साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भरिया जिन्दगी

बाउ बाजेले भरिया बनेर जिन्दगी बिताए । आफ्ना पनि बित्न थाल्यो । सन्तान भरिया नबनून् भन्ने इच्छा थियो । भरिया नै बने । नातिलाई भरिया बनाउदिन भनेको स्कुलले बनाइदियो ।

Nepal Telecom ad

रामप्रसाद पन्थी  :

बुढापाकाले भन्थे- भाग्यमानीका वस्तु वर्षोटे अभागीका मान्छे वर्षोटे । आफू परियो अभागी । उबेला पढ्न सकस भयो । स्कुल जाने बेला बाँसको झ्याङमा झोला फालेर गुच्छा खेल्नतिर लागियो । पढी खाने भएन भनेर बाउले लाहुर पठाए । लाहुरमा काम मिल्यो भरियाको । लाहुरे बनेपछि बिहे गरेर फरिया ल्याइयो । फरिया ल्याएपछि लाहुर जान मन लागेन । घरेमा बसेर सानोतिनो इलम गर्ने भनियो । इलम गरियो भरियाकै । फरियासँग घाँसदाउरा, मेलापात गर्दै दिन बिते ।

दिनहरू बित्दै जाँदा फरिया डबल भरिया बन्दै गइन । उनको ढाडमा एक किसिमको भारी हुन्थ्यो । पेटमा अर्कै किसिमको । हुँदाहुँदा पेटमा, काखमा, कोखामा र ढाडका भारीहरू थपिँदै गए । एवंरितले फरियाको भुँडी भरिने र सन्तान छरिने काम बढ्दै गयो । उसो त आफू परियो पुरानै जमानाले छोएको मान्छे । दशैँमा बाउ आमाले सन्तानले डाँडाकाँडा ढाकून् भनेर आशीर्वाद दिएको मान्छे । आशीर्वादलाई अवज्ञा गर्न पनि मिलेन । ईश्वरले दिएपछि हात थापियो । दर्जन सन्तानले बुकुरो ढाकियो ।

मैले अघि नै भनिसकेँ नि । आफू नपढेर भरिया भइयो । त्यसैले सन्तान भरसक भरिया नबनून् भन्ने चाहना थियो । यो चाहना पनि चाहनामै सिमित भयो । आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भनेझैँ । छोराछोरीहरू पनि मेरै बाटामा लागे । छोरा दिल्लीतिर सिल्ली बन्न हिँडे । छोरी पोइ खोज्दै जोई बनेर हिँडे । आफूलाई भने बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधमाथि भनेझैँ भयो ।

दिनहरू बित्दै जाँदा छोराहरू अलिअलि कमाउने भए । नाति नातिना स्कुलमा पठाउने भन्न थाले । साउँको भन्दा ब्याजको माया लाग्दो रहेछ । नातिनातिना पढाउने भनेपछि मनै हरक्क भयो । आफै गएँ स्कुलमा भर्ना गरिदिन । भर्नाको बिल हात पर्दा बेहोसै भएर ढलेछु । हलेदो भनेर जानेपछि कोट्याउन पर्दैन भन्छन् । बुझ्नेलाई इसारा काफी छ ।

जसोतसो भर्ना त गरिदिएँ । मास्टरले भने- “किताब कापी पनि लगिदिने कि ?”
भनेँ – “लानै त पर्ला ।”
मास्टरले किताब कापीको थुप्रो लगाइदिए । सबै गर्दा ठूलै धोक्रो बन्यो । गलबन्दीले किताबको धोक्रो बाँधरे जसोतसो घरसम्म पुर्‍याइदिएँ ।

नाति स्कुल जाने भएकोमा मन प्रफुल्ल थियो । स्कुल जाने बेला भयो । झोला तयार गरिदिएको नातिले बोक्नै सकेन । बोकोस् पनि कसरी ? चार वर्षको नातिका काँधमा दस किलोभन्दा बढीको भारी थियो । आधा घण्टाको बाटाको स्कुल त्यसमाथि अजङ्गको झोलाको भारी । जानु थियो भिरको बाटो खोलाको पारि । चार पाइला हिँडेपछि नातिले रित्तै पनि हिँड्न मानेन । भारी थपियो मैँ बुढाको थाप्लामाथि ।

दिनहुँ नाति र झोलाको भारी बोक्दै दारी फुलेर सेताम्मे भएको बुढो शरीर स्कुल र घर गराइरहेँ । बाटामा हिँड्दै गर्दा धेरै देखियो । धेरै सिकियो । क्याम्पस पढ्नेहरू पाइन्टको गोजीमा एउटा कापी कोचारेर हिँड्ने गर्थे । भुरा र तिनका माउ सकिनसकी बढेमानका धोक्रा बोकेर असिनपसिन हुँदै स्कुल जानू पर्ने ? मेरो बुढो दिमागले केही भेउ पाउन सकेन ।

बिस्तारामा पल्टेर सोच्न थालेँ । यसरी सकनसकी भारी बोकेर/बोकाएर जेनतेन चार अक्षर सिकायो । पखेटा पलाएपछि उडेर विदेशतिर जानेको कमी छैन । सुन्छु विदेश गएकाहरू पनि धेरैजसो विदेशीका भरिया बनेका छन् । विदेशी फरियासँग लागेर घरबार बिर्सिएका छन् । सुनेको मात्रै के भन्नू ? आफ्नै आँखाले देखेको छ । गाउँ रित्तिएको छ । घरहरू ओडार भएका छन् । कहिले त लाग्छ – नपढेर ठीक गरिएछ । बाउ बाजेले भरिया बनेर जिन्दगी बिताए । आफ्नाे पनि बित्न थाल्यो । सन्तान भरिया नबनून् भन्ने इच्छा थियो । भरिया नै बने । नातिलाई भरिया बनाउदिन भनेको स्कुलले बनाइदियो ।

ठूलो मान्छे बन्न किताबका भारी बोक्नै पर्दो रहेनछ । धेरैजसो नेताहरू देख्छु नपढेकै मान्छे छन् । ठूला घर र चिल्ला गाडी तिनकै छन् । म बडो अन्योलमा छु । लौन कसैले कृपा गरेर बताइदिनु पर्‍यो । मैले नातिलाई पढाएर भरिया बनाउँ या नपढाएर नेता बनाउँ ? पुस्तौँदेखि भरिया जिन्दगीमा अल्झिएको मेरो परिवारलाई कसरी उन्मुक्ति दिलाउँ ? सुझावको प्रतीक्षामा छु ।

०००
रेसुङ्गा न. पा.- २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x