साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म फुटबल खेल्दिनँ (२)

चूपचाप यो फुटबल टिप्...ब्यागमा हाल् । (डरसरि भएर प्रवीणले फुटबल ब्यागमा हाली आफ्नो कोठातिर जान तर्खरिन्छ) एई ! त्यता होइन उता (बाहिर जाने सङ्केत गर्छ । प्रवीण बिलखबन्द परेर उभिरहन्छ ।

Nepal Telecom ad

कृष्ण प्रधान :

दोस्रो दृश्य-

(प्रवीणको घरको बैठक कोठा बैठक कोठामा प्रवीणका पिता प्रताप कफी पिइरहेछ ।)

प्रताप – (घडी हेर्दै नेपथ्यतिर हेर्दै) प्रवीण ! प्रवीण !
प्रवीण – (नेपथ्यबाटै) फुटबल खेल्न जाने टाइम भएन ? (प्रवीणको प्रवेश) ड्याड !
प्रताप – (चस्माको आडबाट हेर्दै) हम्मम…
प्रवीण – (डर सरि स्वरमा) ड्याड ! मलाई क्रिकेट ब्याट किनिदिनुहुन्छ ?
प्रताप- (छक्क परेर) क्रिकेट! बट ह्वाई? फुटबल छोडेर क्रिकेट खेल्ने ?
प्रवीण – (घोप्टो परेर) ड्याड ! मलाई फुटबल मनै पर्दैन । क्रिकेट मेरे फेभरेट गेम हो ड्याड ।
प्रताप – आई लाइक फुटबल। तेरी मम्मीले फुटबल कस्तो मनपराउँछिन् । आई डोण्ट नो एनिथिङ् तेरा ड्याड र तेरी मम्मीको लागि पनि तैँलै फुटबल खेलिदिनैपर्छ । एनि हाऊ यो मष्ट प्ले फुटबल । यहाँ सुन्…मलाई पुटबल मनपर्नु मात्र होइन सानामा म फुटबल अच्चाकाली राम्रो खेल्थे बुझिस् ? तेरो उमेरमा ता मलाई फुटबल खेल्न कहाँ-कहाँ हायर गरेर लान्थे विभिन्न क्लवहरूले. बुझिस् ? तेरो उमेरमा मलाई घरकाहरूले कहिल्यै कसैले इनकरेज गरेनन् । जस्तो हामी तँलाई गर्छाैँ । जिन्दगीमा मलाई मेरा ड्याड-ममले एउटा फुटबल किनिदिएनन् । यानि कि तेरा ग्राण्ड पा र ग्राण्ड ममले । म्याच जितेर पाएको पैसा थुपारेर बुट किनेको छु । स्कूलमा खाजा खान लगेको पैसा खाजा नखाई नखाई थुपारेर बुट किनेको छु । उबेलाको बुट पनि अहिले तेरो जस्तो ब्राण्डेड कहाँ हुन्थ्यो ? त्यही कलकत्ता मेड। त्यो हेरी तँ ता कति भाग्यमानी !
प्रवीण – (मुण्टो हल्लाउँदै) हो ड्याड हो । त्यो चाहिँ हण्ड्रेड पर्सेण्ट करेक्ट हो । मेरा दौँतरी साथीहरू मेरो फुटबल बुट, जर्सी, देखेर छक्क पर्छन् । साथीहरू मलाई तेरा मम ड्याड कति बुझकी छन् भनेर तपाईहरूको भक्कु प्रशंसा गर्दा मेरो नाक घोक्रेर पट-पट फुटला जस्तो हुन्छ । ड्याड यू प्यारेण्टस आर माई प्राइड ।
प्रताप – (गजक्क भएर) देखिस् ? हाम्रो छोरो फुटबलर होस् भन्ने जल्पना-कल्पनामा तेरा मम ड्याड कति छटपटिँदा रहेछन् ।
प्रवीण – छोरोको निम्ति तपाईंहरूको स्याक्रिफाइस् कतिको छ द्याट आ नो भेरी मच । बट…
प्रताप – (कुरा काटेर)…बट ? बट शट केही होइन केटो… फुटबल खेलेर तैँले हाम्रो नाक ऱाख्नैपर्छ । तेरी ममको कत्रो ठूलो चाहना छ… उनको एकमात्र छोरो प्रवीण नामी फुटबलर बनोस् भन्ने । तेरो कस्तो ध्यान राख्छिन् उनले । तँलाई थाहा छ कि छैन कोनि तेरी ममले पनि ता फुटबल राम्रो खेल्थिन् स्कूल कलेज पढ्दा । कलेज टिममा परै क्यापटन समेत भइसकेकी । माई ब्रेभ सन ! फुटबलको शान अर्कै छ ।
प्रवीण – अ लोड अफ कङ्ग्राचुलेसन ड्याड तपाईंहरूलाई । बट मलाई चाहिँ फुटबलभन्दा क्रिकेट नै मनपर्छ । मलाई क्षमा गर्नुहोस् ड्याड प्लिज (हात जोर्छ) ।
प्रताप – क्षमा समाको कुरै छैन । सुन् … फुटबल मनपर्दैन भन्ने कुरा मलाई सुनाइहालिस् ओके । बट… यो कुरा भुलेर पनि तेरी ममलाई नसुनाउलास् । बुझिस् ? उनले मन दुःखाउँछिन् । (प्रवीणकी आमा प्रमिला कुनै हाई स्कूलकी शिक्षिका) प्रवेश । आमा प्रमिलाको प्रवेश हुनासाथै बाबु छोरा दुवै गफको सिलसिला बद्ली गर्छन्) ।
प्रताप – अँ…अन्त तिमीहरूको म्याच ता ड्र पो भयो ?
प्रवीण – हेर्नू ड्याड ! रेफरीले उनीहरूकै टिमलाई कस्तो चेपेको नि ।
प्रमिला – (सोफामा बस्ने बितिकै) प्रवीण ! तेरो टेष्ट कपी दिनुभयो ?
प्रवीण – (आत्तिए जस्तो भावमा) दिनुभयो ।
प्रमिला – खै ले ता हेरूँ ।
प्रवीण – हुन्छ (प्रस्थान)
प्रमिला – कति ल्याइस् होला नि !
प्रताप – अरे प्रमिला ! दिनभरि स्कूलमा हत्त हैरान भई थाकेर आएकी छौ । पहिले फ्रेस ता भई एकक्षण रिल्याक्स ता गर बाबा ! टेष्ट कपी भरैतिर हेर्दा पनि हुन्छ ता । फेरि यसलाई पनि खेल्न जानु ढिलो भइसक्यो । साथीहरू ग्राउण्डमा पर्खिरहेका होलान् । यो गएन भने यिनीहरूको खेलै हुँदैन । यसका साथीहरूका ड्याडले एउटा फुटबल धरी किनिदिन सक्दैनन् । सबै हामीले नै किनिदिएका फुटबलको आशामा बसिरहन्छन् ।
प्रमिला – तपाईं कस्तो कुरा गर्नुभएको प्रवीणका बाबा ! छोराले टेष्ट कस्तो गऱ्यो एउटा क्यूरियोसिटी हुँदैन तपाईंलाई ?
प्रताप – अरे प्रमु ! त्यो ता भइहाल्ने कुरा हो नि । छोरोको टेष्ट राम्रै हुन्छ नि… ।
प्रमिला – तपाईंलाई पो केही छैन । स्कूलमाझ भन्दा पनि प्यारेण्टसमाझ चर्चा हुन्छ । कसैले भन्छन् मेरो छोरोले टेष्टमा नाइनटी, कसैले एट्टी पर्सेण्ट ल्यायो भन्छन् ।
प्रताप – अब तिमी ठहरियौ यहाँको नामी रिनाउण्ड हायर सेकेण्ड्री स्कूलकी सिनियर टिचर । रिनाउण्ड स्कूलको रिनाउण्ड स्कूलकी सिनियरमोष्ट टिचरकी सुपुत्रले टेष्टमा आउट अफ टुवेण्टीमा टेवण्टी ता कुरै छैन । ह्वाई आर यू वर्रिङ म्याम ।
प्रमिला – सिनियर टिचर हुँ र ता टिचरको ड्यूटी पालन गरेकी । (टेष्ट कपी लिएर प्रवीणको प्रवेश । प्रवीणले आमाको हातमा टेष्ट कपी थमाइदिन्छ) ।
प्रमिला – (टेष्ट कपी हेर्दै, अनुहारको भूगोलको खुम्चिन्छ) उफ्… खतम छस् तँ खतम । आउट अफ टुवेण्टीमा सेभनेन्टिन मात्रै ? (प्रवीण घोप्टो परेर उभिरहन्छ) (कर्कश स्वरमा) आम्मामा हेर… यो (टेष्ट कपीमा औँलाले घोँच्दै) यो पनि रङ्ग… यो पनि रङ्ग… थुक्क टिचरको छोरोको गति हेर… घिच्छस् ता हर्लिक्स, ब्राउनभिटा, क्यालोक्स, क्याडबरी । घिचेकोले थिचेको (कान निमोठ्छे, केश लुछ्छे, प्रवीण मौन मूर्तिवत् उभिरहन्छ) हेर ता त्यो माइँलाको छोरो आयुषलाई… तँसितै फुटबल खेल्छ होइन ? आयुषका पापाले बजारमा पानी बोक्छन्… आमाले उर्मिला म्यामको घरमा जूठो भाँडा मोल्छिन् । पढ्नमा कस्तो राम्रो छ परै त्यो केटो।…त्यसले (कान निमोठ्दै) हर्लिक्स, ब्राउनभिटा, क्याडबरपीहरू खानु पाउँछ… पाउँछ ?
प्रवीण – (घोप्टो परेर) पाउँदैन मम्मी ।
प्रताप – अन्त तँ चैँ पलापिएको ?
प्रवीण – होइन ड्याड ।
प्रमिला – (टेष्ट कपी एकपल्ट फेरि वल्टाई पल्टाई हेरेपछि काचाक कुचुक पारेर भूइँमा फ्याँकिदिन्छे)
प्रवीण – मम्मी ! प्लिज यसो नगर्नुहोस् न । मिसले मार्छिन् टेष्ट कपी काचाक-कुचुक परेको देखिन् भने ।
प्रमिला – मारोस् । मारोस् । (झोंक्किएर) काचाक्-कुचुक् मात्रै होइन तेरो यो खतम टेष्ट कपी च्यातचुत् पारिदिन्छु । (भूँइमा काचाक-काचुक् पारेर फ्याँकेको टेश्ट कपी टिप्न उठ्दा प्रतापले बाधा दिन्छ)
प्रताप – (टेष्ट कपी हतार-हतार टिपेर) नगर…नगर ।
प्रवीण – (हात जोर्दै रुञ्चे स्वरमा) प्लिज मम्मी…मिसले पिट्नुहुन्छ । मिसले टेष्ट कपीमा साइन गरेर ल्याउनु भन्नुभएको छ । (काचाक-काचुक् पारेको टेष्ट कपी प्रतापले टेबलमाथि राखेर सम्याउँछ अनि निर्निमेष लाएर हेर्छ)
प्रताप – (छक्क पर्दै) आमामा हो ता रहेछ.. यसले साँच्चै सखाप पारेरछ…यसपाली यसले नाइन्टि नाइन पर्सेण्ट ल्याउँछ होला। गधा ! फुटबल भन्यो फुटबल… बुट भन्यो ब्राण्डेड कम्पनीको बुट… जर्सी उस्तै महङ्गो दामको…तेरो बोसो लागेको ?
प्रमिला – यसलाई फेसिलिटि धेर भएको । अब सब बन्द गर्नुपर्छ ।
प्रताप – आजदेखि तेरो फुटबल-सुटबल सब बन्द बुझिस् ? लैजालास् फुटबल अब ग्राउण्डमा… पर्खी (झोँक्किएर प्रस्थान । एकक्षण पछि फुटबललाई छुरीले र्‍वाम-र्‍वाम रोप्छ)…ला…यो हावा फुस्केको फुटबल लिएर जा ग्राउण्डमा । (भूँइमा फुटबल पछार्छ । टिठलाग्दो पाराले हावा फुस्केको, छेँड परेको फुटबल हेरिपठाउँछ प्रवीणले)…तेरो बुट-सुट, जर्सी सबै आगोमा हालेर जलाइदिन्छु ।
प्रमिला – फुटबल खेलेर पनि यसले अहिलेसम्म के नै पो ताछेको छ हौ हन । खेलेको यत्रो भयो न ता स्कूल टिममा चान्स पाको छ न अहिलेसम्म कुनै गतिलो मेडल कप नै ल्याएको छ । परै सोनामाको घरमा गएर हेर ता फुटबल खेलेर घरभरि कतिवटा कप मेडल थुपारेको छ परैले । यसकै फुटबल खेलेर यसकै दौंतरीहरूले कति प्राइज जितेर ल्याइसके । यसले भने…
प्रताप – (कुरा काटेर) … फुँइय्याको डल्ला….श्शाला नहुने बिरुवाको फुस्रो पात भनेको चैं यही मूला हो। यै सोनामले अस्तिको म्याचमा म्यान अफ द म्याच, बेष्ट प्लेयर भएर दस-दस हजार क्यास मनी पनि पायो अन्त। यो मूला… न पढ्नमा राम्रो न खेल्नुमा नै….
प्रवीण – (बिच्चैमा बोल्दै) मलाई फुटबल खेल्नु इण्ट्रेष्ट नै छैन भनी तपाईंहरूलाई कतिचोटि भनिसकेँ । मलाई क्रिकेटमा इण्ट्रेष्ट…
प्रताप – (घरै उचाल्ने गरी चिच्याएर) चूप ! मुख लाउँछस् ? क्रिकेट अरे (प्रवीणको मुख लोपार्छ, प्रवीण तर्सेर अलिक पर तर्किन्छ) ईश…तँलाई किक्रेट । खेल्लास क्रिकेट ।
प्रमिला – नमच्चिने पिङ्को सय झट्का । तँ ता जा है उता (धकेलिदिन्छे… प्रवीण उत्ताने परेर लड्छ… लडिरहन्छ) यसलाई ता देख्दै अचेल रिस उठ्न थालेको छ ।
प्रताप – (झम्टिँदै) एई उठ्…अहिले लात्तै लातले तेरो…(घरै थर्किने गरी कराएर)…उठ् भनेको सुन्दैनस् ? (प्रवीण डराउँदै उठ्छ)
प्रमिला – (चिच्याएर) निस्कि यहाँबाट । एकदम निस्किहाल् । (प्रवेश भित्र कोठातर्फ निगुरमुण्टो लाएर जान खोज्छ)
प्रताप – एई…(प्रवीण पछिल्तिर फर्केर उठ्छ) कहाँ जाँदैछस् ?
प्रवीण – (झिनो स्वरमा) पढ्नु…
प्रमिला- (कर्कश स्वरमा) पढ्नु अरे ! अब यसले टेष्टमा हण्ड्रेडमा हण्ड्रेड ल्याउँछ होला नि ।
प्रताप- (ठूल्ठूलो आँखा पारेर) चूपचाप यो फुटबल टिप्…ब्यागमा हाल् । (डरसरि भएर प्रवीणले फुटबल ब्यागमा हाली आफ्नो कोठातिर जान तर्खरिन्छ) एई ! त्यता होइन उता (बाहिर जाने सङ्केत गर्छ । प्रवीण बिलखबन्द परेर उभिरहन्छ । प्रतापले प्रवीणको केश मुठ्याउँदै बाहिर धकेलिदिन्छ छोरोलाई… प्रवीण मन नपरी नपरी बाहिर निस्किदिन्छ.. प्रताप नेपथ्यतिर हेर्दै) यो फुटबल तेरा साथीहरूलाई देखाउँलास्…।

०००
सिलुगडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x