साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनता जनार्दन

भोजभतेर र दानदक्षिणाको लोभ नदेखाएर नेपाललाई सिङ्गापुर हैन नेपाल नै बनाउँछौँ भन्ने भक्त जोगी मकहाँ आयो भने वर दिने निष्कर्षमा पुग्दै बैकुण्ठतिरै लागेँ ल !

Nepal Telecom ad

काशीनाथ मिश्रित :

अहा ! म जनता जनार्दन! भरखर बैकुण्ठबाट नेपाल राज्यको कुम्भ मेला हेर्न मर्त्यमण्डलमा अवतरण गर्दै छु । मख्ख छु । प्रफुल्ल छु । गदगद छु । नहुँ पनि किन ? मेरो पूजा भैरहेछ चारैतिरबाट ! प्रार्थना भैरहेछ भक्तजनहरूबाट । अघोरै तपस्या गरिरहेछन् साधूसन्त महन्तहरूले । अहिले म नै छु सर्वशक्तिमान । यस महाकुम्भ मेलामा मेरो महत्त्व असाध्यै बढेको छ । यो प्रार्थनाबाट, पूजाबाट, तपस्याबाट उनीहरूले चाहिरहेछन् मात्र एउटा वरदान, मतदान !
म त दानदिन सक्ने, मतदान दिन सक्ने महान् भगवान् हुँ । आओ, मेरो पूजा गर । पाउ पर । ढोग गर । हरतरहले खुसी बनाओ मलाई ।

मेरो यो दानले तिमीहरू राजा बन्नेछौ । मन्त्री, प्रधानमन्त्री बन्नेछौ । ठुल्ठुला पदमा पुग्नेछौ । आओ, दुइचार दिन मात्र भए पनि ढोग्न, पाउ पर्न, पूजा गर्न, प्रार्थना गर्न किन हिचकिचाउँछौ ? आओ, लाज नमान । मेरा कपडा फेरिदेओ । ननुहाएको जीउ नुहाइदेओ ! श्रीखण्ड चन्दन लेपन गरिदेओ । त्यत्तिकै त म प्रसन्न हुनेवाला छैन, खुसी हुनेवाला छैन, वरदान स्वरूप मतदान दिनेवाला छैन । किनभने यो पाँच वर्षे कुम्भ मेला सकिएपछि तिमीहरूले मेरो पूजा गर्ने छैनौ । मेरो नाम सम्झने छैनौ । फ”ल प्रसाद चढाउने छैनौ ।

हे दुष्ट मतिका प्यारा भक्तजन हो ! आफ्नो मति सुधार । आफ्नो हुँदाखाँदाको घर पोलेर खरानी घस्न छोड । धर्ती मातालाई लात हानेर कमण्डलु लिई भिक्षा माग्न नहिँड । सधै एकतारे बजाएर श्वेताम्बर प्रभुको कीर्तन गाउन छाडिदेऊ । मैले भनेको मानेनौ भने म मेरा सहस्र नामधारी अन्य विष्णुहरूलाई पनि तिमीहरूलाई वरदान नदिन भन्छु । तिमीहरूलाई स्वर्गमा पठाएर हामी बैकुण्ठवासीहरू नरकमा ओर्लनु छैन । देखेका छौ कि छैनौ ? हाम्रो मन्दिर कति जीर्ण छ । माकुराले जालो लगाएको छ । यो कुम्भ मेलामा आएर सरसफाइ गरेर मात्र हुन्छ ? बाँकी समय हामी जनता जनार्दनको नाम कसैले लिँदैन । कोही पुछ्दैन, पुज्दैन । म तिमीहरूको श्वेताम्बर झैँ तुरुन्तै खूसी हुने र तुरुन्तै रिसाउने देवता होइन । म त विष्णु हुँ विष्नु ! बुझ्यौ ? पहिलो कुरो त म रिसाउँदै रिसाउन्न, दोस्रो रिसाएँ भने तुरुन्तै प्रसन्न भैहाल्दिन । विचार त गरेका हौला नि ।

आओ भक्तजन हो आओ ! कसैले हाम्रो खेत जोतिदेओ । कसैले मलखादबाट मल फालिदेओ खेतबारीमा । कसैले उखु बोकिदेओ । कसैले जेरी पकाइदेओ । कसैले घाँस काटिदेओ । कसैले ट्वाइलेट सफा गरिदेओ । जे गर्दा हामी खुसी हुन्छौँ, जे गर्दा हामी मख्ख पर्छौँ त्यही गर । तिमीहरूको लगौँटी खुस्किएको भए पनि लाज नमान ! तिमीहरूको धोती फुस्किएको भए पनि नलजाओ, नडराओ । नाङ्गै खुट्टा भए पनि आओ । हाम्रो वरदान पाएछौ भने सुनका जुत्ता लगाउला । हाम्रो सेवा गर्ने मौका फेरि आउन अरु पाँच वर्ष कुर्नुपर्छ । के थाहा त्यतिबेलासम्म यो पृथिवी नै उल्टिने पो हो कि !

पृथिवीलाई फेरि भारी हुन थालेको छ तिमीहरूका पापले । विचार गर, हामीले कुन अवतार लिनु पर्यो ? लिन्छौँ । मत्स्य अवतार लिएर पृथिवी धान्नुपर्ने हो वा नरसिंह अवतार लिएर दुष्टहरूको संहार गर्नुपर्ने हो । अथवा बुद्ध अवतार लिएर साँचो बोल, चोरी नगर, अरुलाई दुःख नदेऊ भन्दै उपदेश दिनुपर्ने हो ? हामी तयार छौँ । तिमीहरूको झुटो बोली, चोरी, डकैती, हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारले धर्ती माता आजित भैसकेकी छन् । फेरि पनि नेपाललाई सिङ्गापुर बनाइदिने झुटो कुरा नगर । नेपाल रौरव नरक जस्तो भैसकेको वास्ता छ कि छैन? तिमीहरूको नयाँ नेपाल अब नयै छ कि पुरानो भयो ? कहिल्यै हेरेका छौ? अब कुन नाकले नयाँ बनाउँछौँ भनेर हामीलाई खुसी पार्न खोज्दैछौ ? यस्ता थोत्रा आश्वासनले म र मेरा सहस्र नामधारी कुनै पनि विष्णुहरू प्रसन्न हुँदैनौँ ।

सुन्छु, हामीलाई खुसी तुल्याउन प्रशस्त भोजन तयार पार्दै छौ रे ! राँगा, बोका, कुखुराका मासु जति खाए पनि खुवाउने योजना पनि बनाइरहेका छौ रे ! मेरा गणहरूले भनेका मलाई । यस्ता भोजभतेरले प्रसन्न बनाएर वर माग्ने त राक्षसले हो । के तिमीहरूले आफूलाई राक्षस स्वीकार्छौ ? ठिकै छ, गर । सक्छौ भने मदिरापान पनि गराओ । कुनै कोमल मनका जनता जनार्दनहरू त यत्तिमै पनि प्रसन्न हुन सक्छन् । विचरा उनीहरू कति दयनीय अवस्थामा छन् भन्ने तिमीहरूलाई हेक्का नहोला । कोही महादेवका भक्त रहेछौ भने त ‘धन देखेपछि महादेवका तीन नेत्र’ भन्ने उखानलाई चरितार्थ पार्न पछि नपरौला । महादेवहरू दक्षिणा देखेपछि मख्ख पनि हुन सक्छन् । यसका लागि कुनै फुस्रा भक्त जोगीहरूले डलर ल्याएका छन् रे ! कुनै कनफट्टा भक्त जोगीहरूले युरो त कुनै गेरुवा वस्त्रधारी जोगीहरूले रुपये र युआनसमेत बटुलेको कुरो पनि मन्त्र जस्तै गोप्य रूपमा मेरा चेलाहरूले सुनाएका छन् । सम्झ, वरदान पाउनका लागि दक्षिणा दान गर्ने सुर छ भने तिमी असुरहरूको जय हुने छैन ।

जय त सबैको हुँदै हुन्न नै । धेरैले पराजय भोगेर पुर्पुरोमा हात लगाउने नै हो । आफ्नो सम्पत्ति पनि सक्ने र वरदान पाउन पनि नसक्ने भएर आफैले खनेको खाडलमा आफै खस्न लागेका मेरा मतिहीन भक्तहरूलाई जति दया गरे पनि नहुने भयो । हरेक पाँच वर्षे कुम्भ मेलाबाट प्रसन्न हुँदै वर दिँदै गर्दा पनि अझ भिखमङ्गा जोगीभन्दा माथि उठ्न नसकेपछि वर दिन के गर्ने हो खै ? भोजभतेर र दानदक्षिणाको लोभ नदेखाएर नेपाललाई सिङ्गापुर हैन नेपाल नै बनाउँछौँ भन्ने भक्त जोगी मकहाँ आयो भने वर दिने निष्कर्षमा पुग्दै बैकुण्ठतिरै लागेँ ल !

जय जनता जनार्दन !
जय नेपाल बाबा!!

०००
गुल्मी
२०८२ माघ २१ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
राजधानी गनायाे

राजधानी गनायाे

काशीनाथ मिश्रित
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x