विनाेद खनालट्वाइलेट उद्घाटन कार्यक्रम
हेर्दाहेर्दै मन्त्रीज्यू त बल्ड्याङ लडे । लौ लौ भन्दै मन्त्रीज्यूलाई उठाए, भरे त मन्त्रीज्यू दिसामा चिप्लिएर पो लडेका रहेछन् । खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न आएका मन्त्रीज्यूको हालत यस्तो छ ।

विनोद खनाल :
सरकारले जताततै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने राष्ट्रिय अभियान चालेपछि गाउँ शहरका चोक तथा बजारहरूमा शौचालय निर्माण अभियान चुनावताका पार्टी त्याग गर्ने र प्रवेश गर्नेको लहर चले जत्तिकै चलेर आयो। यसै क्रममा नेपालको पनि आकाशे गा पा वार्ड नं. ३३३, वायुमण्डल गाउँको घामपानी टोलमा रहेको हुण्डरी चोकमा पनि एउटा सार्वजनिक शौचालय निर्माण गर्न स्थानीय ठुटे नेताहरूदेखि लिएर चुचे, बुचे, नेप्टे, चेप्टे, खुइले, सुइले, नेता, नेतीहरूको एउटा भेला भयो । टोलको बाटो हगुवा नेता ठण्डाकुमार घामपानीको अदक्षतामा शौचालय निर्माण समिति गठन गरियो । उपअदक्षमा चैँ महिला नै हुनुपर्ने भएको हुँदा बिजुलीमाया मिलिक्कलाई र महासचिवमा चट्याङनाथ बज्रलाई कोषाध्यक्षमा असिना बहादुरलाई भेलाले चयन गर्यो । यसरी नै सदस्यहरूमा शीतप्रसाद, गर्मीदेवी, धुम्मनाथ, छायाँदेवी पनि चयन भए । समितिले दुई महिनाभित्र शौचालय निर्माण गरि उद्घाटन पनि गरिसक्ने सङ्कल्प प्रस्ताव पनि पारित गर्यो । शौचालय त बनाउने तर कहाँ बनाउने र कसरी बनाउने भन्ने बारेमा प्रनिनिधि सभामा भन्दा पनि जोडतोडकासाथ बहस चल्यो । तर यत्तिका बुद्धिमान् नेता नेती भएको समितिमा समस्याले कहाँ काँचै पल्टिन पाउँथ्यो र ! तुरुन्तका तु बहीठग बसी शौचालयका लागि जग्गा खरिद र शौचालय निर्माणका लागि एउटा पुरान लाउने निणर्य गरियो । पण्डित हिउँप्रसाद तुसारोको प्रमुख व्यासत्वमा ज्योतिषी फुइँकीनाथ हावाले जुराइदिएको साइतबाट पुरान सुरु गरियो ।
पण्डितले दस पन्ना पल्टाउँदै एक पन्नाको कथा भन्दै खाली चन्दा माग्ने काममै समय बिताए । सामाजिक पुरानको तरिकै त यही हो, पण्डितको धर्मै यही हो, अरुलाई सक्दो उकास्यो, दान गरायो अनि आफूचैँ कुम्लो कस्यो हिँड्यो । सात दिन सात रात गाउँ रमझममै बित्यो । कथामा भन्दा भजन, कीर्तन र नाचगानमै समय राम्ररी बित्यो । प्रायःले खाना खान घर पनि जानू परेन । पैसा पनि नउठेको होइन, दिनेले पनि पर्तिजग्गा, डगर, बगर सब चन्दामा लेखाए र माला अबिर लाए । पैसा पनि लेखाउनेले नाचेका र मातेका तालमा उछिन् पाछिन् गर्दै लेखाए, फलासको दाउमा चले जस्तै गरेर । खातामा करोडको लेखा लागे पनि लेखापालले लाखमात्र देखाए । त्यही पनि पण्डितजी, उपवाचक, गणेश, द्वारपाले, गाउने, नाच्ने, मात्ने र आयोजक सबैलाई चुँड्दा चुँड्दै पैसा त आधा पनि बचेन ! जति बच्यो त्यतिले जग्गा किन्ने र शौचालय निर्माण गर्ने निणर्य एमाले, काङ्ग्रेस, माओवादीले सहमति गरे जस्तै गरेर भयो । खडेरीबहादुर हुर्हुरीसँग कि न ००० को जग्गा खरिद गरि ठेकेदार हावापानी भेलबाडीसँग सम्झौता गरी निर्माण कार्यको ठेक्का दिइयो । त्यस क्षेत्रका सबभन्दा बढी पटक ट्वाइलेट जाने एकजना सुगर पीडित बाबैलाई शिलान्यास गर्न लगाई निर्माण कार्य सुरु गरियो । दस भाग बालुवा, पाँच भाग गिटी र एक भाग सिमेन्ट लगाई तीन दिनमै चिटिक्क परेको शौचालय निर्माण गरियो । सरकारको क वर्गको ठेकेदारले भन्दा सय गुना छिटो कार्य सम्पादन गरेको हुनाले ठेकेदारलाई दुई क्विन्टल पचास के जी को काउसाको माला लगाएर सम्मान गरेर विश्व रेकर्ड कायम गरियो ।
शौचालय निर्माण भएपछि उद्घाटन कार्यक्रमको कुरो उठ्यो,पहिलो प्रस्ताव आयो वडा अदक्षलाई प्रमुख अतिथि बनाउने र उनैबाट शौचालय उद्घाटन गराउने भन्ने । त्यहाँ अर्कोले विरोध गरिहाल्यो “वडा अदक्ष तिम्रो पार्टीको मान्छे भनेर ! हुँदैन त्यस्तो मत्तुलाई प्रमुख अतिथि बनाउनु ? हाम्रो पार्टीको गा पा अदक्षलाई ल्याउनु पर्छ ।” अर्कोले पाखुरा सुर्कियो “यत्रो शौचालयको उद्घाटनमा त्यही अस्ति भर्खर मात्र आइमाइ काण्ड लागेको मान्छेलाई ल्याउनु ? हुँदैन हाम्रो शौचालय नै अछुतो हुन्छ । बरू हाम्रो पार्टीको प्रदेश सांसदलाई ल्याऊँ !” “हो” भनेर केहीले ताली ठोके, ताली ठोक्नेलाई अर्को समूहले गाली ठोके “तिमेर्को मात्र कुरो सही ! त्यो काठ तस्करलाई किन ल्याउनु यहाँ ! हाम्रै पार्टीको संघीय सांसदलाई ल्याउनु पर्छ बरू ।” अर्को समुह उर्लिहाल्यो, “को त्यही सुन काण्डको मतियार ? त्यस्ता भ्रष्टाचारीलाई यो एरियामा पस्नै दिनुहुन्न, के ल्याउँछौ प्रमुख अतिथि बनाएर !” यतिन्जेलसम्म चुपकाण्ड पढेर बसेका अदक्षले अब चैँ नबोली भएन, उनले सबैलाई सम्झाउँदै भने, “हेर साथीभाइहरू हो ! हामीहरू बगडा खाएर झगडा गर्न तगडा भएर मात्र हुँदैन, काम भनेको बुद्धिले गर्नुपर्छ, हाम्रो यो स्थानीय क्षेत्रको विकासको उद्घाटन गर्न त्यसै क्षेत्रको मन्त्रीज्यूलाई ल्याउनुपर्छ । त्यसकारण यस कामको लागि उपयुक्त व्यक्ति भनेको स्थानीय वातावरण विनाश तथा शौचालय बेवास्तापन मन्त्रीनै उपयुक्त हुने हुँदा वहाँलाई नै ल्याउनु पर्छ, कि कसो ?” “त्यो त असिने खोलाको नभको पुल बनाई ठेकेदार र इन्जिनियरसँग कागज मिलाएर सबै रकम झ्वाम पार्ने भ्रष्टाचारी होइन ?” एउटाले भन्यो । हुन त हो तर नेपालमा भ्रष्टाचार नगर्ने नेता र माछा, मासु, रक्सी नखाने बाहुन भेट्नै गाह्रो छ । के गर्नु त माथिदेखि तलसम्म हेर्दा यस्तै छ । अदक्षको तर्कलाई कसैले तर्काउन र जवाफ फर्काउन सकेनन् । सबैले समर्थन जनाए ।
गाउँकै फुँइकीनाथ हावा जोतिसीलाई साइत हेराउँदा रेवती महिना, चालीस गते, सप्तदसी तिथि, राहुबारको शुभ साइत निस्कियो । मन्त्रीज्यूलाई टेलिफुन गर्दा वहाँले भन्नु भएछ,- “अरुतिर भए त म आउने थिइनँ तर तपाईंहरूले नै बोलाएपछि त आउनै पर्यो । उता आफ्नू गाउँमा आमा सिकिस्त हुनुहुन्छ रे, त्यता जाने कार्य पनि स्थगित राखेर म आउँछु नि त तर खान्तेपिन्तेको व्यवस्था चैँ राम्रो हुनुपर्यो ! हामी त्यही १२ देखि १५ जनासम्मको टोली आउँछौँ । उपरवालाले जे जे भन्छन् तलकाले मान्नै पर्यो, नत्र अनुशासनको कारबाही भइहाल्छ । दिनको २५ बजे राखेको कार्यक्रम २८ बज्दा पनि मन्त्री आइपुगेनन् । बल्लबल्ल २९ बजेर २९ मिनेट २९ सेकेन्डमा वातावरण विनाश तथा शौचालय मन्त्री गड्याङ्गुडुङ्प्रसाद (दरर) तामझामका साथ आइपुगे ।” “किन ढिलो हजुर ?” भनेर सोधनी गर्दा २१ बजेको टिकट काटेको सात घन्टा पिलेन डिले भएर ढिले भएको रहेछ ।
मन्त्रीज्यूको सवारी हुनासाथ उद्घाटन कार्यक्रमको व्यवस्था मिलाउन थालियो । शौचालयको उद्घाटन कार्यक्रम मन्त्रीज्यूलाई नै दिसा गराएर गर्ने कार्यक्रम रहेको थियो तर मन्त्रीज्यूको पेटबाट दिसा आउने कुनै सङ्केत थिएन । मन्त्रीज्यूबाट यथार्थ आवश्यक विवरण लिएर आयोजकले मन्त्रीज्यूलाई छेउमै रहेको क्यान्टिनमा लिएर जाँदै गर्दा मन्त्रीज्यू नयाँ ठाउँको अवलोकनमै व्यस्त थिए, आयोजकहरू परपरका स्थानहरूको परिचय गराउँदै थिए । मन्त्रीज्यू हेर्दै मुन्टो हल्लाउँदै थिए । हेर्दाहेर्दै मन्त्रीज्यू त बल्ड्याङ लडे । लौ लौ भन्दै मन्त्रीज्यूलाई उठाए, भरे त मन्त्रीज्यू दिसामा चिप्लिएर पो लडेका रहेछन् । खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न आएका मन्त्रीज्यूको हालत यस्तो छ । कार्यकर्ताले धोइपखाली गराए र क्यान्टिनमा नास्ता गराए । नास्ता गरेको तीन मिनेटमै मन्त्रीज्यूलाई दिसाले चापो । लु राम्रो साइत जुर्यो भनेर जोतिसीले घोषणा गरे । मन्त्रीज्यूलाई शौचालयभित्र पसाइयो र ढोका लगाइयो । मन्त्रीज्यूले शौचालयभित्र पसेर पट्ट.पारे, बाहिर उपस्थित भद्रभलाद्मी महिलाहरूले पटट ताली पड्काए ! यसरी सौहार्दपूर्ण वातावरणमा शौचालय उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
०००
धुलाबारी, झापा
Subscribe
Login
0 Comments
Oldest








































