कलानिधि दाहालयही होइन र जीवनवृत्त ??
म वासन्ती बैँस रतिरागको रात बिउँझिएकी छु महा प्रलयको -वर्षा जन्माउन घोप्टे सन्तानको -हेमन्त कम्लाउन पापी सन्तानको -शिशिर तकिया लगाउन यही होइन र ? जीवनवृत्तको चक्र ?

कलानिधि दाहाल :
उतारचढाव
चढावउतार
आरोहावरोह
अवरोहावरोह
पानीघाम
घामपानी
अलिकति भिज्नु
अलिकति सुक्नु
थचारिनु पहिरोको रुखजस्तै
उम्रिनु पहरोको रुखजस्तै
चुटिएर वर्षाको झरीमा
हुरी खेलेर
कपडा खुस्किनु
झाङ्का पातजस्तै
तैपनि
पाइताला टेकेर
बगिसकेको माटोमाथि
अलिकति घाम शरद्को
आशाको क्षितिज
आँखा अड्याएर
पिलन्धरे हेमन्त पुछ्दै
हत्केलाका रेखाहरूले
रोगी शिशिरसँग मन मुछेर
कट्कटाएका हातहरू
दन्तबझान आफैँसँग
तातो चिया
चिसो सासको
सितनसँग घोलेर
म भर्खर
लाली चढ्न उद्यत
वसन्तमा उम्रेको छु
पिपिरामा पलाएर
थुङ्गा फक्रिँदै
प्रेमका पातसँग
पराग सेँचनको सन्ध्या
पोल्टाभरि सजाएर
फेरि तिनै
जातहरू जन्मनु छ
कुजातहरू जन्मनु छ
नजन्मे पनि जन्मेर
जन्मे पनि नजन्मेर
सुकिलो शरीरको
रोगी गर्भमा
यिनै दुषित
सन्तानको खेती गर्न
म वासन्ती बैँस
रतिरागको रात
बिउँझिएकी छु
महा प्रलयको
-वर्षा जन्माउन
घोप्टे सन्तानको
-हेमन्त कम्लाउन
पापी सन्तानको
-शिशिर तकिया लगाउन
यही होइन र ?
जीवनवृत्तको चक्र ??
०००
कलेकुटी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































