विनाेद खनालपुच्छर
बरू संयुक्त राष्ट्र सङ्घको आदेश नमान्दा हुन्छ तर पुच्छरको आदेशलाई शिरोधार्य गरेन भने के के हुन्छ तपाईंलाई थाहै छ । अब पुच्छरलाई धेरै नकोट्याऊँ होला किनभने यो लेख नै गनाउला जस्तो लाग्यो ।

विनोद खनाल :
पुच्छर भन्ने बित्तिकै तपाईंले बुझिहाल्नु भो होला, किनभने कुरा बुझ्ने माम्लामा नेपालीहरूलाई विश्वमा अरु कुनै जातिले भेट्न सक्दैनन् । पुच्छरको अर्थ भिन्न भिन्न प्रकारले पनि लगाएका हुन्छन्, पण्डित नै पिच्छे पुराणको अर्थ भिन्नाभिन्नै भए जस्तै ।अर्थ भनेको जसरी लगाए पनि हुन्छ भन्ने कुरामा एक जना बुज्रुकले गफ गरेको संझन्छु, उनी कानेगुजीको अर्थ यसरी लाउँथे; कान भनेको हाम्रो शरीरको उच्च भागमा रहेको ज्ञानेन्दृय हो।यसबाट आउने फोहोर “ गु” लाई आदरार्थी शब्द “जी” लगाएर कानेगुजी भनिएको हो । एक प्रकारले सोच्दा यो भनाइलाई बेठिक नै चैँ भन्न सकिँदैन किनभने हाम्रा शिरको मणि मानिएका कविले त “स्थान विशेषको मान सानैले पनि पाउँछ, कृष्णाको तटको ढुङ्गो देवता कहलाउँछ” भनेका छन् । आखिर अर्थै न हो, नेता, पण्डित, विद्वान र शिक्षकले जे भने पनि पत्याउनै पर्ने ! अझ आफ्नै पाटीका नेताले त गुहूलाई गोबर हो भने पनि हो हो भनेर ताली पिट्नै पर्ने! नेपालमा विद्वान र जान्नेहरूको सङ्ख्या बर्खामा भ्यागुताको सङ्ख्या बढेभन्दा ज्यादा बढिरहेको छ । सङ्कल्पै जोड्न नजान्ने पुजारी दर्शनको व्याख्याता बन्छन्, गाउँका सब ठुटे नेता विश्व राजनीति हाँक्छन्, सकिएन त यति भएपछि, नेपाल बनिएको त्यत्तिकै होइन नि ! अर्थकै कुरा गर्दा मलाई अर्को एउटा प्रसङ्ग पनि दिमागमा आयो।हामीलाई उहिले अङ्ग्रेजी पढाउने एकजना भारत दार्जिलिङका एकजना सर थिए, उनले कथा पढाउँदा यिलन यिलन बनयको अर्थ लामु लामु एउटा गयो भनेर लगाइदिए, सरले र पुरेत पण्डितले भनेको कुरामा विवाद गर्नु हुँदैन भनेर हामी पनि चुपै लागेर मानिरह्यौँ । पुच्छरको अर्थले यहाँसम्म पुर्याइदियो ।
हुन त यो पुच्छर भन्ने शब्द तपाईंलाई जाबो, नाथे भन्ने लाग्यो होला तर यसले त पुराणदेखि वर्तमानसम्म हल्लाएको छ नि ! कसरी भन्नु होला सुन्नुहोस् राम्ररी, हनुमानको पुच्छरले लङ्का ध्वस्त बनाएको कुरा थाहा छ कि छैन ? त्यत्रा महावली भीमसेनले पन्साउन नसक्ने हनुमानको पुच्छर कत्रो थियो होला, अनुमान लाउनु होस् त अहिलेका युट्युबे ज्योतिषीले जस्तो । दश टाउके रावणलाई बोकेर विश्व भ्रमण गर्ने वालीको पुच्छर झन् कत्रो थियो होला ! अझ देवराज इन्द्रको आसनलाई बेरेर तान्न सक्ने नागराज तक्षकको पुच्छर झन कति शक्तिशाली थियो होला ।अब भन्नुहोस् पुराणमा पुच्छरको शक्ति कति रहेछ ! भन्ने कुरा हज्जार जिब्रा भएका शेष (सकिएका) नागले त बताउन सक्दैनन् भने म जाबो पुच्छर नभएको मान्छेले के बताउन सक्नु ! पुच्छरका कुरा चैँ निकै छन् है हाम्रो समाजमा, सबैभन्दा लामु पुच्छर चैँ बाँदरकै होला सायद ! त्यसैले होला “बाँदरको पुच्छर लौरो न हतियार” भनिएको !
यो बाँदरको पुच्छर र नेपालको गणतन्त्र चैँ एउटै हो कि जस्तो लाग्छ हौ मलाई त ! अर्को कुरा छ, कुकुरको पुच्छरको “कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा हाले पनि बाङ्गाको बाङ्गै” भने जस्तै अहिलेका विद्यार्थीलाई अनुशासन सिकाएर सभ्य बनाउँछु भन्नु पनि एकै हो । हुन त ठुलैलाई पनि पुराण सुनाएर ज्ञानी बनाउँछु भन्नु पनि उस्तै हो, मध्याह्नसम्म सब पुराण सुन्छन्, पुराण सुन्छन् पनि के भन्नु ! भजनमा उफ्रिन्छन्, अनि मध्याह्नमा पुरी सब्जी ज्युनार गर्न जान्छन्, अनि पण्डितले भनेको “खानमा आशक्ती गर्नु हुँदैन, भगवानको भक्ति गर्नुपर्छ” भन्ने उपदेश सब भुलेर भान्सेलाई हकारेर पुरी सब्जी डकारेर लाग्छन् घरतिर वा गाउँतिर गएर पण्डितको राम्रा नराम्रा कुरा काट्न थाल्छन् । फेरि पण्डित पनि उस्तै छन् नि त कुन् महिला राम्री छन् ? कुन महिला चाम्री छन् ? कुन् महिला कस्तो नाच्छिन्?कुन महिलाले कम्मर कसरी भाँच्छिन् ? कुन महिला रसिली छन् ? कुन महिला कसिली छन् ? व्यासमा बसी बसी निर्णायकले झैँ सबै नतिजा निकाल्छन् । अनि पुराण कस्ले सुनोस् ! बाँदरको पुच्छरले पुराण कालमा मात्र होइन इतिहास कालमा राम्रै प्रभाव पारेको पाइन्छ । डार्विन भन्ने एकजना वैज्ञानिकले भन्थे अरे पहिला पहिला मानिसको पनि बाँदरकै जस्तो पुच्छर थियो अरे तर मलाई चैं हाम्रा पुराण लेख्ने वेदव्यास र डार्विन चैँ उस्तै उस्तै हावादारी रछ्न जस्तो लाग्यो तर के गर्नु र धर्मशास्त्रमा लेखेका र वैज्ञानिकले भनेका कुरा मान्नै पर्यो । लु, डार्विनका अनुसार पहिला पहिला मानिसका बाँदरका जस्तै पुच्छर थिए र पछि पुच्छर हराउँदै मानिस भए अरे । यदि त्यसो हो भने आजका बाँदरका कुनै गोरुका जत्रा, कुनै हात्तीका जत्रा, कुनै सुँगुरका जत्रा, कुनै बाख्राका जत्रा हुनु पर्ने त, खोइ डार्विन पनि हावामै बैज्ञानिक भएका हुन् कि क्या हो ! यहाँ आठ क्लास पास गर्न नसकेकाले सर्टिफिकेट किनेर नेताको भनसुनमा जागीर खाए जस्तो !
पुच्छरको बारेमा नेपाली समाजमा अर्को पनि उखान प्रचलित छ, “डाको न बोलायो, लिँडे पुच्छर डोलायो” यो उखानको अर्थ लाउन चैँ अहिलेका भाषाशास्त्रीहरूलाई पनि धौ धौ पर्ला । यो अहिलेको आधुनिक कविता जत्तिकै जटिल छ । बुझ्यो भने यसको अर्थ प्रशान्त महासागरभन्दा गहिरो छ, बुझेन भने घर छेउमै पहिरो छ भने जस्तै हो । “लिँडे पुच्छर डोलायो” यत्ती शब्दको मात्र व्याख्या गर्यो न भने धर्मगुरुले गरेको प्रवचनभन्दा लामो हुन्छ । पुच्छरका कुरा अरु पनि छन्, कोही मान्छे अलिक चुलबुले खालको छ भने “क्या हो बाख्राको पुच्छर खाएको जस्तो” भनेर भनिन्छ । पुच्छरहरूमा बाख्राको पुच्छरको निकै चर्चा छ हाम्रो समाजमा “बाख्राको पुच्छर काटी बोकालाई सजिलो” भन्ने उखान पनि हाम्रै बुढापाकाहरूले चलाएका हुन् । यतिमात्रै होइन, कुनै सामान्य मानिसले अलिक ठूलो काम गर्न खोज्यो भने उसलाई हियाएर भनिन्छ “सबै छाडी पुच्छर अगाडि” भनेर । यसो हुँदा शरीरका अरु अङ्ग जत्तिकै पुच्छरको पनि महत्त्व छ भन्ने बुझिन्छ । अझ शास्त्रभित्र भएको पुच्छरको चुरो कुरो त आएकै छैन “साहित्य, सङ्गीत, कलाविहीन, साक्षात् पशु पुच्छ विषाणहीन” भन्ने मारेन त यसले । अनि साहित्य नलेखी भो र अनि लागेको म पनि त्यतैतिर ।
पुच्छरको महत्त्व अझ अर्को पनि छ, कुनै पनि प्रसङ्ग नमिलेको कुरालाई भनिन्छ “सिङ न पुच्छरको कुरा वा पुङ न पुच्छरको कुरा” भनेर ! यसैले पनि पुच्छरको महत्त्व अझ बढी नै छ कि भनेर मलाई लागेको हो । लामो होस् वा छोटो, सगुलै होस् वा खोटो जुनसुकै प्राणीको एउटा न एउटा पुच्छर रहेकै हुन्छ । देख्नमा चैँ पुच्छर नभएको प्राणी मानिस भए पनि लेख्नमा चैँ मानिसको जति लामो पुच्छर अरुको हुँदैन । तपाईं पत्याउनु हुन्छ कि हुन्न तर एउटा कुरा सुनिहाल्नु होस् है ! हाम्रा एकजना गुरु हुनुहुन्थ्यो,वहाँ आफ्नू नाम लेख्दा यसरी लेख्नु हुन्थ्यो, श्री गजेन्द्रप्रसाद नारायण उपाध्याय भण्डारी प्रधानाध्यापक बि ए बि एड, हेनुहोस् त कति लामो पुच्छर वहाँको ! नामका पछाडि थर पनि त एउटा पुच्छर नै त हो नि मान्छेको । यसरी नै थर पछाडि वा थर हटाएर जोडिने टाइटल पनि पुच्छर नै हो मान्छेको । गोठाले, खेताला, विकल, विप्लव, वियोगी, सुयोगी, परिश्रमी, बैरागी, खुँजेली, सम्भव, असम्भव, रुपाबासी, धरावासी, आकाश, नवीन, विद्रोही, काँचुली, प्रचण्ड जस्ता पुच्छर जोडेर हल्लाएपछि संसार हल्लिदैन त अनि । यसरी हेर्दा मान्छेको जति दह्रो सिंग न गैँडाको हुन्छ न राँगा, गोरु र भेडाको हुन्छ । डाक्टर, इन्जिनियर, प्राध्यापक, प्रधानाध्यापक, प्रधानमन्त्री, साहित्यकार, सुब्बा, अधिकृत आदिको सिङ अगाडि जोडेपछि सिँगौरी खेलेर आली, कान्ला भत्काएर मान्छे नै साँडे बन्छ । यसकारण सबभन्दा दह्रो सिंग र पुच्छर भएको प्राणी मानिस नै हो भन्दा के बिग्रेला र !
धन्न मानिसको अरु प्राणीको जस्तो लामो पुच्छर चैँ बनाइदिएनछन् भगवानले । बाँदर, कुकुरको वा गाई गोरुको जस्तो पुच्छर मानिसको पनि भएको भए कति गाह्रो हुन्थ्यो होला ! लुगा कपडा नै बड्ता सिलाउनु पर्थ्यो होला ! विभिन्न डिजाइनका आउँथे होला, त्यस्को बेग्लै खोल सिलाउनु पर्थ्यो होला ! त्यसलाई पनि कोरीबाटी गर्नुपर्थ्यो होला ! सेम्पो, साबुन र हरेक किसिमका तेल र प्रसाधन चाहिन्थ्यो होला ! मान्छेलाई भित्री पुच्छरले त कति हैरानी बनाएको छ भने बाहिरी पुच्छर पनि भएको भए त झन् के के हुन्थ्यो होला ! त्यतापट्टि नसोचौँ ! तपाईंलाई कस्तो लाग्छ कोनि ! मलाई चैँ मानिसलाई तह लाउने शरीरका अङ्गहरू मध्ये सबभन्दा अगाडि पुच्छर नै आउँछ किनभने पुच्छरको आदेश भइ सकेपछि देवका देव महादेवले पनि नाइँ भन्न पाउँदैनन् ।
मानिस अफिसमा होस् कि अन्तरीक्षमा होस्, बजारमा होस् कि ब्यारेकमा होस्, घरमा होस् कि घाटमा होस्, होटलमा होस् कि हस्पिटलमा होस्, बसमा होस् कि बासमा होस्, पूजामा होस् कि पुराणमा होस्, आसनमा होस् कि भासनमा होस्, मन्दिरमा होस् कि मेलामा होस्, खाँदै होस् कि जाँदै होस् जहाँ भए पनि चर्पीको ढोका नखोली धरै छैन । नत्रभने भित्रभित्रै आन्दोलन चर्किन थाल्छ । आन्दोलनमा कति मान्छे मर्ने हुन् एकिन हुन गाह्रो छ । हाम्रो शरीरको सच्चा कमिनिस्ट अङ्ग चैँ यही पुच्छर हो जस्तो मलाई लाग्छ किनभने यो सबैका लागि समान छ । राम, कृष्ण, इन्द्र, शिव, विष्णु, लक्ष्मी, पार्वती, दुर्गा, सरस्वतीदेखि लिएर सेक्पियर, दान्ते, रेगन, राजीव, जिग्मे, जियाउल, एस्राद, सद्दाम जस्ता सबैले पुच्छरको आदेश नमानी धरै छैन । बरू संयुक्त राष्ट्र सङ्घको आदेश नमान्दा हुन्छ तर पुच्छरको आदेशलाई शिरोधार्य गरेन भने के के हुन्छ तपाईंलाई थाहै छ । अब पुच्छरलाई धेरै नकोट्याऊँ होला किनभने यो लेख नै गनाउला जस्तो लाग्यो । अहिलेलाई बिदा पाऊँ, भोलि बिहान पुच्छर मिटिङ्मा भेट हौँला ! हवस्त !!
०००
धुलाबारी
Subscribe
Login
0 Comments
Oldest








































