साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्यका कुरा

एकजना दार्शनिकले भनेका छन् कि उस्तै विचार र भावना मिल्ने मान्छेहरू मध्ये संसारको जुन कुनामा रहे पनि त्यहीँ र त्यस्तै समय, परिस्थिति, परिवेशको पर्यावरणभित्र उस्तै उस्तै कुरा सोच्दै हुन्छन् रे ।

Nepal Telecom ad

कुमार खड्का :

जीवनले व्यङ्ग्य तेर्स्याउदा के लेख्नु व्यङ्ग्यका कविता
चिप्लिएको देखिसक्यो लोकले रुनु, हाँस्नु न रमिता
अबुझ हुन्छु म किन हो ? धुमिल दृष्टिका परिदृश्यमा
खोज्दैछु व्यूह प्रवेशमा के हुन्छन् नीति र संहिता ?

संवेदनशील दिमाग, लाज, घीन, सरम हुनेहरू, मानवीय भावना र सचेतनता हुनेहरूलाई पो व्यङ्ग्यले छुन सक्छ, त्यसका शब्द, भावले सियोझैँ घोच्ने गर्छ । मोटो दिमाग र गतिछाडा ताल हुनेहरूलाई के को व्यङ्ग्य ? के को प्रहार ? गैँडालाई काउकुती लाएजस्तो सारा बेकार ।

आजकल बुज्रुक व्यक्तित्वहरू एक आपसी व्यवहार चित्त बुझेन भने हास्यव्यङ्ग्यमै कुरा गर्ने गर्छन्, कालिमाटीको थुम्कामा पनि फूलबुट्टा भर्ने प्रयास गर्छन् । सामाजिक विकृतिको विरोधमा त झन् सोझो प्रतिक्रिया जनाउनु भन्दा व्यङ्ग्यमै रमाउने र हास्यमै छारो उडाउने संस्कारको विकास हुँदैछ । भाङ्ग्राको धोतीमा गुयँलाको फूल भनेझैँ ठाउँ न ठहर बुढीलाई रहर, हरेक कुरामा व्यङ्ग्य प्रहार गर्ने । उपबुज्रुकहरूको जमातमा त झन् बढीनै घोचपेच, व्यङ्ग्य हानाहान र हाँसोको फोहाेराले समय व्यतित हुन्छ । सायद हाँस्ने, हँसाउने परम्परा पनि व्यङ्ग्य संस्कृति संस्कारकै रुपमा विकास हुदैछ ।

पहिले राणाकालमा सुब्बा कृष्णप्रसादले मकैको खेती लेख्दा राणाशासनलाई व्यङ्ग्य हानेको भन्दै जेल बस्नु परेको थियो । लेखनाथ पौड्यालको पिँजडाको सुगाले तहल्का मच्चाएको थियो भनिन्छ । पञ्चायती कालखण्डमा आयोजित कार्यक्रममा सामान्य व्यङ्ग्य प्रहसन गर्दा प्रहरिले कार्यक्रम स्थलमानै धरपकड गर्दथ्यो । वर्षभरिमा गाईजात्राको दिन भने धित फुकाएर व्यङ्ग्य हान्न पाइन्थ्यो । लाग्थ्यो कि गाईजात्रा भन्नुनै हास्य र व्यङ्ग्यको पर्वनै हो । साना र मसिना सामग्रीका प्रस्तुतिले पनि पेट मिचिमिची हँसाउथ्यो । वर्षदिनभरि उकुसमुकुस भएका भावनाहरू प्रत्यक्ष या परोक्ष रूपमा शब्द, भाव, चित्र, अभिनय मार्फत उजागर हुँदा बुझ्नेहरू जोसुकैलाई पनि खित्खिती छुट्नु स्वभाविकनै हुन्थ्यो ।

अहिले खुला समाज, खुला परिवेश । खान नपाए पनि बोल्न पाइने समय । जहिले, जतिबेला, जे बोले पनि हुने अवस्था छ । सोझै भने हुने कुरामा व्यङ्ग्य हान्नै परेन, व्यङ्ग्य हाने पनि कसैलाई छुँदैछुँदैन । सबै उपध्र्याहा, छुल्याहा, घुस्याहा, चुसाह मिचाह भएपछि कस्ले कस्लाई व्यङ्ग्य हान्ने ? त्यो व्यङ्ग्यले पनि कति छुने, कसरी प्रभाव गर्ने ? क्रमश व्यङ्ग्यको बजार भाउ जिरो हुने अवस्थामा पुगिसकेको देखिन्छ । जति काउकुती लगाउन खोजे पनि मरिजाम लाग्दैन त ।

हुन त अहिले जनताद्वारा जनताकै लागि स्थापित लोकतान्त्रिक गणतन्त्र । जे बोल्न नि छुट छ । भनिन्छ कि प्रजातन्त्र, लोकतन्त्रमा सरकार र राज्य पक्षको विरोध गर्नु भनेको भुस्याहा कुकुरलाई हप्काउनु, लखेट्नु जस्तै हो रे । अर्थ खासै हुँदैन । हुन त नयाँ जोगीले पो खरानी बढ्ता घस्नुपर्छ, पुरानाको बाक्लो पत्रको लेपले गर्दा धेरै घसिरहनु पर्दैन नि, त्यस्तै होला सायद । हाम्रो जमानामा साधारण ड्राफ्ट नामक औषधिले मारिने उपियाँ, किरा अहिले मर्दै मर्दैन । पहिलाको जस्तो कम डोजको औषधिले बिरामी निको हुँदै हुँदैनन् । सायद ब्याक्टेरिया, भाइरस पनि प्रभावशाली हुँदै गएर पनि होला मान्छेको शरीरमा । हास्य, व्यङ्ग्यको कुरा पनि त्यस्तै हो । काउकुती लाग्न छोडिसक्यो, दिमाग हास्य व्यङ्ग्य प्रुफ…!

आफू त सेन्सेटिभ खाले मान्छे, सानो कुराले पनि छोइहाल्ने । पटकपटक एउटै कुरामा दुख दिइरहेपछि झोक पनि चल्यो, सोझै भन्न नि नहुने । फेसबुके जमाना । सासूबुहारी, दाजुभाइ बीचको फाटो र विवाद, इष्टमित्र बीचको लेनदेन त फेसबुके वाद प्रतिवाद मार्फत हानाहान हुने जमानामा मेरो त आफ्नो नजिकको नि हैनन्, इष्टमित्र दाजुभाइ पर्ने नि हैनन्, एउटा मुक्तक फेसबुकमा स्ट्याटसको रुपमा के पोस्ट्याएको थिएँ, आउन थाल्यो फोन । चित्त दुखाइ भएको कुरा बुझियो । मैले त्यस्तो हैन भनेर उल्टो स्पष्टीकरण मात्र दिनुपर्यो । के प्रुफ भन्नू खै ? वास्तवमै जस्ले व्यङ्ग्य गरेको छ, गल्ती गरेको छ, उस्लाई सानो प्रासङ्गिक कुराले व्यङ्ग्य वाणझैँ लाग्ने रहेछ । सोचेँ, म जस्तै संवेदनशील मान्छे अरु पनि हुँदा रहेछन् । लाग्यो, अझै संवेदना हराएको रहेनछ, हास्य र व्यङ्ग्यको अस्तित्व कायमै छ ।

एकजना पुरानो सँगीकाे फेसबुक स्ट्याटसमा मुक्तक पोष्ट्याएको देखेँ,
उनको कुरा…
पहिलो भेटमै दिल जित्यौ छिट्टै शिरको ताज भयौ
मोहनीनै लायौ कि के गर्यौ मनमा स्वत राज भयौ
तुरुन्त बन्द गर्‍यौ सम्पर्क थाहै भएन किन हो कुन्नि ?
एकछिन आँखा झिम्म पार्दा कति छिटो धोखेबाज भयौ ?

मैले सरर पढेँ, लेख्न भर्खरै सिकेकोले पनि होला, घोचपेचको लागि नभै उत्तर दिएर रमाइलो गर्न मन लाग्यो, लेखेँ…

कति जितेँ, कसरि हारेँ ? मलाई केही आशै थिएन
मोहनीको कुरा गर्‍यौ नजिक पार्ने कुनै खासै थिएन
न बन्दको ताला थिएँ, न खोल्ने चाबीको मुट्ठा, खै !
धोखेबाज भएको कुरा गर्‍यो, तिमीमा मेरो चासै थिएन ।

अलि समय उनले स्ट्याटस बन्द भएछ, त्यो कुरा मैले पछिमात्र थाहा पाएँ । तर धेरैपछि उनको स्ट्याटस देख्दा त मलाइ नै व्यङ्ग्य प्रहार गरेजस्तो लाग्यो । केही हप्ता अघि मेसेन्जरमा भएको हल्का अन्तरङ्ग कुराकानी, विषयगत समस्या, तत्सम्बन्धी समस्या र समाधान, आशा र निराशाका कुरासँगै त्यसपछिको अभिव्यक्तिलाई हेर्दा मलाई लक्षित गरेको हो कि भन्ने पनि लाग्यो मलाई । मुक्तक यस्तो थियो…

किन किन तुवाँलोले दिनको रौनक बदलिएझैँ देख्छु
राहु, केतु लागेर आकाशको घाम धमिलिएझैँ देख्छु
हिजो मायाको हर्जना जतिसक्दो तिर्छु भन्नेको आखिर
वचन तोड्दैको कुटिल मुहार चुक अमिलिएझैँ देख्छु ।

ल हेर्नुस् त ? सामान्य कुरालाई मायाको हर्जाना तिर्ने कुरामा लगेपछि र आफैँलाई लेखेको भन्ने लाग्दा उठ्नसम्म रीस उठ्यो । म पनि कम्ताको हैन नि, यहि समाजको उप बुज्रुक न ठहरिएँ । नयाँ जोगी, के के न देखाइदिन्छु भन्ने सोच्दै तुरुन्त प्रत्युत्तर लेखिहालेँ…

काउकुती जगाउँदै धुत्नेहरू त कति हुन्छन् कति
गुदी, रस छउन्जेल चुस्नेहरू त कति हुन्छन् कति
दुखजिलोले जोगाएर राख्न सक्नुपर्छ, अस्तित्व
बस् ! ब्वाँसो भएर लुछ्नेहरू त कति हुन्छन् कति ।

हैट ! त्यसपछि आजसम्म सामान्य कुराकानीसम्म भएको छैन । उसले झन् त्यस्तै सोच्यो होला नि । सामाजिक सञ्जाल प्रयोग गर्ने हामीहरू मध्ये धेरै लु सुनका आह क्युनै जस्ता छौँ नि त । तर अबुझले जे सोचे पनि बुझ्नेहरूले अलि फराकिलो दृष्टिकोण राखेरै सोच्नुपर्ला कि ? मान्छेले साहित्य मार्फत भावनाहरू पोख्दा सबै उसकै भाव र भावना मात्र त हुँदैनन् नि ? सिङ्गो समाजको प्रतिनिधित्व भए गरेको हुन्छ । लेख्ने, बोल्ने, अभिनय गर्ने, कलाकारिता प्रदर्शन गर्ने भनेको पनि त यहीँ समाजका राम्रा, नराम्रा, सुकीर्ति विकृतिहरूको समग्रता हुन नि । अनि कसैले लेखेका, पोखेका उस्का भाव र भावना, आफू र आफ्नो व्यवहारसँग मेल खायो भन्दैमा उसैसँग पौँठेजोरी खेल्नु उचित हुन्छ र ? हामी सबैले बुझ्नुपर्ने कुरा छ ।

यतिविघ्न विशाल संसारमा करिब उस्तै अनुहार मिल्ने त ७ जना हुन्छन् भन्ने सुनेको छु मैले । उस्तै विचार, भावना मिल्नेहरू पनि त धेरै होलान् नि । एकजना दार्शनिकले भनेका छन् कि उस्तै विचार र भावना मिल्ने मान्छेहरू मध्ये संसारको जुन कुनामा रहे पनि त्यहीँ र त्यस्तै समय, परिस्थिति, परिवेशको पर्यावरणभित्र उस्तै उस्तै कुरा सोच्दै हुन्छन् रे । कुरा के हो, मैले राखिदिएँमात्र ।

तसर्थ, भाव, भावना, सम्भावना विशाल र फराकिलो बनाउनुपर्छ । आफू जस्तै संवेदनशील अन्य व्यक्तिहरू पनि हुनसक्छन् । ल्वाङ फूल होस् या सयपत्री, मखमली होस् कि गोदावरी, रातो, पहेलो, नीलो, बैजनी… जुन रङ्ग होउन् प्रत्येकको आ आफ्नै अस्तित्व हुन्छ । बस् ! स्विकार्न सक्नुपर्दछ ।
अस्तु…!!!
(मुक्तकीय दोहोरी निबन्धको लागि लेखिएका काल्पनिक हरफहरू हुन्, कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ )

०००
आलापोट २, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x