काशीनाथ मिश्रितजनता जनार्दन
भोजभतेर र दानदक्षिणाको लोभ नदेखाएर नेपाललाई सिङ्गापुर हैन नेपाल नै बनाउँछौँ भन्ने भक्त जोगी मकहाँ आयो भने वर दिने निष्कर्षमा पुग्दै बैकुण्ठतिरै लागेँ ल !

काशीनाथ मिश्रित :
अहा ! म जनता जनार्दन! भरखर बैकुण्ठबाट नेपाल राज्यको कुम्भ मेला हेर्न मर्त्यमण्डलमा अवतरण गर्दै छु । मख्ख छु । प्रफुल्ल छु । गदगद छु । नहुँ पनि किन ? मेरो पूजा भैरहेछ चारैतिरबाट ! प्रार्थना भैरहेछ भक्तजनहरूबाट । अघोरै तपस्या गरिरहेछन् साधूसन्त महन्तहरूले । अहिले म नै छु सर्वशक्तिमान । यस महाकुम्भ मेलामा मेरो महत्त्व असाध्यै बढेको छ । यो प्रार्थनाबाट, पूजाबाट, तपस्याबाट उनीहरूले चाहिरहेछन् मात्र एउटा वरदान, मतदान !
म त दानदिन सक्ने, मतदान दिन सक्ने महान् भगवान् हुँ । आओ, मेरो पूजा गर । पाउ पर । ढोग गर । हरतरहले खुसी बनाओ मलाई ।
मेरो यो दानले तिमीहरू राजा बन्नेछौ । मन्त्री, प्रधानमन्त्री बन्नेछौ । ठुल्ठुला पदमा पुग्नेछौ । आओ, दुइचार दिन मात्र भए पनि ढोग्न, पाउ पर्न, पूजा गर्न, प्रार्थना गर्न किन हिचकिचाउँछौ ? आओ, लाज नमान । मेरा कपडा फेरिदेओ । ननुहाएको जीउ नुहाइदेओ ! श्रीखण्ड चन्दन लेपन गरिदेओ । त्यत्तिकै त म प्रसन्न हुनेवाला छैन, खुसी हुनेवाला छैन, वरदान स्वरूप मतदान दिनेवाला छैन । किनभने यो पाँच वर्षे कुम्भ मेला सकिएपछि तिमीहरूले मेरो पूजा गर्ने छैनौ । मेरो नाम सम्झने छैनौ । फ”ल प्रसाद चढाउने छैनौ ।
हे दुष्ट मतिका प्यारा भक्तजन हो ! आफ्नो मति सुधार । आफ्नो हुँदाखाँदाको घर पोलेर खरानी घस्न छोड । धर्ती मातालाई लात हानेर कमण्डलु लिई भिक्षा माग्न नहिँड । सधै एकतारे बजाएर श्वेताम्बर प्रभुको कीर्तन गाउन छाडिदेऊ । मैले भनेको मानेनौ भने म मेरा सहस्र नामधारी अन्य विष्णुहरूलाई पनि तिमीहरूलाई वरदान नदिन भन्छु । तिमीहरूलाई स्वर्गमा पठाएर हामी बैकुण्ठवासीहरू नरकमा ओर्लनु छैन । देखेका छौ कि छैनौ ? हाम्रो मन्दिर कति जीर्ण छ । माकुराले जालो लगाएको छ । यो कुम्भ मेलामा आएर सरसफाइ गरेर मात्र हुन्छ ? बाँकी समय हामी जनता जनार्दनको नाम कसैले लिँदैन । कोही पुछ्दैन, पुज्दैन । म तिमीहरूको श्वेताम्बर झैँ तुरुन्तै खूसी हुने र तुरुन्तै रिसाउने देवता होइन । म त विष्णु हुँ विष्नु ! बुझ्यौ ? पहिलो कुरो त म रिसाउँदै रिसाउन्न, दोस्रो रिसाएँ भने तुरुन्तै प्रसन्न भैहाल्दिन । विचार त गरेका हौला नि ।
आओ भक्तजन हो आओ ! कसैले हाम्रो खेत जोतिदेओ । कसैले मलखादबाट मल फालिदेओ खेतबारीमा । कसैले उखु बोकिदेओ । कसैले जेरी पकाइदेओ । कसैले घाँस काटिदेओ । कसैले ट्वाइलेट सफा गरिदेओ । जे गर्दा हामी खुसी हुन्छौँ, जे गर्दा हामी मख्ख पर्छौँ त्यही गर । तिमीहरूको लगौँटी खुस्किएको भए पनि लाज नमान ! तिमीहरूको धोती फुस्किएको भए पनि नलजाओ, नडराओ । नाङ्गै खुट्टा भए पनि आओ । हाम्रो वरदान पाएछौ भने सुनका जुत्ता लगाउला । हाम्रो सेवा गर्ने मौका फेरि आउन अरु पाँच वर्ष कुर्नुपर्छ । के थाहा त्यतिबेलासम्म यो पृथिवी नै उल्टिने पो हो कि !
पृथिवीलाई फेरि भारी हुन थालेको छ तिमीहरूका पापले । विचार गर, हामीले कुन अवतार लिनु पर्यो ? लिन्छौँ । मत्स्य अवतार लिएर पृथिवी धान्नुपर्ने हो वा नरसिंह अवतार लिएर दुष्टहरूको संहार गर्नुपर्ने हो । अथवा बुद्ध अवतार लिएर साँचो बोल, चोरी नगर, अरुलाई दुःख नदेऊ भन्दै उपदेश दिनुपर्ने हो ? हामी तयार छौँ । तिमीहरूको झुटो बोली, चोरी, डकैती, हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारले धर्ती माता आजित भैसकेकी छन् । फेरि पनि नेपाललाई सिङ्गापुर बनाइदिने झुटो कुरा नगर । नेपाल रौरव नरक जस्तो भैसकेको वास्ता छ कि छैन? तिमीहरूको नयाँ नेपाल अब नयै छ कि पुरानो भयो ? कहिल्यै हेरेका छौ? अब कुन नाकले नयाँ बनाउँछौँ भनेर हामीलाई खुसी पार्न खोज्दैछौ ? यस्ता थोत्रा आश्वासनले म र मेरा सहस्र नामधारी कुनै पनि विष्णुहरू प्रसन्न हुँदैनौँ ।
सुन्छु, हामीलाई खुसी तुल्याउन प्रशस्त भोजन तयार पार्दै छौ रे ! राँगा, बोका, कुखुराका मासु जति खाए पनि खुवाउने योजना पनि बनाइरहेका छौ रे ! मेरा गणहरूले भनेका मलाई । यस्ता भोजभतेरले प्रसन्न बनाएर वर माग्ने त राक्षसले हो । के तिमीहरूले आफूलाई राक्षस स्वीकार्छौ ? ठिकै छ, गर । सक्छौ भने मदिरापान पनि गराओ । कुनै कोमल मनका जनता जनार्दनहरू त यत्तिमै पनि प्रसन्न हुन सक्छन् । विचरा उनीहरू कति दयनीय अवस्थामा छन् भन्ने तिमीहरूलाई हेक्का नहोला । कोही महादेवका भक्त रहेछौ भने त ‘धन देखेपछि महादेवका तीन नेत्र’ भन्ने उखानलाई चरितार्थ पार्न पछि नपरौला । महादेवहरू दक्षिणा देखेपछि मख्ख पनि हुन सक्छन् । यसका लागि कुनै फुस्रा भक्त जोगीहरूले डलर ल्याएका छन् रे ! कुनै कनफट्टा भक्त जोगीहरूले युरो त कुनै गेरुवा वस्त्रधारी जोगीहरूले रुपये र युआनसमेत बटुलेको कुरो पनि मन्त्र जस्तै गोप्य रूपमा मेरा चेलाहरूले सुनाएका छन् । सम्झ, वरदान पाउनका लागि दक्षिणा दान गर्ने सुर छ भने तिमी असुरहरूको जय हुने छैन ।
जय त सबैको हुँदै हुन्न नै । धेरैले पराजय भोगेर पुर्पुरोमा हात लगाउने नै हो । आफ्नो सम्पत्ति पनि सक्ने र वरदान पाउन पनि नसक्ने भएर आफैले खनेको खाडलमा आफै खस्न लागेका मेरा मतिहीन भक्तहरूलाई जति दया गरे पनि नहुने भयो । हरेक पाँच वर्षे कुम्भ मेलाबाट प्रसन्न हुँदै वर दिँदै गर्दा पनि अझ भिखमङ्गा जोगीभन्दा माथि उठ्न नसकेपछि वर दिन के गर्ने हो खै ? भोजभतेर र दानदक्षिणाको लोभ नदेखाएर नेपाललाई सिङ्गापुर हैन नेपाल नै बनाउँछौँ भन्ने भक्त जोगी मकहाँ आयो भने वर दिने निष्कर्षमा पुग्दै बैकुण्ठतिरै लागेँ ल !
जय जनता जनार्दन !
जय नेपाल बाबा!!
०००
गुल्मी
२०८२ माघ २१ गते
Subscribe
Login
0 Comments
Oldest









































