर उनीहरूकै अगाडि त्यस्तो नाम भने भन्दैनन् ।‘ ती महाशयको कुराले म एउटा ठोस निष्कर्षमा पुगेँ । हाम्रो देश गाउँ नै गाउँले भरिएको देश हो । गाउँघरमा यस्ता नामहरू हाम्रोमा मात्र हैन सबैकोमा हुँदारहेछन् । त्यसैले त देशमै पनि यस्तो नाम आवश्यक पर्यो होला । नराखी नहुने भयो होला ।
आदरणीय पाठकवृन्द ! तपाईँ पनि कुनै गाउँको वासिन्दा हुनुहुन्छ होला । सहरकै भए पनि केही छैन । के तपाईँको गाऊँठाउँमा पनि कसैलाई जीवजन्तुका नामले पुकारिन्छ ? पक्कै पुकारिन्छ होला । सोधखोज गर्नुहोस् है त । पाउनुभयो भने यो लम्फुदासलाई सुटुक्क जानकारी गराउनुहोला । र यो पनि ख्याल गर्नुहोला, कतै तपाईँलाई नै कुनै जनावर वा पन्छीको नाम त राखिदिएका छैनन् गाउँलेहरूले ! यदि त्यसो हो भने मलाई सुटुक्क नबताइदिए पनि फरक पर्ने छैन । कतै तपाईं पनि माइलाका बाबु जस्तै जुरेलाको जन्त जाने अवसर पाउनुभएको छ कि ? अथवा कौवाको मलाम जानेमा पो पर्नुभएको छ कि ! नत्र फ्याउरोको ब्रतबन्धमा भोज खाने मौका पो पाउनुभएको छ कि ? खसखस लागेर हो क्या मलाई ।
०००
२०८१ पुस १३
फोक्सिङ, गुल्मी
Subscribe
Login
0 Comments
Oldest